६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

डिभोर्स

कथा

 लक्ष्मी उप्रेती

छोराको बिहे गरेको छ महिना भयो। यो छ महिनामा सुरुको एक महिना मात्र खुशी देखिए उनीहरू। त्यसपछिका दिनमा उनीहरू कहिले खुशी भएनन्। दाम्पत्य जीवनको सुरुवातमा नै किन यिनीहरू एक अर्कासँग यो विधि निराश भए? सँगै हिंड्न मन गर्दैनन्। बुहारी हरदम माइत जान मात्रै रुचाउँछिन्। छोरो पनि चुपचाप देखिन्छ। यिनीहरूको यस्तो पारा देखेर मलाई दिक्क लाग्छ। छोराबुहारी रमाएको हेर्ने मेरो चाहना त्यसै ओइलाउन थाल्यो। बिहानभर मेरो मन यिनै तर्कमा जेलिइरह्यो।

खाना खाएर छोरा साकार चिन्तित मुद्रामै कार्यालय गयो। छोरो कार्यालय गएपछि बुहारी पनि टिमटिम गर्दै कोठामा गइन्। म भने जुठै हात लिएर केके सोच्न थालें। प्रीति खराब केटी होइन।

बिहेअघि उसले हामीप्रति निकै राम्रो व्यवहार गर्थी। ती दिनमा छोरासँग मात्र नभई मसँग पनि प्रीतिको व्यवहार सुमधुर। असल बुहारीमा हुनुपर्ने हरेक गुण उसमा देखेर नै उसका खानदान,परिवारबारे केही सोचिएन। प्रीतिले आफ्नो असल स्वभावले हाम्रो मन जितेकी थिइन्। यिनै तानाबानामा अल्झिएर एकोहोरिएको बेलामा कान्छीले ‘मुवा हात धोइस्योन’ भन्दा पो झल्याँस भएँ अनि हात धोएर म कोठामा गएर ढल्किएँ। यता फर्कन्छु, उता फर्कन्छु निद्रा पटक्कै लाग्दैन। जुरुक्क उठ्छु मन छटपटिएर उकुसमुकुस हुन थाल्छ।

छोराबुहारीको जीवनमा त्यस्तो के घटना भयो र यिनीहरू पूर्व र पश्चिम हुनुपर्ने अवस्था आयो भनेर सोध्ने विचारले बुहारीलाई बोलाउँछु। एकैछिनमा कान्ति हराएको निरसिलो अनुहार लगाउँदै बुहारी मेरो कोठमा भित्रिन्छिन्। उनलाई आफूछेउ बोलाएर बस भन्छु। आज्ञाकारी बालकझैं उनी मेरो छेउमा आएर टुसुक्क बस्छिन्।

मौन भाषामा हामी बीच हेराहेर गछौं। हाम्रा चार आँखा एकै हुन्छन्। कोठामा सन्नाटा छाएको छ। मेरा आँखा रसाए तर उनका आँखाको गति फरक भएन। कुनै भूमिका नबाँधी मैले ‘प्रीति, त्यस्तो के भयो, जस्ले गर्दा तिमीहरूका बीचमा यसरी दूरी बढिरहेछ? मलाई नढाँटी भन।’

म उनीहरूको समस्या सुन्न आतुर भएँ। केहीबेर त प्रीति बोलिनन्। मैले कर गरेपछि उनले ‘तपाईंले सोधी हाल्नुभयो। म तपाईंको छोराबाट पारपाचुके चाहन्छु। तपाईंका छोराले सहमतिमा डिभोर्स दिनु हुन्छ कि आफ्नै तरीकाले म अदालत जाउँ?’ 

बिनासम्बोधन, बिनासंकोच र बिनापश्चताप उनले असन्तुष्टि ओकलिन्।

बुहारीबाट यो कुरा सुन्नुपर्ला भनेर मैले कल्पना पनि गरेकी थिइनँ। कतै छोराले केही गल्ती गर्‍यो कि भन्ने सोच पनि आयो। त्यसैले सोधें, ‘प्रीति, तिमीले किन यसो भनेकी? कारण के हो, कतै साकारले तिम्रो अपमान गरेर चित्त पो दुखायो कि?’ 

