coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

समयको अनुहारमाथि ‘हराएका छोराहरू’ बाट राजबाबुका काव्यिक बुट्टा

समीक्षा

 उर्मिला कोइराला

 

आख्यान लेखनमा पहिलेदेखि नै सक्रिय राजबाबु श्रेष्ठ सागर  विस २०२८) को पछिल्लो समय गीत, गजल, मुक्तक र कवितामा पनि उत्तिकै सक्रियता पाइन्छ । १४ वर्षकै उमेरमा नाटक लेखन, निर्देशन र अभिनयमा समेत संलग्न भएका सागरको कविता सङ्ग्रह भने हराएका छोराहरू  २०७७) नै पहिलो हो ।  

आख्यानका क्षेत्रमा ‘बन्द फ्रेमभित्रको चिठी’ पहिले नै प्रकाशित उपन्यास हो भने ‘मुनारमा’ र ‘घिमिरेबाको कथा’ प्रकाशोन्मुख उपन्यास हुन्। सागर साहित्यका क्षेत्रमा बहुमुखी प्रतिभाका धनी छन्। ‘हराएका छोराहरू’ कवि राजबाबु श्रेष्ठ सागरको कविता यात्राका प्रतिनिधि कविताहरूको सङ्ग्रह हो। 

यस कृतिको नामकरण यसै कविता सङ्ग्रहमा रहेको ‘हराएका छोराहरू’ शीर्षकमा रहेको कविताको आधारमा राखिएको छ । यो अभिधात्मक प्रकृतिको शीर्षक हो। हराएका छोराहरू  अनेक विषयमा लेखिएका कविताहरूको सङ्कलन हो। यसमा विशेषगरी देशभक्ति र मानवतालाई प्रमुख विषयवस्तु बनाएर लेखिएका कविताहरू समेटिएका छन् । विषय छनोटका दृष्टिले राष्ट्रियता र देशभक्ति, माटोको माया, सामाजिक विसङ्गति र विकृति, राजनीतिका नाममा देखापरेका शासक मानसिकता, हुने खाने र हुँदा खाने बिचको भेदका कारण देखापरेको ह्रासोन्मुख मानवता आदिलाई समेटेको पाइन्छ।विषयगत विविधताको प्रस्तुति रहेको यस सङ्ग्रह समसामयिक र यथार्थपरक ढङ्गले पाठकसामु आएको छ ।

कवि सागरले आफ्नो सङ्ग्रहभित्रका कविताहरूमा देशप्रेमपूर्ण व्यङ्ग्य छताछुल्ल हुने गरी पोखेका छन् –

नारा गुन्जन्छन् फेरि  

देश बनाउनेको राष्ट्रियताका

तर देख्दिनँ म,

कसैका हातमा झन्डा चन्द्र र सूर्यका

छन् त फगत एक जोर आँखामा काला पट्टी

हिंसाका खुर्पा र स्वार्थका ठुला राता तूल

जसमा लेखिएका छन् – “आऊ बुद्ध देश बचाऊ”  पृ– २६) ।

उनका धेरैवटा कवितामा देशको सीमा दुखिरहेछन्। आखिर लेख्नु भनेको पनि त कि मुटु हो कि माटो न हो। माटो चुमेर आएको सुगन्धमा रमाउने कविता खास कविता हुन्छ भन्छन् समालोचक तथा अग्रज कविहरू। सीमासँगै दुखेको कवि हृदयले छिमेकी राष्ट्रप्रति यसरी प्रहार गरेका छन्–

बारीको दक्षिण डिलमा

गजधम्म उभिएर बसेको

कालो वीर मसानझैं ऊ अझै गजधम्म परेर

दायाँ खुट्टाले मेरै शिर कुल्चिरहेछ  पृ– ४४) ।

भन्ने गरिन्छ गर्ने र गरिने, किसिम दुइटा हुन्छन्। विदेशीले देश लुट्ने खालको वातावरण बनाउन शासककै पनि त कमजोरी हावी छ। त्यसो त देशको सीमा मिच्नेलाई मात्र कविले व्यङ्ग्य गरेको होइन देशभित्रै रहेर देश लुट्नेहरूको पछि लागेका मलामी र ठोकिएको सलामीप्रति कविले यसरी खेद प्रकट गरेका छन् –

