७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

नेपाली संस्कृतिका अग्रणी श्रीगणेश

नेपाली संस्कृतिमा श्रीगणेशलाई प्रायः सबै धार्मिक सम्प्रदायले उत्तिकै महत्वपूर्ण स्थान दिई पुज्दै आइरहेको पाइन्छ। शैव, शाक्त, वैष्णव आदि हिन्दू र बौद्धमार्गीले पनि प्रथम पुज्यका रूपमा मान्दै आएका गणेशका विभिन्न किसिमका विशेषता छन्। त्यही कारण नेपालका विभिन्न स्थानमा रहेका गणेशको पूजा सर्वाधिक रूपमा गर्ने गरिन्छ।  

नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।  

नेपालका आदिवासी नेवारले आफूले जुन खाना खान्छन्, त्यही देवतालाई पनि चढाएर पूजा गर्ने चलन परापूर्वकालदेखि रहिआएको छ। त्यसैले गणेशलाई पूजा गर्दा समयबजि, उसिनेको अण्डा, रक्सी–जाँड चढाउने गरिन्छ। चाडपर्व र जात्रामा पनि गणेशलाई कुखुरा, हाँस, बोका र राँगो समेत बलि दिने चलन छ।

खोकनाको सिकाली (रुद्रायणी) नाचमा भने अन्य देवीदेवतालाई बलि दिए पनि गणेशलाई बलि दिइँदैन, अर्थात् सिकाली नाचका गणेशलाई शाकाहारीका रूपमा मान्ने गरिन्छ। स्मरण रहोस्, नेपालका विभिन्न स्थानमा नचाइने देवी–देवताका नाचमा देवी–देवता हुने व्यक्तिले नै नाच्दानाच्दै जिउँदो हाँस, कुखुरा, बोका र राँगाको जिउँदै रगत पिउने गर्छन्, घाँटीमा दाँतले टोकेर।

नेपालका विभिन्न स्थानमा नचाइने अष्टमातृका, नवदुर्गा र १० अवतारजस्ता तान्त्रिक नाचमा गणेशको विशेष भूमिका रहन्छ। सर्वप्रथम गणेश बनेर नाच्ने व्यक्तिको शरीरमा नाट्य गुरुले तान्त्रिक विधि अनुसार, गणेश देवता जगाएपछि गणेशले मोहनी टीका (तान्त्रिक टीका) लगाइदिएपछि मात्र विभिन्न देवीदेवता भई नाच्नेको शरीरमा देवता चढ्ने गर्छ।  

नेवारी संस्कार र संस्कृति अनुसार, गणेशलाई विभिन्न किसिम र विभिन्न विशेषताले भरिएको देवताका रूपमा मान्दै आइरहेको पाइन्छ। नेवारको बच्चा जन्मेपछि चोख्याउने दिनदेखि जन्मोत्सव, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह गर्ने, शुभविवाह गर्ने, बूढो पास्नी गर्ने, कुलदेवता पूजाभोज, गुथि, विभिन्न चाडपर्व र जात्रामा गणेशको पूजा सबैभन्दा पहिले गरिन्छ। ठुल्ठूला काम र भोज गर्नुअघि गणेशको पूजा गरेर सुवाल (भोजका परिकार बनाउने जाति) हरूलाई बोलाई ‘भरींस्वनेगु’ भन्दै भोजका लागि चाहिने लगत निकाल्ने गरिन्छ। 

त्यस्तै, चाडपर्व र विभिन्न किसिमका भोजविवाह, व्रतबन्ध आदिमा जाँडरक्सी धेरै चाहिने अनि जाँड पार्दा र रक्सी बनाउँदा पनि जाँडरक्सी राम्रो मीठो पारिदिने देवताका रूपमा गणेशलाई पूजा गरिन्छ। यसरी जाँडरक्सी राम्रो पारिदिने गणेशको पूजा गर्दा काठमाडौंका नेवारले प्वकः नायः गणेद्यः (प्वकः भनेको जाँडको कट र नायः भनेको नाइके)अर्थात् पकनाजोल गणेशको पूजा गर्छन्।

