८ वैशाख २०७८ बुधबार
अन्य

मानसिक विम्बमा प्रेम

नेपाली आख्यान जगत्मा परिचय बनाउन सफल उपन्यासकार सानु शर्माको नवीन आख्यान हो, उत्सर्ग उपन्यास। सामाजिक धरातलमा मानिसका बाध्यता र विवशताका बीचोबीच बच्चाको मानसिक संवेग, असर र प्रभावको सूक्ष्म विश्लेषण यस उपन्यासमा पाइन्छ। 

मुख्य पात्र आर्याको वरिपरि घुमेर आर्याकै चरित्रसँग बगेको यस उपन्यासको कथावस्तु आर्याको मनोविश्लेषण साथै सामाजिक यथार्थको द्वन्द्वमा बगेको छ। चरित्रप्रधान यस उपन्यासमा बालमनोविज्ञान र बालकहरूले भोग्ने र भोगेका बाल्यकालका कुराको दीर्घ असरका चित्र पाइन्छन्। 

मानव शरीरको प्रथम बिन्दु नै बाल्यावस्था हो, जो अन्तर्चेतमा अबोध संवेदनाले छोइँदै जान्छ। मानिसको जन्मपश्चात्का केही वर्ष बाल उमेरले समेटेको हुन्छ, जसलाई छोइछोई मन–मस्तिष्क सक्रिय बन्छ, आदत बन्छ, व्यवहार सिकिन्छ। मन र तनको सञ्चालन हुन्छ। त्यहीँबाट जीवनीय आवश्यकता महसुस हुन्छ। 

सहज रूपमा स्वाभाविक उमेरसँग मन–मस्तिष्क बढ्न पाएन भने मानिसको चेतन स्वभाव, अस्वाभाविक बन्दछ। यस उपन्यासकी मुख्य पात्र आर्याको बाल्यकाल स्वाभाविक तरिकाले आमाको स्नेह र रेखदेखमा बित्न पाउँदैन।आर्यालाई बाआमाको खाँचो, बालरुवाइ र निराशा अनि शून्यताले वितृष्णा बनेको अवस्था पढ्दा पाठकको मन विदीर्ण बन्छ र आमा–मनहरू सजग हुन खोज्छन्– कहीँ बाध्यता र विवशताको बहानामा छोराछोरी हामीबाट टाढा त छैनन् रु

सानैदेखि होस्टलमा राखिएकी आर्या एककाँटे स्वभावकी बन्दछे। जिद्दीपन उसको आदत बनेको छ। बाल्यकालदेखि किशोरावस्थासम्म एक्लै बस्नुपर्ने पीडाका वरिपरि उसका गुनासा हरदिन, हरक्षण आफूसँगै रहन्छन्। हरपल मेरो साथमा मेरो परिवार हुनुपर्ने, मेरी आमा मैसँग हुनपर्ने मेरो आवश्यकता मेरा अभिभावक हुन्, किन मलाई एक्लै छोडे भन्ने कुरामा प्रायः उसका आँसु बगेका छन्।

किशोरावस्थाको पहिलो खुड्किलोमै रजस्वला भएका दिनको पीडा अझ चर्को छ, एक्लै बसेकी बालिकाको माध्यमबाट। अन्जानमै अति नै झुट बोल्न सक्ने गौरव पात्रसँग उसको प्रेम बसेको छ। छोड्छु छोडछु भन्दाभन्दै गौरवको सान्निध्यमा रहन ऊ यसरी बाध्य बनाइएकी छ कि कतिपटक आफैँ बाआमाको र आफ्नै विश्वासमा घात भएको छ। हरेक तरहबाट उम्कन खोज्दा पनि झन्झन् फस्दै गएकी आर्या अन्ततः गौरवसँगै गएकी छ।

उपन्यासको कथानक सुखान्त भएर टुङ्गिन्छ तर उपन्यासका हरेक परिच्छेदमा आर्याको मनोलाप छ। उपन्यासमा आर्या र गौरवले विक्षिप्त बनेर आत्महत्या गर्न खोज्नु कुतूहलताको चरमोत्कर्ष हो। आर्याको बालमस्तिष्कमा परेको असरका कारण जिद्दी, स्वपीडक र परपीडकको मध्यमा देखिन्छे।आफूलाई एक्लै रुवाएर छोडेर जाने बाआमाको मायाको सम्मान गर्न सकेकी छैन उसले चाहेर पनि।

यस उपन्यासमा मनोविश्लेषणका साथै सामाजिक यथार्थको चित्रण पनि छ। बाहुन र नेवारको जातीय द्वन्द्व, सामाजिक स्तरको स्वाङ र बाबुआमाले बच्चाको उज्ज्वल भविष्यका नाममा एक्लोपनको सिकार बनाएका बच्चाको मनस्थितिको चित्राङ्कन प्रशंसनीय छ। मानिसले जीवनमा भौतिक सुख चाहन्छ या आत्मिक आनन्द, यस पक्षमा सधैँ सङ्घर्ष देखाइए तापनि पात्रहरूले भौतिक सम्पन्नता र सहायताविना केही गर्न नसकेको तितो यथार्थ पनि छ। कहीँकहीँ यौन–स्वतन्त्रता, यौन–मनोविश्लेषण, मनोविश्लेषणका कुराकानी द्वन्द्वग्रस्त छन्। पात्रहरू मानसिक रोगी लाग्छन्।

