१३ असार २०७९ सोमबार
कला

गुरु ३

कथा

सूर्योदय हुनु चार घडीअघि नै उन्मनाको निद्रा खुल्यो।

ब्युँझँदा उनलाई मन्द शिरदर्द महसुस भइरहेको थियो, कता–कता भोकको आभास पनि भएको थियो। किन्तु, कुन घडीमा ब्युँझेँ र रात अझै कति बाँकी छ भन्ने उनलाई ज्ञात भएन। आफूसँगै सुतेकी संगीले चाल नपाउने गरी शयन कक्षबाट बाहिर निस्केर उनले आकाशका तारालाई नियाल्न थालिन्। उनलाई ग्रह र ताराको अवस्थिति सम्बन्धमा ज्ञान थिएन, त्यसैले कति घडी रात घक्र्यो भन्ने अनुमान लगाउन सकिनन्। तथापि शिरदर्द कम हुन्छ कि भन्ने आशामा उनी बगैँचामा डुल्न थालिन्।

नजिकै वैरोचन पद्मासनमा बसेर नाडीशुद्धि पवनाभ्यास गरिरहेका थिए। अहो, बिहान भइसकेछ, गुरु वैरोचन प्रातःकालको प्राणायाम गर्दै छन्। म हिँडडुल गरेँ भने उनको ध्यान भंग हुन सक्छ-यस्तै अनुमान गरेर उनी बगैँचामा जहाँ पुगेकी थिइन्, त्यही सुखासनमा बसी वरपर नियाल्न थालिन्। उनलाई वातावरण उदास लागिरहेको थियो, तर समीपमा गुरु वैरोचनलाई देखेपछि मनको आधार मिलेको थियो।

केहीबेर पवनाभ्यास गरेपछि वैरोचन उठे र एक वृद्धको कुटीतिर लागे। आश्रममा सयौँ कुटी थिए, जसमा कोही एक्लै त कोही जोडीसँग बस्थे। स्त्री र पुरुषमा कुनै भेदभाव थिएन।

ती वृद्ध अधिकांश समय मौनव्रत बस्थे। मौनव्रतमा पनि बगैँचाको गोडमेल लगायत आश्रमका आवश्यक कार्य गरिरहेका हुन्थे। घरीघरी उनले वैरोचनको सेवाशुश्रूषा पनि गर्थे। यद्यपि प्रत्येक पल उनको अनुहारमा एक प्रकारको उज्यालो र मन्द हाँसो बाँचिरहेको हुन्थ्यो। सबैले उनलाई मालीपिता भनेर सम्बोधन गर्थे। वैरोचनको आश्रममा यस्ता वृद्धवृद्धा थुप्रै थिए। सबैले आफूले सक्ने केही न केही कार्य गरिरहेका हुन्थे र सबैको मान–सम्मान समान थियो। युवायुवती र वृद्धवृद्धाबीच सौहार्द सम्बन्ध थियो, आपसमा वार्तालाप भइरहन्थ्यो।

वैरोचन मालीपिताको कुटीतिर लागेपछि उन्मना पनि चियो गर्दै पछिपछि गइन्। मालीपिता दीपिकाको मधुर उज्यालोका बीच विपरीतकरणी मुद्रामा थिए।

उनले मुद्रा पूरा नगर्दासम्म वैरोचन केहीबेर कुटीबाहिर उभिए। मालीपिता मुद्राबाट उठी पद्मासनमा बसे र हातले इसारा गरी वैरोचनलाई बोलाए।

दण्डवत गरिसकेपछि वैरोचन बोले-भगवन्! हजुरको स्वास्थ्य कस्तो छ, कुनै शारीरिक कष्टको आभास भएको छ कि?

म ठीक छु, मेरो चिन्ता नगर्नू। राजकुमारी हिमाद्रि र राजकुमार जालन्धरका कारण यस आश्रममा कुनै विघ्न आइलाग्छ कि! मलाई त्यस्तै आभास भएको छ। यसमा अलि चनाखो हुनू।

यही आदेश र आशीर्वाद लिएर आफ्नो कुटीतिर फर्कंदै गर्दा वैरोचनले उन्मनालाई बोलाए। उन्मनाले आफ्नो चियो गरेको उनले चाल पाइसकेका थिए। उनीहरू दुवै बगैँचाको बीचमा गए। वैरोचनले मधुर वाणीमा सोधे -के भयो तिमीलाई, शिरदर्द भयो कि भोक लाग्यो?

