२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नाटकको पहिलो पाना

नेपालमा नाटक र नाटक मञ्चन भन्नेबित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइहाल्छ। मास्टर रत्नदास प्रकाशलाई नेपाली रंगमञ्चको कीर्ति स्तम्भ मानिन्छ, उनको समयकै वरपर नेपालमा नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा सुरु भएको हो।  

खड्गी परिवारमा जन्मेका हुन्, रत्नदास प्रकाश। खड्गी परिवारको आफ्नै नाट्य प्रस्तुति गर्ने समूह र दल हुनुका कारण उनको रंगमञ्चीय इतिहास अलि बलियो हुनु स्वाभाविकै हो। रत्नदास प्रकाश आफैँ एक कुशल गायक र प्रस्तोता पनि भएकाले उनले मञ्चमा आफूलाई एक प्रमुख पात्रका रूपमा स्थापित गर्न सफल भए, तर उनी नाटक लेख्न सक्दैनथे। उनका समकालीनमा नाटक लेख्नेमा विशेषतः बालकृष्ण सम, गोपालप्रसाद रिमाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि देखिन्थे।  

बालकृष्ण सम आफ्नो समयमा सबैभन्दा बढी नाटक लेख्ने र मञ्चन गर्ने स्रष्टामा पर्छन्। उनको नाटक ‘मुटुको व्यथा’ ४० को दशकसम्म मञ्चन भएको इतिहास पाइन्छ, तर समका नाटक धेरै समयदेखि नेपालीमा मञ्चन भएका छैनन्।

मौलिक नेपाली नाटक नहुनुका दुई कारण स्पष्ट देखिन्छ– १) नाटक लेखनमा भन्दा चलचित्र लेखनमा बढी लेखक आर्थिक कारणले आकर्षित हुनु। २) धेरै लेखकलाई नाट्य लेखनको प्राविधिक ज्ञान वा रंगशिल्पको चेतना नहुनु। यी दुई कारणले पछि पारेको नेपाली नाट्य लेखन विधान हरेक लेखकले सोखको रूपमा वा साथीभाइ आग्रह र अनुरोधको रूपमा मात्र अवलम्बन गरेको पाइन्छ। कवि भूपि शेरचनले परिवर्तन नामक नाटक लेखे, त्यहीँ बाटो बन्द गरे। 

त्यसपछि गोपालप्रसाद रिमाल, विजय मल्ल, गोविन्द गोठालेले पनि नेपाली रंगमञ्चका निम्ति नाटक लेखे। गौरी शंकर नाट्य समुदायसित आबद्ध भएकाले रिमालमा नाटक मञ्चनसम्बन्धी प्राविधिक चेतना थियो र उनको लेखाइ त्यही अनुसार हुन्थ्यो।  

गोठाले र मल्ल दुवै एकै परिवारका थिए, यी दुवैलाई नेवारी नाटक विशेष गरेर दबू प्याखँः (डबली नाटक)को प्रभाव भएका कारण यिनले त्यही अनुसार नाटक लेखे र मञ्चन गरे।  

विजय मल्ल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव हुँदासम्म नाटक लेखिरहे। उनको पछिल्लो नाटक ‘स्मृतिको पर्खालभित्र’, ‘भूलैभूलको यथार्थ’ अनि नेवारीमा लेखिएको नाटक ‘किसी न्याइम्ह मदनमान’ आदि ४० को दशकको अन्त्यसम्म मञ्चन भएको पाइन्छ।  

गोविन्द गोठालेको नाटक ‘च्यातिएको पर्दा’ आरोहण समूहले फ्रान्सेली सांस्कृतिक केन्द्रमा सुनील पोखरेलको निर्देशनमा मञ्चन गरेको थियो। आरोहणले रिमालको नाटक ‘यो प्रेम’लाई पनि मञ्चन गरेको थियो।  

नाटककार रिमालका भाइ अभिनेता हरिप्रसाद रिमाल सांस्कृतिक संस्थानमा निर्देशकका रूपमा आबद्ध हुँदा उनले आफ्नै निर्देशनमा ‘मसान’ धेरैपटक मञ्चन गरेका थिए। मसान मञ्चन हुँदा त्यसमा सिद्धान्तराम जोशी, भुवन चन्द थापा र शुषमा शाही आदिले अभिनय गरेका थिए।  

