२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङको बाटो सधैँ जोखिमपूर्ण

देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ। मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ।

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ। त्यसैले मनाङवासीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ। पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास  आवगमन हुने गर्छ। बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ।

तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ।खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गरेको छ।

बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ। सडक अवरुद्ध हुँदा मनाङ जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ। स्थलमार्ग डुम्रे–बेसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ। बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ।

‘वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ’, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उनको भनाइ छ। लमजुङको बेसीशहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ। विसं २०७८ मा ठूलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाए।

बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ। खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ। चामे–५ का फुर्वा लामा भन्छन, ‘अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो। माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पु¥याउनै समस्या हुन्छ।’ 

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को संरक्षित क्षेत्रमा पर्छ।मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ।खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उनले बताए। स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।  

काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताए।बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो।

बाढीले बेसीशहर–चामे सडकको पक्की पुल बगायो

तिमाङ खोलामा आएको बाढीले बेसीशहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ। मंगलबार राती तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेसीशहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए।

यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ । सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पु¥याएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।

सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो। उक्त योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल  १९ लाख ९४ हजार तथा सानो छहरामा कल्भर्ट पुल  ११ लाख ८५ हजामा निर्माण गरिएको ।  

प्रकाशित: १९ असार २०८१ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App