१५ असार २०८१ शनिबार
image/svg+xml
कला

पर्णकुटीमा बस्ने प्रधानमन्त्री

आजभन्दा २३२४ वर्ष पहिलेतिरको कुरा हो यो। एक लोकआख्यानका अनुसार सिकन्दर महान्का पूर्व सेनापति तथा सिरियाका ग्रिक–मेसिडोनियन सम्राट सैल्युकसका राजदूत विद्वान् लेखक मेगस्थनिजलाई पाटलीपुत्रमा आएपछि सम्राट चन्द्रगुप्त मौर्यका मार्गदर्शक गुरु र प्रधानमन्त्री विष्णुगुप्त कौटिल्य (चाणक्य) लाई भेट्न मन लागेछ।

राजकाजको समय सकेर दरबारबाट फर्की आएपछि आफ्नोे निवासमा साँझतिर भेट्न चाणक्यले मञ्जुरी दिएछन्। साँझ परेपछि गंगातटको बालुवाटारमा मौर्य साम्राज्यका परम शक्तिशाली प्रधानमन्त्री चाणक्यको खरको छाना भएको पर्णकुटी देखेर मेगस्थनिज छक्क परेछन्।

सम्राट चन्द्रगुप्त मौर्यको संसारभर प्रसिद्ध सुनचाँदीको लेप लगाई बनाइएका खम्बा र बेलबुट्टाले सजाइएका राजदरबार देखेका उनले मगध साम्राज्यका हर्ताकर्ता चाणक्यको पनि उस्तै दरबार होला भन्ने ठानेका रहेछन्।

भलाकुशल आदानप्रदानपछि पर्णकुटीभित्र साधारण सफा खाटमा मेगस्थनिज बसेपछि साम्राज्यको रीतिथितिबारे र राजनीतिक प्रशासनिक राजकीय विषयमा छलफल चल्यो। यसो गर्दैगर्दा अँध्यारो बढेपछि चाणक्यले एउटा उच्चकोटिको ठूलो पानसको बत्ती बालेछन्।

राजदूतले केही बेरपछि ‘अब मेरा केही जिज्ञासा तपाईंको व्यक्तिगत जीवनबारे छ’ भनेपछि ‘हुन्छ सोध्नुहोस् न त’ भन्दै चाणक्यले ठूलो पानसको छेउमै रहेको साधारण माटाको पालामा बत्ती बाली पानसको बत्ती निभाएछन्। मेगस्थनिजले अचम्म मान्दै सोधेछन्– किन त्यो पानसको बत्ती निभाएको? चाणक्यले हाँस्दै भनेछन्– ए त्यो पानस र तेल मगध साम्राज्यको हो। यसको प्रयोग राजकीय कार्यको समयमा मात्र गर्ने गर्दछु। मेरो निजी काम र लेखनकार्यका लागि म मेरै तलबबाट किनेको माटाको पालामा मेरै पैसाबाट किनेको तेलबाट बल्ने बत्तीको प्रयोग गर्ने गर्दछु महामहिम।

मेगस्थनिजले तीनछक्क परेर भनेछन्– यो त अति भयो नि, हैन त महामहिम चाणक्य? चाणक्यले गम्भीर हुँदै भनेछन्– राजकोषको एक दाम पैसाको पनि दुरूपयोग हुनु हुँदैन भनी बोल्ने लेख्ने म आफैँ दृष्टान्त हुनुपर्दछ। अनि मात्रै सबै मन्त्री, सचिव र जनताले मेरो कुरा सुन्नेछन्, पत्याउनेछन्।

त्यसैले अलिकति देखाउन पनि पर्छ। चन्द्रगुप्त त मौर्य साम्राज्यका प्रतीक हुन्। मगधको समृद्धि र शक्ति अनुरूप उनले दरबारमा बस्नैपर्ने हुन्छ। तर म त जनताको छोरा हुँ। (कथा शैलीमा प्रस्तुति लेखकको)।