रिमाल, सम, मल्ल बन्धु (गोविन्द मल्ल गोठाले र विजय मल्ल) पछि नेपाली रंगमञ्चका निम्ति नाटक लेख्ने साहित्यकार धेरै कम देखापरे वा साहित्यकारले नाट्य विधामा हात चलाउने कामै गरेनन्, त्यो एउटा नेपाली रंगमञ्चको ठूलो दुविधा हो।  

साहित्यकार गोपाल पराजुली र शिव अधिकारीले लेखेका नाटक प्रकाशन त भएका छन्, तर मञ्चनका निम्ति ती कृति फलामे चिउरा साबित भए।  

‘त्रासदि मुद्राहरू’का लेखक शिव अधिकारीले पछिल्लो समय (५० को दशकमै) ‘तासको जामा’ नाटक लेखेर प्रज्ञा प्रतिष्ठानमा हरिहर शर्माको निर्देशनमा मञ्चन गरे। यसपछि शिव अधिकारीका कुनै नाटक मञ्चन भएको पाइँदैन।  

अधिकारी र पराजुलीका नाटक मञ्चनका निम्ति कठिन भए पनि अर्का दुई साहित्यकार अशेष मल्ल र सरुभक्त दुवै रंगमञ्चसित आबद्ध भएका कारण नाटक लेखन र निर्देशनमा सक्रिय देखिए र यिनका कामले सफलताको स्वाद पनि दिलाए। अशेष मल्लको ‘नाटकको नाटक’, ‘हामी वसन्त खोजिरहेछौँ’, ‘अतिरिक्त आकाश’ सफल मानिन्छन् भने सरुभक्तका नाटक कोलाज, ताण्डव नृत्य र अजम्बरी भ्वाइलेन पनि चर्चामा रहे।  

यी दुवै नाटककार आफैँ पनि अभिनय गर्ने हुनाले यिनको नाटकको सार्थकता भव्य रह्यो। तर, यिनका अग्रज साहित्यकार डा. ध्रुवचन्द्र गौतमका नाटक ‘भष्मासुरको नलीहाड’ र ‘त्यो एउटा कुरा’ मञ्चन त भए, तर ठीकसित हुन सकेन कि भन्ने प्रश्न बाँकी छ। गौतमकै नाटक ‘भष्मासुरको नलीहाड’बाट अभिनय करिअर सुरु गरेका सरोज खनाल अहिले नेपाली चलचित्रका स्तम्भ भइसके।  

नाटक लेखकका रूपमा ढिलो गरी आए पनि साहित्यकार मोहनराज शर्माले आफ्ना तीन नाटक ‘जेमन्त’, ‘यमा’ र ‘बैकुण्ठ एक्सप्रेस’मा ख्याति कमाए। उनका सबै नाटकलाई मञ्चन गर्ने सौभाग्य ‘जेनाप’लाई मिल्यो भने यी सबै नाटक अभिनेता रवीन्द्र खड्काले निर्देशन गर्ने मौका पाए। रवीन्द्र खड्काको निर्देशनमा मञ्चन भएका यी नाटकमार्फत उज्ज्वल घिमिरे, सपना मल्ल प्रधान, मुनिन्द्र रिमाल, विनिता भट्टराई, ममता रेग्मी चर्चामा आए।  

मोहनराज शर्माको नाटक ‘जेमन्त’को सफल मञ्चनपछि त्यसकै नामबाट जेनाप अर्थात् जेमन्त नाट्य परिवार स्थापना भएको हो।  

मोहनराज शर्मा, अशेष मल्ल, सरुभक्त नाटक लेखनमा आउनुअगाडि नाटक लेखेर र निर्देशन गरेर चर्चामा आएका थिए, मनबहादुर मुखिया।  