प्वकः नायः गणेशको नाम अपभ्रंश भएर पकनाजोल गणेश हुन गएको हो। ललितपुर र कीर्तिपुरका नेवारले जाँडरक्सी राम्रो होस् भनेर चोभारको क्वय्ना गणद्यः अर्थात् चोभारको जल विनायकको पूजा गर्छन्। त्यस्तै, भक्तपुरमा सेतो गणेशको पूजा गर्छन् भने बनेपामा द्यःगाः नामक गणेशको पूजा गर्छन्।  

गणेशलाई विभिन्न रोग निको पारिदिने र विभिन्न किसिमका समस्या समाधान गर्ने देवताको रूपमा पनि मान्ने गरिन्छ। चावहिलका गणेश चन्द्रविनायकलाई घाउ र खटिरा निको पार्ने देवताको रूपमा मान्दै आइएको पाइन्छ। भक्तपुरमा सूर्य विनायकलाई भक्तपुरवासीले हिँड्न नजान्ने बच्चालाई हिँड्न सिकाउने गणेशका रूपमा मान्छन् भने काठमाडौंवासीले बोल्न नजान्ने बच्चालाई बोल्न सिकाउने देवताको रूपमा सूर्य विनायकलाई मान्ने गर्छन्। 

भक्तपुरवासीले भने बच्चा बोल्न सिकाउने गणेश भक्तपुरमै रहेको याथु गणद्यः अर्थात् कमल विनायकलाई मान्ने गर्छन्। ललितपुरवासीमा हासापोता गणेशलाई सियो चढायो भने घाउ–खटिरा फुटाइदिन्छन् भन्ने जनविश्वास रहिआएको छ। त्यस्तै, ठिमीका दुई इना गणेश र बनेपाका काथु गणेशले घाँटी दुखेको निको पार्छन् भन्ने जनविश्वास छ। भक्तपुरको तिंबुक्छे त्वाः टोलमा रहेको दही विनायकले दही राम्रो र मीठो पारिदिने जनविश्वास छ। भक्तपुरको परम्परागत नामी जुुजु धौ बनाएर बेच्नेले दही विनायकको पूजा गरेर दही चढाएपछि मात्र जुजु धौको व्यापारको सुरुवात गर्छन्।  

गणेशलाई हराएको सामान भेटाइदिने देवताका रूपमा पनि मान्ने गरिन्छ। कुनै पनि सामान राखेको ठाउँमा भेटिएन वा हराएमा गणेशलाई लड्डु चढाउने वा पूजा भाकल गर्ने गरिन्छ। यसरी भाकल गर्‍यो भने हराएको सामान भेटिन्छ भन्ने धेरै छन। यसरी नै हराएको सामान भेटाइदिने भनी कहलिएका गणेशमा पनौतीका कार्य विनायक, बनेपाका तुकं प्वाः गणेश, भक्तपुर बालाखु गणेश, पाटनका चःपो गणेश र काठमाडौंका पकनाजोल गणेश हुन्।

यसका साथै परदेश गएका आफ्ना मान्छेको कुनै पनि खबर आएन भने यिनै गणेशलाई पूजा गरे चाँडै खबर आउँछ भन्ने जनविश्वास छ। बुंगमतीमा ठुल्ठूला कार्य सिद्ध गर्ने कार्यविनायकका नामले गणेश प्रसिद्ध छन्। स्मरण रहोस्, १७०० वर्षपहिले काठमाडौं उपत्यकामा १२ वर्षसम्म वर्षा नभएर अनिकाल भयो।

यस्तो समस्या भएकाले भक्तपुरका राजा नरेन्द्रदेवले काठमाडौंका तान्त्रिक बन्धुदत्तसँग के गर्नुपर्ला भनी सोधनी गरे। गोरखनाथले ६ वटा नागको आसनमा बसी श्लेषमान्तक वनमा तपस्या गरिरहेकाले पानी नपरेको कुरा तान्त्रिक बन्धुदत्तले बताए। यो समस्या समाधान गर्न वर्षा र सहकालका देवता गुरु गोरखनाथका पनि गुरु आर्यावलोकितेश्वर करुणामय रातो मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षा (आसाम) बाट ल्याउन सके गुरुको सम्मानमा गोरखनाथ आफ्नो आसनबाट उठेर आउनेछन्, अनि वर्षा भई सहकाल हुन्छ भनी तान्त्रिक बन्धुदत्तले सल्लाह दिए अनुसार राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त र पाटनका ललित ज्यापुका संयुक्त प्रयासबाट आसाममा गई रातो मच्छिन्द्रनाथ ल्याउने कार्यमा सिद्धि होस् भनी बुंगमतीमा कार्यविनायकको स्थापना गरी पूजा गरिएको थियो ।

