पहिलो नेपाली रेकर्डेड गीत ‘सवारी मेरो रेलैमा’की सर्जक (शब्द, संगीत र स्वर) मेलवादेवी गुरुङको यो गीतको अन्तिम हरफको शब्द उनकै जीवनसँग ठ्याक्कै मेल खान पुग्यो। संयोग पनि कस्तो भने उनी विविध कारणले नेपालमा रहन नसक्ने अवस्था सिर्जना भएपछि रेल चढेर बिरानो देश भारतको कलकत्ता पुगिन्। अनेकौँ कष्ट सहँदै नेपाली तथा भारतीय गीत–संगीतमा उल्लेख्य योगदान पुर्याएकी उनको निधन असामयिक एवं चुपचाप भयो। खाना पकाउने स्टोभ पड्केपछि शरीरमा आगो लागेर उनको निधन भएको थियो। जुन घटना छिमेकीले पनि भोलिपल्ट मात्र थाहा पाए, कलकत्ता मेडिकल कलेजमा पोस्टमार्टम भएको केही दिनपछि मात्र धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे। उक्त दुःखद् घटनाको जानकारी छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले अझै पछि मात्र पाए।
मेलवादेवीले ‘सवारी मेरो रेलैमा’ १९८५ सालमा भारतको कलकत्तास्थित हिज मास्टर भ्वाइस (एचएमभी)मा रेकर्ड गराएकी थिइन्। उनी आफैँ गीत रचना गर्दै धुन पनि भर्थिन्, गायन उनको मुख्य विधा भइहाल्यो। ओखलढुंगाको ठूलो टार एवं ऐतिहासिक गुरुङ बस्ती रुम्जाटारको काफलबोटमा ज्ञानबहादुर लाम्छाने गुरुङ र सपनादेवी गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५४ सालमा भएको थियो, (केही लेख तथा पुस्तकमा उनको जन्म १९५९ मा भएको उल्लेख भए पनि हुलाक टिकटमा भने उनको जन्म १९५४ नै उल्लेख छ)।
घरपरिवारमा राम्रो सम्बन्ध नभएपछि मेलवादेवी चन्द्रशमशेरले किनिदिएको घरमा बस्न थालिन्। त्यसरी पनि टिक्न कठिन हुने देखेपछि आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा महिना दिनकी सुत्केरी मेलवादेवी दुई नाबालक छोरी च्यापेर रेलमार्ग हुँदै कलकत्तातिर लागिन्। त्यही यात्राको अनुभव सँगालेर उनले रचना गरेको र आफ्नै संगीतमा स्वर समेत भरेर रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’ नै नारी स्वरमा रेकर्डेड पहिलो नेपाली गीत हो।
कलिलै उमेरदेखि गाउन थालेकी उनको स्वरमा मन्त्रमुग्ध नहुने कोही थिएन। नरेन्द्र प्रसाईंका अनुसार मेलवादेवीको यो असाधारण प्रतिभाले फल्नेफुल्ने मौका पाउनुपर्छ भन्ने मान्यता थियो, उनकी आमा सपनादेवीमा (प्रसाईंले सप्तदेवी लेखेका छन् तर पशुपति बहुमुखी क्याम्पस चावहिलमा अध्यापनरत रुम्जाटारकै संगीता गुरुङले भने मेलवादेवीको आमाको नाम सपनादेवी उल्लेख गरेकी छिन्)। त्यसैले सपनादेवी छोरी मेलवादेवीलाई राणाको दरबारमा भर्ना गराइदिन दिदी बलमायासहित १९६५ सालतिर काठमाडौं आइन्। राणाशासनकै दोस्रो प्रभावशाली श्री ३ महाराज चन्द्रशमशेरको दरबार सिंहदरबारमा दाखिला भएपछि उनको औपचारिक सांगीतिक जीवन आरम्भ भएको मानिन्छ।
संगीतकार टीका भण्डारीले भने मेलवादेवीलाई उनको बुवा ज्ञानबहादुरले काठमाडौं ल्याएको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘उपयुक्त ठाउँ पाए भविष्यमा नामी गायिका बन्न सक्ने कुरा सुनेपछि मेलवादेवीलाई उनका पिताले डोकोमा बोकेर काठमाडौं ल्याए।’ सानै भएकाले मेलवादेवी डोकोको पिँधमै अटाएकी थिइन् रे। तर उनको स्वर सुनेपछि सिंहदरबारबाहिर श्री ३ चन्द्रशमशेरको दर्शनका लागि उपस्थित भएका चाकरीदारले श्री ३ को सवारी नभएसम्म गाउन लगाएका थिए रे। त्यस क्रममा उनलाई देखिने गरी अग्लो बनाउन डोकोको पिँधमा पराल राखिएको संगीतकार भण्डारीले उल्लेख गरेका छन्। डोकोमा बोकिएर आएकी मेलवादेवीले श्री ३ को सवारी नहुन्जेल उभिएरै गीत गाएकी थिइन्।
