कलामा विद्रोह र कलाकारभित्र उम्लिरहेको विद्रोहबीच कहीँ न कहीँ अन्तर्सम्बन्ध छ। कलाकारको अन्तर्मनमा भएको उकुसमुकुस, छटपटाहट बाहिर आउन कलाको जन्म हुन्छ। अर्थात् उसको मुटुलाई घोँच्दा परिणाम स्वरूप कला जन्मन्छ। तथापि यस्तो कलाको सम्बन्ध मात्र उसको अभिव्यक्तिसँग हुन्छ। कलाकार विद्रोही हुन यतिले मात्र सम्भव हुँदैन, कलाकार स्वयंको वैचारिक धरातल, समसामयिक घटनाको यथेष्ट ज्ञान, निजी विद्रोही स्वभाव, दरिलो आँट, क्षमता र प्रतिभा हुन सकेन भने उसको कलामा विद्रोहको भावना देखिँदैन। मूलतः कुनै कुराले कलाकारलाई प्रभाव पारेपछि यसलाई प्रस्तुत गर्न उसको मथिंगलमा थुप्रै कल्पना खेल्न खोज्छन्। यसपछि अनेक मोटिफ, रूप, विम्ब क्यानभासमा ओर्लिने क्रम बन्न जान्छ। यसै बेला स्थापित मान्यताभन्दा अलग्गै परिकल्पना, संयोजन, प्रस्तुति वा माध्यममा पनि कला जन्मन सक्छ, जसमा विद्रोह यथेष्ट रूपमा देखिन्छ। कलामा स्थापित भएका मान्यताबाट पूर्णतः निर्देशित भएर शिल्प–दक्षतालाई मूल आधार मानेर पनि कलाको निर्माण हुने गर्छ, यस्ता कलामा विद्रोह देखिँदैन। विश्वमा राजनीतिक, सामाजिक, धार्मिक विषयवस्तुसँगै माध्यम र शैली वा कलागत प्रवृत्तिमा पनि विद्रोह भएको देखिएको छ।
कलाको बाह्य दृश्यावलोकनमा समेत आफ्नो अलग्गै पहिचान देखाउने चाह कलाकारमा हुन्छ। कलालाई बुझ्ने क्रममा ‘भिजुअल ल्यांग्वेज’को प्रयोग हुन्छ। झ्वाट्ट देख्नेबित्तिकै भावकको बाह्य दृष्टिले जसरी ग्रहण गर्छ, यसैबाट उसले कलाको स्तर मापन गर्ने गर्छ। सामाजिक मान्यता र कुसंस्कार एवं संस्कृतिबाट आहत भएका, छटपटाएका कलाकारहरू मानसिक रूपमा परिवर्तनका लागि बौलाएका हुन्छन्। तत्कालीन राजनीतिक व्यवस्था, ‘स्टेरियो टाइप’मा रुमलिरहेको धार्मिक परम्परा आदिबाट आफूले खुसी निर्वाह गर्न नपाएपछि स्वभावतः कलाकार विद्रोही बन्छन्।
विश्वमा कला विद्रोह
विश्वमा १९औँ शताब्दीको अन्ततिर कलामा निकै उथलपुथल हुन पुगेको थियो। युरोपको समाज, सामाजिक व्यवस्था बिस्तारै विकसित हँुदै थियो। जसकारण स्थापित भइसकेको शास्त्रीय कला समय सान्दर्भिक हुन सकिरहेको थिएन। फ्रान्सको राजधानी पेरिस त्यस बखतको विश्वको कलाको केन्द्र थियो। विश्वका अति उच्च स्तरका कलाकार पेरिसमा आएर कलामा नौलो प्रयोग गर्न व्यस्त देखिन्थे। त्यस बखत सालोन (कलाको स्तर मापन गर्ने सरकारको आधिकारिक निकाय)ले कलाको स्तरका लागि बनाएको मापनभन्दा अलग्गै कला देखिनासाथ त्यो राष्ट्रिय कला प्रदर्शनीका लागि अयोग्य घोषित हुन्थ्यो। प्रदर्शनीमा नछानिएका कलाकारको कला बिक्री नहुने हुँदा पनि कलाकारहरू कलाका स्थापित मान्यतालाई नै पछ्याउन बाध्य हुन्थे। यो आधुनिक कला उदयको पूर्वकाल थियो। यस बेला नाम कमाइसकेका मूर्धन्य कलाकार इदुयार्ड मानेले शैलीगत रूपमा सालोनको मापदण्डभन्दा फरक नबनाए पनि विषयको सन्दर्भमा एक अनौठो विद्रोहात्मक कदम चाले। उनको सन् १८६३ मा बनाएको ‘तृणमाथिको भोजन’ नामक चित्र अस्वीकृत मात्र भएन, यसले तत्कालीन कलाकारबीच ठूलो हल्लाखल्ला मच्चायो, बहसको विषय बन्न गयो। कलाकारले औपचारिक रूपमै सालोनको निर्णयप्रति असहमति जनाउँदै थप विद्रोह गरे। अन्ततः सरकार झुक्न बाध्य भयो, अनि सरकारले ‘अस्वीकृत जमातका कला प्रदर्शनी’ भनेर अलग्गै प्रदर्शनी गर्नुप¥यो। सम्भवतः कलाको इतिहासमा यो देखिने गरी भएको कलाको विद्रोह थियो। यो चित्रमा सवस्त्र दुई पुरुषबीच दुई निर्वस्त्र महिलाको चित्र अंकित गरिएको थियो। यो आन्दोलनको सफलतापछि त्यति बेला नाम चलेका अन्य कलाकार माने, मोने, सेजान, रेन्वा, डेगास, सिसली, सेजान आदिबाट थप नौलो तत्कालीन समाजसँग मिल्दोजुल्दोे विषय, फरक कला प्रवृत्ति र शैलीका साथ कलागत विद्रोह अझ द्रूत गतिमा भएको देखिन्छ। जसले गर्दा प्रभाववादी कलाको उदय भयो। यसैको निरन्तरतामा क्रमशः उत्तरप्रभाववादी हुँदै क्युबिजम्, अमूर्तकला, अतियथार्थवादी, अभिव्यञ्जनावादी, दादाइजम्को समेत कलाका आन्दोलन भए। योसँगै अमूर्त अभिव्यञ्जनावादी, हार्ड एज पेन्टिङ, कलर फिल पेन्टिङ, पप आर्ट, अप आर्ट, मिनिमालिजम्देखि पर्फरेन्स, इन्स्टलेसन, भिडियो आर्ट आदि अनेकौँ स्वरूपका विद्रोहात्मक कलाका रूप देखापरे। जसको निरन्तरता आजसम्म कायम छ। आज समयसँगै उत्तरआधुनिक कलाले प्रवेश पाएपछि अझ चर्को रूपमा कलागत विद्रोह संसारभरि हुने गरेको छ। नेपाल पनि यसबाट अछुतो छैन।
कलाकार स्वयंको वैचारिक धरातल, समसामयिक घटनाको यथेष्ट ज्ञान, निजी विद्रोही स्वभाव, दरिलो आँट, क्षमता र प्रतिभा हुन सकेन भने उसको कलामा विद्रोहको भावना देखिँदैन।
यी सबैजसो कलाका विद्रोहात्मक आन्दोलनमा कतै विषय, कतै सामाजिक, राजनीतिक सवाल र मुद्दाहरू कतै प्रविधि, कतै कला सिर्जनाका माध्यममा आमूल परिवर्तन गरी कलाहरूको सिर्जना हुन थालेको देखिन्छ। यसरी कलाको स्वरूप देखिँदा प्रकृतिका रूख, जंगल, ठुल्ठूला महल, खोला र नदीहरू, यहाँसम्म कि आम मान्छेलाई समेत प्रयोग गरेर कला बनाउने प्रथा बस्यो। यस्ता विद्रोह अचकाली रूपमा बढ्दा यी सबैलाई कला भन्ने कि नभन्ने भन्ने बहस पनि चर्केर गएको छ।