प्रायः सबै इतिहासकारले चाणक्यको सादा जीवनशैलीको पनि ठूलो प्रशंसा गरी लेखेकाले पनि उपरोक्त आख्यान सत्य हो भन्ने देखिन्छ  कौटिल्य र चन्द्रगुप्त मौर्यको ऐतिहासिकता चन्द्रगुप्त मौर्य र चाणक्यको नङमासुको सम्बन्ध भएकाले यी दुवै सबै घटनाका साथसाथै महानायक भएका देखिन्छन्। चाणक्य तक्षशिला विश्वविद्यालयका प्राचार्य (प्रोफेसर) मात्र होइनन्, आफ्नोे समयका प्रख्यात कूटनीतिज्ञ, युद्धविद्याका पारंगत र (मेकियाभिली प्रकारका) धुरन्धर रणनीतिकार राजनीतिशास्त्री थिए, (वर्मा, डा. दिनानाथ, सन् १९९१, प्राचीन भारतका इतिहासः १५०–१५३ तथा विद्यालङ्कार, डा. सत्यकेतु, सन् १९८९, प्राचीन भारतः २२०)।

चन्द्रगुप्त मौर्यका आमाबाबु लुम्बिनीको ठीक दक्षिणमा पर्ने भारतीय सीमासँग जोडिएको पिपरहवामा बस्दथे। पिपरहवालाई पिप्पलीवन पनि भनिन्थ्यो, जहाँ एउटा सानो गणराज्य थियो। शाक्यहरूकै उपशाखाको मुजुर पालक (मोरियहरूका) ग्राम प्रधानका पुत्रका रूपमा चन्द्रगुप्त जन्मिएका थिए, (वर्मा, सन् १९९१, पूर्वोक्तः १५२)। डा. हेमचन्द्र राय चौधरी र सर जोन मार्सलका लेखनका आधारमा राधाकुमुद मुखर्जी पनि चन्द्रगुप्त नेपालमा जन्मिएको कुरा मान्नु हुन्छ भनी नरू थापाले लेखेका छन्।

साथै मुद्राराक्षस ग्रन्थ र पटनाको किताब महल पुस्तकालयमा रहेको बौद्धकालीन इतिहासलाई उद्धृत गर्दै मौर्यहरू किरात मगरहरू नै हुन सक्ने तथ्यतर्फ श्री थापाले औँल्याएका छन्, (अन्नपूर्ण पोस्ट, २०७६।०८।०७)। कपिलवस्तु मगरातको पहाडी भागसँग जोडिएकाले शाक्यहरूमा झैँ मोरिय व्रात्य (विशुद्ध नभएका) आर्यहरूमा किरात–मगर रक्तमिश्रण भएको हुन सक्ने सम्भावना अत्यधिक छ भन्ने यस पंक्तिकारको पनि अभिमत छ।

स्मरणीय छ, बृहत्कथामा आधारित मुद्राराक्षस ग्रन्थमा मौर्यहरूलाई (कुलहीन) ‘वृषल’ भनिएको छ। मोरियहरूले बौद्धधर्म अपनाएकाले पनि उनीहरूलाई ‘व्रात्य’ (वैदिकधर्मच्युत) भनिएको हुन सक्छ। चन्द्रगुप्तका नाति सम्राट अशोकले लुम्बिनी र पिप्पलिनी (पिपरहवा) मा एक भाग मात्र कर लगाई अरू कर माफ गरेको र उनले पिपरहवामा दुईवटा स्तम्भ बनाएको पुरातात्विक प्रमाणले पनि (मोरिय) मौर्यहरू प्राचीन नेपालकै भएको प्रमाणित गर्दछ।

