पाटनढोका छेउमै रहेको पिकासो रुम । जहाँको सानो कोठालाई कला ग्यालरीका रूपमा स्थापित गरिएको छ । अहिले त्यहाँ अलि नौलो ढंगको एउटा कला प्रदर्शनी भइरहेको छ । राम्रो काम भए कला प्रदर्शन गर्न साह्रै अजंगको हल चाहिँदैन, थुप्रै काम पनि चाहिँदैन भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । तुलिका कलाले प्रस्तुत गरेको यो कला प्रदर्शनीका कलाकार हुन्, कैलाश श्रेष्ठ । ‘कोलो–टु पोइन्ट जिरो’को नाममा यो प्रदर्शनी अगाडि बढेको छ ।
युवा जोस–जाँगरले भरिएका कैलाश सर्वथा नौलो ढंगबाट समसामयिक घटनामा आधारित कला सिर्जना गर्छन् । उनको अर्को पहिचान हो, अन्टेस्चुअल कलामा अथाह आस्था । यो कोलो–टु पोइन्ट जिरो कार्यक्रम अझ गजबको छ । २८ जना विविध क्षेत्रका कलाकारको करिब सात महिनासम्म चल्ने कार्यक्रममा एक कलाकारलाई सात दिनको अवधि छुट्ट्याइएको छ । यसरी हेर्दा सबैभन्दा लामो कहलिएको यो कार्यक्रमको ढाँचा नवीन रूपमा देखापरेको छ ।
यस्ता कला कार्यक्रममा हिजोआज क्युरेटर हुने गर्छन् । नौलो ढंगको प्रस्तुतिको परिकल्पना मूलतः क्युरेटरको जिम्मामा रहन्छ । यसका क्युरेटर हुन्, उजेन नोर्बु गुरुङ । कलालाई आमभावक माझ कसरी आकर्षक ढंगले प्रस्तुत गर्ने भन्ने सन्दर्भमा कलाकारका साथसाथै क्युरेटरको पनि महत्वपूर्ण हात रहन्छ ।
‘आइसोलेसन’ शीर्षकमा बनेका कैलाशका अलि पुराना काम मोबाइलको स्वरूपमा दृष्टिगोचर भएको देखिन्छ । हामीले भोगेको वर्तमान उकुसमुकुसलाई कलामा समेटिएको छ । लकडाउनको प्रभावमा विकसित भएको आम मान्छेको आइसोलेसन र यसैका विविध स्वरूपलाई कलाकारले पस्कने जमर्को गरेका छन् । पहिला हुने गरेका प्रदर्शनीको प्रकृतिभन्दा नितान्त पृथक् देखिँदा आम दर्शकमा स्वभावतः कुतूहलता बढ्छ । प्रदर्शित काममा भावक आफैँ अनेक अर्थ खोजी बस्न जागरुक हुन्छन् । कलामा भावकले केही पाएजस्तो हुनु आयोजकका लागि सन्तोषको विषय हो, जुन कलाकारका लागि पनि सफलताको द्योतक बन्न जान्छ ।
कैलाशका धेरैजसो काममा मानवीय आकृति आएका छन्– एक्लो पोज, एक्लोपनको आभास गराउने गरी । लुगाफाटाले मात्र मान्छेको स्वरूप देखिएको छ । कलाका यस्ता मोटिफ विगत केही वर्षदेखि कैलाशले प्रयोग गर्दै आएका छन् । यो उनको निजी विशेषता बन्न गएको छ ।
राजनीतिक सवाललाई कलामा उतार्ने थोरै कलाकारमा कैलाश पनि एक हुन् । उच्च तहका राजनीतिक व्यक्ति विशेषको चित्रमा मास्क लगाएर समसामयिक अवस्थालाई व्यंग्य गरेका उनका कला धेरै ठाउँमा धेरैपल्ट विधिवत प्रदर्शन भइसकेका छन्, यसलाई कति दर्शकले याद गरे वा गरेनन् ! तथापि कलामा गहिरो हेक्का राख्नेले उनको कामलाई वजनदार मान्छन् । यसैको निरन्तरतामा यस्तै स्वभाव र प्रकृतिमा यसपल्ट पनि उनले काम गरेका छन्, जसमा उच्च ओहोदामा पुगेका व्यक्ति देखिन्छन्, तर अस्तित्वविहीन भएजस्तो गरी ।
उनको काममा हाल राजनीतिले सिर्जना गरिदिएको जटिल र अस्तव्यस्त अवस्था, यसमाथिको आममान्छेको सयौँ प्रश्न, अर्थात् भताभुंग भएको अवस्थामाथिको प्रक्रियागत प्रश्न आदिलाई समग्रमा समेटिएको छ । लकडाउन अनि यसबाट सिर्जित आम समुदायले भोग्नुपरेको एकान्तपन र अलगअलग ठाउँको शून्यपन, खोक्रोपनलाई कलाकारले प्रस्तुत गर्ने कोसिस गरेका छन् । समसामयिकता, प्रविधिको प्रचुर मात्रामा प्रयोग, समसामयिक राजनीति, कोभिड–१९ मा गरिएको लकडाउन आदिको समिश्रण नै वस्तुतः उनको कामको मूल विशेषता हो । उनको कामको अवलोकनपछि स्वभावतः अत्यासलाग्दो वातावरणका तरंग आम भावकमाथि प्रभावित भइरहेको जो–कसैले सहजै महसुस गर्न सक्छन् ।
समष्टिमा जम्मै पात्रमा नितान्त खोक्रोपन छ, थोरै पनि गुदी नभएको खोक्रोपन । भौतिक रूपमा मात्र होइन, विचारमा पनि यो खालिपन देखिन्छ । कति पात्र मास्क लगाइएका पनि देखिन्छन्, तर टाउको छैन । मास्क एउटा विम्ब हुँदो हो । पहिला पनि कलाकार मास्कको प्रयोग गर्थे, प्रदूषणको प्रतीकका रूपमा । अहिले यही मास्क कोभिडको पर्यायवाची बनेको छ ।
उनको प्रदर्शनीको हल अँध्यारोमा परिणत भएको देखिन्छ । अँध्यारो कोठामा बलेको बत्ती भाँती देखिने काममा दृष्टि पर्दा कोही रोमाञ्चित पनि हुन्छन् । कलाभित्रको राजनीतिक पात्र बाटोतिर बसेर अहिलेको समसामयिक घटना, दुर्घटनामाथि बहस गर्दै गरेको देखिन्छ । अस्तित्वविहीन पात्र अनेक बकम्फुसे गफ गरेजस्तो देखिनु सम्भवतः कलाकारको गहन चोटिलो व्यंग्य हो । मूलतः योे उनको फोटोग्राफिक काम हो । जहाँ प्रविधिको म्यानिपुलेटमा अलि अलग्ग पाराले देखापरेको छ । फोटोग्राफी अब मात्र परम्परागत फोटोग्राफी रहेन, आज यो सिर्जनशील कलाको एक अहं हिस्सा बनेको छ । शास्त्रीय फोटोग्राफर अहिले कलात्मक अभिव्यञ्जनाका साथ उदाइरहेका छन् । भिजुअल कलाकार पनि आफ्ना सिर्जनामा यथेष्ट मात्रामा फोटोग्राफरलाई प्रयोग गरिरहेका छन् ।
कला विश्लेषणको पाटो
