८ माघ २०७८ शनिबार
कला

हिंसाका ज्वारभाटामा अस्मिताको यात्रा

समीक्षा

नेपाली साहित्यमा अत्यन्तै चर्चित र प्यारो नाम हो, उषा शेरचन। साहित्यका बहुविधामा कलम चलाएर आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहेकी उषा तीसको दशकदेखि नै गीत, मुक्तक, कविता हुँदै कथा र उपन्याससम्मको यात्रामा आइपुगिसकेकी छिन्। आफ्नै लेखनशैली भएकी उषा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर हुन्। यसअघि कथासंग्रह प्रकाशित गरेर गद्य साहित्यमा गतिलो छाप छोड्न सफल उषाको नवीन गद्यकाव्य ‘आधि’ उपन्यास बनेर हालसालै बजारमा आएको छ। मूलतः महिलाहिंसा, नारी विद्रोह, स्वनिर्णय, दमन, हिंसा, बलात्कारजस्ता तीता कुरालाई विषयवस्तु बनाइएको यो उपन्यास एउटी बालककालमै काकाबाट बलात्कृत भएकी नारीको कथा हो। बलात्कारपछि जीवनभर भोगेको मानसिक र शारीरिक असर तथा जीवनयात्रामा आफ्नै श्रीमान्बाट पाएको शारीरिक र मानसिक हिंसाविरुद्ध विद्रोह र स्वपहिचानको आवाजलाई स्वनिर्णयमा पु-याएर उपन्यासलाई सशक्त बनाइएको ‘आधि’ले पीडाकै संकेत गर्छ।  

यस उपन्यासकी केन्द्रीय पात्र चाँदनी हो र यसको कथावस्तु उसकै वरिपरि घुमेको छ। गाउँमा जन्मे–हुर्केकी चाँदनीलाई बालककालमै उसको काका पर्नेले बलात्कार गर्छ। बलात्कारीले दिएको धम्कीको डरले चाँदनीले हार–गुहार गर्न सक्दिनँ। एकपटक मात्र होइन, ऊ किशारी हुन्जेलसम्म पनि पटकपटक बलात्कृत हुन्छे। बलात्कारपछिका उसका मनोदशा र चित्रण साह्रै मार्मिक छन्। बलात्कारबाट आजित भएकी चाँदनी घर छाडेर आफ्नै साथीको दाजुसँग भागेर काठमाडौं आउँछे र विवाह गरेर बस्छे। विवाहपछिका दिन भने स्वर्णीम छन्। हरेक दिन, हरेक पल बलात्कारको अतितले उसलाई मार्छ, ऊ कहिले निर्धक्क हाँस्न र रमाउन सक्दिनँ। नव दम्पतिको मधुर प्रेममा पनि ऊ दुखेकी छे, बिर्सन चाहेर पनि बिर्सन नसकेको आफ्नो अतितसँग सधैँ तर्सिन्छे। मानिसलाई सधैँभरि दुःखैदुःख मात्र हुन्न र सुख पनि। बैंकमा जागिर खाने सार्थकले उसलाई सुख–सुविधा पु¥याएर राम्रोसँग राख्छ। समयले उसको घाउमा थोरै मलम लगाइसकेको हुन्छ तर समय बदलिन्छ समयसँगै श्रीमान् बदलिन्छ र आफ्नै कार्यालयकी सहपाठीसँग आकर्षित हुन्छ, तब उसले श्रीमतीमाथि गालीगलौज र हातपात गर्छ। सधैँ रक्सीमा झुमिरहने श्रीमान्ले पटकपटक पारपाचुके मागेर मानसिक यातना थप्छ। एउटी छोरीकी आमा भइसकेकी चाँदनीले आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी हुनाले आत्मनिर्भर हुन सजिलो हुन्छ। श्रीमान्को यातना ज्यादै भएपछि यसले स्वतन्त्र जीवन, परोपकार र समाजसेवालाई लक्ष्य बनाएर सम्बन्ध विच्छेद गर्छे। सुन्दर बाल्यकालमै बलात्कृत भएर मानसिक र शारीरिक पीडाको सिकार भएकी चाँदनीको जीवनमा आएका उतारचडाव र उसले साक्षात्कार गरेका परिवेश नै यस उपन्यासका विषय हुन्। रात दिन सुन्न र पढ्न नसक्ने बलात्कारका घटनालाई समय सापेक्ष उपन्यासको विषय बनाएर युगबोधलाई समाउन सक्नु उषाको औपन्यासिक विशेषता हो। बलात्कारजस्तो जघन्य अपराध मात्र यस उपन्यासमा छैन, विवाह र पे्रमका सुमधुर र सुखद वर्णन छन्। सहरले शरण दिन नसकेपछि आफ्नै श्री बेचेर आफ्नै शैलीमा जीवन जिउने स्वच्छन्द नारी  पात्र छन्। विकृत पुरुषको चरित्र चित्रण मात्र पनि होइन, जुवातास र मदिरालाई मनोरञ्जनको साधन मान्ने नारी पात्र तथा विकृत बाटोमा लागेका महिलाको पनि चर्चा गरेर उषाले समभावमा उपन्यासलाई अघि बढाएकी छन्। पुरुष पीडाका कुरा पनि आएका छन्। आँसु, हाँसो, पीडा, मिलन–विछोडको समीश्रणमा रहेको यो उपन्यासमा नारी सधैँ हिंसा सहेर बस्तैनन्, परेका बेला आफ्नो जीवनको निर्णय आफैँ लिएर आफ्नो जीवनको मालिक आफैँ हुन्छन् भन्ने विद्रोही र सक्षमताको सुखदानुभूति सन्देश पाइन्छ। 

