१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन इटाली डोनारुम्मामा निर्भर

युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग हुने खेलमा डिफेन्डिङ च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पुनः एकपटक नायकको भूमिकामा देखिने अपेक्षा गरिएको छ।

गत युरो कपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित डोनारुम्माले जर्मनीमा जारी प्रतियोगिताको समूहचरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। इटालियन टोलीलाई एक जित, एक बराबरी र एक हारसहित चार अंक जोडेर समूह ‘बी’ बाट नकआउट चरणमा पुर्‍याउन उनको कप्तानी भूमिका तारिफयोग्य थियो।

रे मनाजले निर्धारित ९० मिनेटको खेल सकिन केही मिनेटअघि गरेको अन्तिम प्रहार बचाउँदै उनले इटालीलाई पहिलो खेलमा अल्बानियाविरुद्ध २–१ को जित दिलाएका थिए। त्यही जितसँगै प्राप्त तीन अंकले इटाली अगाडि बढ्यो भने अल्बानिया प्रतियोगिताबाटै बाहिरियो।

त्यसपछि स्पेनसँगको खेलमा भने डोनारुम्माले इटालीलाई १–० को हारबाट जोगाउन सकेनन्। क्रोएसियासँग नाटकीय १–१ गोलको बराबरी खेल्दा उनले पुनः उत्कृष्ट प्रदर्शन देखाउँदै महत्त्वपूर्ण एक अंक दिलाए।

इटालीका डिफेन्डर डेभिड फ्राटेसीले डी बक्सभित्र ह्यान्ड गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)ले क्रोएसियालाई पेनाल्टी प्रदान गरेको थियो। तर, कप्तान लुका मोड्रिचले खेलको ५४औं मिनेटमा प्रहार गरेको उक्त पेनाल्टीलाई डोनारुम्माले बायाँतर्फ उत्कृष्ट ‘ड्राइभ’ गर्दै बचाए।

तर, खेलको अर्को मिनेटमै एन्टे बुडिमिरले गरेको प्रहार डोनारुम्माले ‘ड्राइभ’ गर्दै बचाउने प्रयास गरे पनि ‘रिबाउन्ड’ मा आएको बललाई मोड्रिचले जाली चुमाउँदै क्रोएसियालाई अग्रता दिलाए। मोड्रिचको उक्त गोलसँगै क्रोएसिया दोस्रो चरणको संघारमा पुगिसकेको थियो।

तर, इन्जुरी समयको अन्तिम केही सेकेन्ड बाँकी रहँदा २२ वर्षीय रिकार्डो कालाफिओरीको पासमा बक्सनजिकबाट माटिया जाकाग्नीले चमत्कारी गोल गरेपछि इटाली उपविजेताका रूपमा अन्तिम १६ मा पुग्न सफल भयो। पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको भन्दै डोनारुम्माको व्यापक आलोचना भएको थियो।

उनको सट्टामा टोटनह्याम हट्सपरका गोलरक्षक गुग्लिल्मो भिकारियोलाई नखेलाएको भन्दै प्रशिक्षक लुसियानो स्पालेट्टी पनि आलोचनाको सिकार हुन पुगेका थिए।

तर, डोनारुम्मा युरो कपमा इटालीको नेतृत्व सम्हाल्दै लयमा फर्किने प्रयास गरिरहेका छन्। क्रोएसियाविरुद्धको खेलअघि उनले भनेका थिए, ‘६ करोड इटालियनले हामीलाई घरमा हेरिरहेका छन्। त्यसैले यो जर्सी लगाउनुको अर्थ के हो? यहाँ आएर थाहा पाएको छु। कप्तानको आर्मब्यान्ड लगाउँदा यसको महत्त्वअझ बढी हुने रहेछ।’

‘सेन्टर ब्याक’ कालाफिओरीले लगातार दुई खेलमा पहेंलो कार्ड प्राप्त गरेकाले स्विट्जरल्यान्डविरुद्ध शनिबार हुने खेल गुमाउनेछन्। उनको अनुपस्थितिमा डोनारुम्माले यो खेलमा विपक्षी खेलाडीको प्रहार रोक्न अझ बढी मिहिनेत गर्नुपर्ने हुन सक्छ। कालाफिओरीको सट्टा जियानलुका मान्सिनी वा एलेसेन्ड्रो बुओन्गियर्नोमध्ये एकले इटालीको डिफेन्स लाइन सम्हाल्नेछन्।

राष्ट्रिय टोलीबाट १२ क्याप खेलेका रोमाका २८ वर्षीय डिफेन्डर मान्सिनी अनुभवी डिफेन्डर हुन्। तर, बुओन्गियर्नोको खेल्ने शैली र विपक्षी खेलाडीलाई रोक्न सक्ने क्षमता कालाफिओरीको जस्तै उत्कृष्ट छ। ‘खेल्छु कि खेल्दिन मलाई थाहा छैन। तर, प्रशिक्षणमा सर्वश्रेष्ठ प्रदर्शन गरिरहेको छु। त्यसैले प्रशिक्षकको निर्णयलाई सकेसम्म कठिन बनाउन सक्छु,’ बुओन्गियर्नोले बिहीबार भने।

नकआउट चरणमा स्विट्जरल्यान्डलाई पराजित गरे इटालीले स्लोभाकिया र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ। उक्त खेलमा पनि जित हासिल गरे इटालीले नेदरल्यान्ड्स, रोमानिया, अस्ट्रिया या टर्कीसँग खेल्नेछ। तर, नकआउट चरणबाट दुई ‘हेभिवेट’ टोली इङ्ल्यान्ड र नेदरल्यान्ड्स अघिल्लो चरणमा पुग्ने आकलन गरिएको छ।

यद्यपि, दुई पटकको युरो कप च्याम्पियनले यस प्रतियोगितामा विपक्षी टोलीलाई प्रदर्शनको आधारमा अत्याउन सकेका छैनन्। तर, जस्तोसुकै कठिन परिस्थितिमा पनि जित भने हासिल गर्न सक्ने क्षमता देखाएको छ। 

‘कुनै पनि खेल जित्न सजिलो छैन भन्ने हामीले महसुस गरेका छौं । हुन त अहिले ठूलाले साना मानिएका टोलीविरुद्ध राम्रो प्रदर्शन गर्न चुकिरहेका छन् र कमजोर नतिजा हासिल गरिरहेका छन्,’ उनले भने, ‘अहिलेका खेलहरू हेरेपछि हामी कसैलाई पनि कम आँक्न सक्दैनौं। हरेक टोली राम्रा छन् र सर्वश्रेष्ठ प्रदर्शन सकिएन भने प्रतियोगिताबाट बाहिर हुनेछौं।’ स्लोभाकियाविरुद्ध जित हासिल गरे इङ्ल्यान्डले इटालीसँग सामना गर्नेछ। 

तीन वर्षअघि फाइनलमा भिड्दा इटालीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको थियो।

प्रकाशित: १५ असार २०८१ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App