८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

भर्चुअल प्रेम !

कथा

बाहिर चुक घोप्टिएजस्तो अँध्यारो। छतमा निस्केर आकाशमा चम्केको तारा  नियालेँ। ढोका लगाएँ। गालामा सल बाँध्न ठिक्क परे।  आँखा चिम्ले। आँखाबाट बगेको आँसुको धारा छातीको बाटो हुँदै भुईंमा छरियो।

बाल्यकालमा बाबाआमाले सजाएको सपना सम्झेँ। आफ्नो भविष्यका रंगीन कल्पना पनि सँगै जोडिएर आयो । कुनै समय मैले देखेका सपना निकै शक्तिशाली थियो तर खै कसरी म सबैभन्दा कमजोर भएँ ?

मान्छेहरू भन्छन्–मर्न पाए आनन्द हुन्थ्यो तर सबैभन्दा गाह्रो त मर्न पो हुँदो रहेछ। आफैँसँग दुख्नुजस्तो नमजा अरू केही नहुँदो रहेछ। म बेसरी आफैँसँग दुखेँ।

म संसारको सबैभन्दा शक्तिशाली मान्छे ठान्थेँ। तर, कसरी हारे आज आफैँसँग?

मोवाइलमा निरन्तर फोनको घन्टी बज्न थाल्यो। कसैको पनि उठाइनँ। पवनले धेरै पटक फोन गर्यो तर उठाइनँ । जसले यो संसार छोड्दै छ उसले फेरि किन दुनियाँको झमेला बोक्नु ?

मैले केही साथीहरू सम्झेँ । जो मेरा सुखमा नजिक र दुःखमा धेरै टाढा भए।

म यो संसार छोड्दै छु। म बहकिन हुँदैन । मर्नका लागि सबैभन्दा सजिलो उपाय सोच्न थालेँ। 

सोच्दासोच्दै पन्ध्र पटक जति पवनको फोन आइसकेको थियो। मैले फोन उठाइनँ।  अन्तिममा एउटा म्यासेज पठाएछ, मलाई थाहा छ, तिमी आत्महत्या गर्दैछौ। तर, एकपटक मेरो फोन उठाऊ। नत्र म जिन्दगीभरि पछुताउनेछु। एकपटक मात्रै बोलिदेऊ प्लीज।

मैले फोन उठाएँ तर मसँग बोल्ने हिम्मत थिएन। उताबाट घुँक्कघँक्कको आवाज मात्रै आयो। म त अघि नै आँसुले भिजिसकेकी थिएँ।

केही बोल्न खोज्दै थिएँ, सकिनँ। उसको आवाज वर्षातको समयमा चलेको मेलम्चीको बाढीजस्तै भयङ्कर थियो।

हेर तँ मरिस् भने म मर्छु। आजको दिन मेरा लागि बाँचिदे। भोलि बिहानै म काठमाडौँ आउँछु। उसको बोलीमा पीडा र हार्दिकता दुवै मिसिएको थियो।

मैले गलामा पासो लगाउन लागेको सल फालिदिएँ। फोनमा रातभरि दुवै रोइरह्यौँ। उसँग मेरो खास सम्बन्ध केही थिएन। फेसबुकमा भेटिएपछि नियमित कुरा हुन्थ्यो। म उसलाई आफ्नो सुखदुःख सबै सुनाउँथे। यति नै थियो हाम्रो सम्बन्ध।

उसले रातभरि फोनमा मलाई सम्झायो। म रोइरहेँ। आफ्नै मान्छेबाट विक्षिप्त बनेकी मान्छे म उसलाई कुन्नि मेरो माया किन लाग्यो?

उसले भोलि आउँछु भनेको थियो तर आएन। उसको फोन र मेसेज भने बारम्बार आइरह्यो। मलाई सम्झाइरह्यो साथ दिइरह्यो तर उसँग मेरो भेट भने कहिल्यै भएन। मनमा उसलाई भेट्ने तीव्र चाहना थियो तर एउटा आकाश एउटै धर्तीमा भएर पनि एक अर्कालाई देख्नसम्म पाएका थिएनौँ।

म बिस्तारै सामान्य जिन्दगीमा फर्कन थालेँ। ऊ मसँग धेरै टाढा भाग्यो। उसले मलाई एकपटक पनि नभनी अमेरिका गएछ। यति धेरै माया गर्ने मान्छे किन भाग्यो मसँग?

अमेरिका पुगेको केही समयमा उसले मलाई इमेल गरेको थियो। तिमी सधैँ खुसी रहनू। छिटै बिहे गर्नू, आफ्नो काममा निरन्तर लाग्नू। अँ साच्चिँ तिमीलाई पाउने मान्छे निकै भाग्यमानी हुन्छ । उसको सधैँ ख्याल गर्नू । उसलाई थाहा छ मलाई पाउने मान्छे निकै भाग्यमानी मान्छे हो तर किन आफूलाई भाग्यमानी बनाउन चाहेन।

ऊ फेसबुक निकै कम चलाउँथ्यो। प्रायः ट्वीटरमा निकै सक्रिय हुन्थ्यो। म उसको ट्वीटर नपढी निदाउन सक्दैनथेँ। ऊ मेरो आदत बनिसकेको थियो।

उसँग फोन भिडियो कल नभए पनि ऊ मेरो मनमा थियो। फेसबुकमा ऊ निकै कम लेख्थ्यो। ट्वीटरमा धेरै कुरा लेख्थ्यो यतिसम्म कि म उसको ट्वीट नपढी निदाउन सक्दैनथेँ।

एकदिन उसको नाम ट्वीटरमा देखाएन। ट्वीटर र फेसबुक दुवैबाट मलाई ब्लक गरेछ। नमजासँग पछारिएँ। ऊ किन भाग्दै छ मेरो जिन्दगीबाट?

