१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

२००७ पछिको प्रगतिवादी साहित्य र समाजमा यसको प्रभाव

राणा शासन विरोधी सङ्घर्ष, विश्वमा स्वतन्त्रता, समानता, सामाजिक न्यायका निम्ति चलेका आन्दोलन, साम्राज्यवाद, उपनिवेशवाद विरोधी सङ्घर्ष, अक्टुबर क्राान्ति, नेपाल कम्युनिष्ट पार्टीको स्थापना एवम् कम्युनिष्ट साहित्यको प्रचार, नेपाली समाजमा आएको राजनीतिक, सामाजिक–सांस्कृतिक जागरण, नेपाली साहित्यमा रहँदै आएको देशभक्तिको भावना, सामाजिक रूपान्तरण र विभेद विरुद्धको चेतनाले प्रगतिवादी साहित्य लेखनका निम्ति पृष्ठभूमिका रूपमा काम गरेका थिए ।  

२००८ सालदेखि नेपालमा प्रगतिवादी साहित्य लेखिन सुरू गरेको हो । विद्रोही र परिवर्तनमुखी चेतनाका रचना अलि पहिलेदेखि लेखिन थालेका थिए । गोपालप्रसाद रिमाल, ह्रदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिका रचना यसका उदाहरण हुन् । २००८ सालमा ‘भन्ज्याङनिर’ कविता सङ्ग्रह प्रकाशित भयो । कृष्णचन्द्रसिंह प्रधानको यस कृतिलाई पहिलो प्रगतिवादी कृतिका रूपमा लिइन्छ । २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भयो । प्रगतिशील लेखक सङ्घमा साहित्य सम्बन्धी प्रगतिवादी मान्यतालाई स्वीकार गर्ने लेखक मात्र नभएर अलि खुकुलो विचार राख्ने र जनपक्षीय रचना लेख्ने रचनाकार पनि थिए ।

साहित्यको समाजमा गहिरो प्रभाव पर्छ । यसको प्रभाव बहुआयामिक हुन्छ । जीवन र समाजलाई गहिरो गरी प्रभावित गर्ने कला माध्यमका रूपमा यसलाई लिइन्छ । साहित्यले यस्तो भूमिका प्राचीन समयदेखि सम्पादन गर्दै आएको छ । साहित्यबाट आनन्द मात्र प्राप्त हुन्न, ज्ञान, विचार, शिक्षा र दिशा पनि प्राप्त हुन्छ । साहित्यको सौन्दर्य जीवन र समाजलाई प्रभावित एवम् परिवर्तन गर्ने यसको क्षमतामा अन्तर्निहित रहेको छ । साहित्य पढेपछि प्राप्त हुने आनन्द यसको सौन्दर्यात्मक पक्षसँग जोडिएको छ ।  

सौन्र्यात्मक पक्ष विचार, संज्ञान, शिक्षा, अनुभव, संवेदना, कल्पना र यिनको अभिव्यक्तिका निम्ति प्रयोग हुने कला उपकरणहरूसँग सम्बन्धित छ । सौन्दर्य र आनन्द विचार र संज्ञान निरपेक्ष हुँदैनन् । साहित्यमा विविध विचार र बाद रहँदै आएका छन् । साहित्य विचारधारा मुक्त्त कहिल्यै रहेन र आज पनि छैन । यसको अर्थ साहित्य विचारधाराको पर्याय हो भन्ने होइन । साहित्यले समाजलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा मूलतः यसको विचार/भावमा भरपर्छ । साहित्यले समाजलाई पार्ने प्रभाव सकारात्मक र ऊध्र्वगामी नै हुन्छ भन्ने छैन । त्यो पश्चगामी, यथास्थितिवादी, नकारात्मक र जीवन विरोधी पनि हुन सक्छ । परिवर्तनलाई रोक्न, निरङ्कुशतालाई जोगाउन, जीबन विरोधी चिन्तनको प्रवर्धन गर्न र मनुष्यको कला एवम् सौन्दर्य चेतनालाई विकृत गर्न पनि साहित्यको प्रयोग गरिदै आइएको छ ।

प्रगतिवादले साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई केन्द्रमा राख्छ । आर्थिक–भौतिक जीवनसँग साहित्यको सम्बन्ध, यथार्थवोध र प्रतिविम्बन, वस्तु र रूप, प्रयोजन, प्रतिबद्धता र पक्षधरता, नव निर्माणमा साहित्यको भूमिका, सौन्दर्य र यसका वस्तुगत आधार, कला मूल्य आदि जस्ता विषयमा प्रगतिवादले राख्ने मान्यताले नै यसलाई साहित्यका अन्य धाराबाट छुट्याउँछन् । 

