विश्वनाथ खनाल
धेरै दिनसम्म पेट गडबड भएपछि शरद डाक्टरको क्लिनिकमा गएको थियो । ऊ आफैभन्दा पनि श्रीमती सबनमले करकर गरेर सङ्गै लिएर गएकी थिइन्।
शहरमा नाम चलेका फिजीसियन डां. बिजुलीकान्तको क्लिनिक ।
नाम चलेको प्रमाण मान्छेहरू जँचाउन प्रतीक्षामा बस्नेहरूको भिडले प्रमाणित गरिरहेको थियो । करीब आधा घण्टापछि उसको पालो आयो । डां . साबले उसको रोग र रोगको लक्षण सुनेपछि कागजमा ख्यारख्यार लेखे ।
त्यसपछि के खान हुन्छ के खान हुंदैन भन्दै थिए ।
सबनमले कागजमै लेखिदिन अनुरोध गरेपछि अनुहारमा आँखा गाडेर भनिहाल्नुभयो भनेर लेखिदिए ।
शरद भने डां . साबको क्लिनिकबाट चांडै निस्कन चाहन्थ्यो ।
डां बिजुलीकान्तले भने– घर कहाँ हो ? के काम गर्नुहुन्छ ? सोध्दै छन् ।
श्रीमती सबनम एकएक गरेर उत्तर दिंदैछिन् ।
– अनि तपाईं के गर्नुहुन्छ नि ?
– म घर सम्हाल्छु ।
– ए त्यसो भए झन् सजिलो भयो ।
यतिबेला शरद हतपत बोल्यो– के डां. साब !
उपेक्षा गरे जस्तो भावमा उत्तर दिंदै भन्यो – तीन दिनपछि औषधिको प्रभाव र रोगबारे भन्न बिरामी आइरहन पर्दैन । बिरामीको मानिस आए हुन्छ । त्यै भएर...! डाक्टरले जवाफ दिए ।
उसलाई भने सबनमको हात समातेर बाहिर गइहालौं भन्न मन थियो ।
श्रीमती भने डाक्टरको गफ ध्यान दिएर सुनिरहेकी थिइन् ।
रोगको असरले हो वा चिन्ताले हो ! रिङ्गटा लागेजस्तो भएर सबनमको हात समातेर भन्यो– सबनम , हिंड, बाहिर जाऊँ !
– किन, के भयो र ? श्रीमतीको प्रश्नको जवाफ दिन चाहेन शरदले ।
बाहिर निस्केर सिधा घर हिंडे ।
– औषधि किनेर जाऊं न, सबनम भनिरहेकी थिइन् ।
शरद भने मनमनै गमिरहेको थियो – मर्छु बरु यो बिजुलीकान्तको क्लिनिकमा फर्केर आउँदिनँ ।
प्रकाशित: १ पुस २०७७ ०४:१४ बुधबार