ऊबेला सबैले भन्थे, ‘लाहुर नगएको छोरो र दरबार नपसेकी छोरीको के काम।’ सिंहदरबार प्रवेश भएपछि उनले दरबारभित्रका संगीतका पण्डित, उस्ताद तथा संगीतज्ञसँग संगीत सिक्ने मौका पाइन्। गायनमा विशेष सोख भएकाले उनले गायन विधामै आफूलाई परिष्कृत र परिमार्जित गर्दै गइन्। सिंहदरबारमा उनले पण्डित माधवप्रसादसँग संगीत सिकिन्। मेलवादेवीको कोकिल स्वरलाई विराट स्वरूप प्रदान गर्न चन्द्रशमशेरले ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, डुन्डे खाँ, गणपत, खेमचन्द्र लगायतबाट पनि शास्त्रीय संगीत गायनको तालिम लिने व्यवस्था मिलाइदिएका थिए। उनी छोटो समयमै गायनमा अब्बल भइन्। उनको स्वरको मधुरता र गायकीबाट स्वयं गुरु नै जिल खान थालेका थिए। दरबारमा रहेका तीन–चार दर्जन गायक–गायिका तथा नर्तकीबीच मेलवादेवीको बेग्लै सान, मान र चमक–धमक हुन थालेको थियो।
अध्येता तथा लेखक कमलमणि दीक्षितले आफ्नो लेखमा उल्लेख गरेअनुसार चन्द्रशमशेरको खोपीमा सातजनाको सल्लाहकार टिम थियो। तीमध्ये दीक्षितका हजुरबुबा काशीनाथ आचार्य दीक्षित पनि एक थिए। दीक्षित लेख्छन्, ‘मेरो हजुरबुबा काशीनाथका अनुसार पहिलो भेटमै चन्द्रशमशेर मेलवादेवीबाट ज्यादै प्रभावित हुनुभएको थियो। दरबारमा मेलवादेवीलाई संगीतको तालिम सुरु गर्ने बेलामा चन्द्रशमशेरले उहाँको नाम ‘मेलवा नानी’ राख्नुभएको थियो भने दुई जोर छिटको धोती, चोलो र दुई दिनमा एक मोहोर बकस पाउने गरी दुई वर्षका निम्ति सिंहदरबारको उत्तरपट्टि रहेको सुसारे गृहमा बस्ने व्यवस्था गरिदिनुभएको थियो।’
चन्द्रशमशेरको अधिकांश समय मेलवादेवीसँगै बित्न थालेको थियो। मेलवादेवीलाई रानीमा पदोन्नति गर्न लागेको गाइँगुइँ हल्ला पनि चल्न थालेको थियो। यी सबै कुराले बालकुमारीदेवी भित्रभित्रै जलेकी थिइन्। त्यसैले बालकुमारीदेवीले एक दिन मेलवादेवीलाई बनारसी पानको बिडामा सिन्दुर मिसाएर एक सुसारे केटीमार्फत खान दिइन्। यसले मेलवादेवीको स्वर धोद्रो भयो।
मेलवादेवी आफ्नो गायकी, स्वरको जादु र सुन्दरताले छिटै मेलवा नानीबाट मेलवादेवीमा परिणत भएको बताइएको छ। एक दिन सिंहदरबारमा आयोजित संगीतसभामा देब्रे हातले आफ्नो दाह्री मुसार्दै चन्द्रशमशेरले मेलवादेवीलाई आफूनजिक बोलाए। र, त्यहीँ सुन्दर पोसाक, मोतीका माला तथा दाहिने औंँलामा एउटा मूल्यवान् औँठी लगाइदिए। श्री ३ चन्द्रशमशेरले घोषणा नै गरे, ‘यिनी त गायनमा मित्रसेनभन्दा माथिकी लागिन्। रूपमा पनि स्वर्गकी अप्सराभन्दा कम छैनन्। यिनलाई दिइने लुगाफाटो र तलब–सुविधामा ठूलै वृद्धि गरिदिनेछु।’
