११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

वीरेन्द्रनगरमा बढ्दै लागुऔषध कारोबारी र दुर्व्यसनी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार बढ्दो सहरीकरणसँगै लागुऔषध दुर्व्यसनी पनि बढ्दै गएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले लागुऔषध कारोबारी र दुर्व्यसनीमा धेरैजसो १८ देखि ४५ वर्ष उमेर समुहका धेरै छन्। पछिल्लो तीन वर्षयता वीरेन्द्रनगरमा ९० जना यही उमेर समुहका लागुऔषधसहित पक्राउ परेका छन्।

प्रवक्ता विश्वकर्माका अनुसार वीरेन्द्रनगरमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषधसम्बन्धी दुई सय ३५ मुद्दा दर्ता भएका छन्। यी मुद्दामा तीन सय ६९ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। पक्राउ परेकाहरू ब्राउनसुगर प्रयोगकर्ता बढी छन् भने महिला तथा बालबालिका पनि यो लतमा परेको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ८८ वटा मुद्दा दर्ता भएका छन्। ८८ मुद्दामा ११ महिला, एक सय २७ पुरुष र १० बालक गरी एक सय ४८ जना पक्राउ परेका छन्। उनीहरूबाट १ सय ६२ ग्राम ब्राउन सुगर, एक सय ५१ ग्राम चरेस, गाँजा सात सय ६२ ग्राम, ४८ ट्याब्लेट नाइट्राजोपाम, कोरेक्स र कोडिन एक सय मिलिग्राम बरामद भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधसम्बन्धी ७४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ। यी मुद्दमा चार महिला, एक सय चार पुरुष, एक बालक गरी एक सय नौजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। उनीहरूका साथबाट एक सय १८ ग्राम ब्राउन सुगर, ४० ग्राम चरेस, २१ मिलिग्राम गाँजा बरामद भएको थियो।

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मध्यसम्म यही शीर्षकमा ७३ मुद्दा दर्ता भइसकेका छन्। चालु आर्थिक वर्षमा प्रहरीले ७३ मुद्दामा सात महिला, एक सय चार पुरुष, एक बालक गरी एक सय १२ जनामाथि मुद्दा चलाएको छ। पक्राउ परेकाहरूबाट एक सय ५३ ग्राम ब्राउन सुगर, शून्य दशमलव आठ मिलिग्राम ह्वाइट सुगर, एक सय ५३ ग्राम लागुऔषध गाँजा, निटकोर १२ ट्याब्लेट, निटकोर– १० नाइट्रोजेपाम लेखेको औषधि ६० ट्याब्लेट, नाइट्रोजेपाम १६० ट्याब्लेट, ट्रामाडोल पाँच हजार २३ ट्याब्लेट बरामद भएको प्रहरीको तथ्यांक छ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ११ लागुऔषध बढी सेवन र कारोबार हुने हटस्पट बनेका छन्। चालु आर्थिक वर्षमा प्रहरीले वडा नं. ४ बाट १२ र ११ बाट ११ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको छ। यस्तै, वडा नं १२ मा आठ, १० मा सात, ८ मा चार, ३ मा चार, ५ मा तीन, ७ मा तीन, १ मा एक र १४ नम्बर वडाबाट एक जनालाई लागुऔषध मुद्दामा पक्राउ गरिएको छ। प्रहरी तथ्यांक अनुसार १८ वर्षमुनिका एक नाबालक, १८ देखि २५ वर्षसम्मका ४७, २५ देखि ३५ वर्षसम्मका ४३, ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ वर्षसम्मका एक र ६५ देखि माथि उमेर समुहका एक जना गरी १ सय १२ जना पक्राउ भएका छन्।

डिएसपी विश्वकर्माले परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाइ हुँदा लागुऔषधको जालो फैलिँदै गएको बताए। प्रहरीले लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न लागुऔषधविरुद्ध लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, पुनर्स्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतनालगायत सचेतनामूलक कार्यक्रम, गाँजा तथा अफिम फँडानीलगायतका काम गर्दै आएको छ।

प्रहरी अनुसन्धान अनुसार लागुऔषध भारतको रूपैडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको छ। पछिल्लो समय कैलालीको चिसापानी भएर पनि सुर्खेतमा लागुऔषध भित्रिन थालेको प्रहरीको भनाइ छ।

प्रकाशित: २ वैशाख २०८२ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App