हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्।
सधैँ अँध्यारो भनेर बुझिरहेको कर्णालीका गर्भमा रहेका हीरा, मोती जवाहरतहरू र वैभवको प्रकाशले नियात्रा संग्रह धपक्क बलेको छ। पढ्दै जाँदा घरीघरी इतिहास पढेजस्तो, घरी संस्कृति र परम्परा पढेजस्तो घरी अभिलेख, जीवनी वा लोकगाथा पो पढिरहेको छु कि जस्तो आभास हुन्छ।
हरेक दिनसँग जिन्दगीले दुःख, सुख, आशा, इच्छा, घटना दुर्घटनारूपी अनेक व्यवहारसँग कुस्ती खेलिरहेको हुन्छ, मानौँ उत्सव मनाइरहेको हुन्छ। जीवन हुनु नै उत्सवजस्तै हो। देहले गरेका तिनै उत्सवहरूको प्रतीक चरितार्थ गर्न खोजिएको कथासंग्रहको यसै संग्रहभित्र समाविष्ट कथाको आधारमा गरिएको शीर्षकीकरण सार्थक छ।
मानव शरीरको प्रथम बिन्दु नै बाल्यावस्था हो, जो अन्तर्चेतमा अबोध संवेदनाले छोइँदै जान्छ। मानिसको जन्मपश्चात्का केही वर्ष बाल उमेरले समेटेको हुन्छ, जसलाई छोइछोई मन–मस्तिष्क सक्रिय बन्छ, आदत बन्छ, व्यवहार सिकिन्छ। मन र तनको सञ्चालन हुन्छ। त्यहीँबाट जीवनीय आवश्यकता महसुस हुन्छ।