२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

लक्ष्य: म्हपूजाको विश्वव्यापीकरण

सन्दर्भ: क्वातिपुन्हि र गाईजात्रा

हामी विश्वव्यापीकरणको युगमा छौँ। यसमा सांस्कृतिक आदानप्रदान हुनु स्वाभाविक हो। जन्म दिनमा केक काट्ने र मैनबत्ती फुक्ने चलन त हाम्रो घरघरमा व्यापक भइसकेको छ। त्यस्तै सहर बजारमा क्रिसमस मनाउन थालिएको छ। एकोहोरो प्रभाव हो भने त्यसलाई विश्वव्यापीकरणभन्दा पनि पश्चिमीकरण मात्रै भन्नु उपयुक्त हुन्छ। दोहोरो प्रभाव वा सांस्कृतिक आदानप्रदान जब हुन्छ, सद्भावको वृद्धि हुन्छ। एकतर्फी प्रभावले भित्रभित्रै असन्तुष्टि जन्माउँछ; दुईतर्फीले प्रेम!

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै बालेन्द्र साहले आफ्नो घोषणापत्रमा म्हपूजाको राष्ट्रिय अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने कुरा उल्लेख गरेका छन्। यसै सन्दर्भमा क्वातिपुन्हि र गाईजात्राको राष्ट्रियकरणको व्यापक सफलताको समीक्षा गर्दै तीन महिनापछि आउने म्हपूजाको ब्रान्डिङको सम्भावनाबारे यस आलेख केन्द्रित रहेको छ। यो अहिले नै छलफल गर्नु किन आवश्यक छ भने म्हपूजा गर्नका लागि लामो तयारी चाहिन्छ।

क्वाति र गाईजात्राको सहज राष्ट्रियकरण

हुन त नेपालका केही चाडहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय फैलावट दशकौं अघिदेखि नै सुरु भइसकेको प्रक्रिया हो। उदाहरणका लागि छठ मधेसी समुदायले मात्र मान्ने चाड रहेन। कुनै पनि देवता भनेपछि सहजै पूजा र भक्तिभाव गर्ने नेपालीको सरल स्वभाव छ। त्यस्तै जनै पूर्णिमाको दिन क्वाति खाने नेवारको चलन देशव्यापी भएको धेरै समय भइसकेको छ। नेपाल भाषाको ‘क्वाति’ शब्द ‘क्वा’ (तातो) र ‘ति’ (झोल वा रस) मिलेर बनेको हो। झरीको मौसमसित सुहाउँदो भएर पनि होला, मान्छेले सजिलै ग्रहण गरे। यससँगै ‘क्वाति’ शब्द पनि शुद्धसित ग्रहण गरेको भए अझै सुन्दर हुन्थ्यो।

गाईजात्रा (सापारु) खासमा उपत्यका र बाहिरका नेवार बस्तीमा मनाइन्छ। सो दिन आफन्त गुमाएका परिवारका बालकलाई गाई लगायत अन्य मुकुन्डो लगाउन लगाएर सडकमा निकाल्ने गरिन्छ। साथसाथै कुनै पनि प्रतिभा सम्पन्न व्यक्ति वा समूहले सडक र डबलीमा हास्यव्यङ्ग्य (ख्याल) प्रस्तुत गर्ने चलन छ। यो प्रचलन राजा प्रताप मल्लले चलाएको भनिन्छ। यस हिसाबले यो झन्डै पाँच सय वर्षको अटुट परम्परा हो। यस चाडका अन्य पक्ष हिन्दू नेवारमा मात्र सीमित भए पनि हास्यव्यङ्ग्यको पक्षले भने देशव्यापी लोकप्रियता पाएको छ।

यो चाडको ख्याल पक्ष पञ्चायतकालमा अत्यन्तै लोकप्रिय भयो। यसैले धेरै कलाकारहरू जन्मायो। हास्यव्यङ्ग्यका मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि यसै पर्वका उत्पादन हुन्। २०३४ सालबाट हरिवंश आचार्यले पनि गाईजात्रा महोत्सवमा भाग लिएका थिए। पञ्चायत कालमा राजनीतिक व्यङ्ग्य गर्न नपाइने कठोर व्यवस्था थियो। तर, परम्पराको आडमा वर्षमा एकपटक भए पनि व्यङ्ग्य कस्न पाइने भएकाले कलाकारहरू यसै दिनको पर्खाइमा विशेष तयारी र मिहिनेत गर्दै बस्थे। आमजनता पनि वर्षैभरि छातीभित्र गुम्साएर राखेको राजनीतिक आक्रोश हास्यव्यङ्ग्य हेर्दै कुण्ठामोचन (भावविरेचन) गर्थे।

