खोटाङमा विद्युत् ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका कृष्ण राईको घरनजिकै रहेको ट्रान्सफर्मर पड्किएपछि सल्किएको आगोले उनको दुईतले घर र मतान जलेर नष्ट भएको हो।
बुधबार राति करिब ९ः३० बजे ट्रान्सफर्मर पड्किएर आगो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। ट्रान्सफर्मरबाट सल्किएको आगो घरमा फैलिएपछि घर र मतान पूर्ण रूपमा जलेका हुन्।
वैदेशिक रोजगारीका सिलसिलामा कृष्ण राई बेलायतमा रहेकाले घरमा उनकी श्रीमती तारा र कान्छा छोरा रम्बोहाङ बस्दै आएका थिए।
आगलागीबाट जस्ताको छानो र ढुङ्गामाटोले बनेको दुईतले घर, मतान तथा त्यहाँ रहेका नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामान जलेर नष्ट भएका छन्। घरमा राखिएको २० हजार रुपैयाँ नगद, धान, चामल, मकै, कोदो तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दशैंको रमझम चलिरहेका बेला राति आगलागी भएपछि स्थानीयवासी तत्काल घटनास्थलमा भेला भएका थिए। गाउँले, जनप्रतिनिधि र छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा मध्यराति १२ः३० बजेसम्म आगो नियन्त्रणमा लिइएको थियो। स्थानीयवासी समयमै जुटेकाले आगो थप फैलिनबाट रोकिए पनि घरभित्र रहेका अधिकांश सामग्री जोगाउन नसकिएको उनले बताए।
आगलागीबाट भएको कुल क्षतिको विवरण भने यकिन हुन बाँकी छ। घटनास्थलमा खटिएको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरिरहेको र सर्जमिन मुचुल्का तयार भएपछि वास्तविक क्षतिको विवरण खुल्ने प्रहरीले जनाएको छ।
दशैंजस्तो चाडपर्वका बेला घर र मतानसहित घरभित्रका सम्पूर्ण सरसामान जलेर नष्ट भएपछि राई परिवार ठूलो समस्यामा परेको छ। पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै अस्थायी आवासको व्यवस्था गर्न नगरपालिकाले आवश्यक तयारी गरिरहेको जनाइएको छ।
प्रकाशित: ५ कार्तिक २०८३ १८:३७ बिहीबार



-600x400.jpg)

