२० श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलका प्रधानमन्त्री नेतान्याहूलाई क्यान्सर : दुई महिनाअघि नै थाहा भए पनि किन लुकाए ?

फाइल तस्बिर

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूलाई प्रारम्भिक चरणको प्रोस्टेट क्यान्सर भएको र त्यसको सफल उपचार भइसकेको खुलासा गरेका छन्।

शुक्रबार आफ्नो वार्षिक मेडिकल रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले आफू अहिले ‘पूर्ण रूपमा स्वस्थ’ रहेको जानकारी दिएका हुन्।

७६ वर्षीय नेतान्याहूले नियमित चिकित्सा जाँचका क्रममा सानो ट्युमर पत्ता लागेको र विकिरण थेरापी (रेडिएसन) मार्फत त्यसको उपचार गरिएको बताए। उनले भनेका छन्, ‘उपचारले समस्या हटाएको छ र यसको कुनै निशान बाँकी राखेको छैन।’ चिकित्सकहरूका अनुसार उनको शरीरबाट करिब एक सेन्टिमिटरको सानो ट्युमर निकालिएको छ।

नेतान्याहूले आफूलाई क्यान्सर भएको कुरा करिब दुई महिनाअघि नै थाहा भए पनि रणनीतिक कारणले गर्दा त्यसलाई गोप्य राखेको स्वीकार गरेका छन्। ‘इरान विरुद्धको युद्धको उत्कर्षमा यो प्रकाशन नहोस् भनेर मैले यसको प्रकाशन दुई महिना ढिलाइ गर्न अनुरोध गरेको थिएँ,’ उनले भने, ‘यसो गर्नुको उद्देश्य इरानी आतंकवादी शासनले इजरायलविरुद्ध अझ बढी झूटा प्रचार फैलाउन नपाओस् भन्ने थियो।’

यसअघि इरानसँगको युद्धको सुरुवाती हप्ताहरूमा नेतान्याहूको स्वास्थ्यलाई लिएर अनेकौँ हल्ला फैलिएका थिए। इरानी सञ्चारमाध्यममा उनको मृत्यु भएको दाबी गर्ने नक्कली र एआई-उत्पन्न तस्बिरहरू समेत सार्वजनिक भएका थिए। ती दाबीहरूलाई खण्डन गर्न उनी मार्च महिनामा जेरुसेलमको एक क्याफेमा गएको भिडियो सार्वजनिक गरिएको थियो।

नेतान्याहूको उपचार जेरुसेलमको हदासाह अस्पतालमा भएको थियो। अस्पतालको अन्कोलोजी एकाइका निर्देशक अहारोन पोपोभ्त्सरले भने, ‘यी परीक्षणहरूको निष्कर्षको आधारमा हामी भन्न सक्छौं कि रोग हराएको छ।’ उनले नेतान्याहूको उमेरका पुरुषहरूमा यस्तो क्यान्सर सामान्य रहेको भन्दै यसलाई समयमै पहिचान गरिएको बताए।

यसअघि सन् २०२४ मा पनि नेतान्याहूले प्रोस्टेट सम्बन्धी शल्यक्रिया गराएका थिए। त्यसबेलादेखि नै उनी नियमित चिकित्सा निगरानीमा थिए। उनले विगतमा पनि आफ्नो स्वास्थ्य अवस्था लुकाएको भन्दै आलोचना खेप्दै आएका छन्। केही समयअघि सार्वजनिक रूपमा बेहोस भएको एक हप्तापछि मात्र उनले मुटुमा पेसमेकर प्रत्यारोपण गरिएको जानकारी दिएका थिए। 

इजरायलको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहू आगामी हप्ताहरूमा अमेरिका भ्रमण जाने तयारीमा छन्। उनले आफ्नो पोस्टको अन्त्यमा भनेका छन्, ‘मैले क्यान्सरलाई पनि जितेको छु। यो मेरो भाग्य हो कि जब म कुनै समस्याको बारेमा जान्दछु, म तुरुन्तै यसको समाधानमा काम गर्छु।’ एजेन्सी 

प्रकाशित: १२ वैशाख २०८३ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App