१२ असार २०८१ बुधबार
image/svg+xml
कला

एक महिने नेपाल भ्रमणमा नेपथ्य

नेपथ्य ब्यान्डले ‘मानवता प्रवद्र्धन’ को उद्देश्य लागि एक महिने सांगीतिक यात्रा गर्नेभएको छ। लामो समयदेखि ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर, शान्त नेपाल’ जस्ता अभियानमार्फत जनचेतना फैलाउँदै आएको नेपथ्यले आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारिखदेखि ३१ तारिखसम्म) मानवता प्रवद्र्धनका लागि सांगीतिक कार्यक्रम गर्नेभएको छ।  

आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो। यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले सामाजिक संस्था ‘मानवसेवा आश्रम’सँग हातेमालो गर्नेभएको छ।

‘मानवताका लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति मंसिर १६ गते विराटनगरमा हुनेभएको छ। त्यसैगरी मंसिर १९ गते वीरगन्ज, मंसिर २२ गते हेटौंडा, मंसिर २५ गते नारायणघाटमा सांगीतिक कार्यक्रम हुने छ। त्यस्तै मंसिर २९ गते नेपालगन्ज, पुस ३ गते धनगढी, पुस ६ गते सुर्खेत, पुस ९ गते बुटवलमा सांगीतिक कार्यक्रम गरी पुस १२ गते गृहभूमि पोखरामा कार्यक्रमका लागि उत्रने छ भने पुस १६ गते काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम गरी एक महिने सांगीतिक यात्रालाई टुङ्ग्याउने भएको छ।  

‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौं,’ ब्यान्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाँझ पुग्नलागेका छौं।’ यो अभियानसँगै अब नेपथ्यका गीतहरूले ‘मानवताका लागि संगीत’ को भाव बोल्न थालेको गायक अमृतको धारणा छ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो। आयोजकका रूपमा मानव सेवा आश्रमले मुलुकभरका कार्यक्रमहरूको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने जनाइएको छ। 

प्रकाशित: १९ कार्तिक २०७९ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App