भक्तपुरका छुमा गणेशलाई चित्रकला र सीप सिकाउने गणेशका रूपमा मान्ने गरिन्छ। छुमा गणेशलाई विश्वकर्माको रूपमा पनि मान्ने गरिन्छ। काठमाडौं, भक्तपुर र ललितपुरमा कुम्हालेले आ–आफ्ना स्थानमा गणेशलाई विश्वकर्मा र कुलदेवताको रूपमा पनि मान्ने गर्छन्।

त्यसै भएर उपत्यकाका कुम्हालेले माटाका भाँडा बनाउन र ठुल्ठूला कामकुरा गर्दा गणेशलाई माटो छुट्ट्याएर चढाउने चलन छ। नेवारले गीत सिक्ने, बाजा बजाउन सिक्ने र नृत्य सिक्ने बेला नासद्यः नाट्यश्वरलाई पूजा गरेर ‘जय गुरुगणपति’ भन्दै नाच र गीत सिक्नुअघि गुरु सम्झेर गणेशलाई मान्ने गर्छन् र गणेशलाई नाट्यश्वरको रूपमा पनि मान्ने गरिन्छ।  

कुनै पनि दर्शन ढुंगामा गणेश सम्झेर टीका लगाई दिनहुँ पूजा गरिरह्यो भने गणेशको आकार बन्दै आउँछ भन्ने जनविश्वास छ। गणेशको आकार देखिने एउटा हिमालको नाम नै गणेश हिमाल रहन गएको छ। त्यस्तै, डडेलधुरा जिल्लाको एउटा पहाडको चुचुरामा गणेशको आकार भएकाले गणेशधुरा भन्ने गरिन्छ। महादेव विराजमान भइरहेको विश्वास गरिएको गोसाईंकुण्डसँगै रहेको एउटा कुण्डको नाम गणेशकुण्ड रहेको छ।  

नेवारी संस्कृति र संस्कार अनुरूप मनाइँदै आइएको जन्मदिन, व्रतबन्ध, विवाह, बूढो पास्नीजस्ता विभिन्न कार्यमा सुकुन्दा बालेर त्यसमा रहेको गणेशको आकृतिलाई पूजा गरी सकेपछि मात्र घरबाहिर रहेका गणेश र अन्य देवी–देवताको मन्दिरमा गई पूजा गर्छन्। यसरी सबैभन्दा पहिले गणेश पूजन गरेर विभिन्न कार्यको श्रीगणेश अर्थात् शुभारम्भ गर्ने नेवारी चलन अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–समारोहमा पनि सुकुन्दा बालेर त्यसबाट त्वाःदेवाः ९पानस० बालेर उद्घाटन गर्ने चलन चलाइनु पनि नेपाली संस्कृतिको पहिचान हो ।

गणेशको प्रख्यात नाम विनायक हो। विनायकको अर्थ विशिष्ट नायक हो। विशेष रूपमा मान्नुपर्ने नायः हो अर्थात् थकाली। नेवारी संस्कृतिअनुरूप सबैभन्दा पहिले थकालीलाई मान्नुपर्छ। त्यस्तै, सबैभन्दा पहिला गणेशलाई मान्नुपर्छ। नेवारी संस्कृति अनुसार विनायक पनि नेवारी भाषाको इनायसँग सम्बन्धित छ। इनाय भनेको पनि गणेश नै हो। किनभने इनाय दलु (सुकुन्दा), इनाय ख्यः (क्षेत्र), इनाय लः (पानी), इनाय बाहा (बहाल), इनाय त्वाः (टोल) इनाय च्वं यी सबै गणेशकै नामसँग जोडिएका छन्। चोभारका गणेशलाई क्वय् इनाय भनिन्छ, नेपाल भाषामा। क्वय् भनेको तल र इनाय भनेको गणेश। क्वय्ना गणेशलाई बुइना गणेश पनि भन्ने गरिन्छ।  