रंगमञ्चमा दार्जिलिङको प्रभाव  

पूर्वी नेपालको दोलखाको चरिकोटमा जन्मेका मनबहादुर मुखियाले दार्जिलिङमा अध्ययनका क्रममा लेखेको नाटक ‘अनि देउराली रुन्छ’ पूर्वी नेपालकै जमिनदारी प्रथामा आधारित थियो। मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ भारतको दार्जिलिङ र कलकत्तामा सफल मञ्चनपछि नेपालमा महेन्द्र पुलिस क्लब र प्रज्ञा भवनमा मञ्चन हुँदा नेपालीको जनजीवनलाई अस्तव्यस्त बनाएको थियो, तीन कारणले– १) नेपालमा विद्यमान सामन्ती शोषक परम्परालाई काठमाडौंसित नजिकबाट चिनाएको थियो। २) नाटकमा प्रयोग हुने गीत–संगीतले सामान्य जीवनलाई रोमाञ्चित बनाएको थियो। ३) नाटक प्रदर्शनका बेला टिकटको अभावले काठमाडौंवासीलाई बिहानै उठेर टिकटको लाइनमा बस्न बाध्य बनाएको थियो।  

नेपाली नाटक मञ्चनको इतिहासमा ‘अनि देउराली रुन्छ’को सफलतालाई आजसम्म कुनै नाटकले भेट्न सकेको छैन। यस नाटकका गीतलाई संगीतकार कर्म योञ्जनबाहेक दुर्गा खरेल, कुमार सुब्बाले गाए। दावा ग्याल्मो अनि कलाकार बद्री खरेल, मेनुका प्रधान, नीना प्रधान, किरण ठकुरी आदि पनि लोकप्रिय भए।  

‘अनि देउराली रुन्छ’पछि काठमाडौं मञ्चित अर्को नाटक ‘रातको प्रथम प्रहर’ले पनि नाटकको ठूलो क्षितिज खोलिदियो। प्रताप सुब्बाद्वारा लिखित एवंं निर्देशित यस नाटकले तहल्का मच्चायो। यसको संगीत र प्रकाश व्यवस्थापनले नेपाल र नेपालमा नाटक गर्ने नाट्यकर्मीलाई विशेष प्रभाव पा¥यो। यसपछि यस शैलीका नाटक काठमाडौंमा धेरै भए।  

सरकारी दानापानीमा चलेको प्रज्ञा प्रतिष्ठानलाई त्यो बेला शाही तबेला भनिन्थ्यो। प्रज्ञा प्रतिष्ठान पनि त्यतिबेला जागरुक भएर सत्यमोहन जोशीको लेखनमा ‘जब घाम लाग्छ’ नाटक मञ्चन गर्न तम्सियो। नाटककार जोशी स्वयंले आफ्नो नाटक लेखनको रचनागर्भमा ‘अनि देउराली रुन्छ’को प्रेरणाले नै नाटक लेखेको हुँ भनेका छन्।  

नाटककार मनबहादुर मुखिया आफैँ नाटकका अभिनेता एवं निर्देशक भएका कारण उनले धेरै मञ्चनयोग्य नाटक लेखेका छन्, जसमध्ये फेरि इतिहास दोहोरिन्छ, पैँचो मागेको विश्वास, हराएका क्षितिजहरू, असत्यम् अशिवं असुन्दरम् आदि हुन्।  

नेपाली नाट्य लेखनमा अलि बढी नै योगदान पुर्‍याएका मनबहादुर मुखियाले पछि पद्मकन्या कलेजका निम्ति ‘क्याकटस’ नाटक लेखेर मञ्चन गरे। ४० को दशकमा मञ्चित यस नाटकमा एलिजा ढकाल नामकी अभिनेत्री निकै सम्भावना बोकेर आएकी थिइन्, तर प्रतियोगितामा उनी मूल सडककी आमा नामक नाटककी नायिका सूर्यमाला शर्मासित पराजित भएपछि अभिनयबाट हराइन् वा छाडिन्।  

नाटक लेखनमा मनबहादुर मुखियापछि उनीसित रंगकर्म गर्ने अर्का अभिनेता पी अर्जुन (अर्जुन प्रसाद) ले नेपाली रंगकर्मका निम्ति धेरै नाटक लेखे। उनका केही नाटक काठमाडौंको सांस्कृतिक संस्थानमा मञ्चन पनि भए, जसमध्ये ‘हाँस्दै जल्नुपर्छ’ एक प्रमुख नाटक हो। पी अर्जुनले यसबाहेक भाषा आन्दोलनमाथि मूक नाटक ‘जिब्रो’ पनि लेखे।  