सिकन्दरका समकालीन नन्दवंशी मगध सम्राट घनानन्दले मोरियहरूलाई दबाएको ऐतिहासिक वर्णन पनि पाइन्छ। डा. दिनानाथ वर्माका अनुसार भने नन्द सम्राटले त्यस बेला चन्द्रगुप्तका बाबुलाई मारेकाले उनकी आमा अरू केही मोरियहरूका साथ भागेर पाटलीपुत्रमा गई आफ्ना गर्भस्थ पुत्रलाई जन्माउन त्यहाँका मोरियहरूको गुप्त संरक्षणमा बसेकी थिइन्।

त्यसपछि एउटा पशुपालकले बालक चन्द्रगुप्तलाई पालेको र उसले बालक चन्द्रगुप्तलाई एउटा व्याधा (सिकारी) लाई बेचिदिएको थियो। विलक्षण प्रतिभायुक्त किशोर चन्द्रगुप्त वनको छेउमा गाईवस्तु चराउँदै गर्दा सधैँजस्तो एक प्रकारको राजसी खेल आफ्ना साथीहरूसँग खेल्दथे।

त्यसैताका, चाणक्य पनि तक्षशिलाबाट पाटलीपुत्र आइरहन्थे। यसै क्रममा बाटामा पर्ने एक स्थानमा किशोर चन्द्रगुप्तले खेलखेलमा राजा बनेर दिएको फैसला सुनेपछि उनीमा भएको नेतृत्वको गुण जाँची अत्यन्त प्रभावित भएपछि चाणक्यले सिकारीसँग चन्द्रगुप्तलाई किनेर तक्षशिलामा लगी आवश्यक शिक्षा दिँदै कठोर प्रशिक्षण र अनुशासनमा राखे। सिकन्दरको आक्रमणको समयमा युवक चन्द्रगुप्त तक्षशिला क्षेत्रमै थिए, (वर्मा, सन् १९९१, पूर्वोक्तः १५१–१५२)।

अर्को वर्णनका अनुसार चाणक्य तक्षशिलामा रहँदा ज्ञानप्राप्ति र शास्त्रीय छलफलका लागि पाटलीपुत्र आइरहन्थे। यसै क्रममा उनले नन्द सम्राट धनानन्दको राज्य व्यवस्थाको अवलोकन गर्न पाएका थिए।

घनानन्द लोभी, कामुक र अधार्मिक भएकाले मगध साम्राज्यमा चरम भ्रष्टाचार र कुशासन थियो। उसको क्रूरता र नीचताले गर्दा राज्यप्रति नै जनताको घृणा र अविश्वास बढेको थियो। यस्तो अवस्थामा चाणक्यले सम्राट धनानन्दलाई सम्झाउन खोज्दा उनको उपदेश मान्नुको सट्टा उनलाई धनानन्दले कुरूप र कटु स्वभावका भनी ठूलो बेइज्जती गरी राजभवनको दानशालाबाट निकालिदिएका थिए।

यस अपमानको बदला लिन र मगधमा कुशासन र भ्रष्टाचारको अन्त्य गर्ने प्रण गरी निक्लेका चाणक्यले किशोर चन्द्रगुप्तलाई माथि भनिएझैँ सिकारीबाट किनी तक्षशिलामा लगी मगध साम्राज्यलाई धनानन्दको पन्जाबाट छुटाई सम्पूर्ण भारत वर्षलाई सुसंगठित गरी विदेशी हमलाबाट सुरक्षित पारी सुशासन दिने उद्देश्यले उनलाई तक्षशिलामा कठोर प्रशिक्षण दिएका थिए, (विद्यालङ्कार, सन् १९८९,  पूर्वोक्तः २१९–२२०) ।

चन्द्रगुप्तलाई कठोर प्रशिक्षण दिइसकेपछि चाणक्यले सिकन्दरको सैनिक सञ्चालनको तौरतरिका बुझ्न चन्द्रगुप्तलाई गुप्त रूपमा सिकन्दरको शिविरमा पठाएका थिए। तर केही समयमै सिकन्दरले चाल पाई उनलाई पक्रेर मृत्युदण्ड सुनाएका थिए। तर उनी भाग्न सफल भए।

