आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
थाइल्यान्डकी ओपनर अफिसरा सुवानचोनराथी २८ रन बनाउँदै आउट भइन्। त्यस्तै, नानपत कोन्चारोन्काइ ३२ रन बनाएर पेभिलियन फर्किन्।
नेपालका लागि सीता राना मगरले २ विकेट लिइन्।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।
नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। ५६ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन्।
त्यस्तै, नेपालकी अर्की ओपनर सम्झना खड्का २६ रन बनाउँदै आउट भइन्। नेपालकी कप्तान इन्दु बर्मा ६ रनमै पेभिलियन फर्किन्।
थाइल्यान्डका लागि चनिदा सुथिराङ, थिपाथ्चा पुथावोङ, सुलीपर्न लाओमी र सुनिदा चतुरोङरतानाले समान १-१ विकेट लिए।
जारी प्रतियोगितामा कुल १० राष्ट्रले सहभागिता जनाएका छन्।
प्रकाशित: ४ माघ २०८२ १२:०८ आइतबार





