६ पुस २०८१ शनिबार
image/svg+xml
कला

कलमका आँखाले भेटेको त्यो समृद्धि

मानिस जिउँदो हुनु नै स्वयंमा एक यात्रा हो। सबैले कुनै न कुनै रूपमा केही न केही उद्देश्यले यात्रा गरिरहेकै हुन्छन्। त्यो सबैका लागि खास हुन पनि र नहुन पनि सक्छ तर जब एउटा माझिएको कलमले यात्रा गर्छ त्यो अवश्य नै खास हुन्छ, विशेष हुन्छ।

भावनाहरू यात्रा सँगसँगै नरोकिने कलम र नसकिने मसी बनेर कोरिइरहन्छन् छापिइरहन्छन् र तिनै अक्षर अक्षरहरूसँगै पाठकलाई साथसाथै हिँडाइरहन्छन्। अनि, त्यो विशेष यात्री हुन्छ र त्यो विशेष यात्रा हुन्छ।

नियात्राका यस्तै विशेष बाटोहरूमा आफ्नो छुट्टै शैली,शिल्प र प्रस्तुति लिएर चिनिएका विशेष नियात्राकार प्रतीक ढकाल विशिष्ट काव्य साधक बनेर फेरि पनि हामीलाई त्यो उज्यालो कर्णाली देखाउन आएका छन्-एउटा संग्रहणीय पुस्तकका रूपमा।

यात्रा साहित्यमा एउटा आश्चर्यको उज्यालो लिएर आएका प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली ’ पढ्दै गर्दा कहिले इतिहास पढिरहेजस्तो, कहिले लोककथा पढिरहेजस्तो,कहिले संस्कृति, पुरातत्त्व, प्रकृति, हिमाल, मानवका स्वभाव कर्णालीको सुखदुःख, भविष्य, सम्भावना,वर्तमान जीवन,दर्शन, हास्यकथा, लोकगीत जस्ता धेरै विषय एउटै संग्रहभित्र अटाएको पाउँदा लागिरहेको छ- नियात्रा साँच्चै अचम्मकै विधा हुँदोरहेछ।

नियात्राकारले आफूले घुमेका देखेका ठाउँ आफैँसँग लिएर आएका छन् र पाठकलाई संँगसँगै घुम्न बाध्य पारेका छन्। लेखक दौडेका छन् तर कुतूहल र मनोरञ्जनले हामी पाठकलाई पनि चौतारी र बिसौनीको माग गर्न नै दिँदैन। हामी पाठक पनि दौडिरहेकै हुन्छौँ लेखक सँगसँगै,तर अचम्म थकाइ नै लाग्दैन।

जुम्लामा पाइला टेकेको दिनबाट सुरु भएको त्यो उज्यालो कर्णाली यात्राका लेखक नेपाली हवाईजहाजको पहाडी उडान, त्यसको दुरावस्था र व्यवस्थापनको उतारचढाव पार गरेर जुम्लाको काञ्जिरोवा होटलमा विश्राम लिन पुग्छन्।

 दोस्रो दिन बिहानै जुम्लासँग हृदयतः बिहानी मुस्कान साट्दै जुम्ला बजारको चोक गल्ली, मन्दिर, प्राकृतिक दृश्यावली, प्राचीन सम्पदा, भौगोलिक बनोट हेर्दै जुम्लाबाट नाग्म पुगेका यायावर स्रष्टा नाग्मबाट गोठीज्यूला जाने क्रममा संयोगले भेट भएका लेखकका आफ्नै दुई विद्यार्थी रञ्जु र निशालाई भेटेपछि उज्यालो कर्णालीले गति लिएको छ कुनै रोकटोकविना।

