१४ फाल्गुन २०८० सोमबार
कला

इन्द्रजात्रा र पृथ्वीनारायणको गद्दी आरोहण

२०७९ भाद्र २४ गते इन्द्रजात्राको शुभदिन हो। काठमाडौंको वसन्तपुरमा भव्यरूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। नेपालमा ऐतिहासिकरूपमा इन्द्रजात्राको ठूलो महत्व छ। इन्द्रजात्राकै दिनको सुअवसरमा गोर्खाका राजा पृथ्वीनारायण शाहबाट हिमवत्खण्डका ससाना हिन्दु राज्यलाई एकीकरण गर्ने महायज्ञको अभियानका बेला पोखराका झ्यागल गुरुङले गाइनेको बाजा बजाएर ११ जना गोर्खाली फौज लिएर १८२५ आश्विन  १३ गते राती ३ बजे हुनुमानढोकाको राजगद्दीमा बसेर नेपाल अधिराज्य स्थापनाको जग बसालेका थिए। लिच्छविकालीन राजा गुणकामदेवले इन्द्रध्वज लिङ्गो गाडी त्यहीँ इन्द्र देवताको मूर्ति राखेर कान्तिपुरमा इन्द्रजात्रा प्रारम्भ गरेका थिए।

इन्द्रजात्राको लिङ्गो स्थापना गरी कुमारीको रथयात्रामा सहभागी हुने परम्परा नेपालको सांस्कृतिक प्रतिष्ठा बनेको छ। कुमारीको रथयात्रा विक्रम संवत् १८१० देखि चलेको र यो प्रचलनलाई जयप्रकाश मल्लले उठान गरेका थिए। जीवित देवीका रूपमा कुमारीको पूजा गरिन्छ। कुमारीलाई काली भगवतीको अवतारका रूपमा मानिन्छ। तीन वर्षकी शाक्य वंशकी बौद्ध चेलीलाई सुख–समृद्धि, दाता र रक्षकका रूपमा कुमारीलाई मानिन्छ। कुमारीको नियुक्ति राष्ट्रप्रमुखबाट हुन्छ। रातो पहिरनमा सजिएकी कुमारीको हजारौँ हिन्दु तथा बौद्धहरूले पूजा गर्छन्। कुमारीको बसोबास कुमारी घरमा नै हुन्छ। पर्यटकहरूका लागि कुमारी र कुमारीका घर आकर्षणको केन्द्र बनेको छ।

राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौंँ उपत्यका विजयपछि सिंहासनमा आसीन हुनुभन्दा पहिला शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातको टीका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए। यस कुराले नेपाल अधिराज्यका सम्पूर्ण धर्म, जाति र यस क्षेत्रको परम्परालाई शिरोधर गर्न सकेको बोध गराउँछ। कुमारीमा कतै चोटपटक नलागेकी, रजश्वला नभएकी, निडर शाक्य वंशकी कन्यालाई स्थापना गरिन्छ।

इन्द्रजात्राका दिन कुमारीका साथसाथै कुमार बालकहरूलाई गणेश र भैरवका रूपमा रथारोहण गराइन्छ। रथयात्राका दिन नेपालका राजा, रानी, जनताका प्रतिनिधि तथा जनताबाट रथयात्रामा कुमारीको दर्शन गर्ने परम्परा रहिआएको छ। नेपालको राजा र कुमारीको कुण्डली मिल्नुपर्छ भन्ने किंवदन्ती छ। कुमारी घरका प्रमुख पुजारीको सिफारिसमा नेपालका राजाले कुमारीलाई भवानीको अवतारका रूपमा स्वीकार्ने प्रचलन छ। कुमारी घर काठमाडौं हनुमानढोकाको दक्षिणतर्फ अवस्थित छ। तलेजु भवानीको प्रतापले मातृशक्तिको पौरखका रूपमा पनि कुमारीको महानतालाई अंगीकार गर्ने गरिन्छ।

  नेपालको एकीकरणमा प्रेरणाको स्रोतका रूपमा पृथ्वीनारायण शाहबाट दिव्य उपदेशमा एउटा सपनाको उल्लेख गरिएको छ– ‘दुई हातमा दुई खड्ग लिएकी सातआठ वर्षकी कन्या मछेउ आइन्। मैले सोधेँ– ‘तिमी कसकी छोरी हौ ?’ उनले पुजारी रानाकी छोरी हुँ भनिन् र दुवै खड्ग मेरा हातमा दिइन्। खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो निल भनिन्। तिम्रो मनोकाङ्क्षा पुर्‍याइदिएको छ।’ राष्ट्रिय एकीकरणमा ती मगर कन्याबाट पनि पृथ्वीनारायण शाह प्रेरित भएका थिए।  नेपालको एकीकरण हुनुभन्दा अगाडि सम्पूर्ण एसियामा नै बेलायती साम्राज्यको अखडा जमाइसकेको थियो। हिमवत्खण्ड–नेपालका ससाना हिन्दु राज्यले त्यसबेला असुरक्षित महसुस गरिरहेको अवस्था थियो।