नरेन्द्रराज प्रसाईंले लेखेका छन्, ‘चन्द्रशमशेरको दरबारमा गीत गाउने मेलवादेवी दरबारको रंगमञ्च, सभा–समारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जंगल पुगेर समेत गीत गाउँथिन्।’ यसरी मेलवादेवीले जंगलमा गीत गाउँदा मृग लगायत जनावर पनि नजिकै आउने बताइएको छ। त्यस्तै, श्री ३ चन्द्रशमशेरका विशिष्ट पाहुना आउँदा सिंहदरबारको बेलायती बैठकमा मेलवादेवीलाई झकिझकाउ पारेर उपस्थित गराइन्थ्यो। उनी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोक र नेवारी गीत गाउँथिन्। खुसीले गद्गद् भएर चन्द्रशमशेर गर्वका साथ मेलवादेवीलाई बराबर धाप मार्थे। सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षा व्यवस्था नै गरिएको थियो। त्यसैले मेलवादेवीले पाएको सेवा, सुविधा तथा मानका कारण उनको इष्र्या गर्नेहरूको सिंहदरबारमा कुनै कमी थिएन।
मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्थ्यो भन्ने भनाइ छ। उनकी छोरी विमला दीक्षितले एक लेखमा उल्लेख गरेअनुसार, मेलवादेवीको स्वरमा चन्द्रशमशेरका साइँला छोरा ‘हिजहाइनेस’ केशरशमशेर पनि भुतुक्कै हुन्थे। एक दिन टन्टलापुर घाम लागेका बेला केशरशमशेरले मेलवादेवीलाई भने, ‘यस्तो बेलामा तिमी गीत गाएर पानी पार्न सक्छ्यौ ?’ मेलवादेवीले प्रत्युत्तरमा भनिन्, ‘पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्दिनँ तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु।’ केशरशमशेरले मेलवादेवीसँग गीत गाएरै पानी पार्न सकेमा पाँच हजार रूपैयाँ दिने बाजी समेत राखे। मेलवादेवीले करिब डेढ घन्टा ‘मेघा मल्हार’ राग गाइन्। अन्ततः आकाशमा क्रमशः बादल लाग्नुका साथै हल्का वर्षा समेत भयो। बाजी हारेपछि केशरशमशेरले स्याबास भन्दै मेलवादेवीलाई पाँच हजार रूपैयाँ बक्सिस दिएका थिए। संगीतमा खासगरी रागले प्रकृतिलाई पनि काबुमा ल्याउन सक्छ भन्ने भनाइ यहाँ चरितार्थ भएको स्पष्ट हुन्छ।
संगीत सभामा चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीदेवी पनि उपस्थित रहने गर्थिन्। सभामा उनले पनि मेलवादेवीको प्रशंसा गर्थिन्। तर पति चन्द्रशमशेरले मेलवादेवीप्रति दर्शाएको अनुराग तथा आशक्ति भने उनलाई पाच्य हुन सकेको थिएन। चन्द्रशमशेर मेलवादेवीलाई असाध्यै महत्व दिन्थे र राति अबेरसम्म पनि खोपीमै गीत गाउन लगाउँथे। यस कुराले बालकुमारीदेवीलाई भने भित्रभित्रै पिरोल्थ्यो। चन्द्रशमशेरको अधिकांश समय मेलवादेवीसँगै बित्न थालेको थियो। मेलवादेवीलाई रानीमा पदोन्नति गर्न लागेको गाइँगुइँ हल्ला पनि चल्न थालेको थियो। यी सबै कुराले बालकुमारीदेवी भित्रभित्रै जलेकी थिइन्। त्यसैले बालकुमारीदेवीले एक दिन मेलवादेवीलाई बनारसी पानको बिडामा सिन्दुर मिसाएर एक सुसारे केटीमार्फत खान दिइन्। यसले मेलवादेवीको स्वर धोद्रो भयो।
मेलवादेवीको स्वर धोद्रो भएपछि चन्द्रशमशेरले तुरुन्तै सेन गुप्ता नामक बंगाली डाक्टर बोलाएर जाँच गराए। कलकत्ताबाट आएका गुप्ताले निकै चेकजाँच गरे। नाम चलेका नेपाली वैद्यले पनि हेरे। उनीहरू सबैले मेलवादेवीको घाँटी (स्वर)को उपचार नेपाल मात्र होइन, भारतमा पनि सम्भव नहुने बताएपछि चन्द्रशमशेरले बेलायतबाट घाँटीरोग विशेषज्ञ बोलाए। करिब दुई महिनाको उपचारपछि मेलवादेवीको स्वरमा केही सुधार त आयो, तर पहिलेको जस्तो सुमधुर हुन सकेन। उनको स्वर बिस्तारै मन्द्र र मध्य सप्तकसम्म पुगे पनि तार सप्तकसम्म पुग्न सकेन। तैपनि चन्द्रशमशेरले मेलवादेवीको स्वरको तारिफ गर्न छाडेनन्। मेलवादेवीको स्वर सुक्न थालेपछि पनि उनी भन्ने गर्थे रे, ‘गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ।’