मसिनो स्वरमा उन्मना बोलिन्-दुवै।

बगैँचामा पद्मासनमा बस्दै वैरोचनले उन्मनालाई आफ्नो बायाँ घुँडामाथि टाउको अडाएर पल्टन भने। उन्मना उत्तानो परेर पल्टिइन्। वैरोचनले शान्त मुद्रामा उनको शिर छामे र केहीबेर विचार गरी बोले -गर्भावस्थामा यस्तै हुन्छ।

वैरोचनले केहीबेर उन्मनाको निधारसहित अनुहारमा आफ्ना दुवै हत्केला राखे। शनैशनै उन्मनाको शिरदर्द हरायो, उनले शीतल महसुस गर्दै गइन्, भोक भने मेटिएको थिएन।

उन्मनाले सोधिन्-गुरु ! मालीपिता को हुन्?

उनी मेरा गुरु हुन्। यो आश्रम उनैले स्थापना गरेका हुन्। १२ वर्ष भयो, उनले मलाई यो आश्रम सुम्पेको। मलाई यो आश्रम सुम्पेर उनी कतै गएका थिए, फर्केर आएको धेरै भएको छैन। यहाँ रहेका वृद्धवृद्धा सिबाय अन्य शिष्य–शिष्या कसैले उनलाई गुरु भनेर चिनेका छैनन्।

मैले उनकै निर्देशनमा यो आश्रम चलाइरहेको छु। यो रहस्य तिमीले अरू कसैलाई नबताउनू।

एउटा लाटोकोसेरो उनीहरू माथिबाट उडेर गयो, कसोकसो उनीहरूलाई छोएन।

वैरोचन बोले- उन्मना ! यहाँ धेरैबेर नबस, तिमीलाई चिसो लाग्न सक्छ वा बिरामी पर्न सक्छ्यौ। जाऊ, भोजनकक्षमा गएर पहिले मनतातो पानी खाऊ। त्यसपछि शौच गर। मनतातो पानी व्यवस्था गरी स्नान गर र फुलफूल खाऊ।

–                                                                                                          –

आश्रमका सबैले प्रातःकालको भोजन गरिरहेका थिए। एक युवक वैरोचनको समीप आएर बोले-भगवान्, सयजति शस्त्रधारी पुरुष हाम्रो आश्रमतिर आइरहेका छन्।

वैरोचनले ती युवकलाई भने -जाऊ तिमीले तीन पटक दुन्दुभि बजाऊ। अनि, केही तरबार र धनुबाण पनि लिएर यहाँ आऊ।

वैरोचनका कुरा सुनेपछि भोजनका लागि बसेका सबै सतर्क भएका थिए। वैरोचनले सबैलाई आनन्दपूर्वक भोजन गर्न निर्देशन दिए। सबैले आनन्दपूर्वक भोजन गरिरहेका थिए, तर राजकुमारी हिमाद्रि र एक युवक आवश्यकभन्दा बढी सतर्क देखिए। उनीहरूले अरूको तुलनामा शीघ्र रूपमा भोजन गर्दै थिए।

एक युवाले केही तरबार र केही धनुबाण ल्याएर वैरोचनलाई दिए।

वैरोचन बोले -राजकुमार जालन्धर! तिमीले अहिले युद्ध गर्नुपर्ने हुन सक्छ। कतै एकान्तमा गई तरबार र धनुबाणको अवस्था परीक्षण गर।

वैरोचनको बोली भुइँमा नखस्दै अघिदेखि सतर्क भइरहेका युवक जुरुक्क उठे। यी तिनै युवक हुन्, केही दिनअघि वैरोचनले बाघ र हरिणको कथा बुनेर प्रश्न गर्दा यिनले हिमाद्रिले जस्तै उत्तर दिएका थिए। यी युवक शिवपुरी राज्यका राजकुमार जालन्धर हुन्। यिनी राजकुमार हुन् भन्ने वैरोचनलाई थाहा भए पनि अधिकांश शिष्यलाई थाहा थिएन। 

भोजन गरेको वर्तन र हातमुख धोएपछि जालन्धर हतियारको परीक्षणमा लागे।

भोजनपछि आश्रमका सबै बगैँचामा पंक्तिबद्ध भई बसेका थिए। केहीले नाचगान गरिरहेका थिए।

यत्तिकैमा शस्त्रधारी पुरुषहरू आइपुगे। उनीहरूमध्येको नाइके अगाडि सरेर बोल्यो -राजकुमारी हिमाद्रि कहाँ छन्? म संग्रामपुर राज्यको राजकुमार वरुण राजकुमारी हिमाद्रिलाई लिन आएको हुँ। म उनलाई  प्रेम गर्छु।

