पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।
बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो। बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ। योपटक भने पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुन थालेको महोसव पुस ९ देखि १७ गतेसम्म आयोजना हुने आयोकले बताएको छ।
बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार १५ देशका बेलुन उडान गर्ने पाइलट पोखरा आइसकेका छन्। नेपालका समेत गर्दा १७ वटा बेलुन पोखराको आकाशमा यो अवधिमा बिहान र बेलुकीको समयमा एकैपटक उडान भर्नेछन् । फेवातालको सिरान क्षेत्रको पामेको आकाशमा यो महोत्सव हुनेछ।
‘पोखराको आकाशमा एकैपटक १७ वटा बेलुन उडाएर बेलुनमय बनाउने प्रयास गर्दैछौ। पहिलो पटक पोखरामा हुन थालेकोले यो महोत्सव सबैका लागि नौलो बन्नेछ,’ शनिबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘नेपाली नागरिकका लागि यो महोत्सव नितान्त नौलो पनि रहेको छ। यसले पोखरामा पर्यटन प्रर्वद्धन गर्न सघाउने अपेक्षा छ । बेलुनमा रमाउनका लागि आन्तरिक पाहुना पोखरा आउने अपेक्षा छ।’ हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन्।
पामेको आकाशमा बेलुन उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म मात्र उड्न पाउनेगरि सीमा तोकिदिएको छ। अरुबेला ब्यावसायिक उडानका बेला बेलुन नेपालले यो आकाशमा नौहजार फिटसम्म उड्न पाउँछन। तर, यो बेला एकैपटक धेरै संख्यामा उडान गर्ने भएकोले उचाई ५ हजार फिटमा सीमित गरिएको छ।
प्राधिकरणका पोखरास्थित प्रबन्धक योगेन्द्र कुँवरले बेलुनको उडानका लागि नौ दिन अवधिका लागि पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको बताए। पामेको आकाश प्याराग्लाईडिङको अवतरण क्षेत्र पर्ने, हेलिकप्टर र पश्चिमतर्फबाट आउने जहाजको हवाई रुट पर्ने भएकोले पनि नोटाम जारि गरिएको उनले बताए। ‘हवाई रुटका हिसाबले पामेको आकाश संवेदनशील हो। तर, नोटाम जारी गरेकोले समस्या छैन,’ कुँवरले भने।
अध्यक्ष बाडेका अनुसार बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिनुपर्छ। त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने भएकोले यो उडान निकै नै आकर्षण पनि रहेको उनले बताए।
उनका अनुसार महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ। चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने उनले सुनाए। क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा हुने सडक महोत्सवमा पर्याप्त पाहुना आउने भएकोले पनि बेलुन उडानको प्रवद्र्धन हुने पनि उनले बताए।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका पर्यटक भित्रिने नयाँ बहाना बेलुन महोत्सव भएको बताए। ‘पोखरा पर्यटनको राजधानी भएको र पहिलो पटक महोत्सव हुँदै गर्दा कतिपय पर्यटकका लागि नौलो प्रडक्ट पनि रहनेछ,’ उनले भने, ‘विश्वमा बेलुन उडान हुने देशमा नेपाल पनि थपिएको छ। अब त महोत्सवका लागि पनि नौलो गन्तव्य बनेको छ। नेपाल आएका विदेशी पाइलटले स्वदेश फर्केपछि पोखराको सौन्दर्यताबारे प्रचार गर्ने भएकोले त्यसको समग्र लाभ पर्यटनमा पर्छ।’
परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बेलुन महोत्सवले पोखराको पहिचान अझ फराकिलो हुने बताए। पोखरालाई मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रलाई यो महोत्सले थप उचाइँमा पुर्याउने श्रेष्ठले बताए। ‘पोखराको आकाशमा सयर गर्ने अर्काे एउटा प्रडक्ट भित्रिएको छ। यसले आगामि दिनमा थप साहसिक पाहुना पोखरा भित्र्याउन सघाउनेछ,’ उनले भने।
प्रकाशित: ६ पुस २०८१ १७:३६ शनिबार