२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

‘खेल पर्यटनका लागि नीति र लगानीको अभाव’

गण्डकी प्रदेश र यसको राजधानी पोखरा पर्यटनको सदाबहार गन्तव्य हो। प्राकृतिक छटा, हिमाल, ताल र गुफामात्र होइन, यहाँको संस्कृति र साहसिक खेलकुदले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ। नेचर (प्रकृति), कल्चर (संस्कृति) र एडभेञ्चर (साहसिक खेलकुद) को संगम गण्डकी प्रदेश र पोखरा पर्यटकका लागि स्वर्गभूमि हो।

तर यही स्वर्गभूमिमा प्रशस्त सम्भावना भए पनि स्पष्ट नीति र लगानीको अभावमा प्रतिफल लिन नसकिएको सरोकारवालाहरूले निष्कर्ष निकालेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा स्पोर्ट्स टुरिजम कन्क्लेभ’ मा सहभागी वक्ताहरूले खेल पर्यटनको माध्यमबाट पोखरा र समग्र गण्डकीको पर्यटनलाई माथि उकास्न सकिने बताए।

अहिलेसम्म राज्यले खेल र पर्यटनलाई जोडेर नीति नै नबनाएको, यसको प्रवर्द्धनका लागि कुनै योजना र कार्यक्रम नै नल्याउँदा यो क्षेत्र ओझेलमा परेको उनीहरूको भनाइ थियो। उनीहरूले एक स्वरमा भने, “अब स्पष्ट नीति बनाऔं, योजना र कार्यक्रम ल्याऔं, बजेट हालौं र हालेको बजेटलाई हुबहु कार्यान्वयन गरौं। यसो गर्न सक्यौं भने खेल पर्यटनमार्फत समग्र पर्यटन र अर्थतन्त्रलाई माथि उकास्न सक्छौं।”

एकातिर राज्यले नीति बनाएको छैन भने अर्कोतिर खेलले पर्यटन र पर्यटनले खेललाई सँगसँगै लैजाने नीति नबनाउँदा यो क्षेत्र पछाडि परेको उनीहरूको निष्कर्ष थियो।

नागरिककर्मी सन्देश श्रेष्ठले सहजीकरण गरेको कन्क्लेभमा प्यानलिस्टका रूपमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष तथा खेल पत्रकार निरञ्जन राजवंशी सहभागी थिए।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले खेल पर्यटनले विश्वबजारमा पर्यटनको अभिन्न अंग बनेर अर्थतन्त्रमा टेवा पुर्‍याइरहेको बताए। अन्य पर्यटनको तुलनामा खेल पर्यटन लक्जरी टुरिजम भएको उनको भनाइ थियो।

“सामान्य पर्यटकको तुलनामा खेल पर्यटकले दशदेखि सय गुणासम्म बढी खर्च गर्छ भन्ने तथ्यांकले देखाउँछ,” उनले भने।

थाइल्यान्डको अर्थतन्त्रमा गल्फले र भियतनामको अर्थतन्त्रमा एड्भेञ्चर स्पोर्ट्सले ठूलो योगदान दिएको उदाहरण उनले दिए। “त्यस्तै स्वीट्जरल्यान्डले आफ्नो ६० प्रतिशत भूभाग ओगट्ने हिमाललाई ‘अल्पाइन टुरिज्म’ मार्फत विश्वकै महँगो गन्तव्य बनाएको छ,” उनले थपे।

तर नेपालमा भने राज्यले यसका लागि नीति नबनाएको र सोअनुसार पर्यटन पनि अगाडि नबढेको उनको टिप्पणी छ। त्यसमाथि छिटपुट हुने गतिविधिमा महँगो हवाई भाडा र सडकको दुरावस्थाले खेल र पर्यटन दुवैलाई असर गरेको उनले बताए।

उनले भने, “विदेशी खेलाडी वा पर्यटकले काठमाडौंबाट पोखरा आउन सयौँ डलर खर्चनुपर्ने अवस्था रहेसम्म हामीले खेल पर्यटनबाट सोचेजस्तो लाभ लिन सक्दैनौँ। राज्यले हवाई कनेक्टिभिटी र भाडादरमा पुनर्विचार गर्नैपर्छ।”

उनले नेपालको एड्भेञ्चर स्पोर्ट्सलाई विश्वबजारमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र खेलकुद निकायहरूले संयुक्त ‘स्पोर्ट्स क्यालेन्डर’ बनाउन सुझाव दिए।

प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव तेजबहादुर गुरुङले खेलकुदलाई केवल पदक जित्ने वा उत्सव मनाउने माध्यम मात्र नबनाई यसलाई स्वास्थ्य र समाज रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिए।

खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउनुका साथै आर्थिक समृद्धिमा पनि सघाउने उनले बताए। त्यसका लागि खेल पर्यटन नीति, योजना, कार्यक्रम र बजेट बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

तर राज्यले यसको मर्म नबुझ्दा कुल बजेटको शून्य दशमलव ६ प्रतिशत मात्र विनियोजन गरेर झारा टारिरहेको उनले टिप्पणी गरे।