सिकन्दरको सेनामा विद्रोह भएपछि गान्धार, पन्जाब र सिन्धसम्मका राज्य जितेका सिकन्दर ३२६ ई.पू.मा स्वदेश फर्कन बाध्य भएका थिए। ई.पू. ३२३ मा उनको मृत्युको खबर फैलिनासाथ उनले जितेका कैयौँ राज्यहरूमा विद्रोह फैलिएको थियो। यस्ता विद्रोहीलाई चाणक्य र चन्द्रगुप्तले प्रोत्साहन र नेतृत्व दिएका थिए, (विद्यालङ्कार, सन् १९८६, पूर्वोक्तः २१६)। 

यसैताका चाणक्यले कुनै राजाले लुकाइराखेको अपार गाड्धन पत्ता लगाई झिकेको धनराशिले सुरुमा बाध्यतावश डाकु र लुटेरालाई समेत भर्ना गरी चन्द्रगुप्तलाई आफ्नोे स्वार्थ नहेरी भारत वर्षको एकीकरण गरी सुखसमृद्धि ल्याउने वाचा लिई ठूलै सैनिक शक्ति प्रदान गरेका थिए।

चाणक्यको रणनीतिअनुसार चन्द्रगुप्तले नन्द साम्राज्यका सीमावर्ती प्रदेशमा जहाँ सम्राट धनानन्दका प्रति असन्तोष र विद्रोहको भावना ज्यादा छ, त्यहाँतिर मात्र आक्रमण गरी जित्ने प्रयास गरे र सफल पनि भए।

यस प्रकार जित्दै अपार धन र विशाल सैनिक शक्ति बढाइसकेपछि मात्र परमशक्ति सम्पन्न मगधको केन्द्रमा हमला गर्ने रणनीति तय भयो। ग्रीकहरूप्रति द्वेष बढाउनका साथै स्त्रीलम्पट, नशेडी र आसेपासे चाकरीदारबाट पोषी जनताको शोषण गराउने अत्याचारी सम्राट धनानन्दप्रति घृणा भड्काउन चाणक्यले यस समयमा ठूलै प्रयास गर्नुपरेको थियो। यसैताका पन्जाब र उत्तरापथ (गंगानदीको उत्तरी भाग) कब्जा गर्न चन्द्रगुप्तले किरात, कम्बोज, खसहरू समेत भएको ठूलो सेना सञ्चालन गर्नुपरेको थियो।

अब पन्जाब र गंगाको उत्तरी क्षेत्रको विजयपछि मात्र उनले अन्य राजाहरूको सहयोगमा पाटलीपुत्रमा हमला गरी सम्राट धनानन्दलाई मारी मगध साम्राज्यको गद्दी इं.पू. ३२१ मा हासिल गरे।

साथै आसेपासे, चाकरीदार, भ्रष्ट मन्त्री र कर्मचारी तथा ठूला व्यापारिक घरानाका शोषक व्यापारीलाई सजाय गरी उनीहरूबाट उठाइएको धनानन्दको अकूत सम्पत्ति पनि मगधको सार्वजनिक राज्यकोषमा ल्याइयो। धनानन्दलाई गद्दीमा टिकाउने र सिकन्दरलाई समेत तर्साउन सक्ने मगधको विशाल र सशक्त सेनालाई पनि चन्द्रगुप्तले आफ्नोे हातमा लिए, (वर्मा, सन् १९९१, पूर्वोक्तः १५३–१५४) ।

साना–साना दुर्बल राज्यलाई युनानीले सहजै जिती गुलाम बनाएको देखेका चाणक्यले चन्द्रगुप्तलाई विशाल र सशक्त राष्ट्र निर्माण गर्न मार्गदर्शन दिए। तद्अनुरूप चन्द्रगुप्तले मैसूर र तामिल प्रदेशका साथै गुजरात र सिन्धसम्मका राज्यहरूलाई मौर्य साम्राज्यमा मिलाइसकेका थिए। तर यसै बेला सिकन्दरका पूर्वसेनापति र सिरियाका युनानी सम्राट सेल्युकसले ई.पू. ३०५ मा भारतमा हमला गरे।

