२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित

संघीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रिय सभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका हुन्।

उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए। त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो। बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। विसं २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० मा निधन भएको थियो। उनी विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। स्व बोहराको निधनप्रति सभाले शोक प्रस्ताव पारित गरेको छ।

माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो। यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ। राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ। त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ।

हाल राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट (नेकपा) को २५, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य छन्। यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ।

प्रकाशित: ४ माघ २०८२ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App