१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

राजदेवी र छौंङखामा ऐतिहासिक मेला

संस्कृति

बाराको गढीमाईपछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा चर्चित भइरहेको लहान– १५ स्थित पञ्चावती राजदेवी मन्दिरमा चण्डी पूर्णिमाका दिन लाखौं पशुपन्छीको बलि दिइने गरिन्छ। यस राजदेवी मन्दिरमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ। नेपाल र भारतका लाखौं भक्तजनको घुईंचो लाग्ने गर्दछ। प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउन आउने भक्तजनको सङ्ख्या बढ्दै गइरहेको छ भने नयाँ भाकल गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ।

स्थानीय निर्वाचित जनप्रतिनिधिहरूले यस राजदेवी मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रकै रूपमा विकास गरेर यस लहानको विकास निर्माणमा लगनशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्। यहाँका सडक निर्माणको कार्य, धर्मशाला निर्माणजस्ता कार्य तदारुकताका साथ हुँदै छन् भने अन्य सेवा सुविधातर्फ पनि आवश्यक कार्य गर्न थालेकाले भक्तजनहरूको आकर्षण बढ्न थालेको कुरा लहान–१५ वडाका अध्यक्ष तेजनारायण चौधरीले बताउनुभएको छ। यहाँ सडक सुविधा भएपछि नेपाल र भारतका विभिन्न स्थानका भक्तजनहरूको भीड बढ्न थालेको छ भने स्थानीय भक्तजनको भीड पनि व्यापक रूपमा बढ्न थालेको देखिन्छ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको चुरे जंगलसँगै जोडिएर रहेको दुई बिघा क्षेत्रफलको जंगलमा रहेको यस राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निधान र कार्य सफलताका लागि पूजा गर्न आउने भक्तजनहरूको बिहान २ बजेदेखि नै घुईंचो लाग्ने गरेको कुरा मन्दिर संरक्षण विकास समितिका वीरेन्द्र चौधरीले बताउनुभएको छ।

२०७६ सालको जेठ महिनामा यहाँ ज्ञान महायज्ञ गरेर दुई करोड रूपैयाँ सङ्कलन गरिएको थियो। त्यही बजेटबाट यहाँ पर्यटन विकासका लागि धर्मशाला, पार्क र अन्य आवश्यक निर्माण गर्ने कार्यमा लहान नगरपालिका तदारुकताका साथ लागि परेको छ। जसको फलस्वरूप यहाँको मेलामा भक्तजनको सुविधाका लागि पनि विभिन्न किसिमका सेवा प्रदान गर्न थालिएको पाइन्छ।

थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्। छिमेकी गाउँका र अन्य स्थानमा रहेका आफन्तहरू र नाताकुटुम्ब, ईष्टमित्रहरू भेला भई राजदेवीलाई पशुपन्छीको बलि चढाई पाहुनाको रूपमा बसेर प्रसाद बाँडेर खाने चलन रही आएको छ। यहाँ मन्दिरमा बलि दिएका पशुपन्छीको रगतले मन्दिर रक्ताम्ये भए तापनि दुर्गन्ध नआउने र झिँगासमेत नलाग्ने विशेषता रही आएको छ। यसलाई राजदेवीको शक्तिले गर्दा हो भन्ने जनविश्वास छ।

राजदेवीको स्थापना कहिले भयो भन्ने सन्दर्भमा देवीका हालका पुजारी डम्बरबहादुर भाटले भन्नुभएको छ कि उहाँको दश पुस्ता अघि त्यस क्षेत्रको जंगलमा जङ्गली जनावरले धेरै दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाका दिन बलि दिनू भन्नु भएकाले यहाँ बलि दिने परम्परा चलेको हो। 

प्रकाशित: २१ जेष्ठ २०७९ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App