हिमाद्रि बोलिन् -मलाई प्रेम गर्दा रहेछौ, यो सुनेर कृतज्ञ छु। किन्तु म तिमीलाई प्रेम गर्दिनँ, अरू कसैलाई गर्छु।

वरुण बोले -तिमीलाई प्रेम गर्न र पत्नी बनाउन म सिबाय यस धर्तीमा अर्को जन्मेको छैन। मसँग राजीले हिँड। अन्यथा म तिमीलाई हरण गर्न विवश हुनेछु।

तरबार बोकेर आएका जालन्धर बोले -हिमाद्रिको प्रेमी यहाँ जिउँदै छ।

–तँ नै होस्, राजकुमार जालन्धर! म तेरो प्राण हरेर हिमाद्रिलाई लैजानेछु।

वरुण तरबार उजाउँदै अगाडि सरे।

उनलाई रोक्दै वैरोचन बोले-तिमीहरू युद्ध नै गर्छौ भने नियमपूर्वक गर। शस्त्रले युद्ध गर्न आवश्यक छैन, सकेसम्म शस्त्रबिना युद्ध गर। किन अनाहकमा शरीरलाई बढी चोट दिन्छौ?

वैरोचनको कुरामा दुवै राजी भए।

उनीहरूलाई खुला ठाउँमा युद्ध गर्ने व्यवस्था मिलाइयो। युद्धमा बाहु र पाउको प्रहार गरी जालन्धरले वरुणलाई सख्त घाइते तुल्याए। आफ्नो हार निश्चित भएपछि वरुणले आफ्ना सिपाहीलाई इसारा गरे, जालन्धरमाथि आक्रमण गर्नका लागि तर उनका सिपाहीलाई वैरोचनका सिपाहीले घेर्न पुगे।

अन्ततः पराजय स्वीकार गरी वरुण आफ्नो बाटो लागे।

 -सायंकालमा उन्मनालाई उदासिनताले घेर्न थाल्यो। उनी मन बहलाउन भगवती नदीको मुहानतिर लागिन्। मुहानमा वैरोचनले सायंकालको स्नान गरिरहेका थिए। वैरोचनलाई देखेपछि उन्मनाको मनमा आनन्दभाव सञ्चारित हुन थाल्यो। उनले केही पर बसेर वैरोचनले स्नान गरेको नियालिन्।

मुहानमा सातवटा ढुंगाका धाराबाट पानी बगिरहेको थियो। वैरोचन स्नानमै केन्द्रित थिए। धाराभन्दा केहीमाथि पानी जमेको सानो पोखरीमा चराका जोडीले स्नान गर्दै थिए। उन्मनामा पनि चराका जोडीले जस्तै वैरोचनसँग स्नान गर्ने इच्छा जाग्यो। परन्तु ती चरा र आफैँमा रमाइरहेका वैरोचनलाई बिथोल्न उनको मनले मानेन।

स्नान गरिसकेपछि वैरोचनले उन्मनालाई देखे। ‘मैले सुनेको थिएँ- स्त्रीले स्नान गरेको लुकेर हेर्ने चाहना पुरुषमा हुन्छ, यहाँ त उल्टो भयो,’ वैरोचन स्मित हाँसोसँगै बोले।

‘स्त्रीका चाहना हुँदैनन्?’ उन्मनाले प्रतिप्रश्न गरिन्। वैरोचनले उन्मनाको अनुहारमा नियाले। उन्मनाका आँखा र ओठ प्रेम र कामवासनाले उन्मत्त देखिन्थे। आश्रम आएदेखि उन्मना र वैरोचनबीच संसर्ग हुन पाएको थिएन। मनोभावना बुझी वैरोचनले उन्मनालाई एकान्त वनतिर लिएर गए र दुवै केही घडी हराए।

त्यस सायंकालको प्रवचनका लागि वैरोचनले एक वरिष्ठ शिष्यलाई अनुमति दिएका थिए। दुवैको कामवासना शमन भएपछि उनीहरू आश्रमकै बगैँचामा गए। जुनेली रात थियो। उनीहरू एक अर्कोदेखि तीन कदम दूरीमा बसी संवाद गरिरहेका थिए। 

उनीहरू नजिकै भएर हिमाद्रि र जालन्धर प्रवचन कक्षतिर लागे।

वैरोचनले सोधे- तिमीहरू सुरुदेखि नै प्रवचन कक्षमा बसेनौ? 

हिमाद्रि बोलिन् -गुरु! मलाई शिरदर्द भएकाले केहीबेर आराम गरेकी थिएँ। जालन्धरले मेरो हेरचाह गरेका थिए। 

उनीहरू गइसकेपछि उन्मनाले वैरोचनसँग सोधिन्-हिमाद्रिलाई किन शिरदर्द भयो, के हिमाद्रि पनि मजस्तै गर्भवती छिन्?

