२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदको प्रत्यक्ष प्रसारण साङ्केतिक भाषामा गर्न पदमबहादुर परियारको माग

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसदको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन्।

बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग राखेका हुन । उनले संसदको गतिविधिबाट नेपालका हजारौँ बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल  संसदमा भएका गतिविधिलाई साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरे।

सांसद परियारले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार साङ्केतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरे । उनले  सङ्घीय संसदमा भएका सबै काम कारबाहीहरूबाट नेपाली बहिरा समुदायहरू विमुख भएको उल्लेख गरे । उनले संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ साङ्केतिक भाषामा पनि हुन आवश्यक रहेको बताए। उनले बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसदमा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गरे।

सांसद परियारले प्रतिनिधि सभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रिय सभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताए। उनले राष्ट्रिय सभामा बजेट बारेमा छलफल गर्नुको तात्त्विक अर्थ नभएको धारणा राखे । उनले बजेटका सम्बन्धमा अब पनि छलफल गर्नु खर्च गर्नु मात्रै भएको बताए।उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षको समन्वयमा दुवै सदनबाट एकै पटक पारित गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रकाशित: १९ असार २०८१ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App