मूलतः अहिले कला सिर्जनाको प्रसंगलाई लिएर मात्र कला विकासको आरोह–अवरोहलाई विश्लेषण गरिन्न । कलाकारले आमभावक माझ आफ्नो कलालाई कसरी प्रस्तुत गर्न कोसिस गरेको छ, यसैमा कलाकारले गहिरो गरी सोच्ने प्रचलनको विकास भएको छ । नेपालमा १९औँ शताब्दीको अन्तसम्म कलालाई प्रदर्शन गर्नुपर्छ भन्ने सोचको विकास भएको थिएन । समुदायको दैनिकी र संस्कारमा आबद्ध भएर कलाको सिर्जना हुन्थ्यो । लोककला वा परम्परागत कलाको पनि यही हालत थियो । पश्चिमी प्रवृत्ति र प्रविधि छिरिसकेपछि पनि यो अवस्थाबाट कलाकार माथि उक्लन सकेका थिएनन् । भुँइ, भित्ता, कागज वा क्यानभासमा कला कोरिन्थे । तथापि धर्मपण्डित, समुदायका ठालु वर्ग वा धनाढ्य वर्ग आदिले आ–आफ्नै खुसीले यी कला बनाउन लगाई आफूलाई मनपरेको ठाउँमा झुड्याउँथे । यही नै एक प्रकारले कलाको प्रदर्शनजस्तो हुन्थ्यो । त्यहाँ कलाकारको नाम वा परिचय आवश्यक ठानिदैनथ्यो ।
बाह्य राष्ट्रसँग कलाकारको सम्पर्क बलियो हुँदै गएपछि कलालाई स्वदेश वा विदेशी भावक माझ पु¥याउनुपर्छ भन्ने अवधारणाको विकास भयो । यस्तो अवस्थामा कलाकार आफैँ भने सक्रिय भएको देखिँदैन । त्यसवेला अन्य कसैले कलाको प्रदर्शन गरिदिन्थे । कति कला प्रदर्शनीमा कलाकार स्वयं उपस्थित हुँदैनथे । बाह्य राष्ट्रमा कला पुग्न थालेपछि कलाकार आफैँ सक्रिय भएर आफ्ना कला प्रदर्शन गर्ने र आफ्ना कलाको व्याख्या–विश्लेषण गर्दै आम भावकसम्म पुग्ने प्रयास गरे । अहिले थप अन्य विधाका सर्जकलाई समेत सामेल गरी कलालाई प्रस्तुत गर्ने सन्दर्भमा कलाकार लागिपरेका देखिन्छन् । यसलाई कलाकारको अर्को सिर्जनाको रूपमा लिने गरिन्छ । अलि अटपट लाग्ने, अस्वाभाविक, अनियन्त्रित, अनुशासनविहीन काम अहिले देखिनु यसैको परिणति हो । यसलाई कलाकारको स्वतन्त्रको पराकाष्ठा मान्ने प्रवृत्ति पनि छ । अर्कोतिर विश्वमा चलमलाइरहको कलाको प्रवृृत्तिसँग शैलीगत रूपमा नजिक रहेको आकलन गरिन्छ ।
अहिले कलाकारबाहेक क्युरेटर र आर्ट म्यानेजरको अवधारणा अगाडि आएको छ । राम्रा र गहकिला राष्ट्रिय वा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा अनिवार्य रूपमा आर्ट क्युरेटरको व्यवस्था गर्न थालिएको छ । कहिलेकाहीँ आर्ट एजुकेटरको सन्दर्भ पनि जोडिएर आउँछ । कला प्रस्तुतिपछि आम भावक र सिर्जनाबीचको बुझाइको सन्दर्भमा आर्ट एजुकेटरको अहं भूमिका कल्पना गरिएको छ । कलाकारको सोच, परिकल्पना र सिर्जनाको अर्थ वा परिभाषा सामान्य बुझाइभन्दा धेरै गहिरो हुने गर्छ । आर्ट एजुकेटरले कलाको मूलतत्वलाई नबिगारीकन सरल भाषामा भावकलाई बुझाउँछ । आज यो अति नै जरुरी देखिन थालेको छ । नेपालमा यस्तो अवस्था देखिन थालेको छ वा छैन, यो एक अलग्ग सवाल हो । कति अवस्थामा भिजुअल कलाकार प्रत्यक्ष रूपमा आम भावकमा जान खोजेको देखिन्छ । कलाको अर्थभावबारे स्पष्ट नहुँदा आज कलालाई जसरी आम भावकले सम्मान गर्नुपथ्र्यो, त्यो रतिभर हुन नसकेको देखिन्छ ।