सामाजिक यथार्थको विशिष्ट प्रतितिम्बन, विभेद र उत्पीडनका समस्त रूपहरूको अन्त्यको चाहना, देशभक्तिको भावना, सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवादको विरोध, स्वतन्त्रता, समानता र सामाजिक न्यायको प्राप्ति, वर्गीय उत्पीडनको विरोध,वर्गसङ्घर्षको समर्थन,  समतापूर्ण समाज निर्माणको चाहना, भूमण्डलीकरण, बजारवाद र उपभोत्तावादको आलोचना, सङ्घर्ष, बलिदान र परिवर्तनका स्वप्नहरूको अभिव्यक्ति, मानवीय गरिमामाथिको आक्रमणको प्रतिवाद, अन्यायपूर्ण युद्धको विरोध आदि प्रगतिवादी साहित्यका विशेषता रहँदै आएका छन् ।  

प्रगतिवादी नेपाली साहित्यमा पनि यिनै विशेषता पाइन्छन् । सात दशकभन्दा लामो समयावधिमा लेखिएको प्रगतिवादी नेपाली साहित्यले प्रगतिवादी साहित्य सिद्धान्तका आधारभूत मान्यतामा अडिएर नेपाली समाज, त्यसका स्वप्न र सङ्घर्षलाई अभिव्यत्ति दिएको छ । प्रगतिवादी साहित्यमा नेपाली समाजको विभिन्न कालखण्डको यथार्थको कलात्मक अभिव्यञ्जना पाउन सकिन्छ ।

नेपाली साहित्यको प्रभाव नेपाली समाजमा गहिरो गरी पर्दै आएको छ । प्रगतिवादी धाराका रचनाले मात्र होइन अन्य धाराका रचनाले पनि समाजलाई प्रभावित गरेका छन् । प्राथमिककालीन वीर र भक्ति साहित्यले समाजलाई प्रभावित गरेका हुन् । भक्ति साहित्यको प्रभाव अझ बढी परेको हो । भानुभक्तको रामायण यसको उदाहरण हो । भानुभक्तको रामायण पढ्नेको सङ्ख्या आज पनि ठूलै छ । जोसमनी सन्त कविका रचनाले पनि समाजलाई प्रभावित गरेका हुन् । माध्यमिक कालका शृङ्गारिक रचनाको प्रभाव पनि समाजमा पर्‍यो । यस कालको उत्तराद्र्धतिरबाट लेखिन थालेका सुधार र जागरणमुखी रचनाले समाजलाई अझ गहिरो गरी प्रभावित गरे । राणा शासन विरोधी चेतनाको निर्माणमा यस्ता रचनाको महत्वपूर्ण भूमिका रह्यो ।  

नेपाली साहित्यको आधुनिक युगको आरम्भसँगै साहित्य समाजसँग अझ गहिरो गरी जोडियो र यसको गहिरो प्रभाव पर्‍यो । आधुनिक युगको आरम्भपछि साहित्यमा विविध धारा र प्रबृत्ति देखिन सुरु गरे । समाजमा साहित्यका सबै जसो धारा र प्रबृत्तिको प्रभाव पर्ने भए पनि प्रमुख प्रश्न कस्तो प्रभाव पर्छ र त्यसले समाजलाई कतातिर डोर्‍याउँछ भन्ने हो । साहित्यले समाजलाई पछिल्तिर फर्काउन, यथास्थितिमा राख्न र अघिल्तिर डोर्‍याउन पनि भूमिका खेल्दै आएको छ । साहित्य परिवर्तनको हतियार पनि बनेको छ, निरङ्कुशताको हतियार पनि ।  

नवीन चेतना निर्माणको माध्यम पनि बनेको छ चेतनाको भ्रष्टीकरणको पनि । नेपाली समाजमै यसलाई नियाल्न सकिन्छ । नेपाली साहित्यको जनमुखी एवम् प्रगतिवादी धाराका रचनाले नेपाली समाजलाई बदल्न र अघिल्तिर डोर्‍याउन नवीन चेतना, उर्जा, प्रेरणा र साहस प्रदान गर्दै आएका छन् ।