हो, उनी पनि गर्भवती छिन् तर उनको गर्भाशयमा नभई मनमा अनेक शंंका, उपशंका र विचारको गर्भ बसेको छ। सत्ता खोसिएका शासकलाई सुरुसुरुमा यस्तै हुन्छ-विशेषतः रातमा निद्रा पर्दैन, बेला बेला शिरदर्द हुन थाल्छ। अस्ति मध्यरात मैले पवनाभ्यास गरिरहेको थिएँ। उनले मेरो चियो गर्दै थिइन्। अहिले पनि उनले तिम्रो र मेरो सम्बन्धलाई लिएर शंका गर्दै छन्। दरबारमा उच्च पदको पुरुषले कुनै पनि स्त्रीसँग राख्ने सम्बन्धलाई महत्त्व दिइन्छ। त्यसैले यहाँ उनी मेरो पछि लागेकी छन्।

ब्रह्मपुर राज्यमा सत्ता परिवर्तन गर्न वैरोचन आश्रमको भूमिका थियो कि थिएन ? यही प्रमाणित गर्न उनी यहाँ आएकी हुन्। हिमाद्रि र जालन्धरबीच प्रेम छ। जालन्धरले हिमाद्रिलाई वचन दिएका छन्-सकेसम्म हिमाद्रिका पिताको खोसिएको राज्य फिर्ता गर्ने, राज्य फिर्ता गर्न नसके पनि हिमाद्रिलाई आफूले विवाह गरेरै छाड्ने।

जालन्धरलाई लागेको छ -कतै दीनदुःखी प्रजाबाट आफ्नो राज्यमा विद्रोह हुने होइन ! त्यसो हो भने त्यसको गन्ध वैरोचन आश्रममा मिल्न सक्छ। यिनै स्वार्थ लिई परिचय लुकाई राजकुमार जालन्धर यहाँ आएका हुन्। आज बिहान आश्रमभित्र दुवैको परिचय खुल्यो। अहिले यी दुवै यहाँ बस्ने कि नबस्ने भन्ने द्विविधामा छन्।

म स्नान गरिरहेका बेला यी दुवै मेरो चियो गर्न पुगेका थिए। कुनै शंकास्पद अवस्था र घटना नदेखेपछि यिनीहरू वनतिर लागे।

उन्मना बोलिन् -के यिनीहरूले अघि वनमा हामी दुईलाई पनि देखे?

–देखेनन्। किनभने, यिनीहरू दुवै कामवासनाको आगोले केही नदेख्ने भएका थिए।

के यिनीहरूले अब आश्रम छाड्छन्?

– छाड्दैनन्। यिनीहरूबीच दिउँसो छलफल भयो। यहाँको खानपान र साधनाले जालन्धरलाई नयाँ ऊर्जा मिलेको छ। बिहान युद्धमा वरुणलाई सजिलै पराजय चखाएपछि उनले आफूमा शक्ति बढेको आभास गरे। उनलाई एउटा त्रास र आशंका यो छ -यस आश्रममा पहिलेदेखि नै बसेका शिष्य कति शक्तिशाली होलान्? आफ्नो र यहाँका अन्यको शक्ति थाहा पाउन पनि उनी यहाँ केही महिना बस्नेछन्।

त्यसपछि के गर्छन्?

–थाहा छैन, के गर्छन्। मलाई विश्वास छ-सत्य र न्यायको पक्षमा लड्नेछन्।

दुन्दुभिको ठूलो आवाज आयो। प्रवचन कक्षबाट सबै भोजन कक्षतिर लागे। वैरोचन र उन्मना पनि त्यतै लागे।  

-                                                 -                                                                 

एकपटक, प्रातःकालको प्रवचनका लागि वैरोचनले उन्मनालाई अनुमति दिएका थिए। उन्मनाले सत्य र न्यायका बारेमा प्रवचन दिइन्;

... अस्तित्व हो सत्य र व्यवहार हो न्याय। यस धर्तीमा सत्यको बोध र न्यायको व्यवहार केवल मनुष्यले गर्न सक्छ। आफूले आफैँलाई गर्ने व्यवहार र आफूले अर्को मानिसलाई गर्ने व्यवहार जब समान हुन्छ, तब न्यायको ढोका खुल्न थाल्छ। आफूले आफ्नालाई गर्ने व्यवहार र पराईलाई गर्ने व्यवहार जब समान हुन्छ, तब न्यायको ढोका खुल्न थाल्छ। अर्कोलाई चोट लाग्दा जब आफूलाई पीडाबोध हुन्छ, तब न्यायको ढोका खुल्न थाल्छ। न्यायको ढोकासम्म पुग्न थुप्रै भ्रमका पर्दालाई चिर्नुपर्छ र यो पृथ्वी कम्तीमा मानिसको साझा घर हुनुपर्छ। यो साझा घरको भोगचलन पशुले जस्तो बलपूर्वक होइन, विवेकपूर्ण किसिमले गर्नुपर्छ।