यात्रामा सहयात्री भेटिनु लेखकका लागि ठूलो अवसर बनेको छ। नियात्रामा गोठीज्यूलाबाट सिञ्जा साम्राज्यभित्रका पुरातात्त्विक, धार्मिक, प्राकृतिक कुराहरूको वर्णन,जानकारी र उद्बोध यस अध्यायमा असाध्यै राम्ररी गरिएको पाइन्छ। चैनागाउँका छायानाथको मन्दिर, तिनको अभिलेख, त्यहाँको प्राकृतिक सम्पन्नता, सांस्कृतिक अवस्थाको वर्णन र देखभेट गर्दै अगाडि बढेको यात्राले रारा पुगेर विश्रान्ति लिएको छ।

राराको सौन्दर्य, प्राकृतिक स्रोतहरूको उपयोगको भव्य सम्भावना, अदूरदर्शी नेता र गैरजिम्मेवार नेतापनले विकास त कता हो कता भएको कुराको उचित संरक्षण गर्न नसकेका कुराहरूमा दुःखमनाउ गर्दै राराको सौन्दर्यमा रमाएका नियात्राकारले गरेको वर्णनमा म आफैँ रारामा छु कि भन्ने अनुभूति हुन्छ। मुर्माटपबाट गरिएको दृश्यावलोकन,वर्णन र रारातालमाथि बिताएको डेढ घन्टा साह्रै रहरलाग्दा र लोभलाग्दा वर्णनले भरिएका छन्।

रारापछि ताल्चा विमानस्थल र मुगुका यात्रामा भेटिएका मन्दिर, प्राकृतिक सौन्दर्य, भौगोलिक कठिनाइ, विकासका सम्भावनाको मनन गर्दै उज्यालो कर्णालीलाई आँखामा बोकेर अविराम हिँड्दै खलंगामा विश्रान्ति लिएका लेखकले अर्को दिन खलंगाको भ्रमणमा बिताएका छन्। त्यहाँका मन्दिर, स्कुल, बजार, बाटो, विकासको गति,सहजताको महसुस र सम्भावनाको वर्णन गरेका छन्। त्यहाँबाट कालिकोट पुगेका लेखकले सभ्यता र उज्यालो बोकेर बसेको कर्णालीलाई हरेक कोणबाट प्रस्तुत गरेका छन्।

कालिकोटबाट जुम्ला र कर्णालीका विभिन्न शैक्षिक, सांस्कृतिक, सरकारी,स्थानीय र त्यहाँका मानिससँगको साक्षात्कार, प्रेरणादायी र प्रेरक प्रसंग साह्रै लोभलाग्दा छन्। जुम्लाकै उर्थुचौतारा र गुम्बाटपको निरीक्षण गरेका लेखक जहिल्यै हृदयले नै मन्दिर, चैत्य, गुम्बा र देवलहरूलाई प्रणाम गरिरहेका हुन्छन्।

यो शालीनता र धर्म संस्कृतिप्रतिको प्रेम र सम्मान उदाहरणीय, अनुकरणीय र सम्मानजनक लाग्छ। जुम्लाबाट गुठीचौरसम्म जाने योजना पूर्ण हुन नपाए पनि त्यसको भरपूर उपयोग गरेका छन् लेखकले। पातारासी हिमाललाई छेउमै गएर भेटेका छन्,जिल्ला वनस्पति कार्यालय पुगेर विभिन्न औषधीय वनस्पतिहरूको जानकारी लिएका छन् र हरेक प्रकारले सम्पन्न हुन सक्ने स्रोत–साधन लिएर बसेको कर्णालीलाई शब्दशब्दले उज्यालेका छन्, प्रस्ट्याएका छन्।

गुठीचौर पुग्न नपाए पनि आँखाभरि कर्णालीको उज्यालो, मनभरि सिञ्जा सभ्यताको माया बोकेर तिलावारि तिलापारिका प्राकृतिक सौन्दर्यलाई आँखाले पिउँदै चढिसकेका पाइलाहरूलाई ओराल्दै, तिमीसँगै नाचेर छिनाउँछु भन्ने गीत गाउँदै, निडर भई बाटो काटेर हाट भर्न हिँडेको स्याललाई पनि उज्यालो कर्णालीका केही लाइनमा नछुटाई लेखक गृहनगर फर्केका छन्।