नाटक लेखनमा पी अर्जुनको अतुलनीय योगदान छ। पी अर्जुनबाहेक दार्जिलिङमा नाटक लेख्ने अन्य लेखकमा किरण ठकुरी, सिके श्रेष्ठ, मोहन पुकार, नन्द हाङखिम, नर्देन रुम्बा आदिको नाम अगाडि आउँछ।  

नर्देन रुम्बाको नाटकको गीत ‘शुभकामना खालिखालि दिनेलाई दानी’ निकै लोकप्रिय भयो। किरण ठकुरीको नाटक कालो गुलाफको गीत ‘सहरभित्र केको हल्ला’ पनि पछिसम्म चर्चामा रह्यो।  

नाटकको मञ्चन : एक समस्या  

नेपाली नाटक छापिनका लागि लेखिने र मञ्चनका लागि लेखिने गरी दुई धारका शैली भए। वासु शशि, ईश्वरवल्लभ, शंकर लामिछाने, ध्रुवचन्द्र गौतम, शिव अधिकारी, गोपाल पराजुली आदिका नाटक टेक्स्ट बुकमा सीमित भए। विजय मल्ल, गोविन्द गोठाले, सत्यमोहन जोशी, मोहनराज शर्मा, अशेष मल्ल, बद्री अधिकारी, प्रकाश सायमी, दीपक आलोक, मुकुन्द श्रेष्ठ, मोहन निरौला आदिका नाटक मञ्चनका लागि धेरै लेखिए, तर पुस्तकका रूपमा प्रकाशित हुन सम्भव भएन।  

नेपाली रंगमञ्चमा नाटक लेखन र मञ्चनको इतिहासमा अलग्गै प्रभाव पार्ने एक कुशल रंगकर्मी एवं लेखक दुर्गालाल श्रेष्ठका नाटक चर्चा हुनुपर्ने जति भएन। उनी नेपाली र नेपालभाषा दुवैमा दख्खल राख्थे।  

श्रेष्ठले लेखेको नाटक ‘त्याग’मा अभिनय गरेर गायक नारायणगोपालले २०१३ सालमा रंगमञ्चमा प्रवेश गरेका थिए भने श्रेष्ठकै नाटक ‘रामलालको संसार’मा अभिनय गरेर मदनदास श्रेष्ठ, हरिहर शर्मा अभिनेता भएका थिए भनेर स्विकार्न सकिन्छ। नाटककार दुर्गालाल श्रेष्ठलाई पछि कवि र गीतकार व्यक्तित्वले छोप्दै लगेपछि उनी नाटककारको रूपमा हराए। उनीजस्तै अर्का साहित्यकार पद्मरत्न तुलाधर पनि ‘जागिरबाट निकालिएको मान्छे’ नामक एउटै नाटकबाट हराए, यद्यपि तुलाधरले नेपाली र नेपालभाषामा धेरै प्रहसन पनि लेखेका छन्।  

काठमाडौं रंगमञ्चमा पद्मरत्नबाहेक श्रीकृष्ण अणु, गणेश सायमी, युधीर थापा, प्रचण्ड मल्ल आदिले नाटक लेखेका छन् तर थोरै। प्रचण्ड मल्ल लिखित नाटक ‘इतिहासको कालो पाना’ मञ्चन हुने तयारीमा हुँदाहुँदै तत्कालीन अञ्चलाधीश कार्यालयले स्वीकृति नदिएपछि ब्यान्ड गरिएको थियो, यो पछि मञ्चन हुन सकेन। २०४१ मा अभिनेता नीर शाहले निर्देशन गर्ने उद्देश्यले लेखिएको यो नाटक प्रचण्ड मल्लको अहिलेसम्मको अन्तिम नाटक मान्न सकिन्छ।  

प्रचण्ड मल्लले पछि सुमन खरेल लिखित नाटक आघात निर्देशन गरे। बिबिसी नेपाली सेवामा सञ्चारकर्मीका रूपमा कार्यरत खरेलले आघातबाहेक अनायास, मलाई माफ गरिदेऊ जस्ता नाटक पनि लेखेका छन्।  

सुमन खरेलका समकालीन नाटककारमा बद्री अधिकारीलाई लिन सकिन्छ। अधिकारीले नेपाली रंगमञ्चका निम्ति धेरै सार्थक नाटक लेखे, जसमध्ये ‘प्रतिभा आकाश माग्छे’ एक प्रमुख नाटक हो, जुन नाटकबाट अभिनेत्री सूर्यमाला शर्माले डेब्यु गरेकी थिइन् भने मंगला श्रेष्ठ (अहिलेका चर्चित गायक योगेश्वर अमात्यकी पत्नी) ले पनि यसै नाटकबाट मञ्चमा प्रवेश गरेकी थिइन्।  