गोर्खा एक हिन्दु राज्य थियो। गोर्खाका राजा पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सोच्न थालेको अवस्थाभन्दा अगाडिदेखि नै हिमवत्खण्डको यो पवित्र क्षेत्रमाथि बेलायती साम्राज्यको हस्ती इस्ट इन्डिया कम्पनीले आँखा गाडिसकेको थियो। वि.सं. १८०० मा पृथ्वीनारायण शाहले वनारस भ्रमण गरेका बेला अंगे्रज (इस्ट इन्डिया कम्पनी) ले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने, मार्ने र जहीँतहीँ लुटपिट मच्चाउने गरेको, अनेकौं प्रकारले सताउने काम गरेका कयांै जानकारी हासिल गर्ने मौका मिल्न गयो। पहिलो व्यापार, दोस्रो बाइबल र तेस्रो हतियार इस्ट इन्डिया कम्पनीको हतकण्डा थियो भन्ने पृथ्वीनारायण शाहले त्यही बेला बुझिसकेका थिए। त्यसले गर्दा यहाँका पवित्र हिन्दु राज्यलाई इसाई साम्राज्यबाट कसरी बचाउने भन्ने उनमा सोचाइ आयो। अन्ततोगत्वा वनारस भ्रमणका बेला उनले हातहतियार बनाउने, कारखानाको निरीक्षण गर्ने, मर्मत गर्ने मुसलमान कालीगढहरू, केही हातहतियार तथा योद्धाहरूसमेत लिएर फर्केका थिए। त्यसपछि पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए।

नेपाल अधिराज्यको एकीकरण अभियानमा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नुवाकोट, कीर्तिपुरपछि कान्तिपुरलाई कसरी कब्जा गर्ने भन्ने विषयमा भारदारहरू र ज्योतिषीहरूसँग छलफल भयो। कान्तिपुरका राजा, भारदार, प्रजा, सबै इन्द्रजात्राको उत्सव मनाउन नाचगान तमासामा व्यस्त हुने हुँदा गोर्खालीले त्यसै अवसरलाई उचित समय ठानी आक्रमण तयारी गर्न थाले। जयप्रकाश मल्लको हिम्मत जाँच्न १८२५ आश्विनमा कान्तिपुर सहरको उत्तरतर्फ पर्खालबाहिर पर्ने ठमेल टोलमाथि आक्रमण गर्न सैनिक पठाउँदा पनि जयप्रकाश मल्लले फौजलाई धपाउन कुनै प्रयास नगरेकाले गोर्खालीहरूको हिम्मत अझ बढ्यो।

पृथ्वीनारायण शाहले कान्तिपुरका भारदार तथा जनतालाई पनि उनीहरूको धनजनको सुरक्षा गरिदिने वचन दिइ कूटनीतिक तरिकाबाट आफ्नो पक्षमा मिलाए। गोर्खालीहरूद्वारा कान्तिपुरको घेराउ गरी विकट परिस्थिति बनाएको हुँदा इन्द्रजात्राको चाड मनाउने वा नमनाउने सम्बन्धमा जयप्रकाश मल्लले भारदारहरूसँग सल्लाह गरे। अन्त्यमा उक्त चाड भव्यताका साथ मनाउने निश्चित गरे।  

सहर वरिपरि रहेका पर्खालका ढोकाभित्रबाट बलियोसँग बन्द गरी नगरकोटी सैनिकहरू राख्ने प्रबन्ध मिलाएर उत्सव मनाउने थाले। उक्त चाड आश्विन ९ देखि १६ गतेसम्म मनाइने योजना थियो, जसमा कुमारीको रथयात्रा पनि घुमाइन्थ्यो। ज्योतिषी कुलानन्द ढकालको साइतअनुसार १८२५ आश्विन १३ गते राती ३ बजे कान्तिपुर दरबारमाथि आक्रमण गर्ने योजना भयो। पृथ्वीनारायण शाहले गोर्खाली फौजलाई तीन तीन भागमा विभाजन गरी पूर्व, पश्चिम र उत्तरतर्फबाट आक्रमण गर्ने योजना मिलाए। यसअनुसार टुँडिखेल, भीमसेनस्थान र  नरदेवीबाट आक्रमण गर्न सम्पूर्ण प्रबन्ध मिलाई निश्चित साइतमा आक्रमण गरे।  

प्रकाशित: २५ भाद्र २०७९ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App