९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

राष्ट्रकविको जीवनमा त्यो खेल

म जान्ने भएदेखि बुवाले दुइटा खेलबाहेक अरू खेल खेलेको देखेकी छैन। केही समयका लागि लुँडो र तास जीवनपर्यन्त। यीबाहेक लमजुङको गाउँ सहरको विद्यालयमा प्रध्यानाध्यापक हुँदा विद्यार्थीसँग फुटबल र भलिबल खेल्नुहुन्थ्यो भन्ने कुरा आमाबाट थाहा भएको हो। विशेषतः खेल मनोरञ्जनका लागि खेलिन्छ। बुवाले लुँडो के मनोरञ्जनकै लागि मात्र खेल्नुभयो त ? कुन परिस्थितिमा बुवामा तास खेल्ने चाहना जाग्यो? जीवनपर्यन्त यो खेलले किन निरन्तरता पायो ? 

०२८/३० साल तिरको कुरो हो, बिहानको खानापछि बुवाआमा जाडोमा घाम ताप्दै र गर्मीमा शीतलमा बसेर करिब एक घन्टा जति लुँडो खेल्नुहुन्थ्यो। चार खेलाडीले खेल्न मिल्ने भए पनि हामी कहिले पनि सामेल हुन पाएनौँ। हाम्रो कोठाबाट वेलावेला बुवाको खित्का सुनिन्थ्यो। चालमा आमाको घरभित्र पस्न लागेको गोटी खाँदा बुवा खित्का छोडेर हाँस्नुहुन्थ्यो। आमालाई थाहा थियो, आफ्नो हार अनिवार्य छ। बुवाको जित र आमाको हार नभएसम्म त्यो खेल चलिरहन्थ्यो। दिन र रातको समेत अधिकतम समय रचनामा बिताउने बुवाले यो समय आफूलाई पुनर्ताजगी गर्न र आफ्नी प्रिय पत्नी महाकालीका लागि छुट्ट्याउनुभएको थियो। आमालाई पनि आफ्ना पतिसँग संवाद कायम गर्ने, भावना साटासाट गर्ने यही नै सुनौलो अवसर थियो। एक डेढ वर्षपछि लुँडोको गोटी र बोर्ड कता थन्कियो, थाहा भएन।

कवि शिरोमणि लेखनाथ पौडेलसँग भेट हुनुअगाडि नै बुवाले उहाँका रचना पढ्नुभएको थियो। बुवाको संस्कृतका महाकवि कालिदास, रवीन्द्रनाथ टैगोर र शिरोमणि लेखनाथबाट प्रभावित भएको स्वीकारोक्ति नै छ। २०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो। बुवालाई पनि त्यो समय तास खेलेर मनोरञ्जन गर्नुभन्दा पनि आफ्नो अग्रजको सान्निध्यमा प्रत्यक्ष अप्रत्यक्ष केही सिक्ने अवसर हुन्थ्यो। घर फर्केपछि बुवाले आमालाई तासको खेलको भन्दा पनि शिरोमणिले आफ्नो कविता मन पराएको, केही मार्गदर्शन दिएको कुरा सुनाउनुहुन्थ्यो।

परिस्थितिले कोल्टे फेर्‍यो। शिरोमणि रहेनन्। हाम्रो पनि डेराको वासबाट छुट्कारा मिल्यो। शनिबारको जमघट अलकाबस्तीस्थित बुवाको आफ्नै घरमा हुन थाल्यो। खेल त तास नै थियो तर यसले रङ फेर्‍यो। रंगमञ्च फेरियो, पात्र बदलियो, अनि भूमिका पनि परिवर्तन भयो। बुवा पहिले सिकारु हुनुहुन्थ्यो होला, अनि प्रत्येक शनिबार मार्गदर्शनका लागि ठमेल धाउनु पनि भयो होला। तर अब अरू साहित्यकार, पत्रकार कविवरको सान्निध्य पाउन अलकाबस्ती धाउने भए। जमघट ठूलै हुन्थ्यो। सबैलाई खेल्ने सिट पुग्दैनथ्यो। मलाई लाग्छ– सबै जना खेल्नकै लागि मात्र पनि आउँदैनथे। कविवरका रचना सुन्न, आफ्ना रचना सुनाउन र प्रभावशाली रचना कसरी गर्ने भनी मार्गदर्शनका लागि पनि आउँथे। शनिबार जम्मा हुने सबैको नाम सम्झना नभए पनि केहीको सम्झन्छु– वासुदेव त्रिपाठी, दैवज्ञराज न्यौपाने, रामचन्द्र न्यौपाने, मेघनाथ आदि। यीमध्ये रामचन्द्र र मेघराजबाहेक अरूले तास खेल्थे खेल्थेनन्, म यकिन छैन। यसरी तास त एउटा माध्यम मात्र थियो, साहित्यिक माहोलका लागि।

प्राविधिक विकासले निम्त्याएको व्यस्तता र जटिलताले मानिस मानिसबाट बिस्तारै टाढा हुँदै गए। बुवाकहाँ हुने शनिबारे जमघट पनि पातलिँदै गयो र कहिले पूर्ण विराम लियो, पत्तै भएन। त्यसपछि बुवाले तास खेल्ने प्रतिद्वन्द्वी आफैँले तयार पार्नुभयो– प्रिय पत्नी महाकाली! सूर्य अस्ताउनु एक घन्टा जति अगाडि बुवा र आमा पहिले पप्लु र पछि म्यारिजको चलन आएपछि त्यही नै प्रायः सात हात खेल्नुहुन्थ्यो। एक–दुई हात थपघट बुवाको जितहारमा भर पर्थ्यो। खेलको अवधिभर आफूले दिनभर लेख्न गरेको मिहिनेत अझ उहाँकै शब्दमा ‘लडाइँ’को चर्चा हुन्थ्यो। आफूले लेखेको बुवालाई कण्ठस्थ नै हुन्थ्यो। बुवाले त्यो आफ्नी प्रथम श्रोता, आलोचक तथा समालोचक श्रीमती महाकालीलाई सुनाउनुहुन्थ्यो। बुवाको सान्निध्यले गर्दा आमा पनि साहित्य राम्ररी बुझ्ने हुनु भइसकेको थियो। यसैले आमाले सही सुझाव र सल्लाह दिनुका साथै प्रशंसा पनि गर्नुहुन्थ्यो। यसैबीच खेल पनि बुवाको जितसँगै टुंगिन्थ्यो।

