नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गरेका छन्। सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षा कायम गर्नतिर अग्रसर नभएको बताए।
देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासीन देखिएको औंल्याउँदै ओलीले भने, ‘स्वयं तपाईं पत्रकारहरू नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ। कसको पक्षमा लेखिदिने भन्ने छ। देशका प्रधानन्यायाधीशले समेत धम्की आएको छ भन्ने अवस्था छ। निर्वाचन आयोग त्रासदीमा छ। प्रहरीको मनोबल छैन। जनताले प्रहरीको बस्ने ठाउँ बनाइदिएका छन्। जेल फोड्ने, क्रिमिनल काम गर्नेहरूको मुद्दा फिर्ता लिने काम भएको छ। यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ।’
अध्यक्ष ओलीले झापाको एसपी फेरिएको सन्दर्भ उल्लेख गर्दै भने, ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ। त्यो बेला यस्तो काम कहिल्यै गरिनँ। एसपीबाट निष्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ। यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’
झापाको मुहार फेर्ने गरी विकासका काम आफ्नै कार्यकालमा भएको दाबी गर्दै उनले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि गृह क्षेत्र आएको र झापामा भएका विकासका काम हेर्न तथा सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गरे।
‘हामी यहाँबाट जनप्रतिनिधिका रूपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्यका काम भएका छन्। यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यवसाय सञ्चालनमा छन्। विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ। कृषिको आधुनिकीकरण, उद्योग निर्माणको अन्तिम तयारीमा छौं। यहाँका योजनाले धेरै रोजगारी सिर्जना गर्न यान्त्रीकरण गरिरहेका छौं,’ ओलीले भने।
‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन्। बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं। झापामा घर पातला भए, बाटा बाक्ला भए। बाटा सफा छन्। हुन त फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सकिन्छ,’ उनले भने, ‘आधारभूत विकासका काम भएका छन्। विकास निरन्तर हुने प्रक्रिया हो। शिक्षाको हकमा उत्तरतिर राम्रो भएको छ। दक्षिणतिर शिक्षामा बढी जोड दिनुपर्छ।’
प्रकाशित: ५ माघ २०८२ १७:१८ सोमबार