प्रगतिवादी स्रष्टाले साहित्यका सबैजसो विधामा कलम चलाएका छन् । फुट्कर कविता सबैभन्दा बढी लेखिएको छ । सबैभन्दा बढी कविता सङ्ग्रह प्रकाशित छन् । गीतिकाव्य, खण्डकाव्य, महाकाव्य लेखिएका छन् । कवितापछि सबैभन्दा बढी कलम चलाइएको विधा आख्यान हो । निबन्ध र नाटकमा पनि कलम चलाइएको छ । नाटक तुलनात्मक रूपमा कम लेखिएको छ । समालोचनाको क्षेत्रमा पनि प्रशस्त काम भएको छ र निकै कृति प्रकाशित छन् । अहिलेसम्म विभिन्न विधाका गरेर कति कृति प्रकाशित भए भन्ने भरपर्दो तथ्याङ्क नभए पनि सयौँ कृति प्रकाशित भएका छन् भन्न हिचकिचाउनु पर्दैन । तीसको दशकपछि सबैभन्दा बढी कृति लेखिएका छन् । यसै अवधिदेखि साहित्य सम्बन्धी संस्थागत गतिविधि पनि बढे । पञ्चायती कालखण्ड सृजना र संस्थागत गतिविधिका दृष्टिले अनुकूल थिएन ।  

प्रकाशित कृति स्तरका दृष्टिले उच्च, मध्यम र कमजोर रहेका छन् । उच्च कृतिको प्रभाव समाजमा बढी परेको छ र यसो हुनु स्वाभाविक पनि छ । कमजोर रचनाले समाजलाई प्रभावित गर्न सक्त्तैनन् । प्रगतिवादी रचनाले नेपाली समाजको ‘आत्मिक इन्जिनियरिङ्’ मा गहकिलो योगदान दिएका छन् । नेपाली समाजको यथार्थ, स्वप्न र सङ्घर्ष, आशा–निराशा, उकाली–ओराली, घात–प्रतिघात आदिलाई प्रगतिवादी रचनामा नियाल्न सकिन्छ । गतिशील यथार्थको विशिष्ट प्रतिविम्बन प्रगतिवादी रचनाको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

साहित्यले समाजलाई पार्ने प्रभावलाई मापन गर्ने ठोस र मूर्त आधार छैन । ठोस र मूर्त आधार तयार गर्न गाह्रो पनि छ । प्रभाव मापन गर्न सकिने गरी व्यक्त्त हुन्न । कृतिको मूल्याङ्कनका मापदण्ड छन् । त्यस आधारमा तिनको मूल्याङ्कन गर्न सकिन्छ । समाजको साहित्य पठनप्रतिको रूचि, सामाजिक–सांस्कृतिक रूपान्तरण, जीवनबोध, आत्मिक परिष्कार र विस्तार, रूपान्तरणका निम्ति आग्रह र सक्रियता, सुन्दरप्रतिको रुचि, सत्यप्रतिको निष्ठा, मूल्यप्रतिको आस्था र परिवर्तनका निम्ति गरिने सङ्घर्षमा साहित्यले समाजमा पारेको प्रभावलाई हेरिन्छ । साहित्यको पठनले व्यक्त्तिमा आन्तरिक हलचल उत्पन्न गर्छ । त्यस हलचलले उसमा रूपान्तरणको प्रक्रिया सुरू हुन्छ । यो विचार, संज्ञान र संवेदनाका तहमा हुन्छ । यही प्रभाव र रूपान्तरणले व्यक्ति र समाजलाई अघिल्तिर डोर्‍याउँछ । समाजमा साहित्यको प्रभावको परिणाम सामान्यतया बिस्तारै देखिन्छ । कविता, गीत जस्ता रचनाको प्रभाव छिटो पर्ने र परिणाम पनि चाँडो देखिने गरेको पाइन्छ ।

समाजलाई आफ्ना अधिकारप्रति सचेत गराउन, क्रान्तिकारी र परिवर्तनकारी चेतनाको निर्माण गर्न, आर्थिक,  राजनीतिक, सामाजिक–सांस्कृतिक, धार्मिक उत्पीडनका विरुद्ध उभिन, वर्गीय,जातीय, लैङ्गिक र क्षेत्रीय विभेदका विरुद्ध सङ्घर्ष गर्न, स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र मानवताका पक्षमा आवाज उठाउन, देशभक्तिको भावना र राष्ट्रिय स्वाधीनता चेतको निर्माण गर्न, साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद, भूमण्डलीकरण, उपभोक्तावाद विरुद्ध खडा हुन प्रगतिवादी नेपाली साहित्यले ठूलो भूमिका सम्पादन गरेको छ ।  