अहिले कलाकारबाहेक क्युरेटर र आर्ट म्यानेजरको अवधारणा अगाडि आएको छ । राम्रा र गहकिला राष्ट्रिय वा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा अनिवार्य रूपमा आर्ट क्युरेटरको व्यवस्था गर्न थालिएको छ । कहिलेकाहीँ आर्ट एजुकेटरको सन्दर्भ पनि जोडिएर आउँछ । कला प्रस्तुतिपछि आम भावक र सिर्जनाबीचको बुझाइको सन्दर्भमा आर्ट एजुकेटरको अहं भूमिका कल्पना गरिएको छ ।
कला गतिविधि
मोफसल र काठमाडौं उपत्यका सबैतिर अहिले दुई अलग–अलग प्रकृतिका कलाका गतिविधि सलबलाइरहेका छन् । एकातर्फ व्यक्तिगत हिसाबले समसामयिक राजनीतिक मुद्दालाई दह्रो गरी समातेर कलाकार अत्याधुनिक कलामार्फत आ–आफ्ना विचारलाई सार्वजनिकीकरण गरिरहेका छन् । यस्ता कलाका शैली, प्रस्तुति अनि तौरतरिका पृथक् देखिन्छन् । कला कति हदसम्म राजनीतिक आन्दोलन, अधिकार र हकहितको सन्दर्भमा वकालत गर्न अग्रसर देखिन्छ ।
यसर्थ यस्ता कलाकारका कोल्याबोरेटिभ वर्क बढी मात्रामा दृष्टिगोचर हुन्छ । अर्कोतर्फ आधिकारिक कलाका निकाय शास्त्रीय शैलीमा आबद्ध भएर व्यक्तिचित्र बनाउने कार्यक्रम गरिरहेका छन् । ती कार्यक्रम शास्त्रीय शैलीकै वरिपरि घुमेको देखिन्छ । अलि पुरानो यथार्थवादी शैलीमा देखापर्ने यस्ता कलाको प्रस्तुति र कार्यक्रमकै रूपरेखा परम्परागत रूपमा हुने गर्छ । यी दुवै कलाकै कार्यक्रम हुन् भन्नेमा विवाद रहेन, दुवै खालका कलामा आ–आफ्नै विशेषता छन् ।
कलागत गुणस्तरका सन्दर्भ दुवैमा निहित हुन्छ । तापनि यी कार्यक्रमको उद्देश्य एउटा हुन्छ भने आम भावकमा पर्ने प्रभाव अर्कै हुन्छ । यसले गर्दा अहिले कलाकारको सहभागिता पनि दुई–तीन समूहमा विभाजित देखिन्छ । विशेषतः शास्त्रीय शैलीका कार्यक्रममा आजका अधिकांश युवा कलाकारको संलग्नता कम देखिन्छ । नकारात्मक वा सकारात्मक बहस यसैमा पनि भइरहेको छ । कलाको स्वभाव कस्तो हुनुपर्छ भन्ने यस आलेखको अभीष्ट होइन । यी दुवै प्रकृतिका कलामा मूलतः व्यक्तिचित्र नै मूल पात्रको रूपमा उभिएको देखिन्छ । प्रकृति वा अन्य जीवजन्तु, निर्जीव वस्तु आदिबाट टाढिएर कलाकारको काममा व्यक्तिचित्र वा व्यक्तिमूर्तिले ठाउँ लिइरहेको देखिन्छ । कलाको प्रवृत्तिगत विकासको सन्दर्भमा यो एउटा उठाउनैपर्ने सन्दर्भ हो । यसको एक अलग्ग ऐतिहासिक आधार छन्, यसलाई अर्को आलेखमा व्याख्या गरौँला ।
