साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ।
मन्त्रालयले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको निन्दा गरेको हो। यस्ता विवादको समाधान संवाद, वार्ता र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा खोज्नुपर्ने नेपालको धारणा रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।
तेल केन्द्रमा ड्रोनको अवशेष लागेर सवारीसाधनमा आगलागी भएको थियो।
प्रकाशित: ५ कार्तिक २०८३ १८:०८ बिहीबार