यसरी करिब १५ दिनको सिञ्जा राज्यको भ्रमणमा रहेका नियात्राकारले बडो रोचक र आश्चर्यजनक शैलीमा पाठकलाई भ्रमण गराएका छन्। हामीले सुनेको कर्णाली र लेखकले भेटेको कर्णालीमा त आकाश जमिनको फरक रहेछ।

सधैँ अँध्यारो भनेर बुझिरहेको कर्णालीका गर्भमा रहेका हीरा, मोती जवाहरतहरू र वैभवको प्रकाशले नियात्रा संग्रह धपक्क बलेको छ। पढ्दै जाँदा घरीघरी इतिहास पढेजस्तो,घरी संस्कृति र परम्परा पढेजस्तो घरी अभिलेख, जीवनी वा लोकगाथा पो पढिरहेको छु कि जस्तो आभास हुन्छ।

पाठकलाई अनेक तरहले हँसाइहँसाई ज्ञान र विविध जानकारी प्रदान गर्दै, शिक्षा र सूचना दिँदै, सम्भावना र कुतूहल जगाउँदै शब्दसँगसँगै यात्रा गराउन सक्ने कुनै नियात्रा संग्रह मैले पढेको यो नै पहिलो हो। एउटै पुस्तकले यति धेरै खुराक पाठकलाई दिन सक्नु नियात्राकारको लेखनको वैशिष्ट्य हो। लेखकीय बौद्धिकताको सर्वोच्च प्रयोग हो।

यस कृतिमा २१ वटा मूल शीर्षक समाविष्ट छन्। स्थानीय परिवेशबाट छानिएका शीर्षकले आसय वा प्रत्यक्षीकरणको विम्बलाई प्रतिविम्बित गरेका छन्। कृतिमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक परिवेशको चित्रण गर्ने,सहयात्रीको भाव र मनोदशालाई प्रस्ट पार्ने र उज्यालोको मुस्लो बोकेर पनि अँध्यारोमा रहेको कर्णालीमा भएका सम्भावना, त्यसप्रति उदासिन नेतृत्व र समकालीन राजनीतिक जीवनप्रति असन्तुष्टि व्यक्त गरिएको भाषा तार्किक, परिस्कृत, ओजपूर्ण र बौद्धिक रहेको छ।

साह्रै रोचक र हास्यव्यंग्य शैलीमा सकिएको यो पुस्तक पठनीय छ र कर्णालीका विषयमा शोध गर्नेका लागि झनै संग्रहणीय छ। कर्णालीको भौगौलिक अवस्था, त्यसका सम्भावना र सामाजिक सांस्कृतिक पक्षको जानकारीले नियात्रा रचनात्मक लाग्छ,रोचक लाग्छ।

प्रकृतिको अप्रतिम र रहस्यमय छटा, इतिहासको गौरव र गाथा, राष्ट्रिय विभूतिको संस्मरण, भाषिक विविधताका लय र भाकामा आफ्नो अनुभूति व्यक्त गर्न सक्ने सामथ्र्य लेखकको अर्को विशिष्ट पक्ष हो।

दैनिकी शैलीमा प्रत्यक्षीकरणलाई भाव र भोगाइको संयोजनले अर्को विशिष्टता प्राप्त गरेको छ। कहीँकहीँ घटनालाई चरित्रले बोक्दा आख्यानात्मक शैलीको प्रयोग भएको पाइन्छ। यसले पाठकलाई रोमाञ्चित बनाउँदै थप कुतूहल सिर्जना गरिदिएको देख्न पाइन्छ।