नेपाली कलामा विद्रोह
नेपालमा कलामा विद्रोहको भाव आम भावकले स्पष्ट रूपमा महसुस हुने गरी देखापरेको एक प्रकारको आन्दोलन भनेको ‘विचलित वर्तमान’ हो। जुन कला सिर्जना, कलाकारको सोच, आँट र नितान्त नौलो ढंगबाट जनतामाझ २०५९ भदौ १ गते देखाप-यो। जसमा विभिन्न कलाका विविध विधाका कलाकारद्वारा संयुक्त रूपमा काठमाडौंको वसन्तपुर प्रांगणमा आयोजना भएको थियो। तत्कालीन सामाजिक अवस्थाको मानवीय त्रासदिलाई कलाकारले विरोधका स्वरूपमा आ–आफ्नो आक्रोश पोखे। यो विद्रोहात्मक कला आन्दोलनमा सहभागी कलाकारमा अस्मिना रञ्जित, मनिषलाल श्रेष्ठ, संगी, सुविना, एरिना, प्रदीप र रंगकर्मी अनुप बराल थिए। १८ वर्षअगाडि प्रदर्शन गरिएको कलामा तत्कालीन सशस्त्र द्वन्द्व, त्यसबाट आम भावकमा परिरहेको पीडा र भय, तत्कालीन समाज र राजनीतिमा परेको प्रभाव–असरलाई कलाकारले आफ्ना कलामार्फत अभिव्यक्त गरे। त्यसबखत कलाको माध्यम र शैली सर्वथा पृथक् थियो। सडकभरि जुत्ता र चप्पलहरू फाल्नु, काँडेतारले आफूलाई चारैतिरबाट बाँधेर राख्नु, रातो रङको आहाल बनाउनुलाई आम दर्शकले कुतूहलतापूर्वक अवलोकन गरेका थिए। अवधारणागत प्रस्तुति यस बखतको मूल ध्येय थियो।
कलाकारहरू कोठाभित्रबाट सडकमा आए। बाटोतिर हिँडिरहेको आम मान्छे टक्क रोकिएर कला हेर्नेको भीड बन्यो। यसरी वर्तमान स्थितिलाई केन्द्रबिन्दुमा राखेर गरिएका यस प्रकारका कलाका विद्रोहात्मक आन्दोलन यसअघि पनि नभएका होइनन्, तापनि यो कलाको आन्दोलन ‘विचलित वर्तमान’ले एउटा बेग्लै हलचल ल्याएको महसुस सबैलाई भयो।
यसपछि सन् २००३ मा ‘सूत्र’ समूहले ‘कक्सिङ द नेचर’ नामक कला कार्यशाला ग-यो। ओशो तपोवनमा औपचारिक घोषणासहित गरिएकोे कलाको यस नवीन आन्दोलनले नेपाली पुरानो र नयाँ कला प्रवृत्तिबीच तरंग नै पैदा गरिदिएकोे थियो। यो विद्रोहात्मक कलाको आन्दोलनले नेपाली कला इतिहासमा नयाँ मोड लियो। ‘क्यानभासबाट बाहिर आऔँ’ भन्ने नाराका साथ भएको यो ‘साइटस्पेसिफिक’ कलाले स्वाभावतः परम्परागत रूपमा भइरहेको कलाको सिर्जनाका प्रक्रियालाई भत्काउने काम गरेकै हो। यसपछि धेरै यस्ता कलाका कार्यशाला भए। परम्परागत कलाकार पनि यो नयाँ खालको कला गर्न लालायित भए। आ–आफ्ना क्षेत्रमा स्थापित भइसकेका कलाकारलाई यस्ता काम गराउन पहल, आग्रह पनि गरियो। कहिले कला नगरेका आममान्छे, कहिले कलाभित्र नछिरेका अन्य विधाका सर्जक र कलागत प्रक्रियामा सामान्य जानकार नभएकालाई पनि यस्ता आन्दोलनमा सक्रिय गराएर कलागत विद्रोह भएको देखियो। यस अनौठो कलागत प्रक्रियामा बनेका अनौठा कला पनि एक प्रकारको कलामाथिको विद्रोह नै थियो।