शान्त प्रवचन कक्षमा तालीको गडगडाहट सुनियो। बिहानको भोजनपछि उन्मनाकै प्रवचनको चर्चा भयो।

साँझपख बगैँचाको एकान्तमा वैरोचन र उन्मनाबीच संवाद भइरहेको थियो। वैरोचनले भने -संग्रामपुर राज्यको दरबारबाट प्रवचनका लागि निमन्त्रणा आएको छ। मैले तिमीलाई पठाउने निर्णय गरेको छु।

उन्मना बोलिन्- अहो! त्यहाँ हजुर नै जानुस्। प्रश्नोत्तर भयो भने कति प्रश्नका उत्तर दिन मैले नसकुँला।

त्यही बेला जालन्धर आएर बोले -क्षमा गर्नुहोला, हजुरहरूलाई विघ्न पुर्‍याएँ। गुरुदेव ! मलाई एउटा जिज्ञासाले पोलिरहेको छ। किन म यहाँ अरूजस्तै शान्त भएर बस्न सकिरहेको छैन?

वैरोचन बोले -जालन्धर ! शासकका सन्तानलाई सानैदेखि सम्मानको वातावरणमा हुर्काइन्छ। तिमी साधारण मानिसभन्दा ठूलो हौ, शक्तिशाली हौ, वीर र बुद्धिमान हौ, अरूको पालनपोषण गर्ने हौ, त्यसैले तिमीलाई अरूले मान्नुपर्छ, सम्मान गर्नुपर्छ -सानैदेखि तिम्रो मन र मस्तिष्कमा यस्तै भरियो।

दरबारभित्र सुसारेदेखि मन्त्रीमण्डलबाट सम्मान पाउँदा–पाउँदा अन्ततः तिमी असम्मान सहनै नसक्ने हुन पुगेका छौ। आवश्यकभन्दा बढी आत्मसम्मानको भावना विकास गरेका छौ, जसले सद्भाव र सहअस्तित्वको भावनालाई पुरेको छ, आत्मसम्मान नै अहंकार बन्न पुगेको छ। माफी र सहनशक्तिको महत्ता तिमीले बुझेका छैनौँ।

यहाँ सानो गल्ती हुन पुगे, आफ्ना कारण कसैलाई बाधा पुगे क्षमा माग्नुपर्छ, जसमा तिमी अभ्यस्त हुन सकेका छैनौँ। त्यसैले तिमीलाई यहाँ सबैसँग समान भएर बस्न असहज भएको छ।

हेर जालन्धर ! ज्ञान र शान्तिका लागि मानिसले आत्मसम्मानको बोझलाई त्याग्नैपर्छ।

जालन्धर बोले- कृतज्ञ छु गुरु।

जालन्धर आफ्नो कुटीतिर लागे।

उन्मना बोलिन् : गुरु! हजुरका हरेक व्यवहार र शब्दका अर्थ हुन्छन्। मलाई संग्रामपुर दरबारमा प्रवचनका लागि पठाउने विचार कुन प्रयोजनका लागि गर्नुभएको थियो?

वैरोचनले प्रतिप्रश्न गरे :उन्मना! दरबारमा स्त्रीलाई कसैकी पत्नी वा पुत्रीका नाममा चिनिन्छ। तिमी त्यहाँ जाने भयौ भने मेरी पत्नी वा प्रेमिका भएर जान्थ्यौ कि स्वतन्त्र गुरु भएर?

उन्मना बोलिन्: मैले केही दिनअघि हजुरकी प्रेमिका वा पत्नी भएर बाँच्ने इच्छा प्रकट गरेकी थिएँ। त्यतिबेला भन्नुभएको थियो- यो तिम्रो मोह हो कि आवश्यकता? यसबारे पनि म तिमीहरूलाई बुझाउँदै जानेछु।

गुरु! आज मैले बुझेँ, म गुरु होऊँ–नहोऊँ, पहिले स्वतन्त्र स्त्री हुन चाहन्छु।

(कथा सकिएको छैन, यसको अर्को भाग छिटै प्रकाशित हुनेछ।)

प्रकाशित: ७ फाल्गुन २०७८ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App