५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन

दशैंका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका ५०० मूर्ति विसर्जन गरिएका छन्। बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।

जिल्लाका १० वटै पालिकाका चोक, बजार र गाउँमा नवरात्रका अवसरमा दुर्गा भगवतीका मूर्ति स्थापना गरी पूजापाठ गरिएको थियो। कतिपय स्थानमा घटस्थापनाका दिन र अधिकांश स्थानमा सप्तमीका दिन मूर्ति स्थापना गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा यस वर्ष कुल ५०९ दुर्गा भगवतीका मूर्ति स्थापना गरिएका थिए।

कात्तिक ३ र ४ गते गरी दुई दिनमा ४०४ मूर्ति विसर्जन गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। बुधबार कृष्णनगर र महाराजगञ्ज क्षेत्रका मूर्ति विसर्जन गरिएको थियो भने बिहीबार कपिलवस्तु नगरपालिका क्षेत्रमा रहेका ९६ मूर्ति विसर्जन गरिएका थिए।

भक्तजनले बाणगंगा नदीको रामघाट र लक्ष्मणघाट, सुरई, बेल नदीलगायत विभिन्न स्थानमा मूर्ति विसर्जन गरेका थिए। तौलिहवा र आसपासका क्षेत्रमा निकालिएका झाँकी नगर परिक्रमा गराएर रामघाट पुर्‍याइएको थियो। बाजागाजा र नाचगानसहित घाट पुगेका भक्तजनले धार्मिक विधिअनुसार मूर्ति विसर्जन गरेका थिए।

स्थापना गरिएका मूर्तिको मूल्य २० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ। नवरात्रमा दुर्गा भगवतीको व्रत बसेर पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासअनुसार भक्तजनले श्रद्धापूर्वक पूजा गर्दै आएका छन्। मूर्ति विसर्जनका विभिन्न स्थलमा मेलासमेत लागेको थियो।

मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप तथा अप्रिय घटना रोक्न जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विशेषगरी सुरक्षा संवेदनशील मानिने कृष्णनगर क्षेत्रमा ड्रोन, सीसी क्यामेरा र बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मूर्ति विसर्जनका क्रममा जिल्लामा कतै पनि अप्रिय घटना नभएको प्रहरी उपरीक्षक भट्टले बताए। उनका अनुसार अब नौवटा मूर्ति विसर्जन गर्न बाँकी छन्। ती मूर्ति पनि एक–दुई दिनभित्र विसर्जन गरिनेछन्। उनले दशैं अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०८३ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App