कसैले मेरो अपमान/सपमान केही गरेको छैन। म डिभोर्स चाहन्छु। योभन्दा बढी मलाई अरू केही भन्नु छैन।’ पटट मुरली मकैको फूल पड्केझैं पड्किंदै प्रीति जुरुक्क उठेर बाहिर गइन्।

त्यसबेलामा ऊ फन्फनिदै गएको मैले हेरिरहें। मेरा बोल्ने बाँकी शब्द उनले एकै झड्कामा खोसिदिएकी थिइन्। मैले रोक्न खोज्दाखोज्दै मेरो कुरा सुन्ने धैर्य र शिष्टता उनले देखाइनन्।

आँखाबाट बगेको आँसुसँगै म कतिबेला निदाएँ। बिउँझिंदा टाउको दुखेर आफूलाई मैले शिथिल भएको पाएँ।

घडी हेरें। दुई बज्न लागेको रहेछ। बाहिर जान खोजें उठ्न सकिनँ। आफ्नो त्यही प्यारो शरीर आफैलाई बोझ भएको जस्तो लाग्यो। अझै आफूलाई सम्झाउने प्रयास गरे।

‘प्रीतिले नभन्ने कुरा भनिन् तर केटाकेटी बुद्धि उनले केही नसोची भनेकी होलिन्। प्रीतिकी आमालाई भनेर सम्झाउन लगाउनुपर्‍यो।’ मनमनै सोचेर छेउमा भएको मोबाइल उठाएर उनकी आमाको नामको नम्बरमा क्लिक गरें। एकै रिङ्गमा फोन उठ्यो र हेलो शब्द निस्कियो उताबाट।

त्यसपछि मैले नै ‘सम्धिनीज्यू नमस्कार’ भन्दै सामान्य शिष्टाचारबाट कुराकानी थालें।

मेरो अपेक्षा विपरीत प्रीतिकी आमाले मेरो ‘नमस्कार’ को जवाफ नमस्ते भन्दै अत्यन्तै रोषपूर्ण शैलीले फर्काइन्। उनको त्यो रुखो वचन सुनिसकेपछि मन नलागे पनि मैले एकछिन अनौपचारिक भएर गाँठी कुरा गरे।

‘हजुर हाम्रा छोराछोरी किन खुशी छैनन्? यिनीहरूको केमा ठाकठुक पर्‍यो। प्रीतिले किन हो म डिभोर्स लिन्छु भनिन्। हजुरले छोरीलाई सम्झाइदिनुपर्‍यो, म पनि छोरालाई सम्झाउँछु।’

प्रीतिकी आमाले सहजैसँग भनिन्, ‘मेरी छोरीले डिभार्स मागी भने यो त उसको जीवनको अधिकारको कुरा हो। तपाईं आफ्नो छोरालाई डिभोर्स दिने कुरामा सहमत गराउनुस्। ऊ कसैको बन्धनमा बस्न नसक्नु नौलो कुरो होइन। केटाकेटी खुशी छैनन् भने उनीहरूको इच्छामा हामीले साथ दिनुपर्छ।’ आमाले छोरीको निणर्यमा सहमति जनाइन्।

‘तर उनीहरूकै राजी-खुशीले बिहे भएको हो। उनीहरूलाई त्यस्तो के भयो र प्रीतिले डिभोर्सजस्तो अप्रिय निणर्य लिनुपर्‍यो?’ प्रत्युत्तरमा प्रीतिकी आमाले अभद्रतापूर्वक त्यस्तै भावको कुरा दोहोराएपछि म वाक्शून्य भएँ। उनी मेरो कुरा सुन्न नै तयार थिइनन्।