बिस्तारै हामी केटाकेटी पनि दसैँको फूलपातीदेखि पूर्णिमासम्म र तिहारको लक्ष्मी पूजा र भाइटीकाको दिन तास खेल्न पाउने भयौँ। बुवा पनि हाम्रै खेलमा सामेल हुनुहुन्थ्यो। यसमा हामी दंग पर्थ्यौं। बुवाले हामीलाई प्रतिद्वन्द्वी बन्न परिपक्व भएको मान्यता दिएजस्तो लाग्थ्यो। जित्दा बुवा दंग पर्नुहुन्थ्यो, हारे ‘केटाकेटी बाठा भए, मभन्दा धेरै जान्ने भए’ भनेर चित्त बुझाउनुहुन्थ्यो। हामी छोरीहरूको बिहे भइसकेपछि विशेष चाडबाड (दसैं, तिहार, आमाबुवाको मुख हेर्ने, तिजको दरखाने आदि)मा पारिवारिक जमघट हुँदा बुवाले तास खेल्ने इच्छा जाहेर गर्नुहुन्थ्यो। हामी पनि त्यो शिरोधार्य गर्थ्यौं । घरका भाइबुहारीसमेत सामेल हुने त्यो खेल हामी सबैका लागि बुवाले जुटाइदिनुभएको साझा मनोरञ्जनको अवसर हुन्थ्यो। कडा अनुशासनको माहोलमा हुर्किएका हामीलाई अरू वेला त्यति सहज नलाग्ने आफूभन्दा अग्रज बुवा, भिनाजु आदिलाई जिस्काउने, उहाँहरूले तासको चालमा गर्नुभएको गल्ती देखाएर हाँस्ने एउटा स्वतन्त्र अवसर हुन्थ्यो। कोजाग्रत पूर्णिमाको दिन खेलको अन्तिम घडीमा बुवाको इच्छा अनुसार तीन पत्ती अर्थात् पल्टाई फरास खेलिन्थ्यो। कम्तीमा एक हात चाहिँ बुवाले जितिदिए हुन्थ्यो भन्ने हामी सबैलाई लाग्थ्यो।

बुवाको जीवनको अन्तिम एक–दुई वर्ष साहित्य सिर्जना गर्न शरीरले त्यति साथ दिएन। यसै अवधिमा घाम अस्ताउनुअघि हुने बुवा र आमाको खेलमा हामी वरिपरि भएका छोरी पनि सामेल हुन थाल्यौँ। आफ्नो अफिस र घरको कार्य व्यस्तताका बीच पनि केही समय निकालेर बुवाआमा कहाँ पुग्थ्यौँ । कुनै दिन केही ढिलो भयो भने बुवा आतुरताका साथ कुर्नुहुन्थ्यो। धैर्यको बाँध टुटेपछि ‘आमा, किन आएनन् फोन गर त’ समेत भन्नुहुन्थ्यो। हामीलाई बाटोमा देखेपछि आमालाई भन्नुहुन्थ्यो ‘लौ आए। पत्रिका, किताब हटाउ। खेल्ने ठाउँ ठीक पार।’ आमा पनि हामी पुग्दानपुग्दै तासको गड्डी अघि राखेर बसिसक्नुहुन्थ्यो। खेल पनि अचम्मकै हुन्थ्यो। 

कहिले पत्ती नतानी फाल्ने, कहिले तानेर पनि नफाल्ने त कहिले चाहिँ पप्लु हेर्ने नियम नपुग्दै हेर्ने आदि। त्यस्ता गल्ती बुवाबाट बारम्बार र अरूबाट पनि आकलझुकल हुन्थे। हुन त गम्भीरतापूर्वक तास खेल्न को जम्मा भएको थियो र ? बुवा भन्ने गर्नुहुन्थ्यो ‘यो खेलले सम्झना शक्ति बढाउँछ, सम्झना हरायो भने त जीवन कष्टकर हुन्छ नि।’ हुन पनि जीवनको अन्तिम अवस्थासम्म उहाँले यो समस्या व्यहोर्नुपरेन। बुवालाई दिनको केही समय हाम्रो साथ चाहिएको थियो। पहिले बुवामा हामी निर्भर थियौँ, बुवा हाम्रो आडभरोसा हुनुहुन्थ्यो, उहाँले हामीलाई मनोरञ्जनको माहोल जुटाइदिनुहुन्थ्यो। अब त्यतिबेला चाहिँ बुवा बिस्तारै हामीमा निर्भर हुन थाल्नुभयो। अनि हामी बुवाका आडभरोसा भयौँ र उहाँलाई मनोरञ्जन गराउनु पनि हाम्रो दायित्व भयो। यसैले त हरसम्भव समय निकालेर बुवा कहाँ जान्थ्यौँ। पछिल्लो दुई–तीन महिना त बुवा खेलमा सामेल हुनसक्नुभएन तर हामीलाई खेल्न लगाएर हेरेर मात्र पनि आन्नदित हुनुभयो।

प्रकाशित: ३० श्रावण २०७८ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App