स्वभावतः कलाकारको स्वभाव शान्त, एकान्तमा रमाउने खालको हुन्छ। अझ अलि अगाडि जाने हो भने कलाकारहरू कोठाभित्र एकान्तमा ध्यान गरेजस्तो गरी कलाको निर्माण गर्ने गर्थे। अझै पनि अधिकांश कलाकार यसरी नै कलाको निर्माण गर्छन्। अलिकति व्यापार–व्यवसायको सन्दर्भमा, परम्परागत मान्यतामा अडिग हुने सन्दर्भमा अहिले पनि कलाकारको ठूलो जमात कलामा विद्रोह गर्दैनन्। कति लोककलाहरू संस्कार र चाडपर्वको एक अभिन्न अंग बनेका छन्। धर्मसँग गाँसिएका जात्रा र चाडपर्वसँग गाँसिएका कति कलाकृति छन्। यस्ता कलामा विद्रोह देखिँदैन, समाजसँग र यसका गतिविधिसँग प्रत्यक्ष रूपमा सहयोगीको रूपमा संलग्न भए पनि विरोधका स्वर कलाकारले निकालेको देखिँदैन। परम्परादेखि चल्दै आएका कलाका विषय, शैलीमा निरन्तरता प्रदान गर्दै समाजका भएको अनमेल व्यवहारमाथि पौँठाजोरी नखेली, मात्र सामाजिक दिनचर्यामा संस्कार र संस्कृतिको एक भाग बनी कलाको निर्माण आज पनि भइरहेको छ। तथापि हिजोआज यस्तै प्रवृत्तिका कलामा पनि सानोतिनो विद्रोहात्मक लक्षण नदेखिएको भने होइन। मौलिकताका नाममा अचकाली नयाँ कलागत प्रवृत्तिमा कलाको सिर्जना हुनु हँुदैन भन्ने कलाकार, कलाविज्ञ र सामान्य मान्छेको जमात पनि ठूलै छ। त्यस्तै, समय अनुसार कला परिवर्तन हुनपर्छ, विश्वमा चलिरहेको कलाको स्वरूप, कलागत प्रवृत्तिमा हाराहारीमा उभिन पनि कलागत शैली प्रवृत्ति र माध्यममा आमूल परिवर्तन हुनुपर्छ भन्ने कलाकार, कलाविज्ञको जमात पनि बिस्तारै बढ्दै गएको अवस्था छ। यी दुई मान्यताबीच कुन ठीक, कुन बेठीक निक्र्योल हुने अवस्था छैन।
कलाको यो नौलो प्रवृत्ति अर्थात् विद्रोहात्मक स्वभाव सन् २००३ मा मात्र देखिएको भने होइन, कलाकारको विद्रोह मनस्थिति रहेको दृष्टान्त यसअघि नै कलामा पहिलो विधिवत प्रशिक्षित कलाकार चन्द्रमान सिंह मास्केमा देखिइसकेको थियो। उनलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले कलाको अध्ययन गर्न भारतको कलकत्तास्थित ‘स्कुल अफ आर्ट’मा पठाएका थिए। तर शिक्षा लिएर नेपाल फर्केलगत्तै तत्कालीन सरकारविरुद्ध कार्टुन बनाएर मास्केले आफ्ना