२७ श्रावण २०७९ शुक्रबार
कला

हिरा शर्मा ‘संघर्ष’का ६ गजल

गजल

हिरा शर्मा ‘संघर्ष’

छन् त छ छिमेकीको घर झिलिमिली बत्ती भएर के गर्नु,  

ताक्छन् अर्कैको घरमा आफ्नी श्रीमती भएर के गर्नु ।  

 

सधैं त्यही कारण झगडा छ घरमा बूढाबूढीका

साँझबिहान शंखघण्टी हुन्छ आरती भएर के गर्नु ।  

 

सबैलाई अचेल प्रेसर, सुगर, ग्यास्टिक बढेको छ

वास्ना चलेको छ भात, गौरी बास्मती भएर के गर्नु ।  

 

आफू सयल गर्न सकेन पैसा सकिने डर लाग्यो

मरेसी अर्कैको मस्ती करोडौं सम्पती भएर के गर्नु ।  

 

बैंसमा घिसिपिटी गर्दै बिताइयो रहर मनमा मारेर  

ओछ्यानमा लडेपछि हुन्छ प्रगति भएर के गर्नु ।  

म मर्नेबेला भो अब आउनु तिमी

बिदाइ गर्नेबेला भो अब आउनु तिमी।  

 

ताली बजाउनु तिमी सबैसँग बसेर

म अलपत्र पर्ने बेला भो अब आउनु तिमी।

 

शीतल बसेर गफ गरेको चौपारी हुँदै  

म तल झर्ने बेला भो अब आउनु तिमी।  

 

नबहाउनु आँसु मेरो लास चितामा चढ्दा

म डढ्नेबेला भो अब आउनु तिमी।  

 

भन्लान कसैले के के गरिथी यसले

म हिरा भै बल्ने बेला भो अब आउनु तिमी।  

तिमीलाई नि मलाईजस्तै रुन प¥या भए

नुनिलो त्यो आँसुले मुख धुनु प¥या भए ।  

 

कस्तो हुन्छ विछोडको चोट परेपछि

जलिराको मुटुको राप छुन प¥या भए ।  

 

रोकिएलाजस्तो हुन्छ यो मुटुको ढुकढुकी नै

पानीविना माछाजस्तै हुनप¥या भए।

 

पखालिन्न मनको पीर धोएर ती अश्रुधारले

चर्किएको घाउरि नून प¥या भए ।  

मेरो चोखो माया पनि धेरै हुन सक्छ

एकैछिन भेट्न पनि बेरै हुन सक्छ।  

 

मीठामीठा पल अनि सजिलो त्यो बाटो पनि

तिमीलाई अनौठो र फेरै हुन सक्छ।

 

सबै त्यागें तिम्रा लागि प्राणबाहेक एकमुठी  

भएभरको दोषजति मेरै हुन सक्छ।  

 

अमूल्य ती चिनो सम्झिराखेकी छु अझै

बाचा अनि कसम पनि खेरै हुन सक्छ।  

मेरो गाउँको हाल नसोध हावा चले बत्ती आउँदैन

अरू कुराहरू त झन् पानी परे कत्ति आउँदैन ।  

 

न समाचार न यातायात पूरै थलिन थाले वर्षासगै

घण्टी बजाउँदै कहीँ पनि प्राकृतिक विपत्ति आउँदैन ।  

 

कसरी बाँच्नु, बचाउनु कहीँ कोरोना, कहीँ डेंगी

बाहिर निस्कनु नै डर छ काम गर्ने गति आउँदैन।  

 

मानिसलाई आफ्नो भनेपछि कति माया लाग्छ नि

इज्जत मेटाउँछन् धूलोमा खति हुने बेला मति आउँदैन ।  

सारा जीवन सकियो अरूको पीरमा खर्च गरेर

त्यत्ति सकिन्न होला बिमारी शरीरमा खर्च गरेर।  

 

कसैले सम्पत्ति चढाई सक्छन् अस्पताल बनाएर  

खिच्दै हिँड्छन् कोही समय तस्वीरमा खर्च गरेर।  

 

जीवनभर अरूलाई दुःख दिएर बित्यो कसैको  

पाप पखाल्छ उसैले पुजारी मन्दिरमा खर्च गरेर।  

 

कर्म गर्न नसके कहाँ हुँदो रैछ र सफलता पनि  

अचेल ज्योतिष धाउँदै छु, नभएको तक्दिरमा खर्च गरेर।

प्रकाशित: १३ भाद्र २०७७ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App