अधिकारीले यसबाहेक ‘मूल सडककी आमा’, ‘यसकारण रिसाउँछ कुमार’, ‘मान्छे मान्छेभित्रको बस्तीमा’ आदि लेखेका छन्। नाटक लेखन र निर्देशनमा पोख्त अधिकारीले नेपाली मञ्चनका निम्ति धेरै काम गरेका छन्।  

बद्री अधिकारीबाहेक उनका समकालीन दीपक आलोकले ‘सनही रोइरहेछ’, ‘सेतो गुलाफ’जस्ता नाटक लेखे भने उनका अर्का सहयात्री मुकुन्द श्रेष्ठले पनि केही नाटक लेखे, तर उनी पछि आफ्ना मौलिक नाटकमा भन्दा हिन्दीबाट अनुवाद गरिने नाटकमा सक्रिय भए।  

मुकुन्द श्रेष्ठले रमेश मेहताको ‘अन्डर सेक्रेटरी’ र सुशीलकुमार सिंहको ‘चार यारोंका यार’लाई पनि नेपालीमा अनुवाद गरे।  

हिन्दी नाटकलाई नेपालीमा अनुवाद गरेर नेपालीमा प्रस्तुत गर्ने क्रममा मुकुन्द श्रेष्ठबाहेक मोहन निरौला, जयन्त पौड्याल, शमा श्रेष्ठ आदिको ठूलो योगदान छ। त्यसै गरी आर्थर मिलरको अंग्रेजी नाटक ‘अल माई सन्स्’लाई वासु शशिले नेपालीमा अनुवाद गरेका छन्, उनी कुनै समय मिलरका नाटकका आधिकारिक अनुवादक मानिन्थे।  

नेपाली रंगमञ्चमा धेरै अनुदित नाटक मञ्चन गर्ने रंगकर्मीका रूपमा परिचित रमेश बुढाथोकीले नाटककारका रूपमा नयनराज पाण्डे, मीना श्रेष्ठ, अविनाश श्रेष्ठ, मोहन निरौलालाई अगाडि सारेको देखिन्छ।  

नेपाली नाटकका अनुवादको लहर  

नेपालका रंगमञ्चमा सक्रियता बढेपछि विशेषतः काठमाडौंमा सम्पन्न हुने नाटक प्रतियोगिता बढ्न थाले। नेपाली नाटक लेखिन र मञ्चन हुन थाल्यो। नाटक मञ्चन हुनुपर्ने परिस्थिति बनेसँगै मौलिक नाटकको अभाव देखिएपछि रंगकर्मीले हिन्दी, मराठी, गुजराती, जर्मन, रुसी, फ्रान्सेली आदि नाटक अनुवाद गरेर मञ्चन गर्न थाले।  

जर्मन भाषाका प्रसिद्ध लेखक बर्टोल्ट बे्रख्तको नाटक ‘नेपालमा अब बाँकी नै के छ र’ नामबाट २०३९ मा मञ्चन भयो। उनकै नाटक ‘सेँचुआको असल मान्छे’ डबली नाटकका रूपमा आरोहण समूहबाट सुनील पोखरेलको निर्देशनमा प्रस्तुत गरियो, २०४६ मा। यसपछि आरोहण समूहले आरोहण शनिबार सुरु गरेपछि मोहन राकेशको असारको एक दिन, अल्बेयर क्यामुको ‘द आउट साइडर’, सात्र्रको ‘मैन विदाउड स्याडोज्’ आदि प्रस्तुत गरिए।  

मञ्चनकै हिसाबले रमेश बुढाथोकीले मराठी लेखक विजय तेन्डुलरको ‘गिधाडे’, ‘शान्तता कोर्ट चालू आहे’, ‘अन्जी’ आदि मञ्चन गरे भने गुजराती लेखक अनिल बार्वेको ‘थ्याङ्क यु मिस्टर ग्ल्याड’लाई पनि मञ्चावतरण गराए।  

