८ वैशाख २०८१ शनिबार
कला

विज्ञानका लागि आवाज किन ?

विज्ञानले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको छ। यस दुई हजार वर्षको मानव विकासको इतिहासमा १८ सय वर्षसम्म विश्वको गार्हस्थ्य उत्पादन प्रतिव्यक्ति अमेरिकी डलर एक हजारभन्दा मुनि रह्यो। अहिले यो १५ हजार २ सय १२ पुगेको छ।

सन् १८०० पछि विश्वको अर्थतन्त्र ‘हकी स्टिक ग्राफ’जस्तै एक्कासि उँभो लाग्नुको कारण औद्योगिक क्रान्ति (सन् १७६०–१८४०) थियो, जसको जग वैज्ञानिक क्रान्ति (सन् १५४३–१६८७) ले बसालिदिएको थियो। दुई ठूला विश्वयुद्ध (पहिलो सन् १९१४–१९१८, दोस्रो सन् १९३९–१९४५) मा आठ करोड मानिसको ज्यान गयो, यसबीच एउटा एन्टिबायोटिक औषधि पेनिसिलिनको आविष्कार (सन् १९२८) ले मात्रै २० करोड मानिसको ज्यान बचाइदिएको छ।

 हाम्रा पुर्खाले २००७ सालमा प्रजातन्त्र ल्याउँदा नेपाली जनताको सरदर आयु ३४ वर्ष थियो, अहिले यो ७१ वर्ष नाघेको छ। एक सय वर्षअघि स्पेनिस फ्लुको महामारीबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएका थिए, त्यसमध्ये १० प्रतिशतको मृत्यु भएको थियो।

अहिले कोभिड–१९ को संक्रमण भइरहेको छ, जुन विश्व जनसंख्याको तीन प्रतिशतभन्दा तल छ र मृत्युदर दुई प्रतिशतको आसपास सीमित छ। भन्नु परोइन्, यसको पृष्ठभूमिमा अनुसन्धानहरू भइरहेका छन्, जसको नतिजा कोभिड संक्रमण भएयता छापिएका करिब २ लाख जर्नल–लेखमार्फत वैज्ञानिकले साझा गरेका छन्।

विज्ञान हाम्रो जनजीविकासित नछुट्टिने गरी गाँसिएको छ। स्वास्थ्य, सञ्चार, मनोरञ्जन, यातायात, कृषि, ऊर्जा, आवास, सुरक्षा, शिक्षा, कुनै पनि यस्तो विधा छैन, जुन विज्ञानबाट अछुतो होस्।

सन् १९४३ मा भारतको बंगालमा व्याप्त अनिकालबाट ४० लाख गरिबको ज्यान गएको थियो। सायद त्यो नै भारतको अन्तिम आम भोकमरी हुनुपर्छ। सन् १९७० पछि त उ, अन्न निर्यातक भएको छ, कारण हो, विज्ञानबाट परिपोषित हरित क्रान्ति। सुन्दा कथा जस्तो लाग्छ कि सन् १९५० अघि जापानमा २० वर्षमुनिका ५० प्रतिशत किशोर–किशोरी क्षयरोगबाट संक्रमित भएको पाइन्थ्यो। 

अहिले जापान संसारमै सबैभन्दा धेरै औसत आयु (८४.८ वर्ष) भएको देश हो। कुल गार्हस्थ्य उत्पादनका हिसाबले ऊ तेस्रो धनी देश पनि हो। उसको दीर्घ आयु र आर्थिक समृद्धिको पछाडि पनि विज्ञान नै छ। जापान संसारमै वैज्ञानिक अनुसन्धानमा धेरै लगानी गर्ने पाँच देशहरूमा पर्दछ। 

सहस्राब्दी लक्ष्य (सन् २००१–२०१५) का आठ लक्ष्यमा नेपालले मातृ मृत्युदरमा उल्लेख्य सुधार (प्रति एक लाखमा ८५० बाट घटेर २५८) ल्याएको थियो, जसको श्रेय महिला स्वास्थ्य स्वयंसेविकाले अपनाएको स्वास्थ्य विज्ञानको पद्धतिलाई जान्छ।  

हाम्रा कैयौं अभिलाषा विज्ञानले पूरा गरिरहेको छ। सम्भावनाका कैयौँ ढोका यसले उघारिदिएको छ। हेर्दाहेर्दै हाम्रै छिमेकी देशहरू चन्द्रमा र मंगल ग्रहको अन्तरिक्ष यात्रामा गइसकेका छ्न्। उहिले गोरखापत्र राजधानी काठमाडौंबाट जुम्ला पुग्न महिना दिनको समय लाग्थ्यो र अहिले पनि हामीकहाँ ३५ दिने म्याद तामेली दिने चलन छ।

अब कुनै पनि सूचना पाउन ३५ सेकेन्ड बल्ल लाग्ला, किनकि अन्तरिक्ष प्रविधिबाट चल्ने सञ्चार साधन मोबाइलले यस्तो सहज र छिटो बनाइदिएको छ। नेपाल दूर सञ्चारका अनुसार नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ८० लाख छ। 

