coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सामाजिक चित्रणमा भावनाका रंगहरू

जीवन भोगाइका र सोचाइका स्वतन्त्र अनुभवहरूलाई अक्षरले बाँधेर गद्यात्मक लयमा विश्रान्ति दिने कुनै घटना, कल्पनाको बिसौनी नै कथा हो। जो मानवीय अन्तरकुन्तर, क्रियाकलाप, समय, परिस्थिति र मानवीय जीवनका लौकिक र लोकोत्तर संवेगहरूमा कुँदिन्छन्, आफ्नै अवयवका साथमा कुनै एक भाग वा एक लक्षलाई प्रदर्शित गर्दै। नेपाली साहित्यको उर्वर विधा कथा पनि हो। 

यही उर्वरतालाई अझै मलजल गर्न जीवनीय चिन्तनका विविध आयाममा छरिएर पनि समेटिँदै नेपाली आख्यानमा पदार्पण गरेकी छन्, स्रष्टा पवित्रा अधिकारी। उनी देह उत्सव कथासंग्रह लिएर नेपाली आख्यानको फाँटमा उभिएकी छन्।

मानिसको देह र देहले गर्ने अनेक क्रियाकलापलाई, घटनालाई प्रतीकात्मक विम्बात्मक रूपमा उत्सव मनाइरहेका मानवरूपी कथाले हृदयलाई झङ्कृत पार्दछन् र सोच्न बाध्य हुन्छौँ– दुःखात्मक, सुखात्मक समयसँगै हामी पनि जीवनीय उत्सव मनाइरहेका छौँ, मन लागेर होस् वा नलागेर।

२३ वटा कथाहरूको संग्रह रहेको देहउत्सव आख्यान घाम भइन कथाबाट सुरु हुन्छ। पापा दिदी घाम हुनु र घाम हुनुको रहस्यसँगैका बालसुलभ अनुभूति भएर तिनै घामका उषा र प्रहरसँगै विद्रोहमा आफ्नै खुसीका लागि परम्परासँग विद्रोह गर्ने नारी सामर्थ कथामा पुग्छिन्।

सिमेन्टको घरको रहरले बेहोरेको बालमस्तिष्क, आमा मन र गरिबीको कारुणिक व्यथाले कोपरिएको सिमेन्टको घर कथामा गएर जीवनको घाम डुबेको छ। कुनै कथानक यौनदासी करूण र दुखान्त व्यथामा उनिएका छन्, कुनैले आफ्नै पतिको चरम यौन हिंसा र मानवीय रिक्त अवस्थालाई भोगेका छन्।

सीमान्तकृत निरिह पात्रको उच्च मानवीय आवरण, गरिबीको भोकमरीमा पनि आध्यात्मिक भावले उज्यालिएको मन, सामान्यबाट सम्पन्न बनेकी दूधवालीको अहं, अतृप्त यौनेच्छा, जीवनयापनका उत्सवहरू र अतृप्त इच्छाका कठघरामा उभिएका अपूर्ण र अधुरा इच्छाले पात्रहरू मर्माहत् छन्। घर परिवार छाडेर भागेको पात्रको वैराग्य, अव्यक्त प्रेम, समर्पित प्रेमी हुँदै अव्यक्त तारा कथामा पुगेर आख्यानले बिट मारेको छ।  

पवित्राका कथाहरूले सामाजिक र समसामायिक मनोविश्लेषणात्मक भावभूमिमा उभिएर देहले गरिरहेका विविध उत्सवको प्रतिनिधि गरेका छन्। कथाहरूमा कथाकार आफैँले देखेको, भोगेको कहीँ स्रष्टा स्वयं म भनेर कहीँ ऊ अथवा उनी भनेर आफ्नै जीवन र आँखामा ठोक्किएका कथानकहरू रहेका छन्। 