रंगकर्मी बुढाथोकीले नै बंगाली लेखक बादल सरकारको नाटक ‘सारी रात’लाई नाटक अनुवाद गरेर प्रस्तुत गरे।  

अनुवाद नाटक प्रस्तुत गर्ने नाट्य समूह पनि अग्रपंक्तिमा पर्छ, यस समूहले हिन्दी नाटककार रमेश मेहताका धेरै नाटक अनुवाद गरेर प्रस्तुत गरेको छ। मौलिक नाटकमा भने ‘अँध्यारो उज्यालो’ पर्छ।  

नेपालमा अनुवाद नाटक प्रस्तुत गर्ने क्रम अझैसम्म जारी छ, अहिलेका सक्रिय रंगकर्मी अनुप बराल, दिया मास्के, घिमिरे युवराज पनि अनुवाद नाटक गर्नमा तल्लीन देखिन्छन्। सम्भवतः यो नेपाली मौलिक नाटकको अभाव नै हो भन्ने बुझिन्छ।  

मौलिक नेपाली नाटक नहुनुका दुई कारण स्पष्ट देखिन्छ– १) नाटक लेखनमा भन्दा चलचित्र लेखनमा बढी लेखक आर्थिक कारणले आकर्षित हुनु। २) धेरै लेखकलाई नाट्य लेखनको प्राविधिक ज्ञान वा रंगशिल्पको चेतना नहुनु।  

यी दुई कारणले पछि पारेको नेपाली नाट्य लेखन विधान हरेक लेखकले सोखको रूपमा वा साथीभाइ आग्रह र अनुरोधको रूपमा मात्र अवलम्बन गरेको पाइन्छ। कवि भूपि शेरचनले परिवर्तन नामक नाटक लेखे, त्यहीँ बाटो बन्द गरे।  

कवि गीतकार चेतन कार्कीले ‘आत्म बेचेको छैन’ नाटकपछि चलचित्रकर्मतिर संवाद लेखन र पटकथा लेखनमा आफूलाई एक्सपर्ट बनाए, त्यसपछि उनको रंगमञ्चमा फर्किने काम भएन।  

अरू त अरू, अनि ‘देउराली रुन्छ’बाट ख्याति कमाएका मनबहादुर मुखिया दार्जिलिङबाट काठमाडौं आएपछि ‘क्रसमा टाँगिएको जिन्दगी’पछि मञ्चमा फर्किन सकेका छैनन्, उनलाई पछ्याएर आएका रघु शाह पनि ‘हराएका क्षितिजहरू’पछि नाट्य लेखनमा देखिएका छैनन्। तर, साहित्यिक क्षेत्रबाट नाट्य लेखनमा आएका रमेश केसी र विप्लव ढकालले फेरि नयाँ नाटक लेख्न सकेको देखिँदैन।  

नयाँ नाटकको अभावमा तड्पिरहेको नेपाली रंगमञ्च विभिन्न ढपका र शैलीका आत्म कथात्मक नाटक गरेर अल्झिरहेको बेला नयाँ बाटो वा शैली खोजिरहेको अवश्य हो। तर, नेपाली रंगमञ्चका निम्ति नयाँ नाटक जरुर लेखिनुपर्छ। नाटक लेख्नका लागि चाहिने शिल्पज्ञान वा चेतना, उपन्यास वा कथा लेखेजस्तो सजिलो वा सहज होइन भन्ने थाह हुँदाहुँदै पनि नेपाली भाषामा नाट्य लेखनका नयाँ कला आउन सकेको छैन।  

अन्त्यमा एउटा टिप्पणी, चीनमा आर्थर मिलरको नाटक ‘डेथ अफ सेल्सम्यान्’ मञ्चन हुँदा एउटा प्रश्न उठेको थियो। अमेरिका जस्तो पुँजीवादी देशका लेखक आर्थर मिलरको नाटक ‘डेथ अफ सेल्सम्यान्’ कसरी सफल भयो ? जवाफमा त्यस नाटकका लेखक मिलरले भनेका थिए, ‘यो मानव मनको कुरा हो, राजनीतिको होइन।’  

हाम्रो नाटक लेखनको इतिहास पनि ठीक यहीँ अड्केको छ।

प्रकाशित: १७ माघ २०७७ ०३:२२ शनिबार

नाटकको पहिलो पाना