२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेस प्रदेश: गठबन्धनमा गडबड

केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकार बनाउन दुई दलबिच सहमति भएको छ।ओली नेतृत्वमा सरकार बनाउन एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।

कांग्रेस र एमालेको सहमति अनुसार सात प्रदेश मध्ये तीन तीन वटा प्रदेशमा दुवै दलले मुख्यमन्त्री लिने र मधेस प्रदेशमा मधेस केन्द्रित दललाई दिने सहमति गरेको छ।मधेस प्रदेशमा मधेसवादी दललाई दिनुको कारण हो मधेसमा एमाले र कांग्रेस मिलेर मात्रै सरकार बनाउन सकिदैन।

मधेसमा १०७ सांसद छन् । यहाँ मुख्यमन्त्री बनाउन ५४ सांसदको आवश्यकता पर्छ । एमालेका २४ र कांग्रेसका २२ गरी ४६ सांसद मात्र छन् । मुख्यमन्त्री बनाउन यो संख्या अपुग छ। 

नवनिर्मित गठबन्धनलाई मधेस केन्द्रित जनता समाजवादी पार्टी “जसपा” नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी “लोसपा” र जनतम पार्टीले समर्थन गर्ने तयार छन् । तर तीनै दलको बटमलाईन भनेको मधेसको मुख्यमन्त्री नै हो।नयाँ गठबन्धनले मधेसमा कुन पार्टीको नेतृत्वमा मुख्यमन्त्री बनाउने प्रस्ट गरेको छैन्।

अहिले मधेसमा जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकार छ। गत जेष्ठ २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत समेत लिएका छैनन्। संवैधानिक व्यवस्था अनुसार नियुक्त भएको तीस दिन भित्र विश्वासको मत लिनुपर्छ। त्यसै अनुसार शनिबार असार २२ गते मुख्यमन्त्री सिंहले विश्वासको मत लिने भएपछि प्रदेशसभा सचिवालयले बैठक बोलाएको छ।

मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने विषयमा गठबन्धन दुई दल एमाले र कांग्रेसको एक मत छैन् । एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन तयार भएको छ भने कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने अडानमा छन्।

मुख्यमन्त्री सिंहले शनिबार लिन लागेको विश्वासको मतमा कांग्रेसले नदिने प्रदेशका संसदीय दलका नेता समेत रहेका कृष्णप्रसाद यादवले बताए। उनले भने “कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा अहिले निर्णय भएको छैन् । हामी छलफल गरिरहेका छौं। तर हाम्रो प्रयास कांग्रेसकै नेतृत्वमा सरकार बनाउने छ।”

गठबन्धन काे दोस्रो घटक एमालेले जनमत नेतृत्वको मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरिएको एमालेका प्रमुख सचेत समेत रहेका हरिनारायण महतोले जानकारी दिए । उनले भने “ हाम्रो संसदीय दलको बैठकले शनिबार मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ।”

गत जेष्ठ २५ गते एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री बनेका थिए। जनमतको १३ सांसदसहित एमालेका २४ माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिकनागरिक उन्मुक्तिका र नेपाल समाजवादी पार्टी एक एक गरी ५५ सांसदको समर्थन छ। 

सङ्घमा नयाँ गठबन्धन बने पनि मधेस प्रदेशमा मुख्यमन्त्री सिंह समर्थक कुनै पनि दलले समर्थन फिर्ता लिएको छैनन्र । नयाँ गठबन्धनलाई समर्थन नगरिने बताउँदै आएका एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छैन् । दुवै पार्टीबाट दुई दुई जना मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा मन्त्री छन्। 

जसपा नेपाल नेतृत्वका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि जेष्ठ २३ गते प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर बहुमतबाट उनको प्रस्ताव अस्वीकृत भएको थियो । उनको पक्षमा नेपाली कांग्रेस २२ जसपाका १९, लोसपा ८ र राप्रपाका १ गरी ५० जना सांसदले मत दिएका थिए। 

प्रकाशित: २१ असार २०८१ २१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App