तर, चन्द्रगुप्तले भारतको पश्चिमोत्तर सीमाको सुरक्षाको पूर्ण व्यवस्था गरिसकेका थिए र युनानी रणनीतिबारे चाणक्य र चन्द्रगुप्तलाई पूरा जानकारी थियो। फलस्वरूप सेल्युकसले हार मानी चन्द्रगुप्तसँग सन्धि गरी सन्धिलाई स्थिर र स्थायी बनाउन उनलाई आफ्नी छोरी दिई ज्वाइँ बनाएका थिए। अब चन्द्रगुप्तको साम्राज्य काबुल र हिरातलगायत इरानको सीमासम्म फैलिएको थियो।

यसैताका ई.पू. ३०३ मा युनानी सम्राट सेल्युकसले विद्वान् लेखक मेगस्थनिजलाई आफ्नोे राजदूत बनाई मौर्य साम्राज्यको राजधानी पाटलीपुत्र (हालको पटना) मा राखेका थिए, (विद्यालङ्कार, सन् १९९८, पूर्वोक्तः २२१–२२५ तथा मजूमदार, डा. रमेशचन्द्र, सन् १९९५, प्राचीन भारतः ८३–८५)। 

(यसै ताक यस लेखको सुरुमा प्रस्तुत आख्यानमा वर्णित प्रधानमन्त्री चाणक्यको पर्णकुटीमा मेगस्थनिजको भेटघाट भएको थियो ।) अब भने चाणक्यको ध्यान सम्राट चन्द्रगुप्तको आचरणका साथै साम्राज्यमा स्थायित्व र सुशासन कसरी ल्याउने भन्नेमा केन्द्रित भएको देखिन्छ।

सर्वप्रथम विशाल साम्राज्यलाई जोड्न र कृषि उब्जनी बढाई खुसहाली ल्याउन साम्राज्यभरि ठुल्ठूला सडक र सिँचाइका नहर जन सहयोगमा बनाइए। धनानन्दको कुशासनबाट मुक्ति पाएको र चाणक्यजस्ता मार्गदर्शक तथा चन्द्रगुप्तजस्ता वीर र इमानदार राज्यप्रमुख पाएकाले उत्साहित भएका सम्पूर्ण जनताको भरपूर सहयोग राज्यले पाएको देखिन्छ।

कौटिल्य अर्थशास्त्र

आफूले देखे–भोगेको आधारमै चाणक्य (कौटिल्य) ले उनको विश्वविख्यात राजनीति, कूटनीति, अर्थशास्त्र तथा प्रशासन विधाको १५ प्राधिकरण (खण्ड) र अनेक अध्याय भएको पुस्तक ‘अर्थशास्त्र’ लेखेका हुन्। यसमा राज्य सञ्चालन व्यवस्थाबारे अनेक विचार विस्तारपूर्वक प्रस्तुत छन्।

चाणक्यको सल्लाह र यस अर्थशास्त्रका नीतिका आधारमा चली चन्द्रगुप्त मौर्यले सुशासन कायम गरी भारतीय उपमहाद्वीपमा समृद्धि र सुखमय स्वर्ण युग ल्याएका थिए। अर्थशास्त्र ग्रन्थमा निर्देशित गरिएझैँ ‘वास्तवमै’ इमानदार, विवेकवान् र अनुभवी मन्त्रीको चयन गरी उनीहरूमार्फत उनले प्रशासन चलाउने गर्दथे।

