६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

श्रमिकको सुरक्षा गर्न इजरायल र ओमानसँग सम्झौता

नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपाली श्रमिकको सुरक्षालाई संस्थागत गर्न इजरायल र ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र ओमानसँग श्रम सम्झौता अघि बढाउने औपचारिक प्रक्रिया थालेको हो ।

परराष्ट्र मन्त्रालयमार्फत दुवै देशलाई श्रम सम्झौतासम्बन्धी पत्राचार गरेको श्रम मन्त्रालयले जनाएको छ । गत २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ओमानसँग श्रम समझदारी पत्र र इजरायलसँग श्रम सम्झौता नवीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित देशसँग आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार परराष्ट्र मन्त्रालयमार्फत इजरायल र ओमानलाई पत्र पठाएको छ । सम्बन्धित देशबाट सम्झौताको ढाँचा, तह र समयबारे प्रतिक्रिया आएपछि मन्त्री तहमा सम्झौतामा हस्ताक्षर गरिने तयारी रहेको उनले बताए ।

‘कुन तहमा, कहिले र कसरी सम्झौता गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी माग्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको हो,’ प्रवक्ता घिमिरेले भने ।

ओमानसँगको श्रम सम्झौता नेपाल–ओमान कूटनीतिक सम्बन्ध स्थापना भएको झन्डै पाँच दशकपछि हुन लागेको हो । नेपाल र ओमानबिच सन् १९७७ (वि.सं. २०३४) मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिइसकेको र त्यसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

नेपाल र ओमानबिच २२ वैशाख २०७६ मा श्रम सम्झौताको मस्यौदा तयार भइसकेको थियो । काठमाडौंमा सम्पन्न उच्चस्तरीय प्राविधिक बैठकले शून्य लागतमा श्रमिक पठाउने सैद्धान्तिक सहमति समेत जुटाएको थियो । सम्झौतामा श्रमिकको अधिकार, नेपाल सरकारको दायित्व, ओमान सरकार र रोजगारदाताको जिम्मेवारीलगायत विषय समेटिएका छन् ।

हाल ओमानमा करिब २५ हजार नेपाली श्रमिक कार्यरत रहेको ओमानस्थित नेपाली दूतावासको तथ्याङ्क छ । त्यहाँ विशेष गरी घरेलु श्रमिकका रूपमा नेपाली महिला जाने गरेका छन् । घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध रहे पनि अवैध बाटो र भिजिट भिसामार्फत नेपाली महिलाहरू ओमान, कुवेतलगायत देश पुग्ने गरेको पाइन्छ ।

यसअघि सहमति नजिक पुगेको बेला ओमानले श्रम कानुन संशोधन गरेपछि प्रक्रिया रोकिएको थियो । १० भदौ २०८१ मा ओमानका विदेश मन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीको नेपाल भ्रमणका क्रममा श्रम सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर, मस्यौदामा नयाँ अडान आएको भन्दै ओमान पक्ष पछि हटेको थियो ।

इजरायलसँग भने सन् २०२० मा भएको श्रम सम्झौताको नवीकरण प्रक्रिया अघि बढाइएको हो । नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा २०७७ सालमा श्रम सम्झौतासँगै नेपालको कृषि क्षेत्र आधुनिकीकरण गर्न ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्झौता पनि भएको थियो ।

१४ असोज २०७७ मा सरकारी संयन्त्रमार्फत नेपाली केयर गिभरलाई इजरायल पठाउने सम्झौता भएको थियो । यो सम्झौतामा स्वतः नवीकरणको व्यवस्था नराखिएकाले यसलाई नयाँ सम्झौताको रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ४ माघ २०८२ २१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App