छटपटिएको मन र विद्रोहको भावलाई कलामार्फत पस्किएका थिए। कार्टुन बनाएबापत उनलाई सजायका रूपमा तत्कालीन राणाशासनले सर्वस्व हरण गरी १८ वर्षको कठोर जेल सजाय समेत तोकेको थियो। त्यसबखत भारतमा विश्व कवि रविन्द्रनाथ टेगोर, कलाकारहरू गगनेन्द्र नाथ, नन्दलाल बोस, आदिबाट भइरहेको विद्रोहात्मक कलागत आन्दोलनलाई चन्द्रमानसिंह मास्केले नजिकबाट अवलोकन गरेका थिए। देशलाई प्रेम गर्ने, आफ्नो कला परम्परामा वैदेशिक हस्तक्षेप, जबर्जस्ती लादिएको पश्चिमी कलाका सिद्धान्त र शैली आदिबाट विरक्त भएर आफ्नै परम्परागत लोककला, मुगलकला, अजन्ताकला आदिलाई पुनर्अध्ययन, पुनव्र्याख्या गर्दै आधुनिक कलाको निर्माण गरेको भारतलाई मास्केले सम्भवतः नजिकबाट नियालेका थिए। यसर्थ पनि नेपाल फर्कनेबित्तिकै नेपालमा चलिरहेको राणाशासनविरुद्धको लडाइँमा आफ्नो कलालाई विद्रोहात्मक रूपमा पस्केर जेल जान पनि तयार भए। सम्भवतः कलाकारले देखिने गरी स्वाभाविक विद्रोह गरेको, समाज र देशप्रति अगाध प्रेम प्रदर्शन गरेको, सामाजिक र राजनीतिक रूपमा सचेत भएर आफ्नो उपस्थिति जनाएको यही नै पहिलो हुनुपर्छ। यसबखत पनि अन्य धेरै कलाकार थिए, कलामा शिल्प दक्षता भएका अति राम्रा कला बनाउने। तर, उनीहरूबाट कलामार्फत विद्रोहको स्वर देखिएको थिएन। सम्भवतः यसपछि मनोहरमान पुन र यसपछि कुलमान सिंह भण्डारीका कलामा शैलीगत विद्रोह देखापरेको थियो।
मनोहरमान पुनले राणा प्रधानमन्त्रीका व्यक्तिचित्र र तत्कालीन चलेको नेपाली संस्कृतिमा आधारित चित्रमा पनि अलि बेग्लै पारा, अनुपात नमिलेको, रङ पनि अलि उत्ताउलो किसिमको प्रयोग गरी एक प्रकारले विद्रोह प्रदर्शन गरेका थिए। उनी स्वयं पनि विद्रोही स्वभावका थिए– कसैसँग नडराउने, हाकाहाकी बहस गर्ने खालका। त्यस बेलाको अवस्थामा पनि उनी आफ्नै सुरले कहिले भारतको विभिन्न ठाउँ चहारी बस्ने गर्थे। वैष्णव धर्म मान्ने यी कलाकार बुढेसकालमा समेत थर्थर काम्दै आफ्नो खाना आफैँ बनाउँथे, कसैलाई छुन दिँदैनथे। थर्थर काम्दै क्यानभासमा रङ पनि पोतिरहेकै हुन्थे। अर्कातर्फ उनीभन्दा केही कान्छा कुलमान सिंहका चित्र पनि त्यतिबेला चलेको शैलीभन्दा सवर्था पृथक् देखिन्छन्। विषयवस्तु र प्रस्तुतिमा उनले मनको चाहनालाई र कलाको व्याकरणलाई नपछ्याएका सन्दर्भ बढी देखिन्छन्। राजनीतिमा उनको बडो चाख थियो। राजनीतिमा संलग्न भएर समाजमा परिवर्तनको चाह राख्ने कलाकारको रूपमा उनी देखिन्छन्। स्वभावतः उनका कलामा उनका विचारदेखि नितान्त त्यही धारामा बगी विद्रोह भाव स्पष्ट रूपमा देखिन्छन्।