यसै वर्ष जनवरीमा चीनको एक सुनखानीमा जमिनभन्दा २ हजार फिटमुनि एक दर्जन मजदुर फस्न पुगे। दुई सातासम्म अँध्यारोमा अड्किएका ती मजदुरलाई प्रविधिको प्रयोग गरेर पानी र खाना पुर्‍याइयो अनि सफलतापूर्वक तिनको उद्धार पनि भयो। खानी उत्खननको इतिहासमै यस्तो उद्धार भएको थिएन, विज्ञानको प्रयोगले यसलाई सम्भव बनाइदियो। 

हामीले तराईमा मात्र देख्दै आएका पाटे बाघहरू पहाड पनि उक्लिन्छन् र महाभारत नाघेर आउँछन् भनेर कसले पो सोचेको थियो र ? क्यामेरा ट्राप प्रविधिले त्यसको यात्रालाई उसले थाहै नपाउने गरी कैद गरिएको फोटो अस्ति भर्खरै अखबारमा पढियो।

यद्यपि विज्ञान मानव उपयोगका प्राविधिक साधन र आकांक्षा मेटाउने उपभोग्य वस्तु मात्र होइन, यो ज्ञानको ठूलो भकारी मात्र पनि होइन, विज्ञान प्रकृतिको रहस्य पत्ता लगाउने प्रक्रिया, त्यसको दसी र हाम्रो चेतनाको अभिव्यक्ति पनि हो। 

अवलोकन, परीक्षण र सुधारको निरन्तर प्रक्रियाबाट चल्ने मानिसको स्वतन्त्र चिन्तनबाट परिपोषित मानव सभ्यताले आर्जन गरेको यो एउटा गतिशील दर्शन हो। विज्ञान मानव क्षमता र विवेकमा विश्वास गर्ने समर्पित मानिसको निरन्तरको परिश्रम, सहकार्य र समर्पणबाट अघि बढ्छ। तथापि मानिसले निर्धारण गरेको मूल्य–मान्यताबाट विज्ञान अभिशप्त झनझनै बन्दैछ। 

समाज वैज्ञानिक समुदायबाट ऋणी छ, तर, ऊ ऋण तिर्ने कुरा पटक्कै गर्दैन उल्टो सेखी झार्छ। नेतृत्वमा बस्ने समाजका अगुवा छद्म विज्ञान अगाडि सार्छन्, तिनका अल्पज्ञान र उट्पट्याङ व्याख्याले समाजलाई दिग्भ्रमित पारिरहेको छ। उदेकलाग्दो कुरा त विज्ञानलाई नै प्रयोग गरेर विज्ञानकै बद्ख्वाइँ भइरहेको छ। तिनले विज्ञानको ओठे तारिफ छुटाउँदैनन्, किनकि योबिना ऊ ज्ञानी र प्रगतिशिल देखिँदैन।

मानिसको साहस र कल्पनाको सीमा छैन। विज्ञानले जीव विकासको आलोकमा यस विषयको उहिल्यै व्याख्या गरिसकेको छ। अब यसलाई आनुवांशिक स्तरमा व्याख्या गर्ने कोसिस भइरहेको छ, जुन कुनै दिन भई पनि हाल्छ। अहिलेलाई थाहा गर्नुपर्ने कुरा यही छ कि मानिसको त्यो अदम्य साहस र अनन्त कल्पनालाई मूर्त रूप दिने भनेको वैज्ञानिक चिन्तन र प्राविधिक आविष्कार मात्रै हो।

 पौराणिक कथाका पात्र र तिनका काल्पनिक चित्रले हामीलाई कल्पनाको संसारमा मात्रै विचरण गराउने हो। ईपू ५०० तिर वाल्मीकिले रामायण लेख्दा पुष्पक विमानको कल्पना गरे। सन् १४८७ मा दा भिन्चीले उड्ने मेसिन अर्निथप्टरको डिजाइन बनाए। १८औँ शताब्दीमा न्युटनले हावाको गतिशील प्रकृति एरो–डाइनामिक्सको वैज्ञानिक व्याख्या गरेपछि हावामा तैरिने इन्जिनको विकास गर्ने उपाय खुल्यो। आजभोलि बर्सेनि साढे चार अर्ब मानिस ‘हावामा उडेर’ एक स्थानबाट अर्कोमा पुग्छन्। तर, न्युटनले वैज्ञानिक आचरणको महानता देखाए र भने, ‘यो महानहरूको काँधमा चढेर सम्भव भएको हो।’

विज्ञानले गरेका प्रगति र यसले पुर्‍याएको  सेवा बाबजुद यसमाथि अधिकांश देशको ध्यान न्यून छ। अनुसन्धान तथा विकासमा वैश्विक लगानी कुल गार्हस्थ्य उत्पादनको २.१ प्रतिशत पुगेको छ, झट्ट हेर्दा यो निकै उत्साहवद्र्धक लाग्छ। तथ्यांक केलाउँदा थाहा लाग्छ कि विश्वका दुईतिहाइ देशको यस्तो लगानी एक प्रतिशतभन्दा कम छ। विकसित राष्ट्रले धेरै लगानी गर्दा यस्तो देखिएको हो, त्यसैले ती विकसित छन्। 

