२५ श्रावण २०७९ बुधबार
कला

दिव्योपदेशको मार्गदर्शन

विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरूमा विभाजित भएका थिए। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो।

‘विशाल–नेपाल’– साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो। विशाल नेपालको सिर्जना हुनुअगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना हिन्दू राज्य थिए।

पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा तराईका सेनवंशी राज्यमाथि विजय गरेर चौदण्डी, विजयपुर हुँदै पूर्वमा टिष्टासम्म र त्यसपछि बाइसी, चौबिसी राज्यहरू एकीकृत भर्ई पश्चिम कुमाउ, अलमोडा, गडवाल, गंगोत्री हुँदै काँगडासम्मका लगभग ५४ जति स–साना हिन्दू राज्यहरू एकीकृत भएर राष्ट्रिय एकीकरणको समयदेखि नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्यको रूपमा स्थापित हुन सकेको थियो। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हिमवतखण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको क्षेत्र भरतखण्ड हो। यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको अवस्थामा पृथ्वीनारायण शाह जस्तो सपूत गोर्खामा नजन्एिका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने थियो।

‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गराइरहेको छ। स्मरणीय छ कि नेपालको एकीकरण हुनुभन्दा अगाडि जर्मन, इटाली सय वर्ष पछाडि एकीकृत भए। सय वर्षपछि मेजी रेस्टोरेसन भएर जापान आधुनिक युगमा प्रवेश गर्‍यो। अमेरिका बेलायती साम्राज्यको अधीनमा थियो। नेपालको एकीकरण हुनुभन्दा २०/२५ वर्षपछाडि अमेरिका स्वतन्त्र हुन सकेको थियो। त्यो बेलाको अवस्थामा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट बेलायती साम्राज्यले यस क्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो। चन्द्र–सूर्य अंकित झन्डा फहराएर पृथ्वीनारायण शाहबाट हिमवत्खण्ड नेपालको अस्मिता र मौलिकतालाई जीवन्त राख्ने कार्य भएको हो।

पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए, ‘यो राज्य दुई ढुंगाको तरुल जस्तो रहेछ। चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध)राख्नु, दषिनको समुन्द्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ। देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्।’  

पृथ्वीनारायण शाहको कति दुरदर्शी थिए भन्ने अहिले दक्षिणको चलखेलबाट स्पष्ट हुन्छ। राष्ट्रियताको मामिलामा नेपालीहरू अत्यन्त सचेत छौं। दुःखको कुरा छ कि कथित जनयुद्धको नाममा पृथ्वीनारायण शाहको सालिक भत्काउने कुकृत्य गरियो। राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती हटाउने काम भयो। नेपालको एकीकरण भएको बेलादेखि नै नेपाललाई दक्षिणतर्फबाट अनेकौँ षड्यन्त्र अपनाएर थिचोमिचो गर्ने कार्य हुँदै आएका थिए। तथापि हामी नेपालीले सगौरव आफ्नो सार्वभौम पहिचान बचाउन समर्पित रहिरह्यौँ। पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएका थिए। नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौँ जातीय भाषाहरूको बीचमा अन्तरभाषाको रूपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीको साझा सरकारी भाषाको रूपमा स्वतः रूपान्तर भयो।  

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यस क्षेत्रका तमाम हिन्दू–बौद्धलाई फिरंगीहरूको विरुद्ध संगठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरू रातिराति भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाइएको थियो। कानफट्टा योगीहरूले त्यसबेला शंकास्पद फिरंगी र अन्य विदेशी गुप्तचरहरूको कहीँकतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे। फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काँगडासम्म कायम नै छ। त्यस्तै, घर घरबाट हरेक नरनारीहरूमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो। खाँडोलाई राष्ट्रिय गानको रूपमा मेला वा अन्य जागृत स्थल लगायत विवाहमा कण्ठस्थ पाठ गर्ने गरिन्थ्यो। अध्यावधि नेपालीले विवाहको शुभलगनका बेला खाँडो जगाउने गर्छन्। राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि सिंहासनमा आसीन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवित कुमारीको हातको टीका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए। यस कुराले नेपाल अधिराज्यका सम्पूर्ण धर्म, जाति र यस क्षेत्रको परम्परालाई शिरोधर गर्न सकेको बोध गराउँछ। यसरी भावनात्मक रूपले पृथ्वीनारायण शाहले साम, दाम, दण्ड भेदको नीति लिएर तमाम जातजातिलाई राष्ट्रिय एकीकरणको महायक्षमा समाहित गराई हिन्दू र बौद्धको यो आधिकारिक थलोको रक्षा गरेका थिए।  

