coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिरामी हुँदा पनि ध्यान

शरीर स्वस्थ छैन, यस्तो अवस्थामा शरीरको अनि मनको पार कसरी जान सक्छु र ? म धेरै निराश भएकी छु गुरु, केही मार्गदर्शन गर्नुहोस्। एक शिष्याको प्रश्नमा ओशोले भनेका छन्, शरीर त सधैँ अस्वस्थ छ। शरीर त कहिल्यै स्वस्थ हुनै सक्दैन। त्यसैले ज्ञानीहरूले शरीरलाई व्याधि भनेका छन्। अस्पतालमा भर्ना हुनेको शरीरलाई मात्र व्याधि भनिँदैन। शरीरलाई पनि व्याधि भनिएको छ। व्याधि त्यसकारण भनिएको कि शरीर जन्मेको छ तर मर्छ। शरीर जन्मेपछि नै मर्छ। जन्मपछि मर्नुबाहेक अरू केही गरेका छौ तिमीले ? एक दिनको बच्चा एक दिन मरी जान्छ। एउटा बच्चा आमाको गर्भबाट जमिनमा आउनासाथ जुन श्वास लिन्छ, त्यति नै बेला उसको मृत्यु निश्चित छ। जन्मपछि मृत्यु त निश्चित छ।

जसको मृत्यु हुन्छ, उसको स्वास्थ्य कस्तो हुन्छ ? स्वास्थ्य त केवल अमृतको हुन्छ। स्वस्थ त ऊ हुन्छ, जसले अमृत जानेको छ। शरीर त मरणाधर्म हो। मृत्यु त उसको रौँ–रौँमा छिपेको हुन्छ। ढिलो–चाँडो समयको कुरा हो। शरीर त मरघट नै हो। त्यसैले चिन्ता नगर। शरीर स्वस्थ छ कि अस्वस्थ यसले तिम्रो ध्यानमा कुनै सम्बन्ध राख्दैन। तिमीले सोचेकी छ्यौ कि जसको शरीर स्वस्थ छ, उसले ध्यान गर्छ, ध्यानमा उपलब्ध हुन्छ ? प्रायः उल्टो हुन्छ। जसको शरीर स्वस्थ छ, उसले त ध्यानको बारेमा सोचेको पनि हुँदैन। उसले भन्ने गर्छ– ध्यान बुढेसकालमा गरौँला नि अहिले किन हतार ? चार दिनको जिन्दगी मिलेको छ, खाऊँ, लुटुँ, मोज गरुँ, मृत्यु आयो भने देखौँला। जसको मृत्यु आउँदै छ, उसले गर्ला ध्यान। अहिले त मजबुत छु, जवान छु।

अरू केही चाहिँदैन। यही श्वासप्रति जाग, बसेर जाग, उठेर जाग, हिँड्दा जाग, सुत्दा, उठ्दा हरपल श्वासप्रति जागृत बन। यो त बिरामीभन्दा बिरामी व्यक्तिले पनि गर्न सक्छ। जो अस्पतालमा भर्ना भएको हुन्छ, उसलाई पनि यही भन्ने गर्दछु, श्वासप्रति जाग।

शरीर स्वस्थ हुनुमा ध्यानको कुनै सम्बन्ध छैन। फेरि शरीर स्वस्थ कहिल्यै हुँदैन। स्वस्थभन्दा स्वस्थ शरीर पनि देख्नका लागि हो। क्षणमै सबै टुटेजस्तो, सबै बिग्रेजस्तो। शरीरको स्वास्थ्य त पानीको फोकाजस्तै हो। हावाको झोँका आउनासाथ अस्थिर भइहाल्छ। तर यसले कुनै बाधा पुर्‍याउँदैन। साँचो त यो हो कि यदि मृत्यु हुँदैनथ्यो भने कसैले ध्यान गर्दैनथ्यो। बुद्धलाई पनि मृत्यु देखेपछि स्मरण भयो कि कहिलेसम्म म जीवन त्यत्तिकै बिताउने ? त्यो चिज खोजुँ, छिटै खोजुँ जसको कुनै मृत्यु छैन। बाटोको किनारामा मान्छेको लास लाँदै गरेको देखेर सारथीसँग सोधे– यसलाई के भयो ?  

