coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अनकन्टार भिरकी सुनाखरी : योगमाया

योगमाया साधारण अनि अशिक्षित भएर पनि त्याग, तपस्या र विचारकै कारण गर्विलो इतिहास बनाएकी महिला हुन्। नेपाली समाजमा जरो गाडेर बसेका सदियौँ पुराना विकृति, विसङ्गति, कुरीति, अन्धविश्वास, सामाजिक विभेद, घुसखोरी, भ्रष्टाचार, जातप्रथाविरुद्ध तथा धर्म र महिला हकहित एवम् प्रकृति संरक्षणका पक्षमा योगमायाले फुकेको विद्रोहको बिगुल आफैमा असामान्य घटना थियो। योगमायाको विद्रोहले राणा सरकारका लागि ठूलो चुनौती खडा गरेको थियो।  

विद्रोहको पर्याय योगमायाका बारेमा सुरुसुरुमा अध्ययन–अनुसन्धानमूलक कार्य त्यति नभए पनि पछिल्लो समय त्यो त्यागको ऐतिहासिक अभिलेखन विभिन्न माध्यमबाट भएको पाइन्छ। यही क्रममा उनै त्यागी महिलाको योगदानको अभिलेखन गरिएका लेखहरूको सँगालोस्वरूप लेखनाथ भण्डारीद्वारा सम्पादित ‘योगमाया : जीवनी र मूल्याङ्कन’ पुस्तक प्रकाशित भएको छ। यस पुस्तकलाई वैकल्पिक समूह, काठमाडौँले प्रकाशन गरेको हो।  

यस पुस्तकमा लेखरचनाहरूलाई चार भागमा विभाजन गरेर योगमायाको जीवनी, व्यक्तित्व तथा योगदानको मूल्याङ्कन गरिएको छ। पहिलो भागमा ‘इतिहासको उत्खनन’ शीर्षक दिएर लेखक तथा सम्पादक लेखनाथ भण्डारीले योगमायाको परिचय, विदेसिनुपर्ने कारण र नेपाल फर्केपछि उनले गरेका कर्म, योगमायालाई देख्ने र जान्नेहरूको अनुभूति, जलसमाधि लिनुपर्नाका कारण, योगवाणी तयार हुनुको गर्भकथा, जलसमाधिमा जानेहरूको नामावली, योगमायाको आन्दोलन ओझेलमा पर्नुको कारण, योगमायासँग सम्बन्धित अन्य प्रकाशनजस्ता विषयमा खोजमूलक परिचर्चा गरेका छन्।  

‘दृष्टिकोण, विश्लेषण र मूल्याङ्कन’ मूल शीर्षक दिइएको भाग दुईमा ७४ जना लेखक तथा समीक्षकहरूले योगमायाको योगदानका विविध पक्षको चर्चापरिचर्चा गरेका छन्। अधिकांश समीक्षकहरूले एकदुई पेजका छोटाछोटा आलेख लेख्दै योगमायालाई साहसिक अभियन्ताका रूपमा चित्रण गरेका छन्। आफ्नो आलेखमा डा. अरूणा उप्रेतीले इतिहासले योगमायाको उचित मूल्याङ्कन नगरेको निष्कर्ष निकालेकी छन्। योगमाया ध्यानमा महिलालाई प्रेरित गर्ने अभियन्ता हुन् भन्दै साहित्यकार बबिता बस्नेतले टिप्पणी गरेकी छन्।

साहित्यकार अर्चना थापाले योगमायालाई सत्तालाई चुनौती दिने महिलाका रूपमा मूल्याङ्कन गरेकी छन्। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आफ्नो आलेखमा योगमाया जनअधिकारको मौनताको विष्फोटक रूप रहेको टिप्पणी गरेका छन्। नेतृ चित्रलेखा यादवले योगमायालाई क्रान्तिकारी समाजसुधारक महिलाका रूपमा मूल्याङ्कन गरेकी छन्। 

डा. डीला संग्रौलाले अन्धविश्वासी समाजलाई चोट दिने हैसियतमा योगमाया रहेको विचार आफ्नो आलेखमा राखेकी छन्। डा. ह्यारी भण्डारीका विचारमा योगमायाको सङ्घर्ष किंवदन्ती नभई इतिहास बन्नुपर्छ। प्रा. नोवलकिशोर राईले योगमायालाई अनकन्टार भिरकी सुनाखरी हुन् भन्ने प्रतीकात्मक टिप्पणी गरेका छन्।

एमाले नेता प्रदीप ज्ञवालीले योगमायालाई आदि विद्रोहीका रूपमा औँल्याएका छन्। त्यसैगरी राप्रपा नेता राजेन्द्र लिङ्देलले योगमाया गर्विलो अग्रज पदचाप रहेको विचार आफ्नो आलेखमा राखेका छन्। योगमायाको जीवनी, उनले गरेका सङ्घर्ष, त्याग, तपस्या, समाधिलाई लेख्य विषय बनाएर धेरै लेखकहरूले लेखमार्फत विचार राखेका छन्। यहाँ दिइएका लेखक र तिनका योगमायासापेक्ष विचार पुस्तकमा उल्लेख भएका केही प्रतिनिधि विचारहरू मात्र हुन्।  

भाग तीनमा ‘अनुसूची’ मूल शीर्षक दिएर विभिन्न पत्रपत्रिका तथा पुस्तकमा पूर्वप्रकाशित केही लेखहरू राखिएका छन्। यस भागमा निनु चापागाईं, लेखनाथ भण्डारी, नीलम कार्की निहारिका, योगेन्द्र शाहीका योगमाया विषयक पूर्वप्रकाशित लेखहरू साभार गरिएका छन्। यसै भागमा नेवारी, मैथिली तथा अङ्ग्रेजी भाषामा लेखिएका योगमायासापेक्ष लेख पनि समावेश गरिएका छन्।भाग चारमा योगमायाद्वारा लेखिएको र २०१४ सालमा प्रकाशित कृति ‘सर्वार्थ योगवाणी’ राखिएको छ।  

यसरी ‘योगमाया : जीवनी र मूल्याङ्कन’ पुस्तकमा साधक योगमायाको कर्मले न्याय पाउने गरी विवेचना गरिएको छ। हेर्दा निकै निडर र हक्की देखिने तर व्यवहारमा अति नम्र र शालीन रहेकी त्यागी महिला योगमायालगायत ६८ जना सत्य धर्मका भिक्षुकहरू सत्य धर्मको माग पूरा नहुने भएपछि १९९८ साल आषाढ २१ गते हरिशयनी एकादशीका दिन शनिबार अरूण नदीमा हाम फाली समाधि लिएर यो संसारबाट सदाका लागि बिदा भए।

यस घटनाको नकारात्मक टिप्पणीसमेत धेरै भएको पाइन्छ। प्राण त्याग गरेर सत्य धर्मको माग कसरी पूरा हुन्छ ? बाँचेर पो सङ्घर्ष गर्ने हो भन्ने टिप्पणी भइराखेका पाइन्छन्। यद्यपि ती सत्यका पक्षधर ६८ जना त्यागका प्रतिमूति हुन्। योगमायाको जिन्दगी नै त्यागको पर्याय हो। 

प्रकाशित: २८ श्रावण २०७९ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App