फोन अफ गरेर म पलङमा गर्ल्याम्म ढलें। अब के गर्नु, कसो गर्नु? घरको कुरा कस्लाई भनु भन्ने सोचेर चिन्ताले घेर्‍यो। त्यसैबेला कान्छीले चिया नास्ता लिएर आई। ‘मुवा, चिया खाजा ल्याएँ।’ टेबलमा खाजाको ट्रे राख्दै ऊ मलाई नै हेरेर उभिरही।

म निकैबेर जस्ताको तस्तै बसेको देखेर उसले भनी। ‘मुवा, कोठामा भएको बेला दाजु र भाउजूको झगडा सधैं परिरहन्छ। तँसँग बस्दिनँ। मलाई डिभोर्स दे भनेर भाउजूले दाजुलाई मनपरी भन्नुहुन्छ। कोठा मिलाउन जाँदा भाउजूबाट यस्तो कुरा सुन्छु।’ बोल्दाबोल्दै आँखाभरि आँसु पारेर कान्छी बाहिर गई।

म झन् भित्रभित्रै आगो दन्किएर पाक्न थालेँ। हामी आमाछोराले त पारिवारिक सुख चाहेका थियौं। बुहारी ल्याएर रमाइलो र सुख होला भन्ने थियो। बुहारीको यस्तो चालाले त घर भाँडिने नै भयो। त्योभन्दा पनि बढी त अब शत्रु हाँस्ने भए, इज्जत पनि जाने भयो। कुन साइतमा योसँग बिहे गरिएछ छोराको।

आमा मन म दुख्नसम्म दुखे। प्रीतिलाई किन डिभोर्स चाहियो? डिभार्स माग्नुको केही त कारण होला? के कारण होला त? मेरो मनमा प्रश्नहरूको पहाड चुलियो। यसैबेला ‘कान्छी, खोई मुवा?’ भन्दै साकार घरभित्र पसेकाले मैले आफूलाई सहज बनाउने प्रयास गरें।

‘कोठामै हुनुहुन्छ। आज भाउजूले पारपाचुकेको कुरा गरेर मुवालाई दुःखी बनाउनुभयो।’ कान्छीबाट जानकारी पाएको छोरा सिधै मेरो कोठामा आयो। म ढल्किएको पलङमा टुसुक्क बस्दै उसले भन्यो, ‘मुवा, जीवन सोचे जस्तो नहुँदो रहेछ।’

आज प्रीतिका कारणले मसँगै तपाईं पनि दुःखी हुनुपर्‍यो। मेरो जीवनमा यही लेखेको रहेछ। यो कुरा तपाईंलाई भन्नै सकिरहेको थिइनँ, उसले नै भनिन्। उसलाई डिभोर्स दिने त मैले कल्पना पनि गरेको थिइनँ। तर, उसको माग त्यही भएकाले अब डिभोर्स दिन्छु मुवा? हाम्रो सम्पत्ति लुट्न मात्र उसले मसँग विवाह गरेकी रहिछ।’ छोरो भावुकभन्दा पनि ह्रदयदेखि नै दुःखी भयो। छोराले त्यसो भनेपछि त झन् मेरो जीवनमा आँधीबेरी नै आयो।

आफूले दुःखले जोडेको आफ्नो सम्पति घ्याप्प उसलाई कसरी भाग लगाउनु? निकैबेर सोचेर यो कानूनी कुरा भएकाले मेरी वकिल साथी गरिमालाई भेट्ने समय मिलाएँ। भोलिपल्ट बिहानै हामी आमाछोरा उनलाई भेट्न गयौं।

कानुनकी पारखी मेरी साथी गरिमाले ऊसँग भेटेदेखिका एकएक कुरा हामीबाट जानकारी लिइन्। हाम्रा कुरा सुनेर गरिमाको अनुहारको रंग बिग्रियो।