सारथीले भने– यो मान्छे मर्‍यो।  

बुद्धले सोधे– के म पनि मर्छु, यही मान्छे जसरी ?  

सारथी भन्छन्– कसरी भनुँ, कुन शब्दमा भनुँ। हजुरले यस्तो प्रश्न गरेर मलाई अप्ठेरोमा पारिदिनुभयो। झुट पनि बोल्न सक्दिनँ। अहिले हजुर स्वस्थ, सुन्दर, युवा हुनुहुन्छ, तर मृत्यु आउँछ नै। मृत्यु सबैको आउँछ, यो अपरिहार्य हो। उसले कहिल्यै कसैलाई बचाएको छैन।

बुद्ध महोत्सवमा भाग लिन जाँदै थिए। उनले सारथीलाई भने– रथ फर्काऊ। अब महोत्सवमा जाने समय छैन। सारथी भन्नुहुन्छ – के कुरा गर्नुहुन्छ हजुर। महोत्सवमा सबै मानिस हजुरको प्रतीक्षा गरिरहेका होलान्। हजुरकै हातबाट उद्घाटन हुने हो।  

बुद्ध भन्छन्– भइसक्यो उद्घाटन। अब मलाई महोत्सवमा कुनै रस छैन। अब ममा एउटा प्रश्न खडा भएको छ कि मृत्यु आउने नै छ भने त्यो आउनुअगाडि मैले त्यो जान्नु छ, जुन अमृतमय छ। जबसम्म अमृत जान्न सक्दिनँ, तबसम्म चैन हुनेछैन मलाई। त्यसै रात बुद्धले घर छाडे।  

मृत्यु छ, त्यसैले त ध्यानको खोज सुरु भएको छ। देह अस्वस्थ छ, यसलाई दुर्भाग्य नसम्झ, शौभाग्यमा बदल। त्यसो भयो भने देह अस्वस्थ हुनुले बाधा गर्दैन। अहिले मैले विपश्यनाको कुरा गरेँ। देह अस्वस्थ होस् या स्वस्थ, जवान हो या वृद्ध, सुन्दर या कुरूप, स्त्री या पुरुष– केही फरक पर्दैन। श्वास त चलिरहेको छ, होइन ? तिमी त्यति अस्वस्थ छैनौ, अस्वस्थ भएको भए प्रश्न कसले गथ्र्यो ? तिमी गइसकेकी हुन्थ्यौ। श्वास चलिरहेको छ, बस यही चाहिएको हो। अरू केही चाहिँदैन। यही श्वासप्रति जाग, बसेर जाग, उठेर जाग, हिँड्दा जाग, सुत्दा, उठ्दा हरपल श्वासप्रति जागृत बन। यो त बिरामीभन्दा बिरामी व्यक्तिले पनि गर्न सक्छ। जो अस्पतालमा भर्ना भएको हुन्छ, उसलाई पनि यही भन्ने गर्दछु, श्वासप्रति जाग।

साँचो त यो हो कि दिनभर घरको आपाधापीमा समय मिल्दैन। कहिलेकाहीँ अस्पतालमा शौभाग्यले महिना १५ दिन रहने अवसर मिल्यो त ध्यानका लागि समय मिल्यो। त्यहाँ अरू गर्ने कुरा पनि हुँदैन। बिस्तारामा पल्टेर अरू के गर्छौ र ? श्वासलाई हेर। श्वासलाई हेर्न सक्छौ नि। आउँदै गरेको श्वास, जाँदै गरेको श्वास। श्वासप्रति ध्यान, बस यति गर्नाले काफी हुनेछ। तिमी शरीर स्वस्थ नहुनुको चिन्ता नगर। स्वस्थ नहुन देऊ, अस्वस्थतालाई वरदानका रूपमा लिऊ। यो अभिशाप परम वरदान बन्नेछ। तिमी विपश्यनामा लाग।

