३० वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

शालिन विद्रोह ‘अभ्युदय’

कविता साहित्यको एक महत्वपूर्ण विधा हो, जसले भावना कल्पना, अनुभव र विचारलाई सुन्दर र कलात्मक ढङ्गले अभिव्यत्त गर्छ । यसमा शब्दहरुको चयन, लय, छन्द, अलङ्कार र प्रतिकहरुको प्रयोग गरी पाठक वा श्रोतालाई गहिरो प्रभाव पार्छ । कविता मानव हृदयका संवेदनाहरुको कलात्मक अभिव्यक्ति हो । यसले मानिसका सुख, दुःख, प्रेम, पीडा, प्रकृति, समाज, देशप्रेम आदि विविध विषयलाई छोटो तर प्रभावकारी रुपमा प्रस्तुत गर्छ । अन्य विधाभन्दा कविता बढी भावनात्मक र संक्षिप्त हुन्छ । सन्दर्भ सुमन सङ्गमको नविन कवितासङ्गह ‘अभ्युदय’को हो । ‘अभ्युदय’ मार्फत कवि सुमन सङ्गमका भावनात्मक विचारहरुलाई सुन्दर रुपमा पढ्न सकिन्छ ।  

‘माइतीघरको फूल’(कवितासङ्ग्रह, २०७५), ‘प्रेमको आदिम गीत’(संयुक्त कवितासङ्ग्रह२०८१) र ‘अभ्युदय’ कवितासङ्ग्रह(२०८२)तिन कृतिहरु प्रकाशित छन् सुमन सङ्गमको । कविता, संस्मरण र नियात्रासँगै साहित्यका अन्य विधाहरुमा पनि कलम चलाउँछिन् । माइतीघरको फूल देखि अभ्युदयसम्मको यात्रामा उनका कविताहरुले आफ्नै बाटोको निमार्ण गरेकाछन् । उनी लेखनसँगै व्यवहारमा पनि अत्यन्त शालिन छिन्, मैले उनलाई कविताकै माध्यमबाट चिनेको हुँ । नेपाली कवितामा उनको आफ्नै  पन छ, विचारमा कलात्मकताका रङ्गहरुले कवितालाई सुन्दर बनाएकी छिन ।  

मेरो उज्जल भविश्यमा  

सुन्दर चित्र बाले नकोरेको भए  

झरीहुरीमा स्याउलो ओढेर पनि  

आफूलाई रुझाउनबाट नबचाएको भए  

कसरी बन्थ्यौँ र, हामी साक्षर ?

पढ्दा सरल लाग्छन् यी हरफहरु, तर यीहरफहरुले प्रस्तुत गर्न खोजेका सुन्दर पक्ष संसारका सबै बाहरुको प्रतिनीधि हरफहरु लाग्छन् । त्यसै भनिएको होइन बा हाम्रा छाना हुन्, उनी आफू रुझेर पनि हामीलाई न्यानो प्रदान गर्छन । ‘अभ्युदय’का हरेक कविताहरु मानव जीवनका यथार्थ चित्रहरु हुन्, संसारको जुनै ठाउँमा उभिएर पनि दृश्यावलोकन गर्न सकिने सुन्दर वान्कीहरु हुन् । जहाँ मानव हृदयका आवाजहरु बुलन्द भएका छन् । प्रकृतिसँगको प्रेम बुलन्द भएका छन् । समाजका विकृत स्वरुपहरुलाई शालिनताका साथ प्रस्तुत भएका छन् । संयमताका साथ परिस्थितिसँग सामना गर्न सक्नुपर्छ भन्ने आग्रहका साथ प्रस्तुत भएका छन् ।  

