७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुर दशौँपटक पूर्णखोप सुनिश्चित घोषित

जिल्ला पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रम। तस्बिरः महेश्वर

उदयपुरलाई दशौँपटक पूर्ण खोप तथा दीगोपना सुनिश्चित घोषित गरिएको छ। स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा मंगलबार दिउँसो जिल्लालाई ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषित गरिएको हो।  

जिल्लाको कुल जनसंख्या ३ लाख ६८ हजार ७९ रहेकोमा १५ महिनामुनिका शिशु ५ हजार १ सय २७ जना र १६ देखि ५९ महिनासम्मका बालबालिका १५ हजार ५१ जना सबैलाई खोप लगाइसकेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो। जिल्ला खोप समन्वय समिति उदयपुरका सदस्यसचिव तथा स्वास्थ्य कार्यालय प्रमुख रामनरेश ठाकुरका अनुसार उदयपुरमा घरधुरी सर्वेक्षण गरी सबै बालबालिकालाई खोप लगाइसकिएको छ।  

सर्भेक्षणबाट जिल्लामा ५ वर्षमुनिका बालबालिकामध्ये खोप नलगाएका र आंशिक खोप लाउने काम सम्पन्न गरिएको हो। सर्वेक्षणका क्रममा २ जना ‘शून्य डोज’ बालबालिका र १ सय ३२ जना आंशिक खोप लगाएका बालबालिका भेटिएको ठाकुरले बताए। उनीहरूलाई पनि आवश्यक सबै खाले खोप दिएपछि जिल्लामा पूर्णखोप प्राप्त दर शतप्रतिशत पुर्याइएको हाकिम ठाकुरले बताए।  

यस वर्ष जिल्लाका ८ वटै स्थानीयतहमा घरधुरी सर्वेक्षण सञ्चालन गरेर खोप अभियान चलाइएको थियो। सर्वेक्षणमा नेपाल सरकारले जारी गरेको राष्ट्रिय निर्देशिका अनुसार खोज र खोप रणनीति अवलम्बन गर्दै जिललामा पूर्णखोप सुनिश्चितता कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए।  

गाईघाटस्थित हिमालयन रिसोर्टको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु र प्रदेश उपसभामुख सृजना दनुवारले उदयपुरलाई १० औँँ पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरे। उदयपुरलाई पहिलो पटक २०७४ माघ १६ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो। त्यसयता प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको निरौलाले बताए।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न प्राणघातक रोगबाट बँचाउन सबैखाले निःशूल्क खोप सेवा प्रदान गर्दै आएको छ। जिल्लाभरि २ सय ५६ वटा खोप केन्द्र तथा शेसनमार्फत नियमित खोप सेवा सञ्चालन भईरहेको पनि सुपरभाईजर निरौललो बताए।  

कार्यक्रममा मन्त्री लिम्बुले बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेर भोलिको दक्ष र स्वस्थ्य जनशक्ति निर्माणमा प्रदेश सरकार लागिरहेको बताए। उनले आगामी दिनमा पनि कुनै  बालबालिका खोपबाट वञ्चित हुननहुने वातावरण सुनिश्चित गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्न निरन्तर कार्यक्रम सञ्चालन गरिरहन उनको निर्देशन थियो।

प्रकाशित: ६ जेष्ठ २०८३ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App