पुच्छरबाट लुछ्दै आफ्नै देशका मुटु– कलेजा

खान भ्याउने धारिला दाँत भएका ब्वाँसाहरूलाई

जिउँदो हुँदा पनि ठोक सलामी

मरेपछि पनि ठोक सलामी  पृ– ४५) ।

एउटा गीतमा म एउटा मानिस खोजिहेछु भनेझैं कवि सागर पनि नयाँ सोच विचार र चिन्तनसहितको शासक खोजिरहेछन्।

उनलाई परिवर्तन त चाहिएको छ तर परिवर्तन नामको परिवर्तन मात्र उनी चाहन्नन्। त्यो सार्थक र जनमुखी होस् भन्ने अपेक्षा पनि छ। सत्ताको दाउपेचमा राष्ट्र बिर्सिएका नालायकहरूलाई फेर्नुपर्ने जिकिर गर्दै राष्ट्र हाँक्ने सारथिको खोजी गर्न कम्मर कसेर लागेका छन्–

रथलाई ग्यारेजमा लगेर देखाउनु छ मलाई

खोल्नु छ इन्जिन र फेर्नु कलपुर्जाहरू

खाज्नु छ मलाई

एउटा अब्बल कृष्णजस्तो सारथि  पृ– ५४) ।

नेपालमा क्रान्ति, युद्ध र विद्रोहका लामा शृङ्खलाहरू छन् । हरेक पटक नयाँ नयाँ सपना बाँडिन्छ तर पूरा गरिन्न। यो व्यवस्था, जनता र देशप्रतिकै बेइमानी हो। उनका कविताका पंक्तिहरूमा क्रान्तिका ती ज्वालाहरू र त्यो निभ्दा पनि बाँकी रहेका अवशेषहरू यसरी भेटिन्छन्–

जेठो छोरा जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो

देश निकै भारी हुँदो रहेछ क्यारे सकेन बोक्न

र बिसायो देश ऊ आफैँ ढलेपछि

कान्छा छोरा पनि देश बदल्छु भन्थ्यो

देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी

छि¥यो जङ्गल जनयुद्धका लागि

ऊ पनि ढल्यो, त्यही गल्यो

ककसले कता फाले

ऊ जनयोद्धाबाट सहिदमा बदलियो  पृ– १९) ।

समय महत्वपूर्ण कुरा हो। लेख्ने पनि समय हो र कविले अनुभूत गर्ने पनि समय हो। समयबोध नभएको र हृदयहीन कविता के कविता ?

हिजोको क्रान्तिबाट प्राप्ति शून्य भएपछि देश अनिश्चितताको बन्धनबाट मुक्त हुन नसकेको विचार सहित कवि पुनः सहिदहरूलाई क्रान्तिकै लागि उठ्न र बिउँझिन आह्वान गर्दछन् –

सहिदहरू ब्यूँझ्नुपर्छ

फेरि एकपल्ट निद्राबाट

केवल देशमुक्ति क्रान्तिका लागि

ब्यूँझ्नुपर्छ प्रत्येक सहिदहरू

एकपल्ट फेरि चिहान चिहानबाट  पृ– ८८) ।

( राजबाबु श्रेष्ठ ‘सागर’का  ‘हराएका छोराहरू’ कविता सङ्ग्रह। )

विशेष गरी विभिन्न विम्ब र प्रतीकका माध्यमबाट कवितामा आशावादी भाव नै देखाउने कवि सागरका एकाध कवितामा देशप्रेम र आशा मात्र होइन नयाँ विम्ब सहित जीवनप्रतिको विरक्तिभाव र मृत्यु पनि उदांगिएको छ । यसलाई मृत्यु चिन्तन वा जीवनको शाश्वत पक्षको खोजी पनि भन्न सकिन्छ । उनी भन्छन् –

