१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेताहरुकाे भाषणबाट मुलुक समृद्ध हुँदैन: श्रममन्त्री अर्याल

फाइल।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन्।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन्।

उनले विदेशबाट स्वदेश फर्किएका नेपालीहरुले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्नेमा जाेड दिए। सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ थियाे।

‘वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने पनि नेपाली नागरिक नै भएकाले व्यवसायी र सरकार मिलेर गठी रोक्ने काम गर्न आग्रह गरेको छु। भिजिट भिसामा गएका नेपालीहरु नेपाली व्यवसायीहरुको संलग्नता देखिन्छ। वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रम स्वीकृत गर्ने विषयमा मेनपावर व्यवसयायी कै संलग्नतामा व्यक्तिगत बनाइएको छ। तथ्याङ्कले प्रमाणित गरेको छ। भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृत व्यवसायीहरुले गराउने काम बन्द गर्नुस्।’

उनले सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भूमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुस्मन कमाउने कुनै रहर नभएको जिकिर गरे।

‘नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरुले नै बनाउनु भएको हो। मेनपावर व्यवसायीहरु प्रति मेरो कुनै गुनासो र रिस राग छैन। मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ। यो कुरामा दुई मत छैन। मुलुकका राजनीतिक नेताहरुले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन।’

उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भीर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताए। सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको उनले सुनाए।

प्रकाशित: १७ असार २०८१ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App