पञ्चायत विरुद्धको सङ्घर्ष, गणतन्त्रका निम्ति चलेको आन्दोलन, जनयुद्ध, परिवर्तनका निम्ति भएका अन्य विविध सङ्घर्षमा जनताको भूमिकामा साहित्यले निर्माण गरेको चेतनाको पनि ठूलो अंश रहेको छ । पञ्चायतका बेला प्रगतिवादी चेतनाका रचना लेखेकै कारण लेखक गिरफ्तार भएका, पुस्तक, पत्रपत्रिका जफत गरिएका निकै उदाहरण छन् । जनयुद्धको समयमा यसलाई समर्थन गरेर लेखिएका कृतिहरू खुला रूपमा पढ्न गाह्रो थियो । त्यस समयमा जनयुद्धमा लागेका र त्यसलाई समर्थन गर्ने कयौँ श्रष्टा मारिए । युद्धमा सहभागी हुन र परिवर्तनका निम्ति जीवनको परवाह नगरेर अघि बढ्न त्यस समयमा लेखिएका रचनाले उल्लेखनीय योगदान गरेका थिए । पञ्चायती निरङ्कुशता र राजतन्त्रका विरुद्ध सङ्घर्ष गर्दा कयौँ स्रष्टा गिरफ्तार भएका थिए, जेलनेल एवम् शारीरिक र मानसिक यातना खपेका थिए ।

गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान आदिले निर्माण गरेको आलोचनात्मक, विद्रोही एवम् प्रगतिशील चेतनाको अघिल्लो कडीका रूपमा विकसित प्रगतिवादी  साहित्यका स्रष्टा श्यामप्रसाद शर्मा, गोकुल जोशी, केवलपुरे किसान, युद्धप्रसाद मिश्र, भूपी शेरचन, पारिजात, रमेश विकल, मोदनाथ प्रश्रित, डिपी अधिकारी, डा.तारानाथ शर्मा, नेत्रलाल पौडेल अभागी, टि. आर. विश्वकर्मा, मोहनविक्रम सिंह, शान्तदास मानन्धर, मोहन वैद्य, खगेन्द्र संग्रौला, निनु चापागाईँ, हरिहर खनाल,  रामचन्द्र भट्टराई, भवानी घिमिरे, रुद्र खरेल, जनकप्रसाद हुमागाईँ, आनन्ददेव भट्ट, गोविन्द भट्ट, विमल निभा, कृष्णसेन इच्छुक, घनश्याम ढकाल, डा.रविलाल अधिकारी, डा. ताराकान्त पाण्डेय आदिका रचनाले नेपाली समाजलाई प्रभावित गरेको पाइन्छ ।  

यी नामका अतिरिक्त अहिले पनि लेखिरहेका अग्रज एवम्  समकालीन प्रगतिवादी स्रष्टाका रचनाले पनि नेपाली समाजलाई प्रभावित गरेका छन् । यस्ता रचनाकारहरूको संख्या दर्जनौँ रहेको छ । कतिपय प्रगतिवादी स्रष्टाले समयक्रममा प्रगतिवादी मान्यतालाई परित्याग गरेको पाइन्छ । प्रगतिवादी साहित्यिक आन्दोलनबाट बाहिरिनेहरूले आन्दोलनमा रहँदासम्म दिएको योगदान महत्वपूर्ण रहेको छ ।

प्रगतिवादी साहित्यले नेपाली समाजलाई पारेको प्रभावको न्यून मूल्याङ्कन गर्नु गलत हुन्छ । प्रगतिवादी साहित्यले समाजलाई प्रभावित गरे पनि यसलाई अझ स्तरीय बनाउन आवश्यक छ । जो स्रष्टा हाम्रा माझमा छैनन् उनीहरूबाट यस्तो अपेक्षा गर्ने कुरा भएन, जीवित र लेखिरहेका स्रष्टा प्रगतिवादी साहित्यको स्तरीकरणका विषयमा गम्भीर हुनुपर्छ । समकालीन स्रष्टा यस विषयमा गम्भीर बन्न सक्दा प्रगतिवादी साहित्यको प्रभावको विस्तार गर्न सकिन्छ । 

स्तरीय साहित्यले मात्र समाजलाई गहिरो गरी प्रभावित गर्न सक्छ । प्रगतिवादी साहित्यमा यथार्थको विशिष्ट प्रतिविम्बनदेखि कलात्मक अभिव्यञ्जना सम्ममा समस्या छन् । धेरै रचना कलामूल्यका दृष्टिले कमजोर छन् । साहित्यको भूमिकालाई समाज रूपान्तरणसँग जोडेर परिभाषित गर्ने प्रगतिवादी स्रष्टा स्तरीय साहित्य लेखनमा अझ गम्भीर बन्नुपर्छ । प्रगतिवादी स्रष्टाले साहित्य सम्बन्धी प्रगतिवादी मान्यता अनुरूप आफूलाई डोर्‍याउन पनि आवश्यक छ । आज यस विषयमै गम्भीर कमजोरी देखिएका छन् । नेपाली समाजमा प्रगतिवादी साहित्यको प्रभावलाई विस्तार यसैरी नै गर्न सकिन्छ ।

प्रकाशित: १२ वैशाख २०८३ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App