“खेलकुद हेर्ने सामाजिक विकास मन्त्रालयले एउटा कार्यक्रम गरिरहँदा पर्यटन मन्त्रालयलाई र पर्यटन मन्त्रालयले कार्यक्रम गरिरहँदा खेलकुदलाई थाहा नहुने समस्या छ,” उनले भने, “यस्तो प्रवृत्तिले प्रतिफल प्राप्त हुँदैन।”

उनले मन्त्रालय, विभाग र कार्यालयहरूबीच समन्वयको अभाव रहेको औँल्याए। जसले खेल, पर्यटनलगायत क्षेत्रमा गरिएको लगानी बालुवामा पानीजस्तै भएको उनको टिप्पणी छ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले सरकार र सरकारी निकायले खेल पर्यटनलाई नचिन्ने गरेको बताए। खेल पर्यटनका लागि पूर्वाधार निर्माणदेखि प्रवर्द्धनसम्म राज्यले ध्यान नदिँदा यो क्षेत्र अगाडि बढ्न नसकेको उनको भनाइ छ।

“त्यसमाथि काठमाडौं–पोखरा सडकको दुरावस्था, महँगो हवाई भाडालगायतका कारण पर्यटक आगमन र बसाइँमा प्रभाव परेको छ,” उनले भने।

पोखरामा धेरै अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने सम्भावना भए पनि पूर्वाधार अभाव, बजेट अभाव र सरकारी असहयोगले त्यो सम्भव हुन नसकेको उनको दाबी छ।

“पोखरा आफैँमा एउटा ‘एयर कन्डिसन्ड सिटी’ हो। यहाँको मौसम खेलकुदका लागि विश्वकै उत्कृष्ट छ, तर हामीले यसलाई ब्रान्डिङ गर्न सकेनौँ,” उनले भने।

समन्वय अभावमा पर्यटकलाई सहभागी गराउन नसकिएको समेत उनले बताए। समन्वयका लागि तीनै तहका सरकारले ‘स्पोर्ट्स डेस्क’ स्थापना गर्नुपर्ने उनको सुझाव छ।

उनले भने, “कतिपय अवस्थामा ठूला अन्तर्राष्ट्रिय खेलहरू भइरहँदा पनि पर्यटनसम्बद्ध संस्थाहरूलाई पत्तै हुँदैन। समन्वय नहुँदा हामीले विदेशी पर्यटकलाई ती खेलहरूमा सहभागी गराउन वा देखाउन चुकेका छौँ।”

साहसिक खेल स्काई डाइभिङकी पाइलट यशोदा केसी थापाले नेपालमा साहसिक पर्यटनका लागि स्काई डाइभिङ एउटा बलियो माध्यम बन्न सक्ने भए पनि राज्यको नीतिका कारण फस्टाउन नसकेको बताइन्।

विदेशमा सिकेर स्वदेशमा लागू गर्न खोज्दा यहाँको नीति र कानुनी अड्चन बाधक बनेको अनुभव उनले सुनाइन्।

थापाले भनिन्, “हामीले उपकरणहरू विदेशबाट ल्याउनुपर्छ, जसमा सरकारले चर्को कर लगाउँछ। अर्कोतिर नागरिक उड्डयन प्राधिकरणले हामीलाई १५–१५ दिनको अस्थायी अनुमति मात्र दिन्छ। यस्तो अवस्थामा कसरी ढुक्क भएर व्यवसाय गर्ने, कसरी खेल प्रवर्द्धन हुन्छ?”

स्काई डाइभिङ अत्यन्तै महँगो खेल भएकाले यसलाई सर्वसुलभ बनाउन राज्यले विशेष सहुलियत दिन सके विदेशी र स्वदेशी पर्यटकको भीड लाग्ने उनले बताइन्।

“यदि स्काई डाइभिङलाई प्याराग्लाइडिङजस्तै नियमित र सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बन्ने हो भने पोखरामा विदेशी पर्यटक भित्र्याउन र उनीहरूको बसाइँ लम्ब्याउन धेरै मद्दत पुग्छ,” उनले भनिन्।

उनले स्काई डाइभिङका लागि नेपालको आकाश र दृश्य संसारकै उत्कृष्टमध्येमा पर्ने बताइन्। तर राज्यले यसको महत्व बुझ्न नसक्दा नियमित सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

“नीतिगत सुधार भएमा यसको माध्यमबाट हजारौँलाई रोजगारी दिन सकिन्छ भने करोडौँ–अर्बौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,” उनले भनिन्।

छलफलको समापन गर्दै सहजकर्ता सन्देश श्रेष्ठले प्यानलिस्टहरूका कुराले खेल पर्यटनको विकासका लागि स्पष्ट र दीर्घकालीन सरकारी नीति, गुणस्तरीय भौतिक पूर्वाधार र सबै सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय अनिवार्य हुनुपर्ने निष्कर्ष सुनाए।

उनले भने, “हामीले सम्भावना मात्रै भनिरह्यौँ, तर ती सम्भावनालाई अवसरमा बदल्ने ठोस नीति र योजना बनाउन सकेनौँ। अबको समय ‘एक्सन’ को हो।”

कार्यक्रममा प्रमुख वक्ताका रूपमा पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेसका डा. उमेशसिंह यादवले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको सम्भावना, चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०८३ २०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App