विश्वनाथ खनाल
अरे श्याम ! के हो ? तिमीले त आफ्नो आस्था फेरेछौ । केही समयको अन्तरालपछि विदुरको प्रश्नको स्पष्टीकरण दियो । के गरौं साथी ! सत्ययुग होइन यो –वैश्ययुग हो। समस्या लेनदेन मात्र गरेको हो। नयाँ कुरा केही छैन । सार्वजनिक सरोकारको विषयमा पनि यस्तो एकपाखे काम ? कसरी हिम्मत जुटाए हुनन् ? विदुरले असन्तुष्टि प्रकट गर्यो । हेर विदुर तिमी यत्ति कुरामा पनि अल्मलिन्छौ अनि ...!
विदुर कर्ममा विश्वास गर्छ । महाभारतको विदुरजस्तै सत्य बोल्छ। मेहनतको कमाइमा विश्वास गर्छ। रूखोसुखो खान्कीमा रमाउँछ। यो युगमा चिया पनि पिउँदैन –अरू कुरा कल्पनाभन्दा बाहिर। तर श्याम .... श्याम कलियुगको आचरण गर्छ । सोही अनुसारको धर्म निर्वाह गर्छ।
दुवैको समान योग्यता छ। प्रतिस्पर्धा पनि समान छ–जीवनमा। समय यस्तो नाजुक मोडमा गयो कि विदुर योग्य भएर पनि अयोग्य भयो। श्यामले आफूलाई समयको अब्बल खेलाडी प्रमाणित गर्यो।
समय क्रममा दुवै भेट भए विदुरले पुरानै वाक्य दोहोर्यायो –फेरि परिवर्तन। उन्मुक्त हाँसोको गुन्जन समाप्त भएपछि श्यामले भन्यो, ‘विदुर, तिमी पनि समयसापेक्ष हुन सिक...!’
प्रकाशित: ३० वैशाख २०७८ ०८:५० बिहीबार