आकाशले पनि मान्छेका लासहरूलाई

चुरोट बनाएर खाइरहेछ

एकैछिनमा जिन्दगीपछि लास

लासपछि खरानी भइरहेछ  पृ– ३४) ।

जिन्दगी निदाएपछि

फेरि,

जिन्दगी उठाउन भाले कहिल्यै बास्दैनन्

यत्ति बुझ्नु कि,

मृत्यु जीवनको पूर्णविराम हो  पृ– १०४) ।

पार्टीपार्टी बीचका अन्तरसम्बन्ध र तिनका भातृसङ्गठनहरूको व्यवहार लोकतन्त्रको अभ्यास मानिन्छ। तर, नेपालमा त्यस्ता अभ्यास अभद्र छन्, अमर्यादित छन् र तिक्ततापूर्ण छन्। यिनका कवितामा त्यस्ता क्रियालापहरूप्रति आक्रोश सहित पेचिलो व्यंग्य पाइन्छ –

एक हुल आएर अचानक ढाल्दछन्

ती मक्किएका पोलहरू

र गरिबका सपनाका महलहरू

फेरि गुन्जिन्छन् नाराहरू

जिन्दावाद मुर्दावाद  पृ– २५) ।

१०४ पृष्ठ भएको ५५ वटा सुन्दर कविता सङ्ग्रहित यस कविता सङ्ग्रहमा पूर्ण रूपमा गद्य कविता मात्र समाविष्ट छन् । कविको बौद्धिकता, भावनात्मकता र शाब्दिक छनौटको गहिराइ अझै गहिरो बन्ने, काव्यिक उचाइ अझै अग्लो बन्ने र काव्यिक चुली अझै चुलिने निश्चित छ।

कविता सरल पनि छन् र क्लिष्ट पनि छन् । फरकफरक समयमा लेखेका कविता एकैठाउँमा सङ्ग्रहित हुँदा त्यो सबैको सङ्ग्रहमा हुने नै कुरा हो । सम्प्रेषणीय हुनु र गहिरो तहको भावनात्मक हुनु उनको विशेषता हो । अभिव्यक्तिको दौडमा काव्यिक लयात्मकता विमुख छैनन् कविता । यो उनको प्राप्ति हो।

अत्यन्तै सरल भाषाशैलीको कलात्मक प्रयोगद्वारा कवितालाई मिठासपूर्ण बनाउने कवि सागरले सामाजिक विसङ्गति मात्र उजागर नगरेर भावनात्मक बौद्धिकताका साथै विम्ब, प्रतीकको समुचित प्रयोग गर्दै गठिलो कविता रचना गर्नमा कुशलता देखाएका छन्।

त्यसो त कवि सागरको यो कविता सङ्ग्रहसँग एउटा  ‘देशको चिना’ मुक्तक सङ्ग्रह पनि प्रकाशित भएको छ । विएन पुस्तक संसार प्रालिद्वारा प्रकाशित यस कृतिमा विचार, भावना र काव्यकलाको सन्तुलित मिश्रण पाइने हुनाले यो सङ्ग्रह वास्तवमै पठनीय बनेको छ।

कवि राजबाबु श्रेष्ठ सागरको आख्यानबाट सुरु भएको साहित्यिक यात्राले एकैचोटि दुईवटा सिङ्गा–सिङ्गा कृतिहरू ‘हराएका छोराहरू’ कवितासङ्ग्रह र ‘देशको चिना’ मुक्तक सङ्ग्रहसम्मको यात्रा पूरा गरिसकेको छ।

समसामयिक साहित्यको मूल प्रवाहमा उनी सग्लो देखिएका छन्। कविता लेखनमा आउने विचारको स्वाभाविक उत्कर्षता र अभिव्यक्तिको कला त फेरि पनि माझिँदै जाने नै छ । अब उनीबाट थप दार्शनिक चिन्तन र अन्तर चेतनाको आलोक भरिएर आउने छन्।

म विश्वस्त छु। कविता र गीतमै रमाइरहेकी मजस्ती समकालीन व्यक्तिले भन्न सक्ने र सुहाउने कुरा शायद यत्ति हुन सक्छ।

अबका दिनमा पनि साहित्यिक यात्रा अनवरत रूपमा चलिरहोस्, कविज्यूलाइ हार्दिक शुभकामना !

प्रकाशित: २९ वैशाख २०७८ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App