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, कामी, दमाई, सार्की, गाइने आदि सम्पूर्ण जाति, धर्म र सम्रदायको बीच सधैँ समान सद्भाव राख्ने गरेकाले यस क्षेत्रका सबै थरी जातिहरू पृथ्वीनारायण शाहसँग अत्यन्त खुसी थिए। नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछिको सन्दर्भमा इमानसिंह चेम्जोङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि ‘वि.सं.१८३१ साउनमा हामी किरातवंश सत्धर्ममा मन राखी गोर्खा वंशसँग एकै वंश भई मिल्नेछौँ। साथै कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ ? भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खावंशका हौँ भनी जवाफ दिनेछौँ।’  

यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैतीजस्तो भएर शासक पक्षबाट पेलिएर, आँसुका धारा बगाएर खुम्चिएर बस्नुपरेन। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातिको रीतिथिति, संस्कृति, धर्म, भाषा र वेशभूषालाई नेपालकै साझा सम्पत्तिको रूपमा ग्रहण गरेर आफूले जितेका राज्यमा ‘जग्गा माथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरूका जनतामा अन्तुष्टि थिएन।  

तर कतिपय लेखक भन्छन्, पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए। तर त्यो गोर्खा राज्यको विस्तार नभएर हिवतखण्डका क्षेत्रका स–साना हिन्दूराज्यकहरूको एकीकरण नै थियो। गोर्खा, लमजुङ, तनहुँ, कास्की, पाल्पा, बाइसी, चौबिसी, मकवानपुर, काठमाडौं ललितपुर भक्तपुर आदि सबै हिन्दूराज्यहरूको अवस्था अत्यन्त नाजुक भएको र अंग्रेजले यस क्षेत्रमा आँखा गाडेर आक्रमण गर्ने अवस्था थियो। विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो। त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए। उता इस्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नाश गराएर इसाई धर्म लाद्न हिन्दूहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अनेकाँै अत्याचार फिरंगीहरूको देखेर हिमवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दूराज्यहरूलाई एकीकरण गर्ने जागृत गरायो।  

त्यसैले नेपालको एकीकरण गर्ने उद्देश्यबाटै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसनमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए। त्यही कारण नेपालको एकीकरणपछि नेपालको हिन्दू बौद्ध बीचमा धर्म–कर्म नमिलेता पनि मुसलमान र हिन्दूहरू बीचमा कहिले असामाञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन्। तर इसाईहरू पृथ्वीनारायण शाहसँग सन्तुष्ट छैनन्। किनकि उपत्यका विजय गरिसकेपछि पृथ्वीनारायण शाहबाट काठमाडौं उपत्यकाबाट इसाईहरूलाई धपाएका थिए। त्यही डाहले इसाईहरू पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राख्छन्। तर राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हामी नेपालीका गौरव हुन्। विशाल नेपालको एकीकरण भएको अवस्थामा पृथ्वीनारायण शाहको देहावसानपछि पनि नेपाली सेनाको मनोबलमा कुने कमी आएको थिएन। वि.सं. १८४९ चैत्र शुक्लमा नुवाकोट भैरवीको ताम्रपत्रमा उल्लेख वाक्यांश ‘भैरवीको ठूलो भक्तिभावले असलबुद्धि प्रकट भएका यी बहादुर शाहले यी बालक राजालाई काखमा राखी चलाएको बेलामा गंगा साँध लागेको’ ले पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको निर्माणमा वीरताको चित्रण हुन्छ।

तसर्थ वीरता र सार्वभौम स्वतन्त्रताको इतिहास बोकेको नेपालमा हामी जुनसुकै विचारधारामा विभाजित भए पनि हामी सबैको सहमतिको केन्द्र पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई बनाउन सक्नुपर्छ। पृथ्वीनारायण शाहले भाइभारदार भेला गरेर नीति निर्देशन गरेका थिए। तिनै नीति निर्देशनहरू संकलित रूपमा प्रकाशित विचारहरूलाई दिव्य उपदेश भनिन्छ। तिनै दिव्य उपदेशहरूलाई राज्यले सिद्धान्तको रूपमा लागु गर्न सकेमा त्यही नै नेपालको सर्वोत्तम मार्गदर्शन हुन सक्छ।

प्रकाशित: २५ पुस २०७७ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App