यसपछि नेपालमा भएको आधुनिक कलाको उदयसँगै मनोजबाबु मिश्र विद्रोही कलाकारको रूपमा देखिन्छन्। हुन त यसबखत उनका समकालीन सबैजसो कलाकार आधुनिक कलाका विविध कला शैलीमा काम गरिरहेका थिए। यद्यपि त्यतिबेलाका कलाकार लैनसिंह वाङदेलदेखि उत्तम नेपाली, ठाकुरप्रसाद मैनाली, विजय थापा, रामानन्द जोशी, लक्षमण श्रेष्ठ वा शशिविक्रम शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान सबैजसोका कलामा उति उग्र रूप देखापरेको थिएन।
मनुजबाबु मिस्र राम्रा लेखक, राम्रा निबन्धकार, स्पष्ट वक्तासँगै कलामा यथेष्ट ज्ञान भएका र कलाबारे बहस गर्न रुचाउने कलाकार थिए। तत्कालीन राजनीतिमा उनको सन्तुष्टि थिएन। कलाकारहरू चाकडीमा ज्यादै उन्मुख भएको देखेपछि सम्भवतः उनी दिक्क भएर नितान्त रूपमा गुप्तवास बसेका थिए। उनको घर उनका लागि सबै थोक थियो। ठूलो हल भएको सानो कटरोजस्तो उनको घरमा बैठक कोठा, बेड रुम, भान्छा र स्टुडियो एकै ठाउँमा थियो। चारैतिर सयौँ कलाकृति थुप्रिएको देखिन्थ्यो। रोगले ग्रस्त भएको अवस्थामा पनि उनले चित्र बनाउने र लेख्ने काम गरिरहेका हुन्थे। आफूलाई भेट्न आउनेसँग निर्धक्क भएर बोल्ने, सानादेखि ठूला कलाकार वा अकलाकार सबैलाई त्यही रूपमा रेस्पोन्स गर्ने, घन्टौँ कलाबारे धारा–प्रवाह बोल्न सक्ने र बोली रहने उनको स्वभाव थियो। धेरै युवा कलाकार उनीबाट ज्ञान हासिल गर्न घन्टौँ उनीअगाडि पलेँटी मारेर बस्थे। स्वभावैले विद्रोही उनी हेर्दै डरलाग्दा चित्र निर्माण गरिरहन्थे। आधारभूत रङहरू परे पनि, आकारमा अनुपातिक कमजोर भए पनि, आफ्ना भावनालाई तत्काल पोखिहाल्ने उनको स्वभाव थियो। कलाको कार्यक्रम उनैको घरमा हुने गथ्र्यो। मृत्युपर्यन्त उनी कतै कुनै पनि कार्यक्रममा भाग लिन बाहिर आएनन्। यहाँसम्म कि सिद्धार्थ ग्यालरीकी निर्देशक संगीता थापाले उनैको बारेमा पुस्तक लेखिन्। अनावरणको कार्यक्रम राखियो तर उनी आफ्नै पुस्तकको अनावरण कार्यक्रममा भाग लिन आएनन्। मैले पनि यस कार्यक्रममा उनी र उनको पुस्तकबारे बोलेको थिएँ। म घर आइपुग्दानपुग्दै मलाई धन्यवाद दिन उनको फोन आयो, कार्यक्रममा भने उनी आएनन्। मनभित्रको उनको यस प्रकारको विद्रोह उनको कलामा स्पष्ट देखिन्थ्यो। आफ्नै मुखाकृतिलाई ढंग बेढंगको बनाउँदै प्रस्तुत गर्नु देवी–देवतालाई ठुल्ठूला अस्त्रशस्त्र बोकाएर क्रुर बनाई युद्धका विभीषिका उनको चित्रमा स्पष्ट अनुभूत गर्न सकिन्थ्यो।
