२३ फाल्गुन २०७७ आइतबार
कला

मलाई सम्झिँदा पहाडहरू हेर्नू

कविता

मलाई सम्झिँदा पहाडहरू हेर्नू  

तिमीलाई मनपर्ने राताम्य फूलका पहेँलिदा पातहरू

रुँदै खसिरहेको साँझ  

लेख्न बसेको छु कविता  

र त कवितामा  

अर्थप्रदक शब्दहरू छैनन्  

शब्दहरूमा  

तिम्रो मौन ढुकढुकीको गतिशील पद्चाप छैन  

फगत आँसु छ , आँसु  

आँसु त सपनामा  

तिम्रो आँखाको निलो अँजुलीमा थियोे ।

कविताका विदीर्ण अक्षरहरूमा  

तिमीलाई बोलाउने सुन्दर आवाज छैन  

तिमीलाई डोरयाउने दर्बिलो हात छैन  

मात्रै रगत छ , रगत  

रगत त बिपनामा  

घामको हत्यारा पर्वतहरूमा तत्पतिएको थियो ।

हामीलाई भेटाउने  बाटोको माया किन यति धेरै लाग्छ !

हामीलाई छुटाउने यात्राको सम्झना किन यतिविघ्न आउँछ !

यो खोला नसुसाए हुन्थ्यो  

यी  फूलहरू नफुल्दिए हुन्थ्यो  

यी चराहरू नकराइदिए हुन्थ्यो

बोल्दाबोल्दै गलामै अवरुद्ध अपुरो अस्पष्ट वाक्य

र हातमा अल्झिएको एक अर्कोको प्रेमिल , अनुपम स्पर्श  

छुट्दा –छुट्दै आँखा भत्किएर खसेको मौन तप्त बुँद  

र बिजुली चम्किए जसरी छुटेको हृदयको चिसो , धारिलो कम्पन ।

प्रिय ,

के तिमीलाई लाग्दैन,

माया भन्नु खाली झझल्को मात्रै हो

माया भन्नु मौन अभाव मात्रै हो  

माया भन्नु  शून्य  पीडा  मात्रै हो

फेरि यतिखेर,

म तिम्रै खातिर सास फेरिरहेछु  

मलाई सम्झिँदा पहाडहरू हेर्नू !

प्रकाशित: १० फाल्गुन २०७७ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App