स्वभावतः खोपजस्तो आधारभूत सेवाका लागि पनि हाम्रोजस्तो देश अरूको मुख ताकेर बस्नुपरिरहेको छ। विश्वभरिमा करिब १ करोडको संख्यामा सक्रिय अनुसन्धान वैज्ञानिक छन्, तिनको दुईतिहाइ संख्या अति सम्पन्न ३९ मुलुकमा सोहोरिएर बसेको छ। सम्पन्न र विपन्नबीच अब ज्ञानको खाडल बढ्दो छ। नेपालमा झन्डै ९० हजारको संख्यामा वैज्ञानिक तथा प्राविधिक जनशक्ति छ, तिनको विदेश पलायन रोकिएको छैन। यता हामी आफ्नै प्राकृतिक स्रोत–सम्पदाको अन्वेषण र उपयोगका लागि परनिर्भर बनेका छौँ। अनुसन्धान प्रयोगशाला बजेटको अभावमा रुग्ण अवस्थामा छन्।

कुनै मुलुक त्यत्तिकै सम्पन्न र कुनै मुलुक त्यत्तिकै विपन्न भएको होइन। सन् १९९० मा वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकासमा चीनको लगानी कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत थियो, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर १,५१६ थियो, सन् २००० मा त्यो लगानी १ प्रतिशत भयो, गार्हस्थ्य उत्पादन दुगुना (३,६७८ डलर) भयो, सन् २०१० मा लगानी १.७ पुर्‍यायो, गार्हस्थ्य उत्पादन तीन गुना (९,४२९ डलर) ले बढ्यो। 

सन् २०२० मा यो लगानी २.४ प्रतिशत भयो, उसको उत्पादन १७ हजार १ सय ९२ डलर पुग्यो। कुरा घामजत्तिकै प्रस्ट छ, विज्ञानमा लगानी बढाए जनताको आर्थिक अवस्था उठ्नेछ। नाराले विकास हुने होइन, लगानी चाहिन्छ विज्ञान र प्रविधिमा। विगत दुई दशकयता वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकासमा नेपालको लगानी कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशतभन्दा बढ्न सकेको छैन। नेपाली जनताको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर १ हजार १ सय ९६ छ।

मानिसको आर्थिक समृद्धिको चाहना बढेसँगै हाम्रो जीवमण्डलको अवस्था भने खस्किँदै छ। संसारका प्रायः सबै सभ्यता नदीछेउमै फस्टाए। तर अहिले सभ्यताका तिनै जननी मानिसको फोहोर मिल्काउने स्थान भएको छ। वैज्ञानिक भन्छन्– काठमाडौंतिर वागमती नदीमा प्रत्येक दिन १० लाखभन्दा बढी प्लास्टिकका टुक्रा तैरिन्छन्, पिएचको तह ९ नाघ्छ, जसमा माछा बाँच्न मुस्किल हुन्छ। 

हामीले फेर्ने हावा त्यस्तै प्रदूषित छ। गत वर्ष अत्यधिक वायु प्रदूषणले गर्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। नेपाल संसारमै खराब वायु भएका १२ देशभित्र पर्दछ। मानव सिर्जित जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेको छ। पृथ्वीका नौवटा वतावरणीय सिमानामध्ये चारवटालाई हामीले नाघिसकेका छौँ  प्रजाति लोप, वन विनाश, वायुमण्डलीय कार्बनडाइअक्साइड र नाइट्रोजन र फस्फरसको बहाव।

वैज्ञानिकको आशंका छ– यसलाई रोक्न सकिएन भने मानव सभ्यता नै धरापमा पर्नेछ। तर विज्ञान अभिशप्त छ, ग्रीक पौराणिक कथाकी राजकुमारी कासान्द्राजस्तै। कासान्द्रासित भविष्य देख्ने अपूर्व शक्ति छ। तर, तिनको कुरामा कसैले नपत्याउने श्राप परेको हुन्छ।

यसकारण, विश्व समुदायको उन्नति र हाम्रा कैयौँ आकांक्षा पूरा गर्नमा विज्ञानको भूमिकाको सराहना गर्न, विज्ञानलाई आर्थिक समृद्धि अनि सामाजिक विकाससित जोड्न र हाम्रो जीव मण्डलको वातावरण सन्तुलित र अक्षुण्ण राख्न ‘विज्ञानको लागि आवाज’ अभियानको जरुरी भएको छ। देशका सबै वैज्ञानिक तथा प्राविधिकहरू, विज्ञान शिक्षक तथा प्राध्यापकहरू, सञ्चारकर्मीहरू, युवा पुस्ता र विद्यार्थीहरू, विज्ञानप्रेमी र समाजका सबै जनसमुदायले विज्ञानका लागि आवाज उँचो बनाउनुपरेको छ। हिजो असोज १ गते राष्ट्रिय विज्ञान दिवस हो। सबैले विज्ञानका लागि आवाज घन्काऔं।  

प्रकाशित: २ आश्विन २०७८ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App