त्यस बखत सालोनले कलाको स्तरका लागि बनाएको मापनभन्दा अलग्गै कला देखिनासाथ त्यो राष्ट्रिय कला प्रदर्शनीका लागि अयोग्य घोषित हुन्थ्यो। प्रदर्शनीमा नछानिएका कलाकारको कला बिक्री नहुने हुँदा पनि कलाकारहरू कलाका स्थापित मान्यतालाई नै पछ्याउन बाध्य हुन्थे। यो आधुनिक कला उदयको पूर्वकाल थियो।
सम्भवतः नेपाली आधुनिक कलामा यस प्रकारको विद्रोह कसैमा देखिन सकेको थिएन। पश्चिमी शैली र सिद्धान्तलाई हुबहु नक्कल गर्न सक्ने कलाकार त्यसबखत पनि उच्चकोटिका मानिन्थे। आजसम्म यसैलाई मानक मान्ने चलन गइसकेको छैन। तथापि पश्चिमी कलागत व्याकरणलाई नेपाली परम्परागत शैली, तौरतरिका र प्रवृत्तिसँग, अनि बांगाटिंगा अमिल्दा देखिने लोककलासँग किन तुलना गर्ने ? हाम्रो कलालाई किन पश्चिमी कलाका मानकबाट मूल्यांकन गर्ने भन्ने प्रश्न आज देखिन थालेको छ। सम्भवतः यसैलाई पछ्याउँदै अगाडि बढेका कलाकारका कलालाई एक विद्रोहात्मक रूपमा हेरिन थालिएको सर्वथा सत्य हो।
जलरंगी दृश्यचित्रमा सेतो र कालो रङ लगाउन पाइँदैन, यसले कलाको सुन्दरता वा जलरंगको स्वाभाविक बहाव र पारदर्शितालाई भत्काउँछ भनी बनाएका नियमको वास्ता नगरी कतै ओपेक (कुनै पनि रङलाई सेतो मिसाई बाक्लो बनाई प्रयोग गरिने), कतै पारदर्शी कलामा पनि सेतो मिसाइदिने गरी कला बन्न थाले। कलाका जुनसकै वस्तु मिसाइ यसैलाई माध्यमका रूपमा ‘मिक्स मिडिया’को प्रचलन बढ्यो। कागजलाई क्यानभासमा टाँसेर कोलाजको उदय भयो। यतिले मात्र पुगेन, ठुल्ठूला काठका बक्स र फ्रेमभित्र काठका टुक्रा, पित्तल, तामाका भाँडाकुँडा वा कुनै पनि वस्तुलाई समावेश गरी एसम्बल कलाका नाममा कलाको निर्माण पनि गरियो। यसपछि बिग्रेका मेसिन, ज्यावल, खेर गएका फलाम र पित्तल वा कुनै पनि कुरालाई जोडजाड गरी मूर्तिको रूपमा कलाको सिर्जना गरिन थालियो। यसरी ‘जंक आर्ट’को प्रादुर्भाव पनि भयो। यी सबै कुरामा कहीँ न कहीँ कलामा शैलीगत विद्रोह नै हो। यी सबैजसो कला सामाजिक वा राजनीतिक सवालका आधारमा बन्ने कारण पनि ‘कन्सेप्चुअल आर्ट’को रूपमा विकसित भएको पाइन्छ। हिजोआज गाउँका महिलाले बनाउने मिथिला लोककलामा समेत समाजका कुसंस्कारबाट हेपिएका महिलाका आकृति सलबलाउन थालेको छ। परोक्ष, प्रत्यक्ष रूपमा यो कलामा विद्रोह नै हो।