धेरैजसो कथाहरू ग्रामीण परिवेशका छन् भने केही कथा शहरी परिवेशका। केही कथाले आञ्चलिकता बोकेका छन्। ग्रामीण परिवेशको आख्यान बोकेका पात्रले कथानक अनुसार जीवन्त भई पात्रीयता निर्वाह गरेका छन्। पात्रले खेलेको भावभूमि कथानक अनुसार उपर्युक्त छ, मौलिक छ। प्रथम पुरूषात्मक आन्तरिक दृष्टिबिन्दु र तृतीय पुरुषात्मक बाह्य दृष्टिबिन्दुको समिश्रण रहेको यो कथा संग्रहभित्र विविध विषयवस्तुको जीवन्त चित्रण पाइन्छ।  

यस संग्रहका कथामा उचित र कलात्मकपूर्ण वाक्य गठन रहेको छ। भाषाको कलात्मक प्रयोग छ। आयामको दृष्टिले हेर्दा कथाहरू उस्तै उस्तै लागे पनि पाताल प्यास र ओथारो छोटा आयामका कथा हुन् भने अरू मझौला। कथाहरूले सामाजिक कुरीति, लैंगिक विभेद, मनोविज्ञान, विसंगति, यौन, अध्यात्म प्रेम आदि विषयको उठान गरेका छन्। 

सरल कथानकमा आरम्भ, उठान, उत्कर्ष र अन्त्यको विषयान्त सुगठित सुललित रहेको पाइन्छ। सरलता बोकेका यी कथाले पाठकलाई कुतूहलता प्रदान गर्छन्। झर्को नलागी अब कथानकले कुन मोड लेला भन्ने कुतूहलता पाठकलाई दिनसक्नु पवित्राको आख्यानीकरणको सफलता हो। कथामा पाठकलाई घोरिन बाध्य नपारी जुन विषय छ, त्यसमा कथासँगै पाठकलाई बगाउन सक्नु अधिकारीको अर्को वैशिष्ट्य हो। विषय गठनको उचित समायोजनमा कथाहरू रुीचपूर्ण सुन्दर र कलात्मक बनेका छन्।  

कथाकार आफैँले देखे–भोगेका यथार्थ र यस्तो भए पनि हुन्थ्यो, यस्तो होस् भन्ने कामनामा आदर्शोन्मुख शैली शिल्पमा लेखिएको देह उत्सव कथासंग्रह आफैँमा यथार्थ र आदर्शको मिश्रण छ। आदर्शवादी र यथार्थवादी जीवनदृष्टिमा बुनिएका उनका कथाको आफ्नै छुट्टै शैली र कथाकारिता पाइन्छ।

कथाका पात्रहरूको चयनमा कथाकार सचेत देखिएकी छन्। उनका पात्रहरू जीवन्त, आकर्षक र गतिशील छन्। निम्न वर्गदेखि उच्च वर्गसम्मका शिक्षित अशिक्षित सबै पात्रलाई उत्तिकै महत्त्व दिइएको छ, जसले नेपाली समाज, भाषा–संस्कृति र जनजीवन, लौकिक र लोकोत्तर पात्रको प्रतिनिधित्व गरेका छन्। सामाजिक तथा केही आञ्चलिक परिवेशमा कथाहरूले खुट्टा टेकेका छन्।

उनका केही कथामा समय र स्थानको स्पष्टता हुनु महत्वपूर्ण विशेषता लाग्छ। सहज, सरल र आकर्षक भाषाशैलीमा उनका पात्रले परिवेश र विषय अनुसारको भाषा प्रयोग गरेका छन। कतै संवादात्मक शैली त कतै वर्णनात्मक छन्। 

परिवेश र वातावरण अनुसार प्रयोग गरिएको भाषाले कथाहरू रोचक र पठनीय बनेका छन्। आफ्नै समाज, जनजीवन, कल्पना, आदर्श र आध्यात्मिकता भित्रका कथानकले पवित्रालाई एक सफल कथाकार हुन सहयोग गरेको छ।  