प्रतिकूल वा अनुकूल जुनसुकै परिस्थितिलाई पनि गीतका बोल, गाथाका सवाइ, कथाका गर्भगृह,उखानटुक्का,स्मृति आदिसँग जोडेर सहज अभिव्यक्तिमा रूपान्तरण गरेका छन् लेखकले।यसले यो नियात्रालाई संगीतमय, सुरुचिपूर्ण र मनोरञ्जनात्मक बनाएको छ। वैयक्तिक अनुभूतिको प्रगाढतालाई छोटो, छरितो,लयात्मक वाक्य विन्यासमा सहज र सरल भई प्रवाहपूर्ण प्रस्तुति दिन सक्नु नियात्राकारको अर्को विशिष्ट पक्ष देखिन्छ।

नेपाली नियात्रा साहित्यमा अत्यन्त सक्रिय र ऊर्जावान् प्रतिभा प्रतीक ढकालको नियात्रा लेखनको दशौँ कृति हो ‘त्यो उज्यालो कर्णाली।' लेखकले स्वतन्त्र र मनलाग्दी तरिकाले गरिएको यो यात्रा अनुभूतिमा सिंगो कर्णालीका अनेकौं गौरवगाथासँग साक्षात्कार गर्न पाइन्छ।

कर्णालीका अद्भुत र रहस्यमय संस्कृति तथा गाथा, राष्ट्रिय विभूतिहरूको स्थान, प्रकृतिको सौन्दर्य, त्यहाँका भञ्ज्याङ, घाँटी, नदीनाला, छहरा, प्राकृतिक सम्पदाको महिमा, संस्कृतिको वर्णन, जैविक विविधतायुक्त स्थान,भूबनोट, जडीबुटी, गाउँबस्ती, हिमाल, नदीनाला, गुम्बा र मन्दिरको नामकरणसम्बन्धी स्थानीय जनश्रुति, किंवदन्ती, मिथकको रोमाञ्चकारी जानकारी, अँध्यारा र उज्याला पक्षको तथ्यसहित आफ्नो विचार लेखकले व्यक्त गरेका छन्।

समकालीन नेपाली राजनीति र भ्रष्टीकरणप्रति आलोचनात्मक र व्यंग्यात्मक दृष्टिकोण पोखेका छन्। देशप्रेमको भावनाले ओतप्रोत उनले हरेक कुरालाई हँसाइहँसाई जोडेर, थपेर, बनाएर र सजाएर प्रस्तुति दिइएको यो पुस्तक ऐतिहासिक,भौगालिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक वैभवको अनुसन्धात्मक उत्खननले संग्रहणीय बनेको छ।

देशप्रेम,देशदर्शन र चिन्तनको साक्षात्कारजन्य अनभूतिको प्रकटीकरणमा प्रतीक ढकालको त्यो उज्यालो कर्णाली नियात्राको काव्यगत विशेषतामा अन्वेषणात्मक, प्रकृतिचित्रण, राष्ट्रियता, ऐतिहासिकता, चित्रमय प्रस्तुति, काव्यमय यात्रा वर्णन, हास्यरसको आकर्षण, रोमाञ्चकता, वैचारिक अभिव्यक्ति र बौद्धिकताले यसको ओजलाई विशिष्ट बनाएको छ, अद्वितीय बनाएको छ। यो कृति यात्रा, चित्र र यात्रा निबन्धको त्रिवेणीमा कर्णाली नदी मात्र नभएर सभ्यता भएर बगिरहेको छ र भनिरहेको छ, कर्णालीमा उज्यालो मात्र छ, वैभव मात्र छ, सौन्दर्य मात्र छ- केवल यसलाई हेर्ने आँखाको खाँचो छ। यसलाई बुझ्ने मनको खाँचो छ, यसलाई माया गर्ने मुटुको खाँचो छ।

लेखकः प्रतीक ढकाल

पुस्तकको नामः ‘त्यो उज्यालो कर्णाली’

विधा:नियात्रा

मूल्य रु. :३६५/-

प्रकाशित: १८ मंसिर २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App