‘जीवन, साधना र संयमताको अर्को रुप कविता हो भन्ने म ठान्छु । यात्रामा यात्रारत रहँदा जीवनको नदी खियाउने एउटा माझी हो, मानिस । यही नदी खियाउँदाखियाउँदै जन्मने अक्षर र शब्दहरु जीवन बाँच्ने ओखतीको एक खुराक हो कविता ।’ कवितामा यस्ता सुन्दर विचारहरु बोकेर कविता लेख्न थालेकी सुमन सङ्गमका विचारहरुसँगै कविताहरु पनि सुन्दर छन् । ५२ कविताहरु रहेको ‘अभ्युदय’ कवितासङ्ग्रहमा भिन्न भिन्न विषयवस्तुसँग साक्षात्कार गर्न सकिन्छ । प्रकृतिप्रेमसँगै मानवीय संवेदनालाई ध्यानमा राखेर लेखिएका यी कविताहरु वर्तमान युगका साक्षी तस्विरहरु पनि हुन् ।‘अभ्युदय’ भन्नासाथ उदय, उत्पत्ति, उन्नति, समुन्नति, समृद्धि भन्ने बुझिन्छ । एउटा सर्जकले सोच्ने अथवा लेख्ने पनि यस्तै नै हो नैराश्यताका कुराहरु लेख्नु समय कटाउनु मात्र हो भन्ने ठान्छु म पनि । नयाँ सोच, नयाँ उन्नति, प्रगतिको कामना गर्ने नै हो लेखकले । आँसुमा पनि हाँसो खोज्नु पर्छ कविले, जसरी अध्यारो पनि उज्यालोको प्रतिक्षामा हुन्छ । ‘अभ्युदय’का कविताहरु पनि उज्यालोको खोजीमा लम्किरहेका पाइलाहरु हुन् । हुनतः जीवन जसरी पनि चल्छ तर व्यस्त कि अस्तव्यस्त भन्ने मूल कुरा हो । सधैँ उन्नतिको कामना गर्ने, आफ्नोमात्र नभएर सबैको कल्याणको कामना गर्न एउटा कवि मनलेमात्र सक्छ । कवितामार्फत जनजनको चासो र चिन्ता व्यक्त गरेर समुन्नत समाजको निर्माणमा एउटा इँटा थप्ने काम ‘अभ्युदय’का कविताहरुले गरिरहेका छन् ।  

समान प्रक्रियामा जन्म लिएकाहरुबिच

किन विभेद ?

किन सङ्कट ?

किन लडाइँ अस्तित्वको ?

हाम्रो समाजमा भन्नु पर्ने, बोल्नु पर्ने कुराहरु धेरै छन् । हुनतः धेरै सर्जकहरुले त्यस्ता बेथितिप्रति बोलिरहेका छन् । जति बोले पनि थोरै हुने हाम्रो समाजको बनोटले शासकलाई छुदैछुदैन । त्यसैले पनि एउटी नारीले कहिल्यै एउटा सग्लो मान्छे भएर यो समाजमा बाँच्न सक्दिन, उसले आफ्नो अस्तित्वको लडाई युगौँयुग देखि लडिरहेकी छे तर सफल हुन सकेकी छैन । ति आवाजहरुका आवाज ‘अभ्युदय’का कविताहरुले बोलेका छन् । शालिनतामा पनि आगोको मुस्लो बोकेर आफ्नो अस्तित्वलाई बचाउन पनि यी कविताहरुले मद्दत गरिरहेका छन् । ‘अभ्युदय’मार्फत उनको राय छ–‘फूलको उपहार दिनेको पक्षमा भन्दा चुँढिएका फूलहरुकै पक्षमा उभिन मन छ मलाई ।’वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेका शब्दमा भन्नु पर्दा सुमनका कविताहरु ‘मनोहर, प्रेरणादायी, सशत्त, र उर्जावान लाग्छन् ।’

विविध शिर्षकमा प्रस्तुत भएका यी कविताहरुमार्फत प्रकृतिप्रेमका अनुपम दृष्यहरु भेटिन्छन् । जीवनका आ–आफनै अनुभूतिहरुका पुञ्ज भेटिन्छन् । आमाका प्रतिबिम्बहरु भेटिन्छन् । एउटी नारीले समाजमा भोगेका भोगाई र उसले समाजमा आफ्नो अस्तित्वको लागि लडेका लडाईँहरुका फेरिहस्त भेटिन्छन् । बाआमाका प्रेमका अद्धितिय नमूना कविताका हरफहरुमा भेटिन्छन् । ‘सागरको आँगनमा उभिएर, बालुवाको ढुकढुकी बटुल्दै, लेख्नुभएथ्यो बाबाले आमाको मायालु नाम ‘हिमा’ ।’ कवितामा प्रस्तुत भएका चोटिला तथा मर्मस्पर्शि हरफहरुले कविताको ओज बढाएको छ । नेपाली कवितामा सुमन सङ्गमको विशिष्ठ शैली र शालिन प्रस्तुतिले कविताहरुलाई पठनीय बनाएका छन् । कहीँ कतै धेरै भावनात्मक भएको भान भए पनि ‘अभ्युदय’का कविताहरु पढदा भने मनमा हलचल ल्याउन भने सक्षम छ्न् । उनका छोरीहरु आरुन्या, आयान्श र आभ्याना केसीले प्रकाशन गरेर आफ्नी आमाप्रति देखाएको अनुपम स्नेह झल्किरहेको ‘अभ्युदय’मा पाठकले पनि मनन गर्न सक्छन् ।

प्रकाशित: ३० वैशाख २०८३ २०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App