बुइना गणेश नाम कसरी रहन गयो भन्ने सन्दर्भमा एउटा किंवदन्ती छ। जसअनुसार साययुगमा एकपटक महादेवलाई कुष्ठरोग भएछ। भैरवको रूप लिए पनि शरीरमा कष्टपीडा भइरहयो। त्यही समयमा सानो गणेश अर्थात् बालक गणेश खेल्दाखेल्दै आइपुगेछन्। भैरवका रूप लिइरहेका महादेवले आफ्ना छोरा गणेशलाई समाई काखमा राखेछन्। 

गणेशलाई काखमा राख्नेबित्तिकै काखको दुखाई कम भएछ। यही क्रमले गणेशले जहाँ जहाँ छोयो, त्यहाँ त्यहाँ दुखाइ कम भई कुष्ठरोग निको हुँदै गएछ। तर, कम्मरमुनि दुखेको कम नभएकाले भैरव गणेशमाथि बसेछन्। गणेशले भैरवलाई बोक्नेबित्तिकै भैरवको पूरै शरीरको कष्ट निको भई कुष्ठरोगबाट मुक्त भएछन्। 

यसरी महादेवले भैरवको रूप लिइरहेका बेला कुष्ठरोग निको भएपछि त्यहीँ भैरव सिद्ध भएका हुन् भनिन्छ। चोभार गणेशको मन्दिरभित्र सन्तानेश्वर महादेव र भैरवको मूर्ति एउटै ढुंगामा रहेको छ। गणेशले भैरवलाई बोकेको हुनाले नै गणेशको नाम बुइना गणेश हुन गएको हो।

ललितपुरको थइना टोलका थइनाय गणेश र टंगल टोलका बुइनाय गणेश पनि भैरवसँगै सम्बन्धित देखिन्छन्। थइनाय शब्दले माथि बसेको गणेश भन्ने बुझाउँछ, यसको तात्पर्य भैरवमाथि बसेको गणेश भनिएको हो। त्यस्तै बुइनाय शब्दले भैरव बोकिराखेको गणेश बुझाउँछ।  

नेपालमा भएका गणेश विभिन्न दिशामा फर्केका छन्। विभिन्न स्थानमा भएका विभिन्न गणेशमध्ये अशोक विनायक, जल विनायक, चन्द्र विनायक, कार्य विनायक, कमलादी गणेशजस्ता प्रख्यात नाम चलेका गणेश अनि बनेपाका अष्टविनायक आठ गणेशका साथै धेरै गणेशका मूर्ति दक्षिणतर्फ फर्केका छन्। दक्षिण दिशालाई मंगलको स्थानको रूपमा लिइएकाले धेरैजसो गणेशका मूर्ति दक्षिण दिशातर्फ फर्काइएको भन्निछ। उत्तर दिशातर्फ फर्केका गणेशलाई भने धन–सम्पत्ति दिने देवताको रूपमा मान्दै आएको पाइन्छ ।

हिन्दू र बौद्धले गणेशलाई बुद्धि, विद्या, ज्ञान, कीर्ति ऋद्धिसिद्धि, सीप, धन–सम्पत्ति, स्त्री–पुरुष र सन्तान सुख प्राप्तिका लागि मान्दै आएका छन्। गणनापति गण अर्थात् सम्पूर्ण देवतालाई पालन गर्ने भएर सूर्य, शिव, विष्णु, ब्रह्म परब्रह्मजस्ता विभिन्न देवताका पनि गुरुको रूपमा गणेशलाई गुरु गणपति भनेर मान्दै आइएको पनि छ। गणेशलाई अँकार गणेशका रूपमा, त्यस्तै ब्रह्म गणेशका रूपमा सनातनी बौद्धिकले मान्दै आइरहेका छन्। त्यसैले गणेशलाई सर्व देवमय मानी पूजा गरिन्छ। गणेशको पूजा गर्दा सम्पूर्ण देवताको पूजा गरे समान हुन्छ ।