उपन्यास समसामायिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। हामी बसेकै वरिपरि यस्ता घटना भइरहेका त छैनन् भनी सोच्न बाध्य बनाउनु यस उपन्यासको सफलता हो। 

यस उपन्यासमा प्रयोग भएको समाजमा सहर र गाउँको मिश्रण छ। जहाँ, किसान छन्, जंगल छ, सहर छ सहरको रमझम छ। प्रकृति र कृतिमको समीश्रणमा उपन्यासले विषय फिँजाएको छ। गाउँमा आफ्नै छोरी–चेली बलात्कार गर्न सक्ने विकृत मानसिकता बोकेको पुरुष छ भने बुहारीलाई छोरीजस्तै माया गर्ने सासु–ससुरा पनि त्यही गाउँमा छन्। सभ्य र विकृत, मिश्रणको सामाजिक संरचनामा उपन्यास हिँडेको छ। चाँदनी मुख्य नारी पात्र हो भने सार्थक मुख्य पुरुष पात्र। यसैगरी कान्छी घरबेटी आमा–बा, बलात्कारी काका, साथीहरू मुख्य सहायक पात्र हुन्। यो उपन्यासलाई गति प्रदान गर्ने चाँदनी र सार्थकपछि मुख्य पात्र कान्छी पनि हो। आफ्नै आफन्तबाट छोरीचेली असुरक्षित हुनु, पुरुषले मन लागे साथमा राख्ने र मन नपरे छाड्ने सक्ने साधन नारीलाई ठान्नु, परिस्थिति अनुसार स्वनिर्णय गर्न सक्ने सामर्थ पात्रमा आउनु उपन्यासलाई गति दिने घटना हुन्। पुरुष मात्र होइन, महिलामा बढेको विकृति, पारिवारिक जीवनप्रति उदासीन वर्तमानमा मानिस आत्मकेन्द्रित बन्दै गएको कुरा देखाउनु युगबोध हुनु नै हो। परिवेशलाई यो उपन्यासमा निकै नै जीवन्त रूपमा प्रस्तुत गरिएको छ। बलात्कारले थलिएकी चाँदनीको मनोदशा र त्रास यस उपन्यासको विशेषता हो। भाषा सरल र सहज हुँदाहुँदै पनि उच्च आदरार्थी, तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग प्रशस्त पाइन्छ। उपन्यासमा प्रयोग हुने खालका आलंकारिक शब्द पनि यस उपन्यासमा छन्। उपन्यासमा वर्णनात्मक तथा संवादात्मक शैलीको भाषिक प्रयोग धेरै पाइन्छ भने व्याख्यात्मक तरिकाले धेरै कुरा भन्न सक्नु यो उपन्यासको सबल पक्ष हो। कथ्य र लेख्य दुवै प्रकारको भाषाशैलीको प्रयोग पाइन्छ तथा कतै पात्रको स्तरभन्दा उच्च तहको भाषिक प्रयोग पाइन्छ। जीवनको अत्यन्तै बाध्यात्मक परिस्थितिमा गुज्रिएकी यस उपन्यासकी नायिका पढे–लेखेकी क्षमतावान् भएर पनि दुःख पाएकी छे। हाम्रै वरिपरि बलात्कारी काकाजस्ता घृणित पुरुष रहेका हुन सक्ने र यस्ता कुरामा सतर्क हुनुपर्ने सन्देश पनि यो उपन्यासमा पाइन्छ। समग्रमा हेर्दा उपन्यास समसामायिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। हामी बसेकै वरिपरि यस्ता घटना भइरहेका त छैनन् भनी सोच्न बाध्य बनाउनु यस उपन्यासको सफलता हो। स्वनिर्णयमा आफ्नो जीवन सुरु गरेकी शिक्षित चाँदनीले बलात्कारीलाई सजाय नदिइकनै उपन्यास टुंगिँदा केही नपुगेजस्तै पक्कै लाग्छ। बलात्कारीकोको आत्मबल सधैँ बढिरहने हो कि ? चाँदनीजस्ता अरु बालिका सिकार भइरहेका छन् कि ? लगभग उपन्यासभरि नै मानसिक पीडामा चाँदनी रहेकी हुनाले उपन्यासको शीर्षक सार्थक छ र सांकेतिक छ। कुरूप समयको प्रतिविम्ब लाग्ने यो उपन्यासले समयसापेक्ष दृष्टिकोणको माग गर्दै हिंसाका ज्वारभाटामा नारी अस्मिताको कठिन यात्रा देखाउन सफल छ। यो नै उषा शेरचनको गद्य लेखनको सफलता हो। 

प्रकाशित: ६ भाद्र २०७७ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App