जसले मलाई मृत्युको मुखबाट बँचाएको थियो। उसले फेरि किन मार्न खोज्दैछ। जसले मलाई रुँदारुँदै हँसाएको थियो। फेरि किन रुवाउन खोज्दैछ? उसले मलाई जे सोचे पनि ऊप्रति मेरो प्रेम हार्दिक थियो।

निकै समयपछि फेरि इमेल पठाएछ। लेखेको थियो, हेर न न जिन्दगीले नयाँ मोड लियो। मैलै अचानक बिहे गरेँ । मेरो तेस्रो सेमेस्टरको परीक्षा र मेरो विवाहको समय एकै पटक पर्यो । तिमीलाई खबर पनि गर्न पाइनँ।

उसको विवाहको खरबले म उत्साहित भएँ। फोेटोमा हेर्दा निकै राम्रो थियो ऊ । कस्ती होली उसकी जीवनसाथी ? म चाहन्थेँ। उसकी जीवनसाथी संसारको सबैभन्दा सुन्दरी होस् । उसलाई सुखले राखोस्। मैले उत्साहका साथ इमेल लेखेर उसलाई वैवाहिक जीवनको शुभकामना दिएँ।

म निकै उत्साहित थिएँ उसकी जीवनसाथीको तस्विर हेर्न। मैले इमेलमा उसकी श्रीमतीको फोटोे पठाउन आग्रह पनि गरेकी थिएँ। तर, उसले कुन्नि किन पठाएन ?

म आफ्नै जिन्दगीमा रमाउन थालेँ । जीवन संघर्ष रहेछ। मैले बाँच्नु थियो।  कहिल्यै आफैँसँग विचलित हुनु हुँदैन भन्ने मैले दृढसंकल्प गरेँ।

मैले एमए पास गरेँ । प्राइभेट कलेजमा पढाउन थालेँ। जिन्दगीमा खुसीको बहार सुरु भयो। बेलाबेलामा उसको अति याद आउँथ्यो। म उसलाई नजानिंदो पारामा प्रेम गर्दो रहेछु। उसको वैवाहिक जिन्दगी बिग्रिएला भनेर मेसेज गर्ने हिम्मत भने गर्न सकिनँ।

असार महिनाको अन्तिमतिर थियो सायद। उसले मलाई इमेल गरेछ।

यस पटक म निकै टुटेको छु । मन विचलित भैरहन्छ। तिमीलाई नभेटी किन अमेरिका आएँ भन्ने कुरामा निकै पछुतो लाग्छ। प्रेम, यौन र विवाह फरक कुरा रहेछ। मैले तिमीलाई प्रेम गरेँ। तर, विवाह गर्न सकिनँ। मलाई माफ गर। तिमीदेखि टाढा भाग्न खोजे पनि मन अचेल धेरैजसो तिमीसँग पुग्छ।

नेपालमा हुँदा मेरो स्वाथ्य ठिकै थियो। यहाँ आएपछि अचानक के भयो के? आफैँ अचम्ममा छु। मलाई लाग्छ, म  बाच्नु धेरै दिन छैन। तिमीलाई यो खबर सुनाउँदा पर्दा निकै दुःखी छु। तिमी राम्री छौ, ज्ञानी छौ। तिमीलाई पाउने केटा निकै भाग्यमानी हुन्छ। छिटै विवाह गर्नू।

मेरो यताको वैवाहिक अवस्थामा पनि खास राम्रो छैन। हामीले अस्ति डिर्भास गरिसक्यौँ। मेरो मृत्युको खबरले मेरी  डिर्भास भएको श्रीमतीलाई खासै असर नपर्ला।  मलाई थाहा छ, तिमी निकै दुःखी हुन्छौँ। आफूलाई सम्हाल्नू।

हुनसक्छ, तिमीले यो मेल पढ्दासम्म म यो संसारबाट बिदा भइसकेको हुनेछु। तिमी सधैँ खुसी हुनु, तिमीलाई पाउने मान्छे निकै भाग्यानी हुन्छ।

मलाई थाहा छैन त्यो भाग्यमानी भित्र ऊ किन पर्न सकेन ?

इमेल पढेपछि मुटु ढक्क फुल्यो। हतारहतार फेक आइडीबाट उसको प्रोफाइल खोलेँ। हार्दिक श्रद्धाञ्जली लेखेर थुप्रै फोटो ट्याग भैसकेका रहेछन्। जबरजस्ती मन सम्हालेँ। मैले यति धेरै मन पराएको मान्छेको खरानीसम्म देख्न पाइनँ। यो जुनीमा त सम्भव भएन अर्को जुनी पाएँ भने उसलाई नजिकबाट एकपटक नियाल्न मन छ।

प्रकाशित: ९ वैशाख २०७८ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App