मेलवादेवीको मनको भाव बुझेपछि उनलाई नै लक्षित गरी चन्द्रशमशेरले १९८५ को वसन्त पञ्चमीको दुई दिनअघि दरबारमा फर्मान् जारी गरे, ‘पाँच वर्षभन्दा बढी काम गरिसकेका इच्छुक नानी र सुसारेहरू वसन्त पञ्चमीको दिन सिंहदरबार छाडेर जान सक्छन्।’ अन्ततः मेलवादेवी दरबारबाट बाहिरिने भइन्। मेलवादेवी दरबारबाट बाहिरिने भएपछि अत्यन्त दुःखी भएका चन्द्रशमशेरले उनलाई कुनै पनि प्रकारको दुःख नहोस् भन्ने चाहेका थिए। त्यसैले उनले मेलवादेवीका लागि काठमाडौंको स्वयम्भूनजिक विजेश्वरीमा एउटा घर किनिदिएका थिए। २४ वर्षको उमेरमा मेलवादेवी वसन्त पञ्चमीका दिन सिंहदरबारबाट निस्किइन्। त्यत्रो इनाम बक्सिस पाएकी, गरगहनाले सु–सज्जित, धनसम्पत्तिले भरिपूर्ण र रानी पदकै प्रस्ताव पाएकी मेलवादेवीले दरबार छाडेर जानुअघि आफ्ना गरगहना र धनसम्पत्ति सुसारेलाई बाँडिदिएको मदनमणि दीक्षितले उल्लेख गरेका छन्। आफ्नो मुख्य हतियार र श्रीसम्पत्ति स्वरमा ठूलो क्षति व्यहोर्नुपरेको भए पनि मेलवादेवी हाँसी–हाँसी तामदानमा चढेर सिंहदरबारबाट बाहिरिइन्। त्यो दृश्य सिंहदरबारको दोस्रो तलाको उत्तर कुनाको बुर्जाबाट शक्तिशाली महाराज चन्द्रशमशेरले बडो निरीह भएर निर्निमेष हेरिरहे।
श्री ३ चन्द्रशमशेरको विशेष निगाहा पाएकी मेलवादेवीको सुन्दरतामा मोहित नहुने कोही थिएनन्। तर कुनै पुरुषले मेलवादेवीसँग प्रत्यक्ष सम्पर्क गर्नु, माया गर्नु वा स्नेह देखाउनु सिंहसँग जोरी खोज्नुसरह मानिन्थ्यो। यति हुँदाहुँदै पनि चन्द्रशमशेरकै छोरा बबरशमशेर मेलवादेवीप्रति प्रायः आक्रामक देखिने गरेका थिए। त्यस्तै तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्तिप्रति आशक्त थिए। त्यसैले मेलवादेवी दरबारबाट बाहिरिनु उस्ताद भक्तकृष्ण मानन्धरका लागि ढुंगा खोज्दा देउता मिलेझैँ भयो। उनी मेलवादेवीका पछि–पछि लागे। मानन्धरले अनेक तरहले मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा पु¥याएर सिन्दुरपोते गरे, चुरा धागो लगाइदिए। तर मेलवादेवीलाई बिहे गरेसँगै भक्तकृष्णलाई पनि सिंहदरबार छिर्न बन्देज लाग्यो।
उता गुरुङसँग विवाह गरेको भन्दै भक्तकृष्ण आफ्नो जातीय समाजबाट बहिष्कृत भए। यद्यपि भक्तकृष्ण र मेलवादेवीका तर्फबाट चार सन्तानको जन्म भयो। दुई छोरा सानैमा बिते पनि दुइटी छोरी विमला र शान्तिको पछिसम्मै साथ रह्यो। मेलवादेवी र भक्तकृष्णको बिहे लामो समय टिक्न सकेन। घरपरिवारमा राम्रो सम्बन्ध नभएपछि मेलवादेवी चन्द्रशमशेरले किनिदिएको घरमा बस्न थालिन्। त्यसरी पनि टिक्न कठिन हुने देखेपछि आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा महिना दिनकी सुत्केरी मेलवादेवी दुई नाबालक छोरी च्यापेर रेलमार्ग हुँदै कलकत्तातिर लागिन्। त्यही यात्राको अनुभव सँगालेर उनले रचना गरेको र आफ्नै संगीतमा स्वर समेत भरेर रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’ नै नारी स्वरमा रेकर्डेड पहिलो नेपाली गीत हो।