पछिल्लोकालमा नेपालमा सम्भवतः कलामा विद्रोहात्मक क्रियाकलाप हुन एउटा कलाकारको समूह उत्प्रेरित भयो। त्यो सूत्र समूह थियो। विश्वमा चलेका नौलो प्रवृत्ति र समसामयिक कलाको धारलाई नेपालमा स्थापित गर्न सर्वप्रथम यही सूत्र समूहले औपचारिक रूपमै शुभारम्भ ग-यो। यसपछि पृथ्वीको बिन्दु, जुपिटरको स्पेस, अस्मिनाको नेस्कस, सरोजको विकल्प, मनिषको एम क्युब, रोशन मिस्रको तारागाउँ कलादीर्घा, कैलाशको आर्टुडियो, हितमानको आर्ट–ट्री आदि देखापरे। यी सबैजसो कलाकारका समूहले माध्यमका रूपमा समसामयिक राजनीति, सामाजिक सवाललाई कलाद्वारा विद्रोहात्मक रूपमा प्रस्तुत गर्ने गरेका छन्। कलाका नयाँ प्रवृत्तिलाई सन् २००३ मा सूत्रको जन्म र यसले गरेका यस्ता विद्रोहात्मक कला आन्दोलनपछि नेपालमा एक प्रकारले समसामयिक धाराको नयाँ लहर सुरु भएको देखिन्छ। व्यक्तिगत तवरमा मात्र होइन, सरकारी निकाय ललितकला, प्रज्ञा–प्रतिष्ठानको यस्ता प्रवृत्तिलाई प्रोत्साहित गर्न अलग्गै विभाग नै छ। र, यसले यस्ता प्रवृत्तिका अनेक कार्यक्रम काठमाडौंभित्र र मोफसलमा समेत गर्न थालेको छ। कलाकारहरू आजको दिनमा राष्ट्रमा घटेका घटनामा सचेत बन्न थालेका छन्। राजनीतिक अव्यवस्थित वातावरणले जन्मेका अनेकौँ घटना, यसबाट आम समुदायलाई परेका पीरमर्का आदिमा कलाकारले आफ्नो कलामार्फत विद्रोह गर्न थालेका छन्।
भर्खरै, सेप्टेम्बर २०२० को अन्ततिर मात्र स्वास्थ्यसम्बन्धी माग राखी भ्रष्टाचारविरुद्ध लड्दै अनशन बसेका डा. केसीलाई ऐक्यबद्धता जनाउँदै रवीन्द्र श्रेष्ठले ‘औँठाछापको औैँठा’ कला प्रस्तुत गरे। डा. केसीकै औँठा छापको बडेमानको चित्र बनाई उनको स्वास्थ्यसम्बन्धी चिन्ता आम मान्छेको हो भन्ने सन्देशलाई प्रवाह गरे। यसै बेला घिमिरे युवराजको नाटक र कविता वाचन समेत भयो। अर्का कलाकार राजन काफ्लेको कलाले पनि यही सन्देशलाई प्रवाहित गरिरहेको थियो। रवीन्द्रको ‘औँठा छाप’ चित्र अहिले विश्वभरि फैलिएको छ। यो औँठाछाप उनले प्रतीकका रूपमा गत सालदेखि विविध कलाका कार्यक्रम गरी प्रयोग गर्दै आएका छन्। झन्डै चार वर्षअघि अन्य कलाकार हितमान, सुवास आदिले आफ्नो पर्फमेन्स कलामार्फत त्यसबेला अनशनमा बसेका डा. केशीलाई ऐक्यबद्धता जनाई कला प्रस्तुत गरेका थिए। एक हुल आम मान्छेलाई अघि–पछि लगाई यी कलाकारले माइतीघरको खुला चौरमा पर्फमेन्स कलालाई प्रस्तुत गरेका थिए। सम्भवतः अहिले युवा र नवयुवा कलाकारले बनाउने कला भनेको एक प्रकारको विद्रोही कलाको रूपमै देखापर्ने गरेको छ।
प्रकाशित: २४ आश्विन २०७७ ०५:४९ शनिबार