यस उपन्यासका प्रमुख पात्र आर्या र गौरव हुन्। सहायक पात्रमा आर्या र गौरवका आमा–बा र मुख्य सहायक पात्र आदित्य हो, जसको कारण उपन्यासले केही फरक स्वाद दिन पाउँछ। गौरव र आर्याकै वरिपरि घुमेको कथावस्तुले आदित्यमा गएर विश्रान्ति लिएको छ। विश्रान्ति लिनु अघिका हरेक परिच्छेद आर्याको मनोदशा, नियति र भोगाइले मर्माहत छन्, दुखेका छन्। एउटी केटीले के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने ठीक–बेठीक छुट्ट्याउने विवेक बोके पनि उसलाई परिस्थिति र अवस्थाले विवश र लाचार बनाएको छ। 

कथावस्तु नाटकीय शैलीमा समाप्त हुन्छ। आर्या मनोवैज्ञानिक चरित्र हो। गौरवलाई स्वीकार्न नसक्नु र छोड्न पनि नचाहनु उसको अहंवृत्ति र आत्मरतिको सङ्केत हो। उसको उमेरको विकास सँगसँगै मनोविकार विकास भएको छ। हरेक परिच्छेदमा बाआमालाई सजाय दिने र एक्लै पारेकामा प्रशस्त गुनासा छन् उसका। जीवनको माया नभएको महत्वहीन उदास र एकलकाँटे अभिव्यक्ति निराशाका द्योतक बनेर बोलिएका छन्। त्यति हुँदाहुँदै पनि गौरवको प्रेम, आर्याको समर्पणले कहीँकहीँ पाठकलाई रोमाञ्चित बनाउँछ भने अधिकांश कथावस्तुले पाठकलाई पीडा नै दिन्छ। भौतिक सुख मात्र सबै थोक होइन, मानसिक सुख मत्वपूर्ण छ भन्ने सन्देश दिँदादिँदै पात्रहरू आफ्ना ठाउँबाट विचलित छैनन्। गौरव पात्र त गद्दार नै छ।  

यो उपन्यास अस्वाभाविक लाग्ने घटना र चरित्र संयोजन गरेर लेखिएको मनोवैज्ञानिक उपन्यास हुँदाहुँदै पनि यस्ता कथावस्तु र घटना हामी हाम्रा समाजमा जताततै पाउन सक्छौँ। यसले व्यक्तिको बृहत् मनको चिरफार गरेको छ। प्रायः पात्र मनोरागी हुने, कुण्ठा र मनोविकृतिकै कारण बारम्बार पात्र दुःखी हुने सामाजिक धरातलमा उभ्याएर उपन्यासकारले बाआमाको कर्तव्य र बालमनोविज्ञानको चित्र प्रस्तुत गरेकी छन्। यस उपन्यासका पात्र विसङ्गतिवादी र अस्तित्ववादी पनि देखिन्छन्।

उपन्यासकी मुख्य पात्र आर्यालाई होस्टलको बसाइपछि निराश भएर एकान्त जीवन व्यतीत गर्ने बानी परेको छ। ऊ सधैँ निराश र शून्यवादी दृष्टिकोणले जीवनलाई हेर्दै बाँच्ने र रमाउने इच्छा नभए पनि जीवन घिसार्न बाध्य छे। ऊ बाआमाले भनेको नमान्ने हरेक कुरामा विद्रोह गर्ने, फेरि बाआमालाई दुखाउन पनि नचाहने, आफूलाई कुनै कुरामा योग्य नसम्झने विङ्गतिको नमुना हो भने गौरव पनि विसङ्गतिपूर्ण र खराब चरित्रको पात्र हो।  

पूर्वदीप्ति शैलीमा लेखिएको यो उपन्यास कुतूहलका दृष्टिले सबल उपन्यास हो। सामाजिक धरातललाई नछोडीकन पात्रको मनको विश्लेषण, मानसिक विकास, समाज, संस्कृति र अभिभावकीय सोचाइको स्तरलाई व्याख्या–विश्लेषण गरेर हाम्रो सामाजिक चिन्तन र अभिभावकीय दायित्व निर्वाह गर्नु सानो कुरा होइन है भन्ने चिन्तन दिनु उपन्यासको उद्देश्य हो।

आर्या आफैँ कथावाचक रहेकी छ।  करिब १५ वर्ष जतिको कालखण्डलाई समेटिएको उपन्यासमा काठमाडौं र अस्ट्रेलियाको परिवेशको चित्रण गरिएको छ।  सिङ्गो उपन्यास पढ्दा आर्या, गौरव, आदित्य आदिले भोगेको परिवेशप्रति पाठकको समवेदना जान्छ भने अन्य पात्रप्रति घृणा।   हरेक पात्रलाई हरेक दृष्टिकोणबाट प्रेम आवश्यक हुन्छ तर प्रेम भौतिक नभई आत्मिक वस्तु हो भन्ने सत्य उपन्यासकार सानु शर्माले उपन्यासका माध्यमबाट व्यक्त गरेकी छन्।

प्रकाशित: १५ फाल्गुन २०७७ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?