नवराज रिजाल
१) मुक्तक
राम वा रावण जेहोस् जीत खोजेको छ,
केवल आफैँलाई किन्ने मीत खोजेको छ।
सबैतिर देखिँदैछ उफ् बाँच्ने सपना मात्र,
सदाबहार देखिइरहन गीत खोजेको छ
२) मुक्तक
विभीषण र सुग्रीवहरू जागेका छन् आज,
दाइहरूको वंश नाशमा लागेका छन् आज।
खरानी बेच्ने रहरमा उत्सुक छन् ती मन,
छायादेखि पनि डराएर भागेका छन् आज।
३) मुक्तक
भष्मासुरहरूका नाच चलिरहेछन् यतिखेर ,
बनेका सुन्दर घर जति जलिरहेछन् यतिखेर।
शुम्भ–निशुम्भहरू गरिरहेका छन् तमासा ,
मन हुनेहरू पलपलमा गलिरहेछन् यतिखेर।
४) मुक्तक
मन दिनु भो ऐले त स्वाभिमान दागिरहेछन् ,
त्यसैले हो नि तपाईकै अस्मिता मागिरहेछन् ।
के भन्नुहुन्छ ? हजुर सुनाउनु होस् मलाई,
यहाँको किलो शून्य बनाउन ती लागिरहेछन् ।
५) मुक्तक
धैर्य गुमाएकै कारण तपाई हार्नुभएको हो,
मीठोको रहरमा थालमा औँसा पार्नुभएको हो।
कुण्ठित मन बोकेर कतै पनि पुगिन्न हो हजुर,
रोक्नुपर्ने महामारी आफैंभित्र सार्नुभएको हो।
प्रकाशित: ३० वैशाख २०७८ ०९:१७ बिहीबार