सडक र टोलटोलमा सीमित हास्यव्यङ्ग्य २०२९ सालमा आएर नेपाल भाषाको ‘मुनासः’ नाट्य संस्थाले यसलाई व्यापकता दियो। सो संस्थाले राष्ट्रिय सभागृहमा नेपाल भाषाको दुई दिने ख्यालः प्रतियोगिताको थालनी गरेको थियो। सो कार्यक्रममा सत्यमोहन जोशीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको थियो। त्यसपछि २०३३ सालसम्म आउँदा सत्यमोहन जोशीकै नेतृत्वमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले नै गाईजात्रा महोत्सव आयोजना गर्न पुग्यो। २०३६ सालपछि भने अञ्चलाधीश कार्यालयको सेन्सर–व्यवस्थाबाट ‘मुनासः’को ख्याल प्रतियोगिता स्थगित हुन पुग्यो।

परम्परागत रूपमा गाईजात्रामा ख्याल मात्र प्रस्तुत हुन्थ्यो भने छापाखाना आएपछि पत्रिकाले पनि हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशित गर्ने लहर नै आयो। त्यसपछि हास्यव्यङ्ग्य रेडियो, टिभी र क्यासेटसम्म छायो। यसले कुस्त मनोरञ्जन त प्रदान गर्थ्यो नै, साथै जनमानसमा व्यापक चेतना छर्ने काम पनि गर्थ्यो। त्यसैले गाईजात्राले परम्परागत मात्र नभई सशक्त क्रान्तिकारी काम पनि गरेको थियो। परिवर्तनका लागि चेतना जगाउनमा गाईजात्राको उल्लेख्य भूमिका रह्यो। निश्चय पनि यसको मूल्याङ्कन इतिहासले गर्ने छ। तर, व्यवस्था परिवर्तनपछि वाक् स्वतन्त्रताले यसको आकर्षणमा कमी आयो। साथै, दलीय नेताहरू आफै वर्षैभरि गाईजात्रे भइदिएकाले लोकतन्त्रमा गाईजात्राको हास्यव्यङ्ग्य पक्ष अप्रासङ्गिक बन्दै गयो।

म्हपूजाको विश्वव्यापी सान्दर्भिकता

म्हपूजा काठमाडौंका मूलवासी नेवारको प्रमुख चाड हो। देवीदेवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला। तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने चलन नेपालमा बाहेक विश्वमै कतै नहोला। त्यसैले यो विशिष्ट र अद्वितीय छ। विश्वमा प्रस्तुत गर्न लायक छ। यसको दर्शन पनि व्यापक र आकर्षक छ। विधि पनि विस्तृत र गम्भीर छ। रोचक पनि छ। शैव र बौद्ध धर्मसित गाँसिएको हुँदै पनि यसको मूल आधार मानववाद नै हो। त्यसैले पनि होला, नेपालभित्र र बाहिर नेवार संगठनहरूले आयोजना गर्ने म्हपूजामा गैरनेवार र गैरनेपाली पनि निःसंकोच रुचीपूर्वक सहभागी भएका छन्।

केही वर्षअघि जनकपुरमा मुख्यमन्त्री (लालबाबु राउत) र वीरगन्जमा पगरी लगाएका (अमृतधारी) सिख व्यक्ति मज्जाले म्हपूजामा सहभागी भएका तस्बिरले राम्रै चर्चा पाएका थिए। यसबाहेक पाश्चात्य जगत्मा नेपाली समुदायले मनाउने सामूहिक म्हपूजामा गैरनेवार र विदेशीको उपस्थिति पनि उल्लेख्य छ। यस हिसाबले म्हपूजाको नेवार समुदायबाहिर विस्तार भई नै सकेको छ। यसैलाई तीव्रता दिनु आजको आवश्यकता हो।

म्हपूजाको प्रारम्भबारे एउटा किंवदन्ती छ। किंवदन्ती अनुसार दशौं शताब्दीमा विशालनगरमा भएको भयानक आगलागीले धेरै नागरिकको ज्यान गएको थियो। नेपालको प्रशासनिक केन्द्र दशौं शताब्दीसम्म विशालनगरमा थियो भन्ने कुरा त इतिहास प्रमाणित छ।

भनिन्छ, सो दुर्घटनाबाट ज्यान जोगिएका आमनागरिकले आफूलाई भाग्यमानी ठानेर म्हपूजा सुरु गरेका थिए। नेवारहरूमा कुनै ठूलो दुर्घटना टर्दा सगुनदिने चलन चलि नै रहेको छ। बुझाउन सकेमा, विश्वलाई नै त्रसित बनाएको कोभिड–१९ को लगभग अन्त्य भएको सन्दर्भमा विश्वका लागि नै यो वर्ष म्हपूजा विशेष सान्दर्भिक हुन जान्छ।