जीवनको सूत्र एउटा छोटो घाँसको त्यान्द्राजस्तो छ। वैज्ञानिक यसलाई अक्सिडाइजेसन भन्छन्। छोटो त्यान्द्राले पनि अक्सिजन लिन्छ र जीवित रहन्छ। उसको जीवन यसरी नै चल्छ। भित्रको दियो जलेझैँ। तुफान आउँदा पनि एउटा दियो जलिरहेझैँ। तुफानबाट आफैँ बचेर दियो तुफान जता जान्छ, त्यतै भएर बलेको हुन्छ। तर, कुनै भाँडोले छोपेर हामीले बचाउन खोज्यौँ भने त्यो दियो निभ्छ। किनकि बन्द भाँडोभित्र दियो जल्न सक्ने गरी प्रशस्त अक्सिजन हुँदैन। एकैछिन बल्छ, तुरुन्त निभिहाल्छ। तिमी पनि त्यसै गरिरहेका छौ। पूरा समय जो श्वास चलिरहेको छ, त्यो अक्सिजन लिनका लागि मात्र सीमित छ। तर, तिमीभित्र जुन अग्नि छ, त्यसले अक्सिजनलाई पनि जलाइरहेको छ। त्यसैले अक्सिजन बन्द हुनासाथ श्वास बन्द हुन्छ र प्राण छुट्छ। एक घाँसको माथिबाट भाँडोले छोपिदिने हो भने उसको श्वास बन्द हुन्छ र उसको प्राण छुट्छ।

एउटा सुन्दर बिरुवालाई घरभित्र रोपेर हेर, दुई दिनमै त्यो मर्न सक्छ। उसको बाँच्ने जुन वैज्ञानिक आधार छ, श्वास लिने हावाले अक्सिजनलाई नै जलाइदिएको हुन्छ। अक्सिजन जलेपछि कार्बन मात्र बाँकी रहन्छ, जुन बाहिर फ्याँक्नुपर्‍यो। अक्सिजन कम भएको समयमा कार्बन मात्र भयो भने हामी पनि केही क्षणमै मर्न सक्छौँ। हावा नछिर्ने बन्द कोठामा रातभर रहनुपर्ने स्थिति आएमा हामी पनि कार्बन नै लिन बाध्य हुन्छौँ र हाम्रो प्राण जान सक्छ। चाहे महासूर्य जलिरहेको होस् या एक त्यान्द्रो घाँस अर्थात् एक बुद्ध– सबैको जिउने प्रक्रिया उही हो। सबैलाई प्राणवायुले सहयोग गरेको हुन्छ। छुद्रभन्दा छुद्र र महान्भन्दा महान् व्यक्तिको पनि जिउने तरिका यही हो भन्ने कुरा हामीले थाहा पाउन सक्यौँ भने हाम्रो दृष्टि बदलिन्छ।

केही वैज्ञानिकलाई पृथ्वीले श्वास लिन्छ भन्ने कुरामा सन्देह छ। पृथ्वीले पनि श्वास लिन्छ– छिद्रछिद्रबाट, रौँ–रौँबाट। पृथ्वी जीवित रहन सक्दैन, यदि उसको नजिक कम्तीमा दुई सय मिलको वायुको घेरा हुँदैनथ्यो भने। हाम्रो पृथ्वीको पनि चारैतिर दुई सय मिलको वायुको घेरा छ। त्यसैले अब वैज्ञानिकले थाहा पाएका छन्, सबै ग्रहको साथमा वायुको घेरा छ। उसमा कार्बन र अक्सिजनको मात्रा त्यति नै बराबर छ र उसमा जीवन छ। त्यसैले त पृथ्वी जीवित छ। यसको अर्थ यो होइन कि कुनै पृथ्वी जीवित छ, कुनै मृत। जुन पृथ्वी मृत छ, त्यो पहिले नै मृत थियो। व्यक्ति जो आज जीवित छ, उसको मृत्यु हुन्छ तर पृथ्वी जीवित रहन्छ। हामी मर्ने जन्मने क्रम चलिरहन्छ।

प्रकाशित: २९ जेष्ठ २०७८ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App