रमेश नराम्ररी डुब्यो । मान्छे आजकल वस्तुको गुणस्तरभन्दा पनि साजसज्जामा बढी झुम्मिन्छ । उसको व्यापार गर्ने शैलीले नै उसलाई हरायो । इमानदारी र सोझोपन उसको गहना थियो । व्यापारमा अधिक मुनाफा कमाउन छलछाम, प्रचारबाजीमा चलाखी हुनैपर्थ्यो । उसले सकेन । सहयोगीले पनि हात लामो गरे होलान्।
उसले व्यवसाय परिवर्तन गर्यो । गाई, भैसींपालन गरेर यथेष्ट पैसा आर्जन गर्न फर्म हाउस खोल्यो । दूध दुहुन, गाईवस्तु स्याहार गर्न कामदारहरू राख्यो । शुद्ध दूध दिने प्रतिबद्धता अनुरूप डेरी चलायो । शुरुआत राम्रै थियो । बिस्तारै ग्राहक घट्दै गए । कारण खोज्दै जाँदा दुधमा पानी मिसाएको पाइयो । तर कसले ऊ चकित बन्यो । गाईभैंसीले प्रशस्तै दूध दिन्थे । दूध दुहुँदा–दुहुँदा हैरान कामदारले बाल्टीमा पहिले नै आधा जसो पानी राखेर दूध दुहुन्थे । बाँकी दूध बाच्छाको पेटमा जान्थ्यो।
उसले गाई फर्म, डेरी बेच्यो । खुब मेहनत गरेर पढ्यो। आयोग पास गर्यो । एउटा कम्पनीको लेखापाल बन्यो। अरूलाई काम दिएर आफ्नो व्यवसाय वृद्धि गर्ने सोच थियो । अहिले कामदार बनेर अरूको व्यवसाय प्रवर्द्धन गर्नुपर्दा दुखित थियो ।
– सर नमस्कार , हजुर पनि नोकरी गर्दै ...! आफ्नो पसलको सहयोगी त्यहाँ पनि देखियो ।
– बेइमान व्यक्तिहरूलाई नै अवसरको बढी अनुकूलता मिल्दो रहेछ । उसका आँखा गाईफर्मको कामदारको खोजीमा थिए ।
प्रकाशित: १५ फाल्गुन २०७७ ११:४० शनिबार