केवल योग्यता (दक्षता र इमानदारी)का आधारमा उपयुक्त ठाउँमा प्रशासक र न्यायाधीशको नियुक्ति हुन्थ्यो, भनसुन चल्दैनथ्यो। (यस्ता कुरा भन्न सजिलो छ। व्यवहारमा ल्याउने बिरलै हुन्छन् ।) मन्त्रीलगायत सबैको कार्यको मूल्यांकनविना दबाब, भनसुन र आसेपासे (दरबारिया, नातेदार आदिको) प्रभाव वा दबाबमा हुन नदिन सम्राट चन्द्रगुप्त स्वयं सजग र सक्रिय हुन्थे।

मन्त्रीहरू कसैले बेइमानीपूर्वक ‘नीतिगत निर्णय’ गरे अथवा न्यायाधीशले अन्यायपूर्वक फैसला गरे भने त्यस्ता मन्त्री वा न्यायाधीशले तत्काल कठोर सजाय पाउने व्यवस्था थियो। राजाले न्याय माग्न आउने गरिब र असहायलाई एक पल पनि पर्खाउनुहुन्न र तेल मालिस गरिरहेको भए पनि सम्राटले उठेर फरियाद सुन्नुपर्छ भन्ने चाणक्यको सशक्त सल्लाह रहेको पनि यस ग्रन्थबाट जान्न सकिन्छ। निष्पक्ष र चातुर्यपूर्ण गुप्तचरीलाई पनि चाणक्यले विशेष महत्त्व दिएका छन्।

राज्य प्रमुखले परिवारको समेत अन्धविश्वास नगरी आफ्नी रानीहरूसँग सुत्न जाँदा समेत सुरक्षाको चेकजाँच गरी जानुपर्दछ र आफ्ना नातागोता भाइभारदारको क्रियाकलापमा राज्य प्रमुख आफैँले समेत नजर राख्नुपर्दछ भन्ने चाणक्यको महत्वपूर्ण निर्देशन थियो। राज्य प्रमुखलाई आलसी, दुव्र्यसनी हुने (मदिरा पान, जुवा तास खेली बस्ने) छुट हुँदैन।

राज्य सञ्चालकले कठिन परिश्रम गरी सुशासन दिँदै राज्यकोषको एक–एक पैसाको सदुपयोग गर्न सके मात्र बढीमा जनताको आयको छैटौँ भाग (१७ प्रतिशतका दरले) कर लिने नैतिक अधिकार राज्यलाई हुने यस ग्रन्थमा उल्लेख छ।

कन्फ्युसियस र प्लेटोले भनेजस्तै राजपुरुषहरू प्रशिक्षित, विनयशील र विवेकवान् हुनुपर्नेमा चाणक्यले पनि जोड दिएका छन्। साथै राज्याध्यक्षले राज्यका शत्रु काम, क्रोध, लोभ, पारिवारिक मोह, अहंकार र उच्शृंखलतामाथि विजय प्राप्त गर्न नसके राज्यच्युत हुनुपर्दछ भन्नेमा चाणक्य दृढ छन्। यस्ता सरल तर व्यवहारमा उतार्न कठिन सल्लाहमा इमानदारी साथ चलेर नै चन्द्रगुप्त मौर्यले तत्कालीन भारतमा सुख र समृद्धिको स्वर्णयुग ल्याउन सकेका थिए, (सं. योगी, श्रीभारतीय, सन् १९८८, कौटिल्य अर्थशास्त्र, संस्कृति संस्थान,वरेलीः विविध)।

उपरोक्त चाणक्यका अमूल्य विचार धेरैले जाने बुझेकै होलान्। तर कठोरता र इमानदारीपूर्वक यस्ता विचारको पालना गर्ने कोही राजनेता हाल नेपालमा देखिएनन्। त्यसैले अब सोध्नैपर्ने हुन्छ— नेपालमा पनि सुशासन ल्याउन मार्गदर्शन गर्ने चाणक्य र सुशासन ल्याउने ली–क्वान–युहरू कहिले देखापर्लान्?

(श्रेष्ठ इतिहास लेखन र म्यानेजमेन्टको क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता हुन्।)

प्रकाशित: १४ फाल्गुन २०७८ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App