गणेशको मूर्ति नेवार बस्तीमा टोलैपिच्छे व्यापक रूपमा स्थापना गरिएको देखिन्छ। यसरी व्यापक रूपमा मान्दै आएको संस्कृतिका अग्रणी गणेशलाई श्रुति पुराण अनुसार ओमकारको रूपमा र ध्वनिको रूपमा मानिएको छ। जसरी ओम उच्चारण नगरी जति पनि वैदिक, तान्त्रिक मन्त्र उच्चारण गर्न सकिन्न, त्यसरी नै गणेशको पूजा नगरी अन्य देवताको पूजा गर्ने वा कार्य सञ्चालन गर्न सकिन्न। यसरी गणेशलाई ओमकारको प्रत्यक्ष मूर्ति मानिएको छ। गणेश गीतामा पनि ओम गणेश नै ब्रह्म हो भनिएको छ। ओम उच्चारण गर्दा शब्द ब्रह्म हुन जान्छ।  

सबैलाई मंगल गर्ने गणेशलाई मंगलबार पूजा गर्ने र व्रत बस्ने चलन व्यापक रूपमा चल्दै आएको छ। शास्त्रअनुसार, गणेशको उपासना गर्दा गणेशलाई मनपर्ने चतुर्थी तिथिका दिन त्यसमा पनि मंगलबार पर्ने चतुर्थी तिथिका दिन विशेष रूपमा मान्ने गरिन्छ। भाद्र शुक्ल चतुर्थीका दिन जन्म दिन भएकाले चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्नुपर्र्छ भनिन्छ। नेवारले त्यही दिन चथाःद्यः चौथी देवता पूजा गर्ने भनी गणेशलााई पूजा गर्दा चन्द्रमालाई हेरेर गर्ने चलन छ। यसो गर्दा चोरीको दोष लाग्दैन भनिन्छ ।

चतुर्थी तिथिको महिमा अनुसार जीवनमा चाहिने चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षको प्रतीकका रूपमा पनि गणेशलाई मान्ने गरिन्छ। गणेशको पूजा उपासना गर्दा चार पुरुषार्थमा सफल होइन्छ भन्ने शास्त्रीय भनाइ छ। त्यसैले पनि गणेश सबैका पूजनीय भएका छन् ।

गणेशको एउटा नाम वरदमूर्ति पनि हो। अन्य देवताको नाम वरद छैन। गणेश चाँडै प्रशन्न हुने देवता हुन्। नेपालको संस्कृति र संस्कारमा गणेशलाई वैदिक तान्त्रिक र लौकिक जुनसुकै किसिमले सबैभन्दा पहिला पूजा गरिने प्रथम पूज्यको रूपमा मान्दै आइएको छ ।

गणेशका नाम हजारौँ छन्। तर गणेशलाई विशेष गरेर विघ्न हर्ता, विघ्न विनाशक, मंगलकर्ता भनी सबैले मान्ने गर्छन्। तर गणेश आफैँ विध्नेश्वर पनि हुन्, अर्थात् विघ्नबाधा गर्ने विघ्नराज पनि हुन्। यसरी द्वैध विशेषता अर्थात् द्वैध चरित्र भएका देवता हुन् गणेश। गणेशका भक्तजनमध्ये कसैले असल कार्यका लागि भक्तिभाव गरेमा विघ्नबाधा हर्ने देवताको रूपमा प्रकट हुन्छन्।

नराम्रो कार्यका लागि अर्थात् अरूलाई दुःख दिने, अरूलाई नराम्रो चिताउने भक्तका लागि भने विघ्न बाधा गर्ने विघ्नराजको रूपमा प्रकट हुने देवता हुन्। असल चिताएर सकारात्मक रूपमा भक्तिभाव गरेमा राम्रोे फल दिने र नराम्रो चिताएमा नकारात्मक रूपमा भक्तिभाव गरेमा नराम्रो नै प्रतिफल दिने गणेशको भक्तिभाव गर्दा जहिले पनि असल भाव राखी गर्नुपर्छ। मनले सबैको भलो चिताउनुपर्छ, अनि हामी सबैको शुभमंगल हुनेछ, हामी सबैको कल्याण हुनेछ। 

प्रकाशित: ८ फाल्गुन २०७७ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App