जीवन–जगत्मा आफूले देखेका वा प्रभावित भएका क्षण वा घटनालाई र आफ्ना तीव्रतम अनुभूतिद्वारा कलात्मक र मर्मस्पर्शी ढंगमा प्रस्तुत गर्ने कथाकार पवित्राले हरेक दिन जीवनले जीवन जिउने बहानामा मनाइरहेका उत्सवरूपी घटना वा व्यवहारलाई कथानकमा बुनेकी छन्।

हरेक दिनसँग जिन्दगीले दुःख, सुख, आशा, इच्छा, घटना दुर्घटनारूपी अनेक व्यवहारसँग कुस्ती खेलिरहेको हुन्छ, मानौँ उत्सव मनाइरहेको हुन्छ। जीवन हुनु नै उत्सवजस्तै हो। देहले गरेका तिनै उत्सवहरूको प्रतीक चरितार्थ गर्न खोजिएको कथासंग्रहको यसै संग्रहभित्र समाविष्ट कथाको आधारमा गरिएको शीर्षकीकरण सार्थक छ। 

अधिकांश कथामा कृत्रिमतारहित विचारको प्रस्तुति पाइन्छ। कथानक आदर्श प्रेम, नैतिक दायित्व र मानव मूल्यबोध गराउन अग्रसर बनेका छन्। प्रायः कथाले सामान्य जनजीवनको चित्रण, माया पिरती, वात्सल्य प्रेमप्रतिको सरलता, सामाजिक रूढीवाद र संस्कारगत संक्रीर्णताको युगीन सन्दर्भ दाम्पत्य जीवनको बाहुल्य, निम्न वर्गीय ग्रामीण सामाजिकताको चित्रण, तीव्र संवेदनशीलता, मानवीय सन्देश अर्थात् मानवताकै स्वर प्रतिध्वनित, आदर्श र आध्यात्म बोकेका छन्।  

कथानक अनुसार पात्रगत चरित्रको रहनसहन, आचारविचार, भेषभूषा आदिको परिवेशमा उचित संयोजन पाइन्छ। कथाचेत भएकी पवित्राले साहित्यलाई व्यक्तिगत कल्पनाको उपज मात्रै मानेकी छैनन्, अनि साहित्य समाजको अभिव्यक्ति हो भन्ने कुरामा पनि ढुक्क छिन्। साहित्य रचनाको प्रमुख आधार परिवार हो र परिवार, समाजमा भएका सामान्य घटनाहरू कथाका विषयवस्तु हुन्। यिनै घटनालाई पात्रहरूले सरल र सहज भाषाशैलीको प्रयोग गरेर जीवन्त बनाएकी छन्।

समाज र व्यक्तिकेन्द्रित चरित्रहरू बोकेका यी कथा क्षेत्र सहर र गाउँ केन्द्रित एवं यी दुवैको मिश्रित रूप पनि रहेको पाइन्छ। सबै कथामा मानव जीवनका समस्या छन्। त्यसकारण यो संग्रह समस्यामूलक कथाहरूको संग्रहभन्दा अत्युक्ति नहोला। समग्रमा कथामा उठाएका विषयवस्तु नेपाली सामाजिक भोगाइकै प्रतिविम्ब हुन्।

सर्जक सामाजिक विसंगति, विकृति र विभेदको अन्धकार हटाउन उज्यालो प्रकाशको खोजी गर्ने अन्वेषक हुन्। यस कथा संग्रहले सम्बोधन गरेका विषय र सुन्दर कथाकारिताले पवित्रालाई सफल कथाकार हुन सहयोग गर्ने छ भन्ने विश्वास छ।  

कथाकार: पवित्रा अधिकारी

कथासंग्रह: देह उत्सव  

संस्करण: २०७८

प्रकाशक: पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र, काठमाडौं

मूल्य: २००

प्रकाशित: १६ आश्विन २०७८ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App