यो सबै गर्दैगर्दा सावधानी अपनाउनुपर्ने कुराहरू पनि उत्तिकै छन्। प्रसारसँगै ‘म्हपूजा’को मौलिकता फितलो नहोस् र यसको नाममा अपभ्रंश गर्ने कार्य नहुन दिनविशेष सावधानी अपनाउनुपर्छ। अहिले नै पनि कति मिडियाले यसलाई आत्मपूजा, देहपूजा, ब्रह्मपूजा भन्ने गरेका छन्। व्यक्तिवाचक संज्ञाको अनुवाद गर्नु अनर्थक कार्य हो। म्हपूजा मात्र होइन, यससँग सम्बद्ध कोखा, खेलुइता आदि शब्द पनि शुद्धसित ग्रहण गराउनुपर्छ। अनुवादले मौलिक अर्थ र भाव बहन गर्न पनि सक्दैन। प्रसारको नाममा विस्तार त हुने तर सँगसँगै विकृत हुँदै गयो भने अनादर र अर्थको अनर्थ हुन जान्छ।

म्हपूजा: मानववादी दर्शन

म्हपूजा यसकारण पनि विश्वमा फैलिने तागत राख्छ कि यसको बलियो र आकर्षक दार्शनिक आधार छ। साथै यसको कलापक्ष पनि सुन्दर छ। यो कुनै धर्ममा आधारितभन्दा पनि मानववादी दर्शनमा आधारित छ। पश्चिममा मानववाद बिसौं शताब्दीमा झुल्केको दर्शन हो। मानववादले दर्शनको सुरु बिन्दु मानवलाई मान्छ। यसले मानवको स्वतन्त्रता, प्रगति र अथाह सम्भावनालाई केन्द्र बिन्दुमा राख्छ।

म्हपूजा मानव सशक्तीकरणको विधि हो। यसमा मानव देहलाई विश्व ब्रह्माण्ड मानिन्छ। फेरि विश्व ब्रह्माण्डको प्रतीक स्वरूप हरेक व्यक्तिका अगाडि मण्डल बनाइन्छ। मानव शरीरलाई विश्व ब्रह्माण्ड मानी पूजा गरिन्छ। फेरि आफ्नो अगाडिको मण्डललाई पनि पूजा गरिन्छ, जुन आफ्नै शरीर र विश्व ब्रह्माण्ड दुवैको प्रतीक हो।

म्हपूजामा प्रयुक्त मुख्य सामग्रीहरू पनि शरीरकै प्रतीक हुन्। कोखा (काँचो धागाको माला) मानिसको शरीरको लम्बाइ (अग्लाइ) बराबर बनाइन्छ। त्यसको टुप्पोमा प्रयोग गरिने पाँच रङ्गको कपडालाई शैव मतअनुसार पञ्चतत्त्वको प्रतीक मानिन्छ भने बौद्धमतमा पञ्च बुद्धको प्रतीक मानिन्छ। ब्रह्माण्ड र हाम्रो शरीर पञ्चतत्त्वबाट बनेको हुनाले म्हपूजामा  पञ्चतत्त्वको प्रयोग धेरै किसिमबाट भइरहेको हुन्छ।

त्यस्तै म्हपूजामा प्रयुक्त खेलुइता (लामो बत्ती) ले मानिसको मुहारलाई बुझाउँछ। ‘खेलु’ भनेको अनुहारको बान्की हो र ‘इता’ भनेको बत्ती। यो एक जोडी बत्ती दुवै छेउबाट बालेर मण्डपको बीचमा चार दिशामा फर्काएर राखिन्छ। जब यो चारैतिरबाट बल्छ, मण्डप झलमल्ल बन्छ। यसले जीवन झलमल्ल होस् भन्ने बुझाउँछ। साथै जीवनको अनित्यता पनि बुझाउँछ-बल्दै, जल्दै सिद्धिँदै गरेको। म्हपूजाको प्रक्रियामा उच्चकोटिको सौन्दर्य, कलात्मकता र प्रतीकात्मकता भेटिन्छ।

हुन त घरमा बनाइने म्हपूजाको मण्डल जति कलात्मक र मिहीन बनाइन्छ, सामूहिक म्हपूजामा धेरै कटौती हुन्छ। म्हपूजा विधिमा धेरै सूक्ष्म र विस्तृत प्रक्रियाहरू हुन्छन्। हरेक प्रक्रियाको आफ्नै अर्थ हुन्छ। ती सबै एउटा छोटो आलेखमा समेट्न सम्भव छैन। बरु यसको विधि र महत्त्वलाई विभिन्न भाषामा प्रकाशन गर्नु आवश्यक छ। म्हपूजाको मण्डल नै पनि धेरै प्रकारका छन्। तिनको पनि अभिलेखीकरण जरुरी छ।

म्हपूजाको प्रसार

देश र विदेशमा म्हपूजाको प्रसारमा नेवार समुदायले अग्रसरता लिइरहेको छ। निश्चय पनि नेवारको संस्कृति भएकाले म्हपूजा जानेको नेवारको सक्रियता त आवश्यक नै हुन्छ। तर आयोजनाको अगुवाइ जसको पनि हुनसक्छ। यो चाडको प्रसारमा तीव्रता ल्याउन खास गरी मन्दिर, गुम्बा र सामाजिक संस्थाहरूले अग्रसरता लिन सक्छन्। यति भएमा सहजै प्रसार हुन सक्छ।

प्रकाशित: २१ श्रावण २०७९ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App