कलकत्ता पुगेपछि मेलवादेवी धेरै स्वतन्त्र भइन्। उनी विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन्थिन्। कहिले इलाहावाद संगीत सम्मेलनमा पुग्थिन् त कहिले रामगढ संगीत सम्मेलनमा। उनले जहाँ–जहाँ आफ्नो गलाको कौशल देखाइन्, त्यहाँ–त्यहाँ स्वर्णपदक (गोल्ड मेडल) प्राप्त गरिन्। इलाहावाद संगीत सम्मेलनले उनलाई ‘ठुमरीकी रानी’को दर्जा दिएको थियो। उक्त सम्मेलनमा उनले राग ‘छायानट’ तीन घन्टासम्म गाएकी थिइन्। उनकी छोरी विमलाका अनुसार मेलवादेवीले नेपाली, हिन्दी, बंगाली, नेवारी, उर्दु लगायत भाषाका गीत गाएकी छन्।
मेलवादेवीका धर्मपुत्र रामचन्द्र गुप्ताका अनुसार अन्तिम संस्कार गर्ने समयमा मेलवादेवीको कोठामा ५० वटा मेडल भेटिएका थिए। त्यसबाहेक अन्य कप, सर्टिफिकेट प्रशस्तै थिए। यसले मेलवादेवीले भारतमा कति गीत गाइन् भन्ने सामान्य अनुमान लगाउन सकिन्छ। यद्यपि यी सबै गीत उनले सिंहदरबारमा श्री ३ महाराज चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीदेवीले षड्यन्त्रपूर्वक बनारसी पानमा सिन्दुर मिसाएर खुवाएपछि बिग्रिएको स्वरमा रेकर्ड गराएका तथा गाएका गीत हुन्। बिग्रिएको स्वरमा त यस्तो जादू छ भने त्यसभन्दा अघि उनको स्वर कति मधुर थियो होला, हामी केवल अनुमान लगाउन सक्छौँ।
आर्थिक रूपमा निकै कमजोर भएपछि कलकत्तामा उनले जीविकोपार्जन र छोरीहरूको पालनपोषणका लागि एक मारवाडी बालिका विद्यालयमा संगीत शिक्षिका बनेर काम गरेकी थिइन्। छोरीहरू पनि त्यही स्कुलमा भर्ना गरिए। स्कुलको तलबले मात्र नपुगेपछि उनले आफ्नै कोठामा संगीतको कक्षा समेत सञ्चालन गरेकी थिइन्। त्यसअघि नेपालमै रहँदा पनि मेलवादेवीले संगीत प्रवीण नरराज ढकालसँग संगीत प्रशिक्षकका रूपमा केही समय काम गरेको विभिन्न लेखक तथा अनुसन्धानकर्ताले उल्लेख गरेका छन्। दुःखसुख जीवन भोग्दै उनले दुवै छोरीको विवाह पनि गरिदिइन्।
२०१२ सालको मंसिरमा भारतको कलकत्तास्थित आफ्नै कोठामा खाना पकाउने स्टोभ पड्केर निधन भएको मेलवादेवीका ‘आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानु भो’, ‘यो जिन्दगीको के भरोसा’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, भूकम्पको त्रास, थापा न थली (नेवार भाषामा गाइएको गीत), श्री ३ महाराज सुन प्रभु, क्रय फूलबारी लगायत गीत पनि उत्तिकै लोकप्रिय छन्। सहिद शुक्रराज शास्त्रीको रचनामा ‘न घरलाई घर कहिन्छ’मा नारीवादी आवाज पनि उठाइएको छ। मेलवादेवीको सम्मानमा हुलाक टिकट पनि प्रकाशित भएको छ। केन्द्रीय गोश्वारा हुलाक कार्यालयले व्यक्तिगत सिरिजअन्तर्गत सन् २०१२ को जुन–जुलाईमा मेलवादेवीको तस्बिरसहित जन्म र मृत्यु साल समेत उल्लेख गरेर पाँच रूपैयाँ दरको हुलाक टिकट प्रकाशित गरेको नेपाल फिलाटेलिक सोसाइटीले उल्लेख गरेको छ। त्यस्तै, मेलवादेवीको विषयमा संस्थागत रूपमै थप खोज गर्न रुम्जाटारका सीताराम गुरुङलगायत पनि लागिपरेका छन्।
प्रकाशित: ७ चैत्र २०७७ ०३:५४ शनिबार