‘के भयो तिमीलाई?’ अचानक गरिमामा आएको परिवर्तनबाट हामी सशंकित भयौ।

‘तिमीहरू नराम्ररी फस्यौ जस्तो छ है। यसबेला नेपाली कानुनले महिलालाई आवश्यकताभन्दा धेरै नै अधिकार दिएको छ। त्यसैले अचेल त अलिअलि जायजेथो भएका केटासँग विवाह गरेर सम्पत्ति सहित डिभोर्स लिने केटीहरूको सख्या बढ्दो छ। एक वर्ष अगाडि एउटा यस्तै नहार्ने डिभोर्स केस मैले पनि हार्नुपर्‍यो।

एउटी केटीले वीरगञ्जको एउटा धनाढय व्यक्तिसँग बिहे गरिछ अनि केही समयपछि नै घरेलु हिंसाको अनेक घृणित आरोप लगाएर उसले डिभोर्सको केश गरी।

अन्ततः भए नभएका अनेकन प्रमाण जुटाएर उसले मोटो रकम हात पार्न सफल उसको केश मैले हार्नुपरेको नमिठो अनुभव छ। पैसाका लागि जेजस्तो गर्न पनि पछि नपर्ने हुन्छन् अहिलेका केटीहरू। यस्तासँग लड्न मुस्किल पर्छ, दमयन्ती। केही समय मुद्दा चल्छ तर केटीहरूले चाहे भने अनेक आरोप लगाएर झुटा प्रमाणहरू पेश गर्छन्। बुहारीले उसो भन्छे भने बरु हामीले मिलेर नै यस्ताबाट मुक्त हुनै पर्छ।’ कानुनमा अनुभवले खारिएकी मेरी साथी गरिमाको सल्लाहले म आत्तिएँ।

‘तर, हामीलाई अन्योलमा राखेर बिहे गर्ने अनि अहिले आएर सम्पत्ति सहित डिभोर्स माग्नेको विरुद्धमा ठगी र जालसाजीको केश बन्दैन र गरिमा?’ गरिमाको मुहारमा नियाल्दै मैले सोधें।

‘केस बनाउन त सकिन्छ तर महिलाले रोएर बोलिदिए त्यही कुरा सत्य हुन्छ, दमयन्ती। केस त म फायल गर्न सक्छु तर सम्पत्ति पाउन यिनले इज्जत र बेइज्जत केही हेर्दैनन्। केटा पक्षको केही गल्ती नहुँदा पनि बाध्यताले ऊ निरीह हुन्छ। त्यसबेला तिमी आमाछोरा के  गर्छौ भन त?’ गरिमाले निराश भएर भनिन्।

उनको कुरा सुनेर छोरो आहत भयो अनि ‘सम्पत्ति त कमाउन सकिन्छ, मुवा। तर, यो टेन्सन हामीसँग रहिरह्यो भने हामीलाई झन् नोक्सान हुन्छ। बुवाहजुर र हजुरले वर्षौं लाएर कमाउनु भएको इज्जत म कुनै पनि हालतमा गुमाउन चाहन्नँ।’ लाचारी भावसँगै सत्य कुरा व्यक्त गर्‍यो मेरो छोराले।

बिनाकसुरको यो विपत्ति र विवशतामा हामी आमाछोरा नै बेस्कन दुख्यौं। केस दर्ता गराइसकेका उनीहरूले बोलेको झुट र नक्कली अभिनय देखेर हामी तीनछक्क पर्‍यौं।

यस्ता दुष्टहरूबाट जुनसुकै मूल्यमा पनि हामीले छुट्कारा लिनुको विकल्प थिएन। त्यसैले वकिलको सल्लाह अनुसार पहिला हामी उनीहरूको मागबारे प्रष्ट भयौं।

त्यसपछि मागबारे छलफल गरेर हामीले प्रीतिलाई पारपाचुके दिने निणर्य गर्‍यौं। दुखले आर्जेको सम्पत्ति उसलाई दिनुपर्दाको असह्य पीडाबाट हामी आहत भयौं। के साकारले प्रीतिले दिएको चोटलाई भुल्न सक्ला? मनमनै सोचेर म चिन्तित भएँ।

प्रकाशित: २३ असार २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App