व्यक्तिचित्रका ऐतिहासिक स्वरूप
व्यक्तिचित्रबारे धेरै ठाउँमा परिभाषित गरिएको छ– व्यक्तिचित्र भनेको एउटा व्यक्ति विशेषको स्थिर अवस्थामा रहेको आकृतिको संयोजन हो । प्रि–पोटरी नियोलिथिक पिरियडमा प्राप्त ह्युमनस्कल नै अहिलेसम्म पाइएको सबैभन्दा प्राचीन व्यक्तिकला हो, जुन करिब नौ हजार वर्ष पूर्वको मानिएको छ । यसरी हेर्दा कलामा व्यक्तिचित्रको प्रवेश सम्भवतः हजारौँ वर्षदेखि अनवरत रूपमा हुँदै आएको देखिन्छ । यसपछि प्रि–हिस्टोरिक अनि हिस्टोरिक कालका यस्तै अनेकौँ व्यक्तिचित्र वा मूर्तिकला पाइएका छन् । विशेषगरी ऐतिहासिक कालमा आएर सबैभन्दा पहिला कलाकारले राजा–महाराजाका यस्ता व्यक्तिचित्र बनाए । व्यक्ति मूर्तिकै रूपमा पनि राजा–महाराजाकै बाहुल्य रह्यो ।
यसको केहीपछि समाजका ठूला र उच्च ओहोदामा पुगेका व्यक्ति विशेषका यस्ता व्यक्तिचित्र वा मूर्ति बनाउने परम्पराको सुरु भयो । नेपालमा पश्चिमी कलाको प्रभाव ज्यादा पर्न थालेसँगै राणा प्रधानमन्त्रीका परिवार र उच्च ओहोदाका आसेपासेमा यस प्रकारको सोख देखियो । अहिले राजनीतिक, साहित्यिक र समाजसेवीका व्यक्तिचित्र वा व्यक्तिमूर्ति प्रचुर मात्रामा बन्ने परम्परा विकास भएको छ । अझ यसअघि देवीदेवताका यस्ता व्यक्तिचित्र वा मूर्ति अनगिन्ती रूपमा बन्ने गरेको परम्परा छ । यसरी प्राचीनकालदेखि नै व्यक्तिचित्र वा मूर्तिले कलाको मुख्य भाग ओगटेको देखिन्छ । कलाकारले यसलाई के प्रयोजन र के उद्देश्यका साथ प्रयोग र अभ्यास गरिरहेका छन्, यसको अलग्ग विश्लेषण गरिनुपर्छ ।
सोह्रौँ शताब्दीमा बनेको मोनालिसाको व्यक्तिचित्रलाई सर्वाधिक चर्चामा रहन सफल मानिन्छ । यसअघि यस्ता चित्र नबनेका होइनन् । तथापि गुणस्तरका हिसाबले र महँगो चित्रको रूपमा विश्वमा अहिले पनि यसको चर्चा छ । कला कसको हो भन्दा पनि कसले बनाएको हो भन्ने अवधारणा पश्चिममा सुरुवातदेखि नै बन्यो । यसर्थ पश्चिममा कला र कलाकार सम्मानित छन् । त्यहाँ कसको चित्र वा मूर्ति हो, यसको अलग्ग चर्चा हुन्छ । कलालाई राष्ट्रले पनि अमूल्य निधिको रूपमा लिन्छ । कलालाई बहुमूल्य मानेर ससम्मान ठुल्ठूला म्युजियममा प्रदर्शनका लागि राखिन्छ । यसरी कला र कलाकारलाई कदर गर्ने लामो परम्परा छ पश्चिममा ।
कुनै चित्र विशेषमा खास कलागत तत्व के छ भनेर खोज्ने परम्परा बन्यो । यसरी कलाविद्ले कलामा अनेकौँ कलाका गुण देखे, पहिचान गरे । फलस्वरूप आज करोडौँ मान्छे मोनालिसाको दर्शनका लागि लुभ्रे संग्रहालय पुग्छन् । यसपछि कलाकारले यस्ता व्यक्तिचित्रलाई अनेकौँ रूपमा प्रस्तुत गरेका छन्, प्रतिनिधि उदाहरणकै रूपमा लिनुपर्दा यसैवेलाको रेम्ब्रान्टका व्यक्तिचित्र वा २०औँ शताब्दीका सेजान, भ्यानगगका अनि अलिपछि आएर पिकासोका व्यक्तिचित्र अलगअलग पाराले विकास भएको पाइन्छ । कलाको इतिहास कोट्याउँदा कलाकारले राजा–महाराजाको वा उच्च पदस्थको चित्र कोर्ने परम्पराबाट आफ्नो स्वतन्त्र अधिकार प्रयोग गरी सामान्य व्यक्तिको चित्र बनाई नयाँ शैली र प्रवृत्तिको विकास गरेका थिए ।
अझ यस्तै व्यक्तिचित्रलाई टुक्राटुक्रामा वा विकृत रूपमा परिणत गरी अर्ध–अमूर्त चित्र निर्माण गर्न थालेपछि कलाकार स्वतन्त्र भएको उद्घोेष भयो । कलाकारको महत्व र शक्ति बढेर गयो । टाढा जानैपर्दैन, भारतका कलाकार मकबुल फिदा हुसेनले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको दुर्गा नामको चित्र बनाउँदा विश्व हल्लिएको थियो । उनैले भारतीय प्रख्यात अभिनेत्री माधुरी दीक्षितको व्यक्तिचित्र सिरिज बनाउँदा अभिनेत्रीको होइन, हुसेनको कला चर्चामा रहेको थियो । हुसेनले बनाएका मदर टेरेसाका चित्रलाई करोडौँको मूल्य मापन गरिएको थियो । यही कुरा नेपालमा हेक्का राख्न जरुरी छैन र ? किनकि नेपालमा कुनै पनि व्यक्तिचित्रको यसरी चर्चा परिचर्चा भएको आजसम्म सुनिएको छैन ।
नेपालमा पश्चिमी शैली प्रभावित व्यक्तिचित्रको सन्दर्भमा १९औँ शताब्दीको मध्यतिरका भाजुमानको व्यक्तिचित्रलाई लिइन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुरसँग बेलायत गएका भाजुमान चित्रकार नेपाल फर्केपछि पश्चिमी कलाबाट प्रभावित भई व्यक्तिचित्र बनाएका थिए । यसपछि दीर्घमान चित्रकारदेखि चन्द्रमान सिंह मास्के, तेजबहादुर चित्रकार, अमर चित्रकार, दिलबहादुर चित्रकार आदिलाई व्यक्ति चित्रकारका रूपमा विशेष उल्लेख गरिन्छ । नेपाली कलामा आधुनिक कलाको प्रवेश पछि भने अलग्ग ढंगले व्यक्तिचित्र सिर्जना गर्ने कलाकारमा लैनसिंह वाङ्देल, उत्तम नेपाली, मनुजबाबु मिश्र आदि विशेष रूपमा देखापरे । यी कलाकारले विशेषतः अभियञ्जनावादी शैलीको रूपमा व्यक्तिचित्रलाई प्रयोग गरेका छन् ।
केही कलाकारले यथार्थवादी चित्रकै रूपमा पहिलेको कलाशैलीलाई निरन्तरता दिएका पनि छन् । विजय थापादेखि के.के. कर्माचार्य, आइबी मल्ल, वारा ध्वला आदिलाई व्यक्तिचित्रका माहिर कलाकार मानिन्छ । यसैको निरन्तरतामा व्यक्तिचित्र विविध रूपमा प्रयोग गर्ने अहिलेका युवा कलाकार बग्रेल्ती देखिन्छन् । अहिले अहं प्रश्न भनेको कुन व्यक्तिचित्र आज चर्चित र बहुमूल्य कलाका रूपमा कहाँ प्रदर्शित छ ? व्यक्तिचित्र कसको बनाइयो भन्दा पनि कसले बनायो र यसका कलागत गुण कस्तो थियो भन्ने सन्दर्भ चासोको विषय हो ।
यसर्थ कलाको चर्चा–परिचर्चा वा अभिलेखन हुनुपर्ने आजको आवश्यकता होइन र ? कला र कलाकारलाई केन्द्रबिन्दुमा राख्ने सोचको विकास भयो भने यथार्थवादी, सुपर रियालिस्टिक, आधुनिक वा उत्तरआधुनिक जुनसुकै रूपमा बनाए पनि नेपाली व्यक्तिकलाले आफ्नो एक अलग्ग पहिचानको खण्ड विकसित गर्न सक्थ्यो होला । हामी कसको व्यक्तिचित्र वा मूर्ति बनायौँ भनेर उसैबारे कार्यक्रम गर्नपट्टि लाग्यौँ, चर्चा पनि उनैको भयो । अभिलेख पनि उनैको भयो ।
इसापूर्व पहिलो शताब्दीतिर बनेका अजन्ता गुफाका काल्पनिक चित्र होस् वा अझ यसभन्दा अगाडि बनेका भगवान् बुद्धका वास्तुवादी मूर्तिकला हुन्, यी सबै व्यक्तिचित्र वा मूर्ति नै हुन् । फरक यति हो कि आ–आफ्नो धर्मको आस्था, दर्शन वा विशेष सन्देशलाई प्रवाह गर्न धर्मपण्डितको निर्देशनमा कलाकारले यस्ता चित्र वा मूर्ति बनाए । राजा–महाराजाले आफ्ना सोख र रहरका लागि आफ्ना चित्र वा मूर्ति कलाकारलाई बनाउन लगाए । कालान्तरसम्म आफ्नो नाम रहिरहोस् भन्नका खातिर राजा–महाराजाले कलाकारमार्फत यस्ता कला बनाउन लगाएका हुन् ।
यसै बेलाका ठूलाबडा मान्छेले पनि आफ्नै सोखका लागि धन खर्च गरी कलाकारलाई यस्ता चित्र वा मूर्ति बनाउन लगाएका हुन् । आज पनि यस्ता चित्र स्थुल रूपमा व्यावसायिक र सिर्जनशील भनेर सामान्य चर्चा गर्नुबाहेक केही हुन सकेन । हामीकहाँ पुरातात्विक कलालाई मात्र संग्रहालयमा राखिन्छ, पुरात्वातिक वस्तुको बाहेक आधुनिक कलाको अलग्ग संग्रहालय छैन ।
आजसम्म बनेका अति बहुमूल्य हजारौँ व्यक्तिचित्र कुनै कुनातिर फालिएर रहेका होलान्, वा विदेशतिर कुनै संग्रहालयमा सजिएर रहेका होलान्, तर देशको कुनै संग्रहालयमा पाइँदैन । साहै्र टाढा पनि जान पर्दैन, व्यक्तिचित्रमा अति माहिर मानिने चन्द्रमान सिंह मास्के, तेजबहादुर चित्रकार वा अमर चित्रकारका व्यक्तिचित्रलाई अध्ययन गर्न खोज्यौँ भने चित्र नै पाइँदैन । व्यक्तिचित्रकै कार्यक्रम हुँदा यसबारे हामीले सामान्य कुराकानीसम्म गर्न चुकेका छौँ ।
(लेखक कलाकार तथा कलासमीक्षक हुन् ।)
प्रकाशित: १५ चैत्र २०७७ ०४:५७ आइतबार