२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सूर्य लाकोजू र गंगा सुवेदीलाई सयपत्री राष्ट्रिय सम्मान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले शनिबार साहित्यकार सूर्यप्रसाद लाकोजू र उहाँको श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठ तथा साहित्यकार गंगा सुवेदी र उहाँको श्रीमान् दिनेश सुबेदीलाई नगद, सम्मान पत्र, दोसल्ला, फलफूलसहित सयपत्री राष्ट्रिय सम्मान २०७८ले सम्मानित गरेको छ।

उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा जगतप्रसाद उपाध्यायले सम्मानित गर्दै सयपत्री प्रतिष्ठानले उपयुक्त पात्रहरू छनौट गरेर सम्मान गरेको बताए। उनले स्रष्टाहरुको साहित्यिक योगदानमा जीवन साथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सही भएको र आफुलाई निकै प्रभावित भएको बताए।

एक अर्को प्रसंगमा उनले आफूभित्र रहेको नकारात्मक उर्जालाई हटाई चेतनाको दियो मनमा वालेर समाजको लागि केहि गर्नुपर्ने भनाइ राख्दै प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमै महाकवि देवकोटाको संग्रालय संचालनमा ल्याउने बताए। सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए। उनले सयपत्रीले सदैव उत्कृष्ठ कार्य गरेकोले आफूले साथ दिइरहेको समेत बताए।

कार्यक्रममा सम्मानित साहित्यकार गंगा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाँउँदा आफूलाई ४० वर्षअघि आफ्नो विवाहको स्मरण आएको बताए भने अर्का सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म अनुमोदन भएको बताए। 

कार्यक्रममा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पारेका थिए भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिए।

सो कार्यक्रममा नेपाल साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल, उपमहासचिव चेतनाथ